युहन्‍नाका अनुसार १४:१-३१

  • येसु—बुबाकहाँ पुग्ने एक मात्र बाटो (१-१४)

    • “बाटो, सत्य र जीवन मै हुँ” ()

  • पवित्र शक्‍ति आउनेछ भनी येसु प्रतिज्ञा गर्नुहुन्छ (१५-३१)

    • “बुबा मभन्दा महान्‌ हुनुहुन्छ” (२८)

१४  “तिमीहरूको हृदय व्याकुल नहोस्‌।+ परमेश्‍वरमाथि विश्‍वास गर+ अनि ममाथि पनि विश्‍वास गर। २  मेरो बुबाको घरमा बस्ने ठाउँ धेरै छ। त्यसो नहुँदो हो त म तिमीहरूलाई यो कुरा भन्‍ने नै थिइनँ। तर अब म तिमीहरूको निम्ति ठाउँ तयार पार्न जाँदै छु।+ ३  यदि गएर मैले तिमीहरूको निम्ति ठाउँ तयार पारेँ भने म फेरि आउनेछु अनि तिमीहरूलाई मेरो घरमा लैजानेछु र म जहाँ हुन्छु, तिमीहरू पनि त्यहीँ हुनेछौ।+ ४  अनि म जहाँ जाँदै छु, त्यहाँ जाने बाटो तिमीहरूलाई थाह छ।” ५  थोमाले+ उहाँलाई भने: “प्रभु, तपाईँ कहाँ जाँदै हुनुहुन्छ, हामीलाई थाह छैन। तब कसरी हामीलाई त्यहाँ जाने बाटो थाह हुन्छ र?” ६  येसुले तिनलाई भन्‍नुभयो: “बाटो,+ सत्य+ र जीवन+ मै हुँ। मबाहेक अरू कसैद्वारा कोही पनि बुबाकहाँ जान सक्दैन।+ ७  यदि तिमीहरूले मलाई चिनेका भए मेरो बुबालाई पनि चिन्‍ने थियौ; अबदेखि तिमीहरूले उहाँलाई चिन्‍नेछौ अनि वास्तवमा तिमीहरूले उहाँलाई देखिसकेका छौ।”+ ८  फिलिपले उहाँलाई भने: “प्रभु, हामीलाई बुबा देखाइदिनुहोस्‌, त्यति भए हामीलाई पुग्छ।” ९  येसुले तिनलाई भन्‍नुभयो: “मैले तिमीहरूसित यति लामो समय बिताएँ तैपनि तिमी मलाई चिन्दैनौ फिलिप? जसले मलाई देखेको छ, उसले बुबालाई पनि देखेको छ।+ तैपनि तिमी किन ‘हामीलाई बुबा देखाइदिनुहोस्‌’ भन्छौ? १०  म बुबासित एकतामा छु र बुबा मसित एकतामा हुनुहुन्छ भनेर के तिमी विश्‍वास गर्दैनौ?+ म तिमीहरूलाई जे भन्छु, त्यो आफ्नै तर्फबाट भन्दिनँ+ तर मसित एकतामा हुनुहुने बुबाले मद्वारा आफ्नो काम गर्दै हुनुहुन्छ। ११  म बुबासित एकतामा छु र बुबा मसित एकतामा हुनुहुन्छ भनेर मलाई विश्‍वास गर; होइन भने मैले गरेका कामहरूको आधारमा भए पनि विश्‍वास गर।+ १२  म तिमीहरूलाई साँचो-साँचो भन्छु, जसले ममाथि विश्‍वास गर्छ, मैले गरेको काम उसले पनि गर्नेछ। उसले तीभन्दा पनि ठूला कामहरू गर्नेछ+ किनकि म बुबाकहाँ जाँदै छु।+ १३  साथै तिमीहरूले मेरो नाममा जेसुकै मागे तापनि म त्यो गर्नेछु ताकि छोराद्वारा बुबाको महिमा होस्‌।+ १४  यदि तिमीहरूले मेरो नाममा केही माग्यौ भने म त्यो गर्नेछु। १५  “यदि तिमीहरू मलाई प्रेम गर्छौ भने मेरा आज्ञाहरू पालन गर्नेछौ+ १६  अनि म बुबालाई बिन्ती गर्नेछु र उहाँले तिमीहरूलाई अर्को मदतगार* दिनुहुनेछ, जुन तिमीहरूसित सधैँभरि रहिरहनेछ+ १७  अर्थात्‌ सत्य प्रकट गर्ने पवित्र शक्‍ति,+ जुन संसारले पाउन सक्दैन किनकि त्यसले पवित्र शक्‍तिलाई न देख्छ न त चिन्छ।