मत्तिका अनुसार २०:१-३४

  • अङ्‌गुर बगानका खेतालाहरू र बराबर ज्याला (१-१६)

  • येसु फेरि आफ्नो मृत्युको भविष्यवाणी गर्नुहुन्छ (१७-१९)

  • राज्यमा विशेष ओहदाको लागि बिन्ती (२०-२८)

    • येसु—धेरैको निम्ति फिरौती (२८)

  • दुई जना अन्धालाई निको पारिन्छ (२९-३४)

२०  “स्वर्गको राज्य अङ्‌गुर बगानको मालिकजस्तै हो, जो ज्यालादारी खेतालाहरू खोज्न बिहान सबेरै निस्क्यो।+ २  अनि उसले एक दिनको ज्याला एक दिनार* दिने कबुल गरेर खेतालाहरूलाई अङ्‌गुर बगानमा पठायो। ३  तेस्रो घडीतिर* बाहिर जाँदा उसले केही खेतालाहरू काम नपाएर बजारमा त्यत्तिकै उभिरहेको देख्यो। ४  अनि उसले तिनीहरूलाई भन्यो: ‘तिमीहरू पनि मेरो अङ्‌गुर बगानमा जाओ र म तिमीहरूलाई त्यसको उचित ज्याला दिऊँला।’ ५  त्यसैले तिनीहरू गए। ऊ फेरि छैटौँ घडीतिर* र नवौँ घडीतिर* बाहिर गयो र त्यसै गऱ्‍यो। ६  अन्तमा, ऊ एघारौँ घडीतिर* फेरि गयो र केही खेतालाहरू उभिरहेका देख्यो र उसले तिनीहरूलाई सोध्यो: ‘तिमीहरू किन दिनभरि काम नगरेर त्यत्तिकै उभिरहेका छौ?’ ७  तिनीहरूले उसलाई भने: ‘किनभने कसैले पनि हामीलाई काममा लगाएन।’ अनि उसले तिनीहरूलाई भन्यो: ‘त्यसोभए तिमीहरू पनि मेरो अङ्‌गुर बगानमा जाओ।’ ८  “जब साँझ पऱ्‍यो, तब अङ्‌गुर बगानको मालिकले आफ्नो घरको रेखदेख गर्ने नाइकेलाई भन्यो: ‘खेतालाहरूलाई बोलाऊ अनि काममा सबैभन्दा पछि आउनेहरूदेखि सुरु गरेर पहिला आउनेहरूसम्म सबैलाई तिनीहरूको ज्याला देऊ।’+ ९  तब एघारौँ घडीमा काम सुरु गर्ने खेतालाहरू आए र तिनीहरू हरेकले एक दिनार* पाए। १०  सुरुमा काम थाल्नेहरू पनि आए। तिनीहरूले बढी ज्याला पाउँछौँ भन्ठानेका थिए तर तिनीहरूले पनि एक-एक दिनार* नै पाए। ११  एक दिनार मात्र पाएपछि तिनीहरूले अङ्‌गुर बगानको मालिकसित यसो भन्दै गुनासो गर्न थाले: १२  ‘यी पछि आउनेहरूले एक घण्टा मात्र काम गरे। हामीले भने दिनभरि घाममा जोतिएर काम गऱ्‍यौँ तैपनि तपाईँले तिनीहरूलाई हामीसरह ज्याला दिनुभयो।’ १३  अनि तिनीहरूमध्ये एक जनालाई मालिकले यस्तो जवाफ दियो: ‘हेर भाइ, मैले तिमीलाई केही अन्याय गरेको छैनँ। के तिमीले मसित एक दिनारमै* काम गर्ने कबुल गरेका होइनौ?+ १४  तिम्रो जे हो, लिएर जाऊ। पछि आउने यस खेतालोलाई पनि म तिमीलाई जति नै दिन चाहन्छु। १५  मेरो सम्पत्ति म जेसुकै गरूँ, के त्यो मेरो अधिकार होइन? अथवा मैले भलाइ गरेको* देखेर तिमीलाई डाह लाग्यो?’+ १६  यसरी पछिल्लाहरूचाहिँ पहिला अनि पहिलाहरूचाहिँ पछिल्ला हुनेछन्‌।”+ १७  यरुसलेम उक्लँदै गर्दा येसुले १२ जना चेलालाई अलग्गै एक ठाउँमा लैजानुभयो र यसो भन्‍नुभयो:+ १८  “हेर! हामी यरुसलेमतर्फ उक्लँदै छौँ, मानिसको छोरालाई मुख्य पुजारीहरू र शास्त्रीहरूको हातमा सुम्पिइनेछ अनि तिनीहरूले उसलाई मृत्युदण्ड दिनेछन्‌+ १९  र अन्यजातिका मानिसहरूको हातमा सुम्पिनेछन्‌ अनि तिनीहरूले उसको गिल्ला गर्नेछन्‌, उसलाई कोर्रा लगाउनेछन्‌ र खम्बामा टाँग्नेछन्‌+ अनि तेस्रो दिनमा उसलाई ब्युँताइनेछ।”