हिब्रू १०:१-३९

  • पशुबलिले पाप मेटाउन सक्दैन (१-४)

    • मोसाको व्यवस्था—छाया ()

  • ख्रिष्टको बलिदान एकै चोटि सधैँभरिका लागि (५-१८)

  • नयाँ र जीवित बाटो (१९-२५)

    • एकसाथ भेला हुन नछोडौँ (२४, २५)

  • जानाजानी पाप नगर्न चेतावनी (२६-३१)

  • सहने हिम्मत र विश्‍वास (३२-३९)

१०  मोसाको व्यवस्था वास्तविकता नभएर आउन लागेका असल कुराहरूको छाया मात्र हो।+ त्यसैले हरेक वर्ष एउटै किसिमका बलिदानहरू निरन्तर चढाइए पनि त्यसले* परमेश्‍वरका उपासकहरूलाई कहिल्यै पूर्ण* बनाउन सक्दैन।+ २  अन्यथा के बलिदान चढाउने काम बन्द भइसक्ने थिएन र? किनकि पवित्र सेवा चढाउने मानिसहरू एक पटक शुद्ध भइसकेपछि तिनीहरूलाई आफू पापी हुँ भन्‍ने चेतना नै हुने थिएन। ३  बरु यसको विपरीत यी बलिदानहरूले हरेक वर्ष तिनीहरूलाई आफ्ना पापहरूको सम्झना गराइरहन्थ्यो।+ ४  किनकि बहर अनि बोकाहरूको रगतले पापहरू हटाउन असम्भव छ। ५  त्यसैले जब उहाँ संसारमा आउनुभयो तब उहाँले परमेश्‍वरलाई यसो भन्‍नुभयो: “‘तपाईँले बलिदान र भेटीहरू चाहनुभएन तर तपाईँले मेरो निम्ति एउटा शरीर तयार पार्नुभयो। ६  तपाईँले अग्निभेटी* र पापभेटी* स्विकार्नुभएन।’+ ७  तब मैले भनेँ: ‘हे परमेश्‍वर, हेर्नुहोस्‌, तपाईँको इच्छा पूरा गर्न म आएँ (जस्तो कि मुठामा* मेरो विषयमा लेखिएको छ)।’”+ ८  पहिला उहाँले यसो भन्‍नुभयो: “तपाईँले बलिदान, भेटी, अग्निभेटी अनि पापभेटीहरू”—जुन मोसाको व्यवस्थाबमोजिम चढाइने बलिदानहरू हुन्‌—“न त चाहनुभयो न स्विकार्नुभयो।” ९  त्यसपछि उहाँ यसो भन्‍नुहुन्छ: “हेर्नुहोस्‌! तपाईँको इच्छा पूरा गर्न म आएँ।”+ नयाँलाई स्थापित गर्न सकियोस्‌ भनेर उहाँ पुरानोलाई विस्थापित गर्नुहुन्छ। १०  येसु ख्रिष्टले एकै चोटि सदाको लागि चढाउनुभएको आफ्नो शरीरको भेटीले गर्दा यही “इच्छा”-द्वारा+ हामी पवित्र पारिएका छौँ।+ ११  साथै बलिदानहरूले पापहरू पूरै हटाउन कहिल्यै सम्भव छैन।+ त्यसैले त पवित्र सेवा* गर्न र एउटै किसिमका बलिदानहरू बारम्बार चढाउन+ हरेक पुजारी दिनहुँ आ-आफ्नो ठाउँमा खडा हुन्छन्‌।+ १२  तर उहाँले पापहरूका निम्ति सदाको लागि एउटा बलिदान चढाउनुभयो र परमेश्‍वरको दाहिने हाततर्फ बस्नुभयो।+ १३  त्यसबेलादेखि उहाँ त्यो समयलाई पर्खिरहनुभएको छ, जब उहाँका शत्रुहरूलाई उहाँको पाउदान तुल्याइनेछ।+ १४  किनकि पवित्र पारिँदै गरेकाहरू सबैलाई उहाँले एउटै बलिदानद्वारा सदाको लागि पूर्ण बनाउनुभएको छ।+ १५  यसबाहेक पवित्र शक्‍तिले पनि हामीलाई साक्षी दिन्छ किनकि त्यसले पहिले यसो भन्छ: १६  “‘ती दिनहरूपछि तिनीहरूसित मैले गर्ने करार यही हो,’ यहोवा* भन्‍नुहुन्छ। ‘मेरा नियमहरू म तिनीहरूको हृदयमा राखिदिनेछु र तिनीहरूको दिमागमा ती लेखिदिनेछु।’”+ १७  त्यसपछि यसो भन्छ: “अनि म तिनीहरूका पापहरू र तिनीहरूका कुकर्महरू फेरि कहिल्यै सम्झनेछैनँ।”+ १८  अब जहाँ यी पापहरूको क्षमा हुन्छ, त्यहाँ पापको लागि भेटीको कुनै आवश्‍यकता हुँदैन। १९  तसर्थ हे भाइ हो, येसुको रगतले गर्दा हामीसित पवित्र ठाउँभित्र पस्ने हिम्मत छ,+ २०  जहाँ पुग्न उहाँले हाम्रो निम्ति नयाँ र जीवित बाटो खोल्नुभयो, जुन बाटो पर्दा भएर जान्छ+ र त्यो पर्दा उहाँको शरीर हो। २१  साथै परमेश्‍वरको घरानामाथि खटाइनुभएको महान्‌ पुजारी हामीसित हुनुहुन्छ।