युहन्‍नाका अनुसार २०:१-३१

  • रित्तो चिहान (१-१०)

  • येसु मरियम मग्दलिनीकहाँ देखा पर्नुहुन्छ (११-१८)

  • येसु आफ्ना चेलाहरूकहाँ देखा पर्नुहुन्छ (१९-२३)

  • थोमा शङ्‌का गर्छन्‌ तर पछि विश्‍वास गर्छन्‌ (२४-२९)

  • यो मुठा लेख्नुको उद्देश्‍य (३०, ३१)

२०  हप्ताको पहिलो दिन झिसमिसेमै चिहानमा जाँदा+ मरियम मग्दलिनीले चिहानको मुखमा राखिएको ढुङ्‌गा हटाइसकेको पाइन्‌।+ २  त्यसैले उनी दौडँदै सिमोन पत्रुस र येसुले माया गर्नुहुने अर्को चेलाकहाँ+ आइन्‌ र तिनीहरूलाई भनिन्‌: “तिनीहरूले प्रभुलाई चिहानबाट निकालेर लगेछन्‌!+ अनि उहाँलाई कहाँ राखेका छन्‌, हामीलाई थाह छैन।” ३  तब पत्रुस र ती अर्का चेला चिहानतिर लागे। ४  तिनीहरू दुवै जना सँगै दौडन थाले तर अर्का चेला पत्रुसभन्दा छिटो दौडे अनि चिहानमा पहिला पुगे। ५  तिनले निहुरिएर हेर्दा भुईँमा मलमलको कपडा देखे+ तर तिनी भित्र भने पसेनन्‌। ६  तब तिनको पछिपछि सिमोन पत्रुस पनि आइपुगे र चिहानभित्र पसे। उनले पनि त्यहाँ मलमलको कपडा देखे। ७  उहाँको शिरमा बाँधिएको कपडा भने अरू पट्टीसित थिएन तर बेरेर छुट्टै राखिएको थियो। ८  त्यसपछि चिहानमा पहिला पुग्ने चेला पनि चिहानभित्र पसे र त्यो देखेपछि तिनले मरियमले भनेको कुरा पत्याए। ९  किनकि उहाँ मृत्युबाट ब्युँताइनै पर्छ भनी धर्मशास्त्रमा लेखिएको कुरा तिनीहरूले त्यतिबेलासम्म बुझेका थिएनन्‌।+ १०  त्यसैले ती चेलाहरू आ-आफ्नो घर फर्के। ११  तर मरियम भने चिहाननजिकै रुँदै उभिरहिन्‌। रोइरहेकै बेला उनी चिहानभित्र हेर्न निहुरिन्‌। १२  उनले सेतो लुगा लगाएका दुई जना स्वर्गदूतलाई देखिन्‌।+ येसुको शव पहिला जहाँ राखिएको थियो, त्यही ठाउँमा तिनीहरूमध्ये एक जना शिरनेर अनि अर्कोचाहिँ पाउनेर बसिरहेका थिए। १३  अनि तिनीहरूले उनलाई सोधे: “ए नारी तिमी किन रुँदै छ्यौ?” उनले तिनीहरूलाई भनिन्‌: “तिनीहरूले मेरा प्रभुलाई लगेछन्‌ अनि तिनीहरूले उहाँलाई कहाँ राखेका छन्‌, मलाई थाह छैन।” १४  यति भनिसकेपछि उनले पछाडि फर्केर हेरिन्‌ र येसुलाई उभिरहेको देखिन्‌ तर उहाँ येसु नै हुनुहुन्छ भनेर चिनिनन्‌।+ १५  येसुले उनलाई भन्‍नुभयो: “ए नारी, तिमी किन रुँदै छ्यौ? तिमी कसलाई खोज्दै छ्यौ?” उहाँलाई बगैँचे भन्ठानेर उनले भनिन्‌: “हजुर, यदि तपाईँले उहाँलाई लैजानुभएको हो भने लगेर कहाँ राख्नुभएको छ, मलाई भन्‍नुहोस्‌ र म उहाँलाई लैजानेछु।” १६  येसुले उनलाई “मरियम!” भनेर बोलाउनुभयो। फनक्क फर्केर उनले उहाँलाई हिब्रू भाषामा “रब्बोनी!” (जसको अर्थ हुन्छ, “गुरुज्यू!”) भनिन्‌। १७  येसुले उनलाई भन्‍नुभयो: “मसित टाँसिन छोड किनकि म बुबाकहाँ गइसकेको छैनँ। तर तिमी मेरा भाइहरूकहाँ जाऊ+ र तिनीहरूलाई भनिदेऊ: ‘मेरा बुबा र तिमीहरूका बुबा अनि मेरा परमेश्‍वर+ र तिमीहरूका परमेश्‍वरकहाँ म जाँदै छु।’”