मत्तिका अनुसार १९:१-३०

  • विवाह र सम्बन्धविच्छेद (१-९)

  • अविवाहित रहनु एउटा वरदान (१०-१२)

  • येसु साना केटाकेटीलाई आशिष्‌ दिनुहुन्छ (१३-१५)

  • एक जना धनी जवान मानिसको प्रश्‍न (१६-२४)

  • राज्यका लागि त्यागहरू (२५-३०)

१९  यी कुराहरू भनिसकेपछि येसु गालिलबाट जानुभयो र यर्दन नदी पार गरेर यहुदियाको सीमावर्ती इलाकाहरूतिर पुग्नुभयो।+ २  अनि मानिसहरूको भीड उहाँको पछि लाग्यो र उहाँले त्यहाँ तिनीहरूलाई निको पार्नुभयो। ३  तब फरिसीहरू उहाँकहाँ आए र उहाँको परीक्षा लिने मनसायले यस्तो प्रश्‍न गरे: “के एक जना पुरुषले जुनसुकै कारण देखाएर आफ्नी पत्नीसित सम्बन्धविच्छेद गर्नु ठीक हो?”+ ४  उहाँले जवाफ दिनुभयो: “के तिमीहरूले पढेका छैनौ, जसले मानिस सृष्टि गर्नुभयो, उहाँले सुरुदेखि नै पुरुष र स्त्री बनाउनुभयो+ ५  र भन्‍नुभयो: ‘यसैकारण पुरुषले आफ्ना बुबा र आमालाई छोड्‌छ अनि आफ्नी पत्नीसित बस्छ* र ती दुई एउटै शरीर हुन्छन्‌’?+ ६  त्यसैले अब तिनीहरू दुई होइनन्‌ तर एउटै शरीर हुन्‌। त्यसकारण जसलाई परमेश्‍वरले एकसाथ जोड्‌नुभएको छ,* त्यसलाई कुनै मानिसले नछुट्ट्याओस्‌।”+ ७  तिनीहरूले उहाँलाई भने: “त्यसोभए एक जना पुरुषले छोडपत्र दिएर आफ्नी पत्नीसित सम्बन्धविच्छेद गर्न सक्छ भनेर मोसाले किन भने त?”+ ८  उहाँले तिनीहरूलाई भन्‍नुभयो: “तिमीहरूको हृदय कठोर भएकोले मोसाले तिमीहरूलाई पत्नीसित सम्बन्धविच्छेद गर्ने छुट दिएका हुन्‌+ तर सुरुदेखि त यस्तो थिएन।+ ९  म तिमीहरूलाई भन्छु, जसले अवैध यौनसम्बन्धबाहेक* अन्य कारणले आफ्नी पत्नीसित सम्बन्धविच्छेद गर्छ र अर्कीसित विवाह गर्छ, उसले व्यभिचार* गरेको ठहरिन्छ।”+ १०  चेलाहरूले उहाँलाई भने: “पति-पत्नीको सम्बन्ध यस्तै हुने हो भने त विवाह नगर्नु नै बेस रहेछ।” ११  उहाँले तिनीहरूलाई भन्‍नुभयो: “सबैले त यो वचनअनुसार गर्न सक्दैनन्‌ तर तिनीहरूले मात्र, जसले यो वरदान पाएका छन्‌।+ १२  किनकि कतिचाहिँ नपुंसक भएर जन्मिएका हुन्छन्‌, कतिलाई चाहिँ मानिसहरूले नपुंसक बनाइदिएका हुन्छन्‌ अनि कतिचाहिँ यस्ता नपुंसकहरू हुन्छन्‌, जसले स्वर्गको राज्यको खातिर आफूलाई नपुंसक बनाएका हुन्छन्‌। जो अविवाहित रहन सक्छ, ऊ अविवाहित नै रहोस्‌।”+ १३  तब उहाँले साना केटाकेटीमाथि आफ्नो हात राखेर प्रार्थना गरिदिऊन्‌ भनी मानिसहरूले तिनीहरूलाई उहाँकहाँ ल्याए तर चेलाहरूले उनीहरूलाई हप्काए।+ १४  तर येसुले यसो भन्‍नुभयो: “साना केटाकेटीलाई मकहाँ आउन देओ, तिनीहरूलाई रोक्न नखोज किनकि स्वर्गको राज्य यिनीहरूजस्ताकै हो।”