युहन्‍नालाई प्रकाश ५:१-१४

  • सात वटा लाहाछाप भएको एउटा मुठा (१-५)

  • पाठो त्यो मुठा लिन्छन्‌ (६-८)

  • लाहाछापहरू खोल्न पाठो योग्य छन्‌ (९-१४)

 अनि मैले सिंहासनमा बस्नुहुनेको+ दाहिने हातमा एउटा मुठा देखेँ। त्यस मुठाको दुवैपट्टि* लेखिएको थियो अनि त्यसलाई सात वटा लाहाछाप लगाएर टम्म बन्द गरिएको थियो। २  अनि मैले एक बलवान्‌ स्वर्गदूत देखेँ, जसले चर्को स्वरमा यस्तो घोषणा गरिरहेका थिए: “यो मुठा र यसका लाहाछापहरू खोल्न को योग्य छ?” ३  तर स्वर्गमा, पृथ्वीमा वा पृथ्वीमुनि त्यो मुठा खोल्न वा पढ्‌न सक्ने कोही पनि पाइएन। ४  त्यो मुठा खोल्न वा पढ्‌न योग्य कोही नपाइएकोले म धुरुधुरु रोएँ। ५  तर एल्डरहरूमध्ये एक जनाले मलाई भने: “नरोऊ। हेर! यहुदाको कुलको सिंह,+ दाउदको जराले+ विजय हासिल गर्नुभएको छ।+ त्यसैले उहाँ त्यो मुठा र त्यसका सात वटा लाहाछाप खोल्न योग्य हुनुहुन्छ।” ६  अनि मारिएको जस्तो देखिने एउटा पाठो+ सिंहासनको बीचमा, चार वटा जीवको बीचमा र एल्डरहरूको बीचमा उभिरहेको+ मैले देखेँ। ती पाठोका सात वटा सिङ र सात वटा आँखा थिए। ती आँखाहरूको अर्थ परमेश्‍वरको सात वटा शक्‍ति हो,+ जुन सारा पृथ्वीमा पठाइएको छ। ७  तब पाठो तुरुन्तै अघि बढे र सिंहासनमा बस्नुहुनेको दाहिने हातबाट+ त्यो मुठा लिए। ८  जब तिनले त्यो मुठा लिए, तब चार जीव र २४ जना एल्डर+ ती पाठोसामु घोप्टो परे। प्रत्येक एल्डरसित एउटा वीणा थियो र तिनीहरूसित धूपले भरिएको सुनका कचौराहरू पनि थिए। (त्यो धूपको अर्थ पवित्र जनहरूका प्रार्थनाहरू हो।)+ ९  तिनीहरू यस्तो नयाँ गीत गाउँछन्‌:+ “तपाईँ त्यो मुठा लिन र त्यसको लाहाछाप खोल्न योग्य हुनुहुन्छ किनकि तपाईँ मारिनुभएको थियो र तपाईँले आफ्नो रगतद्वारा हरेक कुल, भाषा, जाति र राष्ट्रका मानिसहरूलाई परमेश्‍वरको निम्ति किन्‍नुभयो+ १०  र तिनीहरूलाई हाम्रा परमेश्‍वरको लागि राजा+ र पुजारी बनाउनुभयो+ अनि तिनीहरूले राजाको रूपमा पृथ्वीमाथि शासन गर्नेछन्‌।”+ ११  अनि सिंहासन, जीवहरू र एल्डरहरूको वरिपरि मैले धेरै स्वर्गदूत देखेँ र तिनीहरूको स्वर सुनेँ। ती स्वर्गदूतहरूको सङ्‌ख्या लाखौँलाख, करोडौँकरोड थियो।+ १२  तिनीहरू चर्को स्वरमा यसो भन्दै थिए: “पाठो, जो मारिनुभएको थियो,+ उहाँ शक्‍ति, धन, बुद्धि, बल, आदर, महिमा र प्रशंसा पाउन योग्य हुनुहुन्छ।”+ १३  अनि स्वर्गमा, पृथ्वीमा, पृथ्वीमुनि र समुद्रमा भएका हरेक जीवजन्तु+ र त्यहाँका सबै थोकले यसो भनिरहेको मैले सुनेँ: “प्रशंसा, आदर,+ महिमा र पराक्रम सदासर्वदा सिंहासनमा बस्नुहुनेको+ र पाठोको+ होस्‌।”+ १४  अनि चार जीवले भनिरहेका थिए: “आमिन!” अनि एल्डरहरूले घोप्टो परेर परमेश्‍वरको उपासना गरे।

फुटनोटहरू

शा., “भित्रपट्टि र बाहिरपट्टि।”