गलाती ५:१-२६

  • ख्रिष्टियन स्वतन्त्रता (१-१५)

  • पवित्र शक्‍तिको भरमा हिँड्‌नु (१६-२६)

 ख्रिष्टले हामीलाई यस्तो स्वतन्त्रताको लागि स्वतन्त्र पार्नुभएकोले स्थिर भइरहो+ अनि दासत्वको जुवामुनि आफूलाई फेरि जोतिन नदेओ।+ २  हेर, म पावल तिमीहरूलाई भन्दै छु कि यदि तिमीहरूले खतना गऱ्‍यौ भने ख्रिष्टबाट तिमीहरूलाई केही फाइदा हुनेछैन।+ ३  खतना गर्ने सबै मानिसलाई म यो फेरि भन्छु कि यदि कसैले खतना गर्छ भने ऊ मोसाको व्यवस्थाका सबै नियम पालन गर्न बाध्य हुन्छ।+ ४  तिमीहरू जो व्यवस्थाद्वारा धर्मी ठहरिन कोसिस गर्छौ,+ तिमीहरू ख्रिष्टबाट टाढा भएका छौ। तिमीहरू उहाँको असीम अनुग्रहको दायराबाहिर पुगेका छौ। ५  हामीचाहिँ पवित्र शक्‍ति अनि विश्‍वासद्वारा धर्मी ठहरिने आशा गर्दै उत्सुकतासाथ पर्खिरहेका छौँ। ६  किनकि जो ख्रिष्टसँग एकतामा छन्‌, तिनीहरूका लागि खतना गरे पनि, नगरे पनि त्यसको केही मोल हुँदैन+ तर प्रेमद्वारा उत्प्रेरित विश्‍वासको मोल हुन्छ। ७  तिमीहरू सत्यको मार्गमा राम्ररी चलिरहेका थियौ।*+ तर कसले तिमीहरूलाई सत्यको पालना गरिरहनदेखि रोक्यो? ८  यस्तो किसिमको शिक्षा तिमीहरूलाई बोलाउनुहुनेको तर्फबाट आएको होइन। ९  अलिकता खमिरले* पीठोको पूरै डल्लोलाई खमिरा बनाइदिन्छ।+ १०  तिमीहरू जो प्रभुसित एकतामा छौ,+ म तिमीहरूबारे विश्‍वस्त छु कि तिमीहरूले फरक सोचाइ राख्नेछैनौ। तर तिमीहरूलाई दुःख दिने+ चाहे जोसुकै किन नहोस्‌, त्यसले आफूले पाउनुपर्ने सजाय पाउनेछ। ११  भाइहरू हो, जहाँसम्म मेरो कुरा छ, यदि मैले अझै पनि खतनाकै विषयमा प्रचार गरिरहेको भए किन मेरो खेदो गरिन्थ्यो र? यदि मैले खतनाकै विषयमा प्रचार गरिरहेको भए यातनाको खम्बाले* गर्दा कसैलाई ठेस लाग्ने नै थिएन।+ १२  जसले तिमीहरूको पतन गराउन खोजिरहेका छन्‌, तिनीहरूले आफ्नै अङ्‌ग काटे बेस हुने थियो।* १३  भाइहरू हो, तिमीहरू स्वतन्त्र हुन बोलाइएका थियौ। तर तिमीहरूले यो स्वतन्त्रता शरीरका इच्छाहरूको पछि लाग्न नचलाओ+ बरु प्रेमद्वारा एकअर्काको दास बनेर सेवा गर।+ १४  किनकि मोसाको सम्पूर्ण व्यवस्था यही एउटा आज्ञामा पूरा हुन्छ:* “तिमीहरूले आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नू।”+ १५  यदि तिमीहरू एकअर्कालाई टोक्ने र निल्ने गर्छौ भने+ होसियार रहो नत्र त तिमीहरू एकअर्काद्वारा नष्ट हुनेछौ।+ १६  तर म भन्छु, पवित्र शक्‍तिको भरमा हिँडिरहो,+ तब तिमीहरूले कुनै किसिमको शारीरिक इच्छा कदापि पूरा गर्नेछैनौ।+ १७  किनकि शरीरको इच्छा पवित्र शक्‍तिको विरुद्धमा हुन्छ अनि पवित्र शक्‍ति शरीरको विरुद्धमा; यिनीहरू एकअर्काको विरुद्धमा हुन्छन्‌, यसैकारण तिमीहरू जे गर्न चाहन्छौ, त्यो गर्दैनौ।+ १८  साथै तिमीहरू पवित्र शक्‍तिको डोऱ्‍याइअनुसार चलिरहेका छौ भने तिमीहरू व्यवस्थाको अधीनमा हुँदैनौ। १९  अब शरीरका कामहरू प्रस्ट छन्‌। ती हुन्‌: अवैध यौनसम्बन्ध,*+ अशुद्धपन, निर्लज्ज आचरण,*+ २०  मूर्तिपूजा, तन्त्रमन्त्र,*+ दुस्मनी, कलह, डाह, रिस, झगडा, फूट, गुटबन्दी, २१  ईर्ष्या, अत्यधिक मद्यपान,+ भोजको अनियन्त्रित मोजमस्ती र यस्तै अरू कुरा।+ मैले तिमीहरूलाई पहिल्यै चेतावनी दिइसकेझैँ यी कुराहरूको विषयमा म फेरि पनि चेतावनी दिँदै छु कि यस्ता कुराहरूमा लागिरहने मानिसहरू परमेश्‍वरको राज्यको हकदार हुनेछैनन्‌।+ २२  अर्कोतर्फ पवित्र शक्‍तिको फलचाहिँ प्रेम, आनन्द, शान्ति, धीरज, दया, भलाइ,+ विश्‍वास, २३  कोमलता, आत्मसंयम हो।+ यस्ता कुराहरूको विरुद्धमा कुनै व्यवस्था छैन। २४  साथै जो ख्रिष्ट येसुका हुन्‌, तिनीहरूले आफ्नो शरीरलाई त्यसका वासना र कुइच्छासहित खम्बामा टाँगेका छन्‌।+ २५  यदि हामी पवित्र शक्‍तिको भरमा बाँचिरहेका छौँ भने आओ, हामी पवित्र शक्‍तिकै भरमा ठीकसित हिँडिरहौँ।+ २६  हामी फोस्रो घमन्ड नगरौँ,+ प्रतिस्पर्धा गर्न एकअर्कालाई नउक्साऔँ + अनि एकअर्काको ईर्ष्या नगरौँ।

फुटनोटहरू

शा., “तिमीहरू राम्ररी दौडिरहेका थियौ।”
शब्दावली हेर्नुहोस्‌।
शब्दावली हेर्नुहोस्‌।
वा “आफैलाई सुमरे बेस हुने थियो; आफैलाई नपुंसक बनाए बेस हुने थियो” ताकि जुन व्यवस्थालाई तिनीहरू बढवा दिन्थे, त्यही व्यवस्था पालन गर्न तिनीहरू अयोग्य ठहरिऊन्‌।
वा सम्भवतः “सम्पूर्ण व्यवस्थाको सारांश यही आज्ञामा पाइन्छ।”
ग्रीक भाषामा पोर्निया। शब्दावलीमा “अवैध यौनसम्बन्ध” हेर्नुहोस्‌।
वा “छाडा आचरण।” ग्रीक भाषामा असेल्गिया। शब्दावलीमा “निर्लज्ज आचरण” हेर्नुहोस्‌।
वा “टुनामुना; लठ्‌याउने पदार्थको प्रयोग।”