+ १५  उहाँले तिनीहरूमाथि आफ्नो हात राख्नुभयो अनि उहाँ त्यहाँबाट जानुभयो। १६  तब हेर! एक जना जवान मानिसले उहाँकहाँ आएर सोध्यो: “हे गुरु, अनन्त जीवन पाउन मैले कुन असल काम गर्नुपर्छ?”+ १७  उहाँले उसलाई भन्‍नुभयो: “असल के हो भनी तिमी मलाई किन सोध्छौ? असल त एक जना मात्र हुनुहुन्छ।+ तर यदि तिमी जीवन पाउन चाहन्छौ भने आज्ञाहरू पालन गर्न नछोड।”+ १८  उसले उहाँलाई भन्यो: “कुन-कुन?” येसुले भन्‍नुभयो: “तिमीहरूले हत्या नगर्नू,+ तिमीहरूले व्यभिचार नगर्नू,+ तिमीहरूले चोरी नगर्नू,+ तिमीहरूले झूटो साक्षी नदिनू,+ १९  तिमीहरूले आफ्नो बुबा र आमाको आदर गर्नू+ अनि आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नू।”+ २०  त्यस जवान मानिसले उहाँलाई भन्यो: “यी सब त मैले पालन गर्दै आएको छु; त्यसोभए ममा अझै के कमी छ?” २१  येसुले उसलाई भन्‍नुभयो: “तिमी पूर्ण हुन चाहन्छौ भने जाऊ र आफ्नो जायजेथा बेचेर गरिबहरूलाई बाँडिदेऊ र तिमीले स्वर्गमा धनसम्पत्ति पाउनेछौ+ अनि आएर मेरो पछि लाग।”+ २२  यो सुनेर त्यो जवान मानिस दुःखी हुँदै आफ्नो बाटो लाग्यो किनकि ऊसित धेरै धनसम्पत्ति थियो।+ २३  येसुले आफ्ना चेलाहरूलाई भन्‍नुभयो: “म तिमीहरूलाई साँच्चै भन्छु, धनी मानिसलाई स्वर्गको राज्यमा पस्न कठिन हुनेछ।+ २४  म तिमीहरूलाई फेरि भन्छु, धनी मानिसलाई परमेश्‍वरको राज्यमा पस्नभन्दा त उँटलाई सियोको नाथ्रीबाट छिर्न नै सजिलो हुन्छ।”+ २५  यो सुनेर चेलाहरू असाध्यै छक्क परे र तिनीहरूले भने: “त्यसोभए के कसैले उद्धार पाउन सक्ला त?”+ २६  येसुले सीधै तिनीहरूलाई हेरेर यसो भन्‍नुभयो: “मानिसहरूको लागि यो असम्भव छ तर परमेश्‍वरको लागि भने सबै कुरा सम्भव छ।”+ २७  तब पत्रुसले भने: “हेर्नुहोस्‌! हामी सबै कुरा छोडेर तपाईँको पछि लागेका छौँ। त्यसोभए हामीले के पाउनेछौँ त?”+ २८  येसुले तिनीहरूलाई भन्‍नुभयो: “म तिमीहरूलाई साँच्चै भन्छु, सबै कुरा नयाँ बनाइँदा जब मानिसको छोरा आफ्नो गौरवशाली सिंहासनमा बस्नेछ, तब तिमीहरू जो मेरो पछि लागेका छौ, तिमीहरू १२ सिंहासनमा बसेर इस्राएलका १२ कुलको इन्साफ गर्नेछौ।+ २९  जसले मेरो नामको खातिर घर वा दाजुभाइ वा दिदीबहिनी वा बुबा वा आमा वा छोराछोरी वा जग्गा-जमिन छोड्‌छ, उसले यी कुरा सयौँ गुणा पाउनुका साथै अनन्त जीवन पाउनेछ।+ ३०  “तर धेरै जना जो पहिला छन्‌, ती पछिल्ला हुनेछन्‌ र जो पछिल्ला छन्‌, ती पहिला हुनेछन्‌।+

फुटनोटहरू

यहाँ चलाइएको ग्रीक शब्दले गमले टाँसेजस्तै बलियोसित टाँसिनुलाई जनाउँछ।
शा., “जसलाई परमेश्‍वरले एउटै जुवामा नार्नुभएको छ।”
शब्दावली हेर्नुहोस्‌।
ग्रीक भाषामा पोर्निया। शब्दावलीमा “अवैध यौनसम्बन्ध” हेर्नुहोस्‌।