मत्तिका अनुसार २२:१-४६

  • विवाह-भोजको उदाहरण (१-१४)

  • परमेश्‍वर र सिजर (१५-२२)

  • फेरि जीवित हुनेबारे प्रश्‍न (२३-३३)

  • सबैभन्दा ठूला दुई आज्ञा (३४-४०)

  • के ख्रिष्ट दाउदका छोरा हुन्‌? (४१-४६)

२२  येसुले फेरि उदाहरणहरू चलाएर तिनीहरूलाई यसो भन्‍नुभयो: २  “स्वर्गको राज्यलाई एउटा राजासित तुलना गर्न सकिन्छ, जसले आफ्नो छोराको विवाह-भोज तयार गरे।+ ३  अनि तिनले विवाह-भोजका निम्तालुहरूलाई बोलाउन आफ्ना दासहरू पठाए तर तिनीहरू आउन मानेनन्‌।+ ४  तिनले फेरि यसो भनेर अरू दासहरू पठाए: ‘निम्तालुहरूलाई यसो भन: “हेर्नुहोस्‌! मैले दिवा-भोज तयार पारेको छु, मेरा बहर र मोटा-मोटा पशुहरू काट्‌न लगाइसकेको छु अनि सबै थोक तयार भइसकेका छन्‌। विवाह-भोजमा आउनुहोस्‌।”’ ५  तर तिनीहरूले वास्तै गरेनन्‌; एक जना आफ्नो खेततिर गयो, अर्कोचाहिँ व्यापारतिर लाग्यो।+ ६  बाँकी अरूले तिनका दासहरूलाई पक्रेर दुर्व्यवहार गरे र तिनीहरूलाई मारे। ७  “तब राजा क्रोधित भए अनि आफ्नो सेना पठाएर ती हत्याराहरूलाई मारे र तिनीहरूको सहरमा आगो लगाइदिए।+ ८  त्यसपछि तिनले आफ्ना दासहरूलाई भने: ‘विवाह-भोज त तयार छ तर निम्तालुहरू योग्य भएनन्‌।+ ९  त्यसैले सहरका मूलबाटोहरूमा जाओ र ज-जसलाई भेट्टाउँछौ, सबैलाई विवाह-भोजको निम्तो देओ।’+ १०  त्यसैले ती दासहरू बाटोतिर गए अनि के दुष्ट, के सज्जन, भेटेजति सबैलाई जम्मा गरे र विवाह-घर पाहुनाहरूले भरियो। ११  “जब राजा पाहुनाहरूलाई हेर्न आए, तब तिनले एक जना मानिसलाई विवाहमा लगाउनुपर्ने पोसाक नलगाई आएको देखे। १२  त्यसैले तिनले उसलाई सोधे: ‘मित्र, विवाहमा लगाउनुपर्ने पोसाक नलगाई भित्र छिर्ने आँट तिमीले कसरी गऱ्‍यौ?’ उसले जवाफै दिन सकेन। १३  त्यसपछि राजाले आफ्ना सेवकहरूलाई भने: ‘त्यसको हातखुट्टा बाँधेर त्यसलाई बाहिर अन्धकारमा फालिदेओ, जहाँ त्यो दाह्रा किटी-किटी रुनेछ।’ १४  “किनकि निम्तालुहरू त धेरै छन्‌ तर चुनिएकाहरू भने थोरै हुन्छन्‌।” १५  त्यसपछि फरिसीहरू त्यहाँबाट निस्के र उहाँले बोल्नुभएकै कुरामा उहाँलाई कसरी फसाउने भनी षड्‌यन्त्र रच्न थाले।+ १६  त्यसैले तिनीहरूले आफ्ना चेलाहरूलाई हेरोदवादीहरूसित उहाँकहाँ पठाए+ र यसो भन्‍न लगाए: “गुरुज्यू, हामीलाई थाह छ, तपाईँ सधैँ साँचो कुरा बोल्नुहुन्छ र परमेश्‍वरको मार्ग ठीकसित सिकाउनुहुन्छ अनि तपाईँ अरूको वाहवाही खोज्नुहुन्‍न किनकि तपाईँ मानिसहरूको मुख हेरेर व्यवहार गर्नुहुन्‍न। १७  त्यसकारण तपाईँलाई कस्तो लाग्छ, हामीलाई भन्‍नुहोस्‌: सिजरलाई* कर तिर्नु उचित हो कि होइन?” १८  तर तिनीहरूको दुष्ट विचार थाह पाएर येसुले भन्‍नुभयो: “ए कपटीहरू, तिमीहरू किन मेरो परीक्षा लिन्छौ? १९  कर तिर्ने सिक्का मलाई देखाओ।” तिनीहरूले उहाँकहाँ एक दिनारको* सिक्का ल्याए। २०  अनि उहाँले तिनीहरूलाई सोध्नुभयो: “यसमा कसको चित्र र नाम छ?” २१  तिनीहरूले जवाफ दिए: “सिजरको।” तब उहाँले तिनीहरूलाई भन्‍नुभयो: “जे-जे सिजरका हुन्‌, सिजरलाई र जे-जे परमेश्‍वरका हुन्‌, परमेश्‍वरलाई देओ।”