+ १८  मरियम मग्दलिनी उहाँका चेलाहरूकहाँ गइन्‌ र यस्तो खबर सुनाइन्‌: “मैले प्रभुलाई देखेँ!” उहाँले भन्‍नुभएका कुराहरू पनि उनले तिनीहरूलाई बताइन्‌।+ १९  त्यो दिन, जुन हप्ताको पहिलो दिन थियो, साँझको बेला चेलाहरू यहुदीहरूको डरले गर्दा ढोका थुनेर बसिरहेका थिए। तर येसु आएर तिनीहरूको माझमा उभिनुभयो र तिनीहरूलाई भन्‍नुभयो: “तिमीहरूलाई शान्ति होस्‌।”+ २०  यति भनेर उहाँले तिनीहरूलाई आफ्ना हात र कोखा देखाउनुभयो।+ तब प्रभुलाई देखेर चेलाहरू खुसी भए।+ २१  येसुले तिनीहरूलाई फेरि भन्‍नुभयो: “तिमीहरूलाई शान्ति होस्‌।+ जसरी बुबाले मलाई पठाउनुभयो,+ त्यसरी नै म पनि तिमीहरूलाई पठाउँदै छु।”+ २२  यति भनेपछि उहाँले तिनीहरूतर्फ फुकेर यसो भन्‍नुभयो: “पवित्र शक्‍ति लेओ।+ २३  यदि तिमीहरूले कसैका पापहरू क्षमा गऱ्‍यौ भने ती क्षमा हुनेछन्‌; यदि तिमीहरूले कसैका पापहरू क्षमा गरेनौ भने ती रहिरहनेछन्‌।” २४  तर येसु आउनुहुँदा ती १२ जनामध्ये एक, जुम्ल्याहा भनिने थोमा+ तिनीहरूसित थिएनन्‌। २५  त्यसकारण अरू चेलाहरूले उनलाई यसो भनिरहेका थिए: “हामीले प्रभुलाई देख्यौँ!” तर उनले तिनीहरूलाई भने: “उहाँको हातमा किलाहरूको डोब* नदेखेसम्म र त्यो डोबमा मेरो औँला नघुसारेसम्म अनि उहाँको कोखामा मेरो हात नहालेसम्म+ म पत्याउँदै पत्याउँदिनँ।” २६  आठ दिनपछिको कुरा हो, उहाँका चेलाहरू फेरि ढोका थुनेर भित्र बसिरहेका थिए अनि थोमा पनि तिनीहरूसितै थिए। ढोका बन्द भए तापनि येसु आएर तिनीहरूमाझ उभिनुभयो र भन्‍नुभयो: “तिमीहरूलाई शान्ति होस्‌।”+ २७  त्यसपछि उहाँले थोमालाई भन्‍नुभयो: “तिम्रो औँला यहाँ घुसार अनि मेरो हात हेर। तिम्रो हात यता ल्याएर मेरो कोखामा हाल। अनि शङ्‌का गर्न छोड बरु विश्‍वास गर।” २८  थोमाले उहाँलाई भने: “हे मेरा प्रभु, मेरा परमेश्‍वर!” २९  येसुले तिनलाई भन्‍नुभयो: “के तिमीले मलाई देखेको हुनाले विश्‍वास गऱ्‍यौ? आनन्दित हुन्‌ ती, जसले नदेखीकनै विश्‍वास गर्छन्‌।” ३०  साँच्चै भन्‍ने हो भने येसुले आफ्ना चेलाहरूसामु अरू पनि धेरै चमत्कार गर्नुभयो, जुन यस मुठामा लेखिएका छैनन्‌।+ ३१  तर जे-जति लेखिए, ती यसैकारण लेखिए ताकि येसु परमेश्‍वरको छोरा अनि ख्रिष्ट हुनुहुन्छ भनेर तिमीहरूले विश्‍वास गर्न सक र विश्‍वास गरेकोले उहाँको नामद्वारा जीवन पाउन सक।+

फुटनोटहरू

वा “खत।”