+ २२  त्यसैले आओ, निष्कपट हृदय र पूरा विश्‍वासका साथ परमेश्‍वरसामु जाऔँ। किनकि हाम्रो हृदय अनि दुष्ट अन्तस्करण शुद्ध पारिएको छ+ अनि हाम्रो शरीर सफा पानीले धोइएको छ।+ २३  आओ, हामी नधरमराई आफ्नो आशा जनसमक्ष घोषणा गरिरहौँ + किनकि प्रतिज्ञा गर्ने जो हुनुहुन्छ, उहाँ विश्‍वासयोग्य हुनुहुन्छ। २४  अनि आपसमा गहिरो चासो राखेर* हामी एकअर्कालाई प्रेम र सुकर्म गर्न उत्साहित बनाऔँ,*+ २५  कसै-कसैलाई एकसाथ भेला हुन छोड्‌ने बानी परेको छ तर हामी भने त्यसरी भेला हुन नछोडौँ + बरु एकअर्कालाई प्रोत्साहन दिइरहौँ + अनि दिन जति-जति नजिक हुँदै गइरहेको देख्छौँ, झन्‌ बढी त्यसो गरिरहौँ।+ २६  सत्यको सही ज्ञान पाएपछि यदि हामी जानाजानी पाप गरिरहन्छौँ भने+ हाम्रा पापहरूको निम्ति कुनै बलिदान बाँकी रहँदैन।+ २७  बाँकी रहन्छ त केवल न्यायको भयावह पर्खाइ अनि विरोधीहरूलाई भस्म गर्ने क्रोधको आगो।+ २८  यदि मोसाको व्यवस्थाको अवहेलना गर्ने मानिसलाई दुई वा तीन जनाले दिएको साक्षीको आधारमा कुनै दयामाया नदेखाई मृत्युदण्ड दिइन्छ भने+ २९  तिमीहरू सोच त, त्यो मानिस झन्‌ कति ठूलो दण्ड पाउन लायक हुनेछ, जसले परमेश्‍वरको छोरालाई कुल्चेको छ अनि जुन करारको रगतले+ आफूलाई पवित्र बनायो, त्यसैलाई मूल्यहीन सम्झेको छ अनि जसले परमेश्‍वरले देखाउनुभएको असीम अनुग्रहलाई हेय दृष्टिले हेरेर पवित्र शक्‍तिको अपमान गरेको छ?+ ३०  किनकि हामी परमेश्‍वरलाई चिन्छौँ, जसले यसो भन्‍नुभएको छ: “बदला लिने काम मेरो हो, म साटो फेर्नेछु।” अनि फेरि: “यहोवाले* आफ्ना मानिसहरूको न्याय गर्नुहुनेछ।”+ ३१  जीवित परमेश्‍वरको हातमा पर्नु डरलाग्दो कुरा हो। ३२  तथापि तिमीहरू पहिले-पहिलेका ती दिनहरू सम्झिरहो, जुन बेला ज्ञानको ज्योति पाइसकेपछि+ तिमीहरूले ठूलो सङ्‌घर्ष गरेर दुःखकष्ट सह्‍यौ। ३३  कहिले सबैको अगाडि* तिमीहरूको अपमान गरियो र तिमीहरूलाई सताइयो भने कहिलेचाहिँ त्यस्ता कुराहरू अनुभव गर्नेहरूसितै तिमीहरूले दुःख भोग्यौ।* ३४  तिमीहरूले झ्यालखानामा हुनेहरूलाई सहानुभूति देखायौ अनि आफ्नो सम्पत्ति लुटिँदा हाँसीहाँसी सह्‍यौ+ किनकि तिमीहरूसित त्योभन्दा उत्तम अनि स्थायी सम्पत्ति छ भनेर तिमीहरूलाई थाह थियो।+ ३५  तसर्थ साहसी हुन नछोड* किनकि त्यसबापत तिमीहरूले प्रशस्त इनाम पाउनेछौ।+ ३६  तिमीहरू सहनशील हुनु आवश्‍यक छ+ किनकि परमेश्‍वरको इच्छा पूरा गरिसकेपछि तिमीहरूले त्यो कुरा पाउन सक्नेछौ, जसको विषयमा उहाँले प्रतिज्ञा गर्नुभएको छ। ३७  किनकि “थोरै समय मात्र” बाँकी छ+ अनि “जो आउँदै हुनुहुन्छ, उहाँ ढिलो नगरी आउनुहुनेछ।”+ ३८  “तर मेरो नजरमा धर्मी ठहरिएको मानिस विश्‍वासैले गर्दा जिउनेछ”+ अनि “यदि ऊ पछि हट्‌छ भने म ऊसित खुसी हुनेछैनँ।”+ ३९  अब हामी पछि हटेर नाश हुने खालका मानिसहरू होइनौँ + बरु विश्‍वास गरेर आफ्नो जीवन बचाउने खालका मानिसहरू हौँ।

फुटनोटहरू

वा “त्रुटिरहित।”
वा सम्भवतः “मानिसहरूले।”
शब्दावली हेर्नुहोस्‌।
शब्दावली हेर्नुहोस्‌।
शा., “पुस्तकको मुठामा।”
वा “जनसेवा।”
अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।
वा “एकअर्काको ख्याल राखेर; एकअर्कालाई ध्यान दिएर।”
वा “उत्प्रेरित गरौँ।”
अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।
शा., “रङ्‌गमञ्चमा तमासा बनाइएजसरी।”
वा “त्यस्ता कुराहरू अनुभव गर्नेहरूको साथमा खडा भयौ।”
शा., “निर्धक्क भई बोल्ने साहस गरिरहो।”