लुकाका अनुसार ३:१-३८

  • युहन्‍ना सेवाको काम गर्न थाल्छन्‌ (१, २)

  • युहन्‍ना बप्तिस्माबारे प्रचार गर्छन्‌ (३-२०)

  • येसुको बप्तिस्मा (२१, २२)

  • येसु ख्रिष्टको वंशावली (२३-३८)

 सिजर* टाइबेरियसको शासनकालको १५ औँ वर्षमा, पन्तियस पिलातस यहुदियाका राज्यपाल, हेरोद*+ गालिलका प्रान्तीय शासक, तिनका दाइ फिलिपचाहिँ इतुरिया र त्राखोनितिसका प्रान्तीय शासक अनि लुसानियासचाहिँ अबिलेनेका प्रान्तीय शासक छँदा २  हन्‍नास र कैयाफा+ मुख्य पुजारी थिए। ती दिनमा जकरियाका छोरा युहन्‍ना+ निर्जनभूमिमा+ छँदा परमेश्‍वरको वचन तिनीकहाँ आयो। ३  त्यसैले तिनी यर्दनवरिपरिका सबै ठाउँमा गए र मानिसहरूलाई आफ्ना पापको पश्‍चात्ताप गरेर क्षमा माग्न र त्यसको प्रतीकस्वरूप बप्तिस्मा गर्न प्रचार गरे,+ ४  जस्तो भविष्यवक्‍ता यसैयाको पुस्तकमा लेखिएको छ: “उजाड ठाउँमा कोही यसो भन्दै कराइरहेको छ, ‘यहोवाको* बाटो तयार पार, उहाँको मार्ग सोझो बनाओ।+ ५  हरेक बेँसी पुरियोस्‌, हरेक पहाड र हरेक डाँडा समतल बनाइयोस्‌, घुम्तीहरू सोझा पारिऊन्‌ अनि खाल्टाखुल्टी परेका बाटाहरू सम्म बनाइऊन्‌। ६  तब परमेश्‍वरले गर्नुहुने उद्धार सबै मानिसले देख्नेछन्‌।’”+ ७  आफूकहाँ बप्तिस्मा गर्न आउने भीडलाई तिनले भन्‍न थाले: “हे विषालु सर्पका बच्चाहरू हो! आउँदै गरेको क्रोधबाट भाग्न तिमीहरूलाई कसले चेतावनी दियो?+ ८  यसकारण पश्‍चात्ताप गरेको देखिने फल फलाओ। तिमीहरू ‘हाम्रो बुबा अब्राहाम हुनुहुन्छ’ भनी नसोच किनकि म तिमीहरूलाई भन्छु, परमेश्‍वरले यी ढुङ्‌गाहरूबाट अब्राहामको निम्ति सन्तान खडा गर्न सक्नुहुन्छ। ९  हो, बन्चरो रूखको जरामा परिसकेको छ। त्यसैले असल फल नफलाउने हरेक रूख काटेर ढालिनेछ र आगोमा फालिनेछ।”+ १०  तब भीडले तिनलाई सोध्थ्यो: “त्यसोभए हामी के गरौँ त?” ११  तिनी उनीहरूलाई जवाफ दिन्थे: “दुई वटा लुगा हुनेले केही पनि नहुनेलाई एउटा देओस्‌ र आफूसित खानेकुरा हुनेले पनि त्यसै गरोस्‌।”+ १२  कर उठाउनेहरू समेत बप्तिस्मा गर्न आए+ र उनीहरूले तिनलाई सोधे: “हे गुरु, हामीचाहिँ के गरौँ?” १३  तिनले उनीहरूलाई भने: “तोकिएको कर जति छ, त्योभन्दा बढी केही नमाग।”+ १४  त्यसैगरि सैन्य सेवामा लागेकाहरू पनि तिनलाई सोध्थे: “अनि हामीचाहिँ के गरौँ नि?” तिनी उनीहरूलाई भन्थे: “कसैलाई दुःख दिएर वा झूटो आरोप लगाएर लुट्‌ने काम नगर+ तर आफ्नो रासनपानीमा* सन्तुष्ट होओ।” १५  जब सबै मानिसले ख्रिष्ट आउने आशा गरिरहेका थिए अनि “कतै यिनी नै ख्रिष्ट हुन्‌ कि?” भनेर युहन्‍नाको विषयमा मनमनै सोचिरहेका थिए,+ १६  तब युहन्‍नाले उनीहरू सबैलाई यसो भने: “म त पानीले तिमीहरूको बप्तिस्मा गराउँछु तर मपछि मभन्दा शक्‍तिशाली एक जना आउँदै हुनुहुन्छ, जसको जुत्ताको फित्ता फुकाल्न समेत म लायकको छैनँ।+ उहाँले तिमीहरूको बप्तिस्मा पवित्र शक्‍ति र आगोले गराउनुहुनेछ।+ १७  बत्ताउने बेल्चा उहाँको हातमा छ। उहाँले आफ्नो खला पूरै सफा गर्नुहुनेछ र गहुँलाई आफ्नो भण्डारमा जम्मा गर्नुहुनेछ तर भुसलाई चाहिँ कहिल्यै निभाउन नसकिने आगोमा जलाउनुहुनेछ।” १८  तिनले अरू थुप्रै अर्ती दिनुका साथै मानिसहरूलाई सुसमाचार सुनाइरहे। १९  तर जब तिनले प्रान्तीय शासक हेरोदलाई उनका दाइकी पत्नीको विषयमा र हेरोदले गरेका अरू सबै दुष्ट कामको विषयमा हप्काए, २०  तब उनले आफ्ना दुष्ट कामहरूमा अझै एउटा दुष्ट काम थपे: उनले युहन्‍नालाई झ्यालखानामा हाले।+ २१  सबै मानिसले बप्तिस्मा गरिरहेको बेला येसुले पनि बप्तिस्मा गर्नुभयो।+ उहाँले प्रार्थना गरिरहनुहुँदा आकाश खुल्यो+ २२  अनि पवित्र शक्‍ति ढुकुरजस्तो आकारमा उहाँमाथि ओर्लियो र आकाशबाट यस्तो आवाज आयो: “तिमी मेरो प्यारो छोरा हौ। मैले तिमीलाई स्विकारेको छु।”+ २३  मानिसहरूलाई सिकाउन थाल्दा येसु+ लगभग ३० वर्षको हुनुहुन्थ्यो।+ मानिसहरूले ठानेझैँउहाँ युसुफका+ छोरा हुनुहुन्थ्यो,जो हेलिका छोरा थिए, २४  जो मत्तातका छोरा थिए,जो लेविका छोरा थिए,जो मल्किका छोरा थिए,जो यान्‍नाका छोरा थिए,जो युसुफका छोरा थिए, २५  जो मत्ताथियासका छोरा थिए,जो आमोसका छोरा थिए,जो नहुमका छोरा थिए,जो इसलिका छोरा थिए,जो नग्गैका छोरा थिए, २६  जो माथका छोरा थिए,जो मत्ताथियासका छोरा थिए,जो सेमैनका छोरा थिए,जो योसेखका छोरा थिए,जो योदाका छोरा थिए, २७  जो योआननका छोरा थिए,जो रेसाका छोरा थिए,जो यरुबाबेलका+ छोरा थिए,जