लुकाका अनुसार ६:१-४९

  • येसु, “विश्रामदिनको प्रभु” (१-५)

  • हात सुकेको मानिसलाई निको पारिन्छ (६-११)

  • १२ जना प्रेषित (१२-१६)

  • येसु सिकाउनुहुन्छ र निको पार्नुहुन्छ (१७-१९)

  • आनन्दित र धिक्कार (२०-२६)

  • शत्रुहरूलाई प्रेम (२७-३६)

  • न्याय गर्न छोडिहाल (३७-४२)

  • फलबाटै चिनिन्छ (४३-४५)

  • बलियो गरी बनाइएको घर; जग नहाली बनाइएको घर (४६-४९)

 एकपटक विश्रामदिनमा* उहाँ गहुँ खेत हुँदै गइरहनुभएको थियो र उहाँका चेलाहरू गहुँका बालाहरू टिपेर+ हातले माड्‌दै खाइरहेका थिए।+ २  यो देखेर केही फरिसीहरूले* यसो भने: “विश्रामदिनमा गर्न नहुने काम गरेर तिमीहरू किन नियम उल्लङ्‌घन गरिरहेका छौ?”+ ३  तर येसुले तिनीहरूलाई जवाफ दिनुभयो: “दाउदले आफू र आफ्ना मानिसहरू भोकाउँदा के गरे, के तिमीहरूले कहिल्यै पढेका छैनौ?+ ४  कसरी तिनी परमेश्‍वरको भवनभित्र पसे र पुजारीहरूबाहेक अरूले खानु उचित नभए तापनि+ परमेश्‍वरलाई चढाइएका रोटीहरू* लिएर खाए अनि आफ्ना मानिसहरूलाई पनि केही दिए?” ५  उहाँले तिनीहरूलाई अझै यसो भन्‍नुभयो: “मानिसको छोरा नै विश्रामदिनको प्रभु हो।”+ ६  अर्को विश्रामदिनमा+ उहाँ सभाघरमा पसेर सिकाउन थाल्नुभयो। त्यहाँ दाहिने हात सुकेको* एक जना मानिस थियो।+ ७  उहाँलाई दोष लगाउने निहुँ भेट्टाउन शास्त्रीहरू र फरिसीहरू उहाँले विश्रामदिनमा निको पार्नुहुन्छ कि पार्नुहुन्‍न भनेर उहाँलाई नियालिरहेका थिए। ८  तर तिनीहरू के सोचिरहेका छन्‌ भनेर उहाँलाई थाह थियो।+ त्यसैले उहाँले हात सुकेको त्यस मानिसलाई भन्‍नुभयो: “उठ र बीचमा उभ।” तब त्यो मानिस उठेर बीचमा उभियो। ९  त्यसपछि येसुले तिनीहरूलाई भन्‍नुभयो: “म तिमीहरूलाई सोध्छु, विश्रामदिनमा भलो गर्नु ठीक हो कि हानि गर्नु? ज्यान बचाउनु ठीक हो कि ज्यान लिनु?”+ १०  चारैतिर सबैलाई हेरेपछि उहाँले त्यस मानिसलाई भन्‍नुभयो: “तिम्रो हात तन्काऊ।” उसले त्यसै गऱ्‍यो अनि उसको हात सद्दे भइहाल्यो। ११  तर तिनीहरू रिसले पागल भए अनि येसुलाई के गर्ने भनेर आपसमा कुरा गर्न थाले। १२  एकदिन उहाँ प्रार्थना गर्न डाँडामा जानुभयो+ र पूरै रात परमेश्‍वरलाई प्रार्थना गरेर बिताउनुभयो।+ १३  तर जब उज्यालो भयो, उहाँले आफ्ना चेलाहरूलाई बोलाएर तीमध्ये १२ जनालाई छान्‍नुभयो अनि प्रेषितहरू* भन्‍ने नाम पनि दिनुभयो।+ तिनीहरू हुन्‌: १४  सिमोन, जसलाई उहाँले पत्रुस भन्‍ने नाम पनि दिनुभयो र तिनका भाइ अन्द्रियास, याकुब, युहन्‍ना, फिलिप,+ बारथोलोमाइ, १५  मत्ति, थोमा,+ अल्फयसको छोरा याकुब, “जोसिलो” भनिने सिमोन, १६  यहुदा, जो याकुबका छोरा थिए अनि यहुदा इस्करियोत, जो पछि धोकेबाज भए। १७  अनि उहाँ तिनीहरूसित ओर्लेर समतल ठाउँमा उभिनुभयो। त्यहाँ उहाँका चेलाहरू ठूलो सङ्‌ख्यामा जम्मा भएका थिए। त्यसबाहेक सारा यहुदिया र यरुसलेमबाट अनि टायर र सिदोनका तटवर्ती इलाकाहरूबाट