हिब्रू ५:१-१४

  • येसु मानव प्रधानपुजारीहरूभन्दा श्रेष्ठ हुनुहुन्छ (१-१०)

    • मल्किसेदेकजस्तो (, १०)

    • दुःखबाट आज्ञाकारी हुन सिक्नुभयो ()

    • चिरस्थायी उद्धार दिने जिम्मेवारी पाउनुभयो ()

  • अपरिपक्व नहुन चेतावनी (११-१४)

 मानिसहरूमध्येबाट छानिएका हरेक प्रधानपुजारी मानिसहरूको तर्फबाट परमेश्‍वरको सेवा गर्न नियुक्‍त भएका हुन्छन्‌+ र तिनले पापको निम्ति भेटी र बलिदान चढाउँछन्‌।+ २  अनजानमा गल्ती गर्नेहरूसित* तिनले करुणामय* व्यवहार गर्न सक्छन्‌ किनकि तिनका पनि आफ्नै कमीकमजोरी हुन्छन्‌।* ३  त्यसैले तिनले अरू मानिसका पापहरूको निम्ति भेटी चढाएजस्तै आफ्ना पापहरूको निम्ति पनि भेटी चढाउनुपर्छ।+ ४  मानिस आफैले यस्तो सम्मानजनक ओहदा लिन सक्दैन तर हारुनलाई जस्तै तिनलाई पनि परमेश्‍वर आफैले नियुक्‍त गरेको हुनुपर्छ।+ ५  त्यसैगरि ख्रिष्टले पनि आफूले आफैलाई प्रधानपुजारी नियुक्‍त गरेर आफ्नो महिमा गर्नुभएन+ तर ख्रिष्टलाई यो महिमा दिनुहुने उहाँ नै हुनुहुन्छ, जसले ख्रिष्टको विषयमा यसो भन्‍नुभएको थियो: “तिमी मेरो छोरा हौ। म आज तिम्रो बुबा बनेको छु।”+ ६  त्यसैगरि अर्को ठाउँमा पनि उहाँ भन्‍नुहुन्छ: “तिमी सधैँका लागि पुजारी हौ, मल्किसेदेकजस्तो।”+ ७  पृथ्वीमा हुनुहुँदा ख्रिष्टले उहाँलाई मृत्युबाट बचाउन सक्नुहुनेलाई ठूलो स्वरले कराउँदै अनि आँसुको धारा बगाउँदै उत्कट बिन्ती अनि निवेदन चढाउनुभयो+ र उहाँको सुनुवाइ भयो किनकि उहाँ परमेश्‍वरको डर मान्‍नुहुन्थ्यो। ८  उहाँ परमेश्‍वरको छोरा हुनुहुन्थ्यो तैपनि आफूले भोगेको दुःखबाट उहाँले आज्ञाकारी हुन सिक्नुभयो।+ ९  अनि पूर्ण बनाइनुभएपछि*+ उहाँले आफ्नो आज्ञा पालन गर्नेजति सबैलाई सधैँभरिका लागि उद्धार दिने जिम्मेवारी पाउनुभयो+ १०  किनकि परमेश्‍वरले नै उहाँलाई मल्किसेदेकजस्तो प्रधानपुजारी नियुक्‍त गर्नुभएको हो।+ ११  उहाँको विषयमा भन्‍नुपर्ने थुप्रै कुरा हामीसित छ तर तिमीहरूलाई बुझाउन गाह्रो छ किनकि तिमीहरूका कान बोधो भएका छन्‌। १२  हुन पनि अहिलेसम्म* त तिमीहरू शिक्षक भइसक्नुपर्ने हो तर तिमीहरूलाई फेरि कसैले परमेश्‍वरका पवित्र सन्देशका आधारभूत कुराहरू सुरुदेखि सिकाउनु आवश्‍यक परेको छ+ अनि तिमीहरू फेरि यस्ता मानिसहरू भएका छौ, जसलाई खँदिलो खानेकुरा होइन तर दूधैको आवश्‍यकता छ। १३  दूध मात्र पिइरहनेहरू सबै बालकै भएकोले सत्यको वचनसित* तिनीहरू अनभिज्ञ हुन्छन्‌।+ १४  तर खँदिलो खानेकुराचाहिँ परिपक्व मानिसहरूको निम्ति हो, जसले आफ्नो सोच्ने-बुझ्ने क्षमता चलाएर त्यसलाई सही र गलत छुट्ट्याउन तालिम दिएका हुन्छन्‌।

फुटनोटहरू

वा “बाटो बिराएकाहरूसित।”
वा “कोमल; सहानुभूतिसाथ।”
वा “तिनी आफै पनि आफ्ना कमीकमजोरीको वशमा हुन्छन्‌।”
वा “पूर्णतया योग्य बन्‍नुभएपछि।”
शा., “समयको हिसाबले।”
शा., “धार्मिकताको वचनसित।”