सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

प्राक्कथन

बाइबल परमेश्‍वरले लेख्न लगाउनुभएको पवित्र किताब हो, जसमार्फत उहाँ हामी सबैसित कुरा गर्नुहुन्छ। परमेश्‍वरबारे थाह पाउन हामीले यो किताब पढ्‌नै पर्छ। (युहन्‍ना १७:३; २ तिमोथि ३:१६) यहोवा परमेश्‍वरले मानिसजाति र यस पृथ्वीको लागि कस्तो उद्देश्‍य राख्नुभएको छ, त्यसबारे बाइबलमा बताइएको छ।—उत्पत्ति ३:१५; प्रकाश २१:३, ४.

यस किताबले मानिसहरूको जीवनमा जति प्रभाव पारेको छ, त्यतिको प्रभाव अरू कुनै किताबले पारेको छैन। यस किताबले हामीलाई यहोवा परमेश्‍वरको जस्तै प्रेम, कृपा अनि दया देखाउन उत्प्रेरित गर्छ। यसले हामीमा आशा जगाउँछ अनि जस्तोसुकै समस्या सहन बल दिन्छ। साथै यसले संसारका ती कुराहरूको पनि पर्दाफास गर्छ, जुन कुराहरू परमेश्‍वरको इच्छासित पटक्कै मेल खाँदैन।—भजन ११९:१०५; हिब्रू ४:१२; १ युहन्‍ना २:१५-१७.

बाइबल सुरुमा हिब्रू, अरामी र ग्रीक भाषामा लेखिएको थियो। पूरै बाइबल वा यसका केही भागहरू लगभग ३ हजारभन्दा धेरै भाषामा उपलब्ध छन्‌। यो इतिहासमै सबैभन्दा धेरै अनुवाद गरिएको र वितरण भएको किताब हो। बाइबल यत्तिको सफल भएकोमा अचम्म मान्‍नुपर्दैन किनकि यसमा यस्तो भविष्यवाणी गरिएको थियो: “सबै जातिलाई साक्षी दिनका लागि राज्यको यो सुसमाचार [बाइबलको मुख्य सन्देश] सारा पृथ्वीभरि प्रचार गरिनेछ। त्यसपछि यस युगको अन्त हुनेछ।”—मत्ति २४:१४.

बाइबलको सन्देश कति महत्त्वपूर्ण छ भन्‍ने कुरालाई ध्यानमा राख्दै हामीले यस्तो अनुवाद तयार गऱ्‍यौँ, जुन अनुवाद मूल लेखोटसित मेल खाने मात्र नभई पढ्‌न र बुझ्न पनि सजिलो छ। यस संस्करणमा “बाइबल अनुवादका सिद्धान्तहरू,” “यस संस्करणका विशेषताहरू” अनि “बाइबल हामीसम्म कसरी आइपुग्यो?” जस्ता अतिरिक्‍त लेखहरू पनि छन्‌। यी अतिरिक्‍त लेखहरूमा यो संस्करण अनुवाद गर्दा के-कस्ता सिद्धान्तहरू ध्यानमा राखियो अनि यस संस्करणमा के-कस्ता विशेषताहरू छन्‌, त्यसबारे चर्चा गरिएको छ।

यहोवा परमेश्‍वरलाई प्रेम गर्ने र उहाँको उपासना गर्ने सबै जना परमेश्‍वरको वचनको सही अनि बुझ्न सजिलो अनुवाद पढ्‌न चाहन्छन्‌। (१ तिमोथि २:४) त्यसैले नयाँ संसार अनुवाद धेरैभन्दा धेरै भाषामा उपलब्ध होस्‌ भनेर हामीले नेपाली भाषामा पनि यो संस्करण तयार पाऱ्‍यौँ। प्रिय पाठकहरू, हामी आशा गर्छौँ र प्रार्थना पनि गर्छौँ कि ‘परमेश्‍वरलाई खोज्न अनि उहाँलाई भेट्टाउन’ तपाईँहरूलाई यस संस्करणले अवश्‍य मदत गर्नेछ।—प्रेषित १७:२७.

नयाँ संसार बाइबल अनुवाद समिति