युहन्‍नाका अनुसार १३:१-३८

  • येसु आफ्ना चेलाहरूको खुट्टा धुनुहुन्छ (१-२०)

  • येसुले यहुदा धोकेबाज हो भनी चिनाउनुहुन्छ (२१-३०)

  • नयाँ आज्ञा (३१-३५)

    • “तिमीहरूले आपसमा प्रेम गऱ्‍यौ भने” (३५)

  • पत्रुसले तिरस्कार गर्नेछन्‌ भन्‍ने भविष्यवाणी (३६-३८)

१३  यस संसारलाई छोडेर बुबाकहाँ जाने बेला आइसकेको छ भनी येसुलाई निस्तार चाडअघि* नै थाह थियो।+ त्यसैले यस संसारमा भएका उहाँका आफ्नाहरू, जसलाई उहाँ प्रेम गर्नुहुन्थ्यो, तिनीहरूलाई अन्तसम्मै प्रेम गरिरहनुभयो।+ २  साँझको भोज चलिरहेको थियो। यतिन्जेलसम्ममा दियाबलले सिमोनको छोरा यहुदा इस्करियोतको हृदयमा उहाँलाई धोका दिने विचार हालिदिइसकेको थियो।+ ३  येसुलाई पनि बुबाले सबै कुरा आफ्नो हातमा दिइसक्नुभएको छ र आफू परमेश्‍वरबाट आएको हुँ अनि परमेश्‍वरकहाँ नै जाँदै छु+ भनी थाह भइसकेको थियो। ४  त्यसैले खाइरहेको ठाउँबाट उहाँ उठ्‌नुभयो र आफ्नो खास्टो छेउमा राख्नुभयो अनि एउटा तौलिया लिएर कम्मरमा बेर्नुभयो।+ ५  त्यसपछि उहाँले एउटा बाटामा पानी हाल्नुभयो अनि चेलाहरूको खुट्टा धुन र आफूले बेरेको तौलियाले पुछ्‌न थाल्नुभयो। ६  जब उहाँ सिमोन पत्रुसकहाँ पुग्नुभयो, तब तिनले उहाँलाई भने: “प्रभु, तपाईँले मेरो खुट्टा धुने?” ७  येसुले तिनलाई जवाफ दिनुभयो: “म के गर्दै छु, त्यो तिमी अहिले बुझ्दैनौ तर पछि बुझ्नेछौ।” ८  पत्रुसले उहाँलाई भने: “तपाईँले कुनै हालतमा मेरो खुट्टा धुन मिल्दैन।” येसुले तिनलाई भन्‍नुभयो: “मैले धोइनँ भने+ तिम्रो मसित केही भाग हुनेछैन।” ९  सिमोन पत्रुसले उहाँलाई भने: “प्रभु, मेरो खुट्टा मात्र होइन तर मेरो हात र टाउको पनि धोइदिनुहोस्‌।” १०  येसुले तिनलाई भन्‍नुभयो: “जसले नुहाइसकेको छ, ऊ पूरै सफा भएकोले उसको खुट्टा मात्र धोए पुग्छ। तिमीहरू पनि सफा छौ तर सबै जना त होइन।” ११  कसले उहाँलाई धोका दिनेछ भनी उहाँलाई थाह थियो।+ त्यसैले उहाँले भन्‍नुभयो: “तिमीहरू सबै त सफा छैनौ।” १२  तिनीहरूको खुट्टा धोइसकेपछि उहाँले आफ्नो खास्टो ओढ्‌नुभयो र फेरि टेबुलमा बस्नुभयो। त्यसपछि उहाँले तिनीहरूलाई भन्‍नुभयो: “मैले तिमीहरूका निम्ति के गरेँ, के तिमीहरूले बुझ्यौ? १३  तिमीहरू मलाई ‘गुरु’ र ‘प्रभु’ भन्छौ। तिमीहरूले ठीक भनेका हौ किनकि म त्यही हुँ।+ १४  त्यसैले यदि प्रभु र गुरु भएर पनि मैले तिमीहरूको खुट्टा धोएँ भने+ तिमीहरूले पनि एकअर्काको खुट्टा धुनुपर्छ।*+ १५  मैले तिमीहरूका लागि नमुना बसालेको हुनाले मैले तिमीहरूका निम्ति जे गरेँ, तिमीहरूले पनि त्यसै गर्नुपर्छ।+ १६  म तिमीहरूलाई साँचो-साँचो भन्छु, दास आफ्नो मालिकभन्दा ठूलो हुँदैन न त पठाइएको व्यक्‍ति उसलाई पठाउनेभन्दा ठूलो हुन्छ। १७  तिमीहरूलाई यी कुराहरू थाह छ अनि यदि तिमीहरू यी कुराहरू गर्छौ भने आनन्दित हौ।+ १८  तिमीहरू सबैको विषयमा मैले यो कुरा भनेको होइनँ किनकि मैले ज-जसलाई रोजेँ, उनीहरूलाई म चिन्छु। तर धर्मशास्त्रमा लेखिएको यो कुरा पूरा होस्‌ भनेर यसो भएको हो:+ ‘जसले मेरो रोटी खान्थ्यो, उसैले मलाई लात हान्‍न खुट्टा उचालेको छ।’