आएका मानिसहरूको ठूलो जमात पनि त्यहाँ थियो। तिनीहरू उहाँको वचन सुन्‍न अनि निको हुन आएका थिए। १८  प्रेतले* सताएकाहरूसमेत सद्दे भए। १९  भीडमा हुनेजति सबै जनाले उहाँलाई छुन खोजिरहेका थिए किनकि उहाँबाट निस्केको शक्‍तिले+ तिनीहरू सबैलाई निको पारिरहेको थियो। २०  तब उहाँले चेलाहरूलाई हेर्नुभयो र यसो भन्‍न थाल्नुभयो: “आनन्दित हौ तिमी गरिबहरू किनकि परमेश्‍वरको राज्य तिमीहरूकै हो।+ २१  “आनन्दित हौ तिमीहरू, जो अहिले भोका छौ किनकि तिमीहरू तृप्त पारिनेछौ।+ “आनन्दित हौ तिमीहरू, जो अहिले रुन्छौ किनकि तिमीहरू हाँस्नेछौ।+ २२  “आनन्दित हौ तिमीहरू, जब मानिसहरूले तिमीहरूलाई मानिसको छोराको खातिर घृणा गर्छन्‌,+ बहिष्कार गर्छन्‌,+ तिमीहरूको बदनाम गर्छन्‌ अनि दुष्ट भनी अपमान गर्छन्‌। २३  त्यस दिन रमाओ अनि खुसीले उफ्र किनभने हेर, स्वर्गमा तिमीहरूको इनाम ठूलो छ। किनकि तिनीहरूका पुर्खाहरूले पनि भविष्यवक्‍ताहरूलाई त्यसै गर्ने गर्थे।+ २४  “तर धिक्कार तिमी धनीहरूलाई+ किनकि तिमीहरूले जति सुखसुविधा पाउनुपर्ने हो, त्यो तिमीहरूले पाइसकेका छौ।+ २५  “धिक्कार तिमीहरूलाई, जो अहिले तृप्त छौ किनकि तिमीहरू भोकाउनेछौ। “धिक्कार तिमीहरूलाई, जो अहिले हाँसिरहेका छौ किनकि तिमीहरू शोक गर्नेछौ अनि रुनेछौ।+ २६  “धिक्कार तिमीहरूलाई जब सबै मानिसले तिमीहरूको तारिफ गर्छन्‌+ किनकि तिनीहरूका पुर्खाहरूले झूटा भविष्यवक्‍ताहरूलाई त्यसै गर्थे। २७  “तर तिमीहरू, जो मेरो कुरा सुनिरहेका छौ, म तिमीहरूलाई भन्छु, आफ्ना शत्रुहरूलाई प्रेम गरिरहो, तिमीहरूलाई घृणा गर्नेहरूको भलो हुने काम गरिरहो,+ २८  तिमीहरूलाई सराप्नेहरूलाई आशिष्‌ दिइरहो, तिमीहरूको अपमान गर्नेहरूका लागि प्रार्थना गरिरहो।+ २९  जसले तिम्रो एउटा गाला चड्‌काउँछ, उसलाई अर्को गाला पनि थापिदेऊ। अनि जसले तिम्रो खास्टो खोस्छ, उसलाई तिम्रो लुगा पनि लैजान देऊ।+ ३०  तिमीसित माग्नेजति सबैलाई देऊ+ अनि तिम्रो मालसामान लैजानेसित ती फिर्ता नमाग। ३१  “यसबाहेक मानिसहरूले तिमीहरूलाई जे-जसो गरून्‌ भन्‍ने तिमीहरू चाहन्छौ, तिमीहरूले पनि तिनीहरूलाई त्यसै गर।+ ३२  “यदि तिमीहरू आफूलाई प्रेम गर्नेहरूलाई मात्र प्रेम गर्छौ भने के नै ठूलो काम गरेका हुन्छौ र? किनकि पापीहरूले पनि आफूलाई प्रेम गर्नेहरूलाई प्रेम गर्छन्‌।+ ३३  अनि यदि तिमीहरूको भलो गर्नेहरूको मात्र तिमीहरू भलो गर्छौ भने के नै ठूलो काम गरेका हुन्छौ र? किनकि पापीहरूले पनि त्यसै गर्छन्‌। ३४  त्यसैगरि यदि तिमीहरू जसबाट फिर्ता पाउने आशा गर्छौ, तिनीहरूलाई मात्र ऋण* दिन्छौ भने के नै ठूलो काम गरेका हुन्छौ र?+ किनकि पापीहरूले पनि त साँवा फिर्ता पाउनेगरि पापीहरूलाई ऋण दिन्छन्‌। ३५  बरु तिमीहरू आफ्ना शत्रुहरूलाई प्रेम गरिरहो अनि तिनीहरूको भलो गरिरहो अनि केही फिर्ता पाउने आशा नगरी ऋण दिइरहो।