+ २२  यो सुनेर तिनीहरू जिल्ल परे अनि उहाँलाई छोडेर गए। २३  सदुकीहरू, जो मरेकाहरू फेरि जीवित हुँदैनन्‌ भन्छन्‌,+ तिनीहरू पनि त्यही दिन उहाँकहाँ आए र सोधे:+ २४  “गुरुज्यू, ‘यदि कुनै मानिस निस्सन्तान मऱ्‍यो भने उसको भाइले आफ्नी भाउजूसित विवाह गरेर दाइको निम्ति सन्तान जन्माउनुपर्छ’ भनेर मोसाले भनेका छन्‌।+ २५  हामीकहाँ सात जना दाजुभाइ थिए अनि जेठोले विवाह गऱ्‍यो र निस्सन्तान मऱ्‍यो। त्यसैले भाइचाहिँले आफ्नी भाउजूसित विवाह गऱ्‍यो। २६  यही क्रम माइलो, साइँलो हुँदै सातौँ भाइसम्म चल्यो। २७  अन्तमा त्यो स्त्री पनि मरी। २८  त्यसोभए तिनीहरू फेरि जीवित हुँदा त्यो स्त्री ती सात जना दाजुभाइमध्ये कसकी पत्नी हुनेछे? किनकि सातै जनाले त्यसलाई पत्नी बनाइसकेका थिए।” २९  येसुले तिनीहरूलाई जवाफ दिनुभयो: “तिमीहरूले गलत बुझिरहेका छौ किनकि तिमीहरूले न धर्मशास्त्रलाई न त परमेश्‍वरको शक्‍तिलाई नै बुझेका छौ;+ ३०  फेरि जीवित भएपछि न पुरुषले न स्त्रीले नै विवाह गर्नेछन्‌ तर तिनीहरू स्वर्गदूतहरूजस्तै हुनेछन्‌।+ ३१  मरेकाहरू फेरि जीवित हुने विषयमा परमेश्‍वरले तिमीहरूलाई के भन्‍नुभएको छ, के तिमीहरूले पढेका छैनौ: ३२  ‘म अब्राहामका परमेश्‍वर, इसहाकका परमेश्‍वर र याकुबका परमेश्‍वर हुँ’?+ उहाँ मरेकाहरूको होइन तर जीवितहरूका परमेश्‍वर हुनुहुन्छ।”+ ३३  उहाँको यस्तो शिक्षा सुनेर भीड छक्क पऱ्‍यो।+ ३४  उहाँले सदुकीहरूको मुख टालिदिनुभयो भनेर जब फरिसीहरूले सुने, तब तिनीहरू हुल बाँधेर उहाँकहाँ आए। ३५  तिनीहरूमध्ये एक जना, जो मोसाको व्यवस्थामा पोख्त थियो, उसले उहाँको परीक्षा लिन यस्तो प्रश्‍न सोध्यो: ३६  “गुरुज्यू, व्यवस्थाको सबैभन्दा ठूलो आज्ञा कुन हो?”+ ३७  उहाँले उसलाई जवाफ दिनुभयो: “‘तिमीहरूले यहोवा* तिमीहरूका परमेश्‍वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा ज्यानले* र आफ्नो सारा दिमागले प्रेम गर्नू।’+ ३८  यो नै सबैभन्दा ठूलो र पहिलो आज्ञा हो। ३९  दोस्रोचाहिँ यही हो: ‘तिमीहरूले आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नू।’+ ४०  यी नै दुई आज्ञामा सारा व्यवस्था र भविष्यवक्‍ताहरूको शिक्षा अडिएको छ।”+ ४१  फरिसीहरू भेला भएको बेला येसुले तिनीहरूलाई सोध्नुभयो:+ ४२  “ख्रिष्टको विषयमा तिमीहरूको के धारणा छ? ऊ कसको छोरा हो?” तिनीहरूले उहाँलाई जवाफ दिए: “दाउदको।”+ ४३  उहाँले तिनीहरूलाई भन्‍नुभयो: “त्यसोभए पवित्र शक्‍तिको प्रेरणा पाएर दाउदले+ किन उसलाई प्रभु भनेर सम्बोधन गर्दै यसो भने त, ४४  ‘यहोवाले* मेरा प्रभुलाई भन्‍नुभयो: “तिमी मेरो दाहिने हाततिर बस, जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रो पाउमुनि राख्दिनँ”’?+ ४५  यदि दाउदले उसलाई प्रभु भनी सम्बोधन गर्छन्‌ भने ऊ कसरी तिनको छोरा हुन्छ?”+ ४६  अनि कसैले उहाँलाई एक शब्द जवाफ दिन सकेन र त्यस दिनदेखि उसो कसैले उहाँलाई अरू प्रश्‍न सोध्ने आँट पनि गरेन।

फुटनोटहरू

शब्दावली हेर्नुहोस्‌।
अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।
अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।
शब्दावलीमा “नेफेश; साइखी” हेर्नुहोस्‌।
अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।