*+ १९  अब यी कुराहरू हुनुअघि नै म तिमीहरूलाई भन्दै छु ताकि जब यी कुराहरू हुन्छन्‌, तब म उही हुँ भनी तिमीहरूले विश्‍वास गर्न सक।+ २०  म तिमीहरूलाई साँचो-साँचो भन्छु, जसले मैले पठाएको व्यक्‍तिलाई स्वागत गर्छ, उसले मलाई पनि स्वागत गर्छ।+ अनि जसले मलाई स्वागत गर्छ, उसले मलाई पठाउनुहुनेलाई पनि स्वागत गर्छ।”+ २१  यी कुराहरू भनिसकेपछि येसु अत्यन्तै व्याकुल हुनुभयो र खुलस्त यसो भन्‍नुभयो: “म तिमीहरूलाई साँचो-साँचो भन्छु, तिमीहरूमध्ये एक जनाले मलाई धोका दिनेछ।”+ २२  यो कुरा उहाँले कसको विषयमा भन्‍नुभएको होला भन्‍ने नबुझेर चेलाहरू एकअर्कालाई हेराहेर गर्न थाले।+ २३  उहाँका चेलाहरूमध्ये एक जना, जसलाई येसु प्रेम गर्नुहुन्थ्यो,+ तिनी येसुको छेवैमा बसिरहेका थिए। २४  त्यसकारण सिमोन पत्रुसले मुन्टो हल्लाएर इसारा गर्दै ती चेलालाई भने: “उहाँले कसको विषयमा भन्‍नुभएको हो, हामीलाई भन न।” २५  त्यसैले येसुको छातीमा अडेस लाग्दै ती चेलाले सोधे: “प्रभु, कसले?”+ २६  येसुले जवाफ दिनुभयो: “रोटीको टुक्रा चोपेर म जसलाई दिन्छु, उसैले।”+ त्यसपछि उहाँले रोटीको टुक्रा चोपेर सिमोन इस्करियोतको छोरा यहुदालाई दिनुभयो। २७  तिनले रोटीको टुक्रा लिएपछि सैतान तिनीभित्र पस्यो।+ त्यसकारण येसुले तिनलाई भन्‍नुभयो: “तिमी जे गर्दै छौ, झट्टै सिद्‌ध्याइहाल।” २८  तथापि उहाँले किन तिनलाई त्यसो भन्‍नुभयो, टेबुलमा खान बसेकाहरूमध्ये कसैले पनि बुझेनन्‌। २९  यहुदाले पैसाको कन्तुर बोक्ने गरेका थिए,+ त्यसैले येसुले तिनलाई “चाडको लागि हामीलाई चाहिने कुरा किन” भन्‍नुभएको होला वा गरिबहरूलाई केही दिन अह्राउनुभएको होला भनी कोही-कोहीले सोचिरहेका थिए। ३०  रोटीको टुक्रा लिएपछि यहुदा तुरुन्तै बाहिर गए। त्यसबेला रात परिसकेको थियो।+ ३१  तिनी बाहिर गइसकेपछि येसुले भन्‍नुभयो: “अब मानिसको छोरा महिमित भएको छ+ अनि ऊद्वारा परमेश्‍वर पनि महिमित हुनुभएको छ। ३२  परमेश्‍वर आफैले मानिसको छोरालाई महिमित तुल्याउनुहुनेछ+ र उहाँले त्यो तुरुन्तै गर्नुहुनेछ। ३३  ए साना बालक हो, अब अलिक बेर म तिमीहरूसित हुन्छु। तिमीहरूले मलाई खोज्नेछौ तर मैले यहुदीहरूलाई भनेझैँ अब म तिमीहरूलाई पनि भन्छु, ‘म जहाँ जान्छु, त्यहाँ तिमीहरू आउन सक्दैनौ।’+ ३४  म तिमीहरूलाई एउटा नयाँ आज्ञा दिँदै छु, तिमीहरू आपसमा प्रेम गर; मैले तिमीहरूलाई प्रेम गरेजस्तै+ तिमीहरूले पनि आपसमा प्रेम गर।+ ३५  तिमीहरूले आपसमा प्रेम गऱ्‍यौ भने+ तिमीहरू मेरा चेलाहरू हौ भनी सबैले यसैबाट थाह पाउनेछन्‌।” ३६  सिमोन पत्रुसले उहाँलाई सोधे: “प्रभु, तपाईँ कहाँ जाँदै हुनुहुन्छ?” येसुले जवाफ दिनुभयो: “म जहाँ जाँदै छु, मेरो पछि लागेर तिमी अहिल्यै त्यहाँ आउन सक्दैनौ तर पछि भने आउनेछौ।”+ ३७  पत्रुसले उहाँलाई भने: “प्रभु, म किन अहिल्यै तपाईँको पछि लाग्न सक्दिनँ? तपाईँको लागि म आफ्नो ज्यानसमेत दिनेछु।”+ ३८  येसुले जवाफ दिनुभयो: “तिमीले मेरो लागि ज्यान दिने? म तिमीलाई साँच्चै भन्छु, तिमीले मलाई तीन पटक तिरस्कार नगरेसम्म कुनै हालतमा भाले बास्नेछैन।”+

फुटनोटहरू

शब्दावली हेर्नुहोस्‌।
वा “एकअर्काको खुट्टा धुनु तिमीहरूको कर्तव्य हो।”
वा “ऊ मविरुद्ध खडा भएको छ।”