+ तब तिमीहरूले ठूलो इनाम पाउनेछौ अनि तिमीहरू सर्वोच्च परमेश्‍वरका छोराहरू हुनेछौ किनकि उहाँ बैगुनी र दुष्टहरूप्रति दयालु हुनुहुन्छ।+ ३६  जस्तो तिमीहरूका बुबा कृपालु हुनुहुन्छ, तिमीहरू पनि कृपालु भइरहो।+ ३७  “यसबाहेक अरूको न्याय गर्न छोडिहाल र कुनै हालतमा तिमीहरूको पनि न्याय गरिनेछैन।+ दोष लगाउन छोडिहाल र तिमीहरूलाई पनि कुनै हालतमा दोष लगाइनेछैन। क्षमा दिइरहो र तिमीहरूले पनि क्षमा पाउनेछौ।+ ३८  दिने गर अनि मानिसहरूले तिमीहरूलाई पनि दिनेछन्‌।+ तिनीहरूले तिमीहरूको पोल्टामा प्रशस्त गरी, खाँदी-खाँदी, हल्लाएर, पोखिनेगरि हालिदिनेछन्‌। किनकि तिमीहरू जुन नापले नाप्छौ, अरूले पनि तिमीहरूका लागि त्यही नापले नाप्नेछन्‌।” ३९  त्यसपछि उहाँले तिनीहरूलाई एउटा उदाहरण पनि सुनाउनुभयो: “अन्धाले अन्धालाई डोऱ्‍याउन सक्छ र? त्यसो गऱ्‍यो भने दुवै जना खाल्टोमा खस्दैनन्‌ र?+ ४०  चेला आफ्नो गुरुभन्दा महान्‌ हुँदैन तर ज-जसले पूरा तालिम पाउँछन्‌, ती सबै आफ्नो गुरुजत्तिकै हुनेछन्‌। ४१  तिमी किन आफ्नो भाइको आँखामा भएको छेस्को देख्छौ तर आफ्नै आँखामा भएको मुढाचाहिँ यादै गर्दैनौ?+ ४२  यदि तिमी आफ्नै आँखामा भएको मुढा देख्दैनौ भने तिमी कसरी आफ्नो भाइलाई ‘ए भाइ, मलाई तिम्रो आँखाको छेस्को निकाल्न देऊ’ भन्‍न सक्छौ? ए कपटी! पहिले आफ्नै आँखाको मुढा निकाल अनि तिमीले आफ्नो भाइको आँखाबाट छेस्को कसरी निकाल्ने भनेर छर्लङ्‌गै देख्नेछौ। ४३  “किनकि असल रूखले बिग्रेको फल फलाउँदैन; त्यसैगरि खराब रूखले असल फल फलाउँदैन।+ ४४  हरेक रूख त्यसको फलबाटै चिनिन्छ।+ उदाहरणका लागि, मानिसहरूले काँडाको झाङबाट अन्जिर बटुल्दैनन्‌ न त जङ्‌गली झारबाट अङ्‌गुर टिप्छन्‌। ४५  असल मानिसले आफ्नो हृदयको असल भण्डारबाट असलै थोक निकाल्छ तर दुष्ट मानिसले आफ्नो दुष्टताको भण्डारबाट दुष्टै थोक निकाल्छ। किनकि हृदयमा जे प्रशस्त छ, मुखले त्यही बोल्छ।+ ४६  “तिमीहरू किन मलाई ‘प्रभु! प्रभु!’ भनी पुकार्छौ तर मैले भनेजस्तो चाहिँ गर्दैनौ?+ ४७  जो मकहाँ आउँछ र मेरो वचन सुन्छ अनि त्यसअनुसार गर्छ, ऊ कस्तो खालको मानिस हो, म तिमीहरूलाई बताउँछु:+ ४८  ऊ त घर बनाउने त्यो मानिसजस्तो हो, जसले गहिरो खाल्टो खनेर चट्टानमाथि जग बसाल्यो। जब बाढी आयो अनि नदीको धार त्यस घरमा ठोक्कियो, तब त्यसलाई हल्लाउन सकेन किनकि त्यो बलियो गरी बनाइएको थियो।+ ४९  अर्कोतिर जसले सुन्छ तर पालन गर्दैन,+ ऊ त्यो मानिसजस्तो हो, जसले जग नहाली जमिनमा घर बनायो। जब नदीको धार त्यस घरमा ठोक्कियो, तब त्यो तुरुन्तै ढल्यो र पूरै ध्वस्त भयो।”

फुटनोटहरू

हिब्रू भाषामा सबाथ। शब्दावलीमा “विश्रामदिन” हेर्नुहोस्‌।
शब्दावली हेर्नुहोस्‌।
वा “भेटीको रोटी।” शब्दावलीमा “भेटीको रोटी” हेर्नुहोस्‌।
वा “पक्षाघात भएको।”
शब्दावली हेर्नुहोस्‌।
वा “दुष्ट स्वर्गदूतले।” शब्दावलीमा “प्रेत” हेर्नुहोस्‌।
अर्थात्‌, विनाब्याज ऋण।