+ २०  तब जब्दिकी+ पत्नी आफ्ना दुई छोरा लिएर येसुकहाँ आइन्‌ र उहाँलाई दण्डवत्‌ गरिन्‌। तिनी उहाँसित केही कुरा माग्न चाहन्थिन्‌।+ २१  उहाँले तिनलाई सोध्नुभयो: “तिमी के चाहन्छ्यौ?” तिनले उहाँलाई भनिन्‌: “मलाई वचन दिनुहोस्‌, तपाईँको राज्यमा मेरा यी दुई छोरा एक जना तपाईँको दाहिने हाततिर र अर्कोचाहिँ देब्रे हाततिर बस्न पाउनेछन्‌।”+ २२  येसुले यस्तो जवाफ दिनुभयो: “तिमीहरू के माग्दै छौ, त्यो तिमीहरू जान्दैनौ। मैले पिउन लागेको कचौरा के तिमीहरू पिउन सक्छौ?”+ तिनीहरूले उहाँलाई भने: “सक्छौँ।” २३  तब उहाँले तिनीहरूलाई भन्‍नुभयो: “तिमीहरूले मेरो कचौरा निश्‍चय पिउनेछौ+ तर मेरो दाहिने र देब्रे हाततिर बस्न दिने अधिकार मसित छैन। मेरो बुबाले जसको लागि त्यो तयार पार्नुभएको छ, ऊ नै त्यहाँ बस्नेछ।”+ २४  जब बाँकी १० जनाले यो कुरा सुने, तब तिनीहरू ती दुई दाजुभाइसित असाध्यै रिसाए।+ २५  तर येसुले तिनीहरूलाई आफूकहाँ बोलाएर यसो भन्‍नुभयो: “तिमीहरूलाई थाहै छ, संसारका शासकहरूले आफ्ना जनतामाथि हैकम चलाउँछन्‌ र ठूलाबडाहरूले तिनीहरूमाथि अख्तियार जमाउँछन्‌।+ २६  तर तिमीहरूबीच भने यस्तो हुनु हुँदैन;+ तिमीहरूमाझ जो ठूलो हुन चाहन्छ, ऊ तिमीहरूको सेवक हुनुपर्छ।+ २७  अनि तिमीहरूमाझ जो पहिलो हुन चाहन्छ, ऊ तिमीहरूको दास हुनुपर्छ।+ २८  जसरी मानिसको छोरा पनि सेवा पाउन होइन तर सेवा गर्न+ र धेरैको निम्ति फिरौतीस्वरूप आफ्नो ज्यान दिन आयो।”+ २९  उहाँहरू यरिहोबाट निस्केर जाँदै गर्दा मानिसहरूको एउटा ठूलो भीड उहाँको पछि लाग्यो। ३०  अनि हेर! दुई जना अन्धा बाटोको छेउमा बसिरहेका थिए। जब तिनीहरूले येसु त्यही बाटो भएर जाँदै हुनुहुन्छ भनी सुने, तब तिनीहरूले यसो भन्दै पुकारे: “हे प्रभु, दाउदका छोरा, हामीमाथि कृपा गर्नुहोस्‌!”+ ३१  भीडले तिनीहरूलाई चुप लाग भनी हप्कायो तर तिनीहरू भने यसो भन्दै झन्‌ चिच्याए: “हे प्रभु, दाउदका छोरा, हामीमाथि कृपा गर्नुहोस्‌!” ३२  त्यसैले येसु रोकिनुभयो र तिनीहरूलाई बोलाएर सोध्नुभयो: “मैले तिमीहरूका लागि के गरिदिएको तिमीहरू चाहन्छौ?” ३३  तिनीहरूले उहाँलाई भने: “हे प्रभु, हाम्रा आँखाले देख्न सकून्‌।” ३४  तब येसुले टिठाउँदै तिनीहरूको आँखा छुनुभयो+ अनि उत्तिखेरै तिनीहरूले देख्न थाले र तिनीहरू उहाँको पछि लागे।

फुटनोटहरू

अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।
बिहान ९ बजेतिर।
मध्यान्ह १२ बजेतिर।
दिउँसो ३ बजेतिर।
साँझ ५ बजेतिर।
अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।
अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।
अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।
वा “म उदार भएको।”