+ तर तिमीहरू पवित्र शक्‍तिलाई चिन्छौ किनकि त्यो तिमीहरूसित रहन्छ अनि तिमीहरूसित छ। १८  म तिमीहरूलाई शोकाकुल अवस्थामा* छोड्‌दिनँ। म तिमीहरूकहाँ आउँदै छु।+ १९  अबको केही बेरपछि संसारले मलाई देख्नेछैन तर तिमीहरूले भने देख्नेछौ+ किनकि म जीवितै छु अनि तिमीहरू पनि जीवितै रहनेछौ। २०  त्यस दिन तिमीहरूले थाह पाउनेछौ, म बुबासित एकतामा छु र तिमीहरू मसित एकतामा छौ अनि म तिमीहरूसित एकतामा छु।+ २१  जसले मेरा आज्ञाहरू ग्रहण गर्छ र ती पालन गर्छ, मलाई प्रेम गर्ने ऊ नै हो। जसले मलाई प्रेम गर्छ, उसलाई मेरो बुबाले पनि प्रेम गर्नुहुनेछ र म उसलाई प्रेम गर्नेछु अनि ऊसामु खुलेर प्रकट हुनेछु।” २२  तब यहुदाले+ (तर इस्करियोत होइन) उहाँलाई सोधे: “प्रभु, तपाईँ किन हामीसामु खुलेर प्रकट हुन चाहनुहुन्छ तर संसारसामु भने प्रकट हुन चाहनुहुन्‍न?” २३  येसुले तिनलाई जवाफ दिनुभयो: “यदि कसैले मलाई प्रेम गर्छ भने उसले मेरो वचन पालन गर्नेछ+ र मेरो बुबाले उसलाई प्रेम गर्नुहुनेछ अनि हामी उसकहाँ जानेछौँ र ऊसित बस्नेछौँ।+ २४  जसले मलाई प्रेम गर्दैन, उसले मेरा वचनहरू पालन गर्दैन अनि तिमीहरूले सुनिरहेको वचन मेरो होइन तर मलाई पठाउनुहुने बुबाको हो।+ २५  “तिमीहरूसित होउन्जेल मैले यी कुरा तिमीहरूलाई बताएको छु। २६  तर बुबाले मेरो नाममा पठाउनुहुने मदतगार अर्थात्‌ पवित्र शक्‍तिले तिमीहरूलाई सबै कुरा सिकाउनेछ र मैले तिमीहरूलाई भनेका सबै कुरा स्मरण गराउनेछ।+ २७  म तिमीहरूकहाँ शान्ति छोडेर जान्छु; म तिमीहरूलाई मेरो शान्ति दिन्छु।+ मैले तिमीहरूलाई दिने शान्ति संसारले दिने शान्तिभन्दा फरक छ। त्यसैले तिमीहरूको हृदय व्याकुल नहोस्‌ अनि डरले गर्दा कमजोर नहोस्‌। २८  म जाँदै छु अनि तिमीहरूकहाँ फेरि आउँदै छु भनी मैले तिमीहरूलाई भनेको तिमीहरूले सुन्यौ। यदि तिमीहरू मलाई प्रेम गर्छौ भने म बुबाकहाँ जाँदै छु भन्‍ने थाह पाएर खुसी हुनेछौ किनकि बुबा मभन्दा महान्‌ हुनुहुन्छ।+ २९  अब यी कुराहरू हुनुअघि नै मैले तिमीहरूलाई भनिदिएको छु ताकि जब यी कुराहरू हुन्छन्‌, तब तिमीहरूले विश्‍वास गर्न सक।+ ३०  अबउसो म तिमीहरूसित धेरै कुरा गर्नेछैनँ किनकि यस संसारको शासक+ आउँदै छ र त्यसले ममाथि कुनै नियन्त्रण जमाउन सक्दैन।*+ ३१  तर बुबाले मलाई दिनुभएको आज्ञा म पालन गर्दै छु+ ताकि म बुबालाई प्रेम गर्छु भनी संसारले जानोस्‌। उठ, हामी यहाँबाट जाऔँ।

फुटनोटहरू

वा “सान्त्वना दिनेवाला।”
वा “अनाथहरू जस्तोगरि।”
वा “त्यसको ममाथि कुनै अधिकार छैन।”