हितोपदेश २१:१-३१

  • राजाको मन यहोवाको हातमा हुन्छ ()

  • न्यायोचित काम बलिदानभन्दा उत्तम हो ()

  • मेहनती मानिसको योजना सफल हुन्छ ()

  • दीनदुःखीको पुकारा नसुन्‍नेको पुकारा पनि कसैले सुन्दैन (१३)

  • यहोवाको सामने कसैको बुद्धिको केही लाग्दैन (३०)

२१  राजाको हृदय यहोवाको हातमा खोलाको पानीजस्तै हो,+ उहाँ त्यसलाई जता चाहनुहुन्छ, त्यतै मोड्‌नुहुन्छ।+  २  मानिसलाई आफ्नो सबै चाल ठीक लाग्छ+ तर हृदय* जाँच्नुहुने यहोवा नै हुनुहुन्छ।+  ३  यहोवालाई बलिदानभन्दा सही र न्यायोचित काम मन पर्छ।+  ४  अहङ्‌कारी आँखा र घमन्डी हृदय पाप हुन्‌, जसले दुष्टलाई बत्तीले झैँ बाटो देखाउँछ।+  ५  मेहनती मानिसले बनाएको योजना सफल हुन्छ+ तर हतार गर्ने मानिसहरू कङ्‌गाल हुन्छन्‌।+  ६  झूट बोलेर कमाएको सम्पत्ति बिलाएर जाने कुहिरो र ज्यानमारा पासो हो।*+  ७  दुष्टहरूको अत्याचारले तिनीहरूको आफ्नै हानि हुन्छ+ किनकि तिनीहरू अन्याय गर्न छोड्‌दैनन्‌।  ८  दोषी मानिसको चाल टेढो हुन्छ तर निर्दोष मानिसको चाल सोझो हुन्छ।+  ९  झगडालु* पत्नीसित एउटै घरमा बस्नुभन्दा कौसीको एउटा कुनामा बस्नु बेस हो।+ १०  दुष्ट मानिस खराब काम गर्न खोजिरहन्छ;+ उसले छिमेकीलाई दयामाया देखाउँदैन।+ ११  अरूको खिल्ली उडाउनेले सजाय पाएको देख्दा अनुभवहीन मानिस बुद्धिमान्‌ हुन्छ; बुद्धिमान्‌ मानिसले अन्तर्दृष्टि* हासिल गर्दा उसको ज्ञान बढ्‌छ।+ १२  न्यायी परमेश्‍वरको नजर दुष्टको घरमा पनि हुन्छ; उहाँले दुष्टलाई नाश गर्नुहुन्छ।+ १३  जसले दीनदुःखीको पुकारा सुन्दैन, उसले पुकार्दा पनि कसैले सुन्‍नेछैन।+ १४  गुप्तमा दिएको उपहारले रिसलाई शान्त पार्छ+ अनि लुकाएर दिएको दानले* क्रोधलाई कम गर्छ। १५  न्यायोचित काम गर्न धर्मी मानिसलाई खुसी लाग्छ+ तर दुष्ट काम गर्नेलाई भने असाध्यै दुःख लाग्छ। १६  बुद्धिको* मार्गबाट तर्किने मानिसले मृत्यु भोग्नुपर्ने हुन्छ।+ १७  मोजमस्तीमा डुबिरहने मानिस दरिद्र हुनेछ;+ मद्य र तेल मन पराउने मानिस धनी हुँदैन। १८  धर्मी मानिसको लागि दुष्ट मानिसको फिरौती दिइनेछ अनि सोझो मानिसको साटो छली मानिस लगिनेछ।+ १९  झगडालु* र घरीघरी रिसाइरहने पत्नीसित बस्नुभन्दा अनकन्टार ठाउँमा बस्नु बेस हो।+ २०  बुद्धिमान्‌को घरमा बहुमूल्य सम्पत्ति र तेल हुन्छ+ तर मूर्खले आफूसित भएको सबै उडाउँछ।*+ २१  जो धार्मिकता र अटल प्रेमको पछि लाग्छ, ऊ परमेश्‍वरको नजरमा धर्मी ठहरिन्छ; उसले जीवन र प्रशंसा पाउँछ।+ २२  बुद्धिमान्‌ मानिसले वीर योद्धाहरूको सहरलाई जित्छ अनि जुन शक्‍तिमा तिनीहरूको भरोसा थियो, त्यसलाई तोडिदिन्छ।+ २३  आफ्नो मुख र जिब्रोलाई काबूमा राख्ने मानिस समस्यामा फस्नदेखि जोगिन्छ।+ २४  घमन्डले फुलेर आवेगमा आउने मानिस अहङ्‌कारी र धक्कुबाज कहलाइन्छ।+ २५  अल्छी मानिसलाई उसको आफ्नै लालसाले मार्छ किनकि ऊ आफ्नो हातले काम गर्न चाहँदैन।+ २६  ऊ दिनभर केही न केही कुरा पाउने लालसा गरिरहन्छ तर धर्मी मानिसले कन्जुस्याइँ नगरी दिन्छ।+ २७  दुष्टले चढाएको बलि घृणित हुन्छ,+ त्यसले खराब मनसायले* चढाएको बलि झन्‌ कत्ति घृणित हुन्छ होला! २८  झूटो साक्षी दिने मानिस नाश हुन्छ+ तर ध्यान दिएर सुन्‍ने मानिसले सही बयान दिन्छ। २९  दुष्ट मानिसको अनुहारमा लाजसरम हुँदैन,+ सोझो मानिसले सही बाटो छोड्‌दैन।+ ३०  यहोवाको सामने कसैको बुद्धि, समझ र अर्तीको केही लाग्दैन।+ ३१  युद्धको दिनको लागि घोडा तयार पारिन्छ+ तर विजयी तुल्याउनुहुने* यहोवा नै हुनुहुन्छ।+

फुटनोटहरू

वा “मनसाय।”
वा सम्भवतः “मृत्युको बाटो खोज्नेहरूका लागि बिलाएर जाने कुहिरोजस्तै हो।”
वा “कचकचे।”
वा “आन्तरिक चेतना।”
शा., “पोल्टामा लुकाएको घुसले।”
वा “अन्तर्दृष्टिको।”
वा “कचकचे।”
शा., “निल्छ।”
वा “निर्लज्ज आचरणसहित।”
वा “उद्धार दिनुहुने।”