मत्तिका अनुसार २:१-२३

  • ज्योतिषीहरू आउँछन्‌ (१-१२)

  • मिश्रमा भाग्छन्‌ (१३-१५)

  • हेरोद बालकहरूलाई मार्न लगाउँछन्‌ (१६-१८)

  • नासरत फर्कन्छन्‌ (१९-२३)

 हेरोद* राजाको पालामा+ यहुदियाको बेतलेहेममा येसुको जन्म भएपछि+ हेर! पूर्वबाट ज्योतिषीहरू यरुसलेम आए २  र भने: “जो यहुदीहरूका राजा भएर जन्मनुभयो, उहाँ कहाँ हुनुहुन्छ?+ किनभने पूर्वमा छँदा हामीले उहाँको तारा देख्यौँ र उहाँको दर्शन गर्न* हामी आएका हौँ।” ३  यो सुनेपछि राजा हेरोद व्याकुल भए र सारा यरुसलेममा खैलाबैला मच्चियो। ४  अनि तिनले सबै मुख्य पुजारीहरूलाई र शास्त्रीहरूलाई भेला गराएर ख्रिष्टको* जन्म कहाँ हुने हो भनेर सोधपुछ गरे। ५  उनीहरूले तिनलाई भने: “यहुदियाको बेतलेहेममा+ किनकि भविष्यवक्‍ताले यस्तो लेखेका छन्‌: ६  ‘हे यहुदा मुलुकको बेतलेहेम, तँ कुनै किसिमले यहुदाका शासकहरूमाझ तुच्छ छैनस्‌ किनकि तँबाट एक जना शासन गर्ने निस्किआउनेछ, जसले मेरो प्रजा इस्राएललाई गोठालोले झैँ डोऱ्‍याउनेछ।’”+ ७  तब हेरोदले ज्योतिषीहरूलाई सुटुक्क बोलाए अनि उनीहरूसित राम्ररी सोधपुछ गरी त्यो तारा सुरुमा देखा परेको समय पत्ता लगाए। ८  अनि तिनले उनीहरूलाई यसो भनेर बेतलेहेम पठाए: “जाओ! त्यस सानो बालकलाई राम्ररी खोज अनि तिमीहरूले उहाँलाई भेट्टाएपछि फर्केर मलाई खबर गर ताकि म पनि गएर उहाँको दर्शन गर्न सकूँ।” ९  राजाको कुरा सुनेपछि उनीहरू आफ्नो बाटो लागे अनि हेर! पूर्वमा छँदा उनीहरूले देखेको त्यो तारा+ उनीहरूको अघिअघि लाग्यो र सानो बालक भएको घरमाथि पुगेपछि टक्क अडियो। १०  त्यो तारा अडिएको देखेर उनीहरू असाध्यै खुसी भए। ११  जब उनीहरू त्यस घरभित्र पसे, तब उनीहरूले सानो बालकलाई उहाँकी आमा मरियमसँग देखे अनि उनीहरूले घोप्टो परेर उहाँलाई दण्डवत्‌ गरे। साथै उनीहरूले आफ्नो कन्तुरबाट सुन, सेतो धूप* र मर्र* झिकेर उहाँलाई उपहारस्वरूप दिए। १२  तर हेरोदकहाँ फर्केर नजानू भनी सपनामा परमेश्‍वरले चेतावनी दिनुभएकोले+ उनीहरू अर्कै बाटो भएर आफ्नो देश फर्के। १३  उनीहरू फर्केपछि, हेर! यहोवा* परमेश्‍वरका स्वर्गदूत सपनामा युसुफकहाँ देखा परेर+ यसो भने: “उठ! सानो बालक र उहाँकी आमालाई लिएर मिश्रमा* भाग अनि मैले नभनेसम्म त्यहीँ बस किनकि हेरोदले यस बालकलाई खोजेर मार्न आँटेको छ।” १४  त्यसैले तिनी उठे अनि सानो बालक र उहाँकी आमालाई लिएर राती नै मिश्र गए १५  अनि हेरोदको मृत्यु नहोउन्जेल तिनी त्यहीँ बसे। यसरी यहोवा* परमेश्‍वरले आफ्नो भविष्यवक्‍ताद्वारा भन्‍नुभएको यो वचन पूरा भयो: “मैले आफ्नो छोरालाई मिश्रबाट बोलाएँ।”+ १६  जब हेरोदले ज्योतिषीहरूले आफूलाई झुक्क्याएछन्‌ भनी थाह पाए, तब तिनी रिसले आगो भए अनि आफ्ना चाकरहरूलाई यस्तो हुकुम दिए: ‘जाओ, बेतलेहेम सहर र त्यसवरिपरिका ठाउँहरूका दुई वर्ष र त्योभन्दा मुनिका सबै बालकलाई मार।’ तिनले ज्योतिषीहरूसित राम्ररी सोधपुछ गरेर पत्ता लगाएको समयको आधारमा यसो गर्न लगाएका थिए।+ १७  यसरी भविष्यवक्‍ता यर्मियाद्वारा भनिएको यो वचन पूरा भयो: १८  “रामामा एउटा स्वर सुनियो, रोदन र क्रन्दनको; राहेल+ आफ्ना बालबच्चाको निम्ति विलाप गर्दै थिई; ऊ शान्त हुन मानिन किनकि तिनीहरू अब रहेनन्‌।”+ १९  हेरोदको मृत्यु भइसकेपछि हेर! यहोवा* परमेश्‍वरका स्वर्गदूत मिश्रमा युसुफकहाँ सपनामा देखा परे+ २०  र यसो भने: “उठ, सानो बालक र उहाँकी आमालाई लिएर इस्राएलतिर लाग किनकि बालकको ज्यान लिन खोज्नेहरू मरिसके।” २१  तब तिनी उठे अनि बालक र उहाँकी आमालाई लिएर इस्राएल पसे। २२  तर यहुदियामा अर्खिलाउसले आफ्नो बुबा हेरोदको सट्टा शासन गर्न थाले भनेर सुनेपछि युसुफ त्यहाँ जान डराए। साथै परमेश्‍वरले सपनामा चेतावनी पनि दिनुभएकोले+ तिनी गालिलको इलाकामा गए।+ २३  तिनी नासरत+ नामको सहरमा गएर बसे। यसरी भविष्यवक्‍ताहरूको यो वचन पूरा भयो: “उहाँ नासरी* कहलाइनुहुनेछ।”+

फुटनोटहरू

शब्दावली हेर्नुहोस्‌।
वा “उहाँलाई दण्डवत्‌ गर्न।”
वा “मसीहको; अभिषिक्‍त जनको।”
शब्दावली हेर्नुहोस्‌।
शब्दावली हेर्नुहोस्‌।
अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।
वा “इजिप्टमा।”
अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।
अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।
यो शब्द “टुसा” अर्थ दिने हिब्रू शब्दबाट आएको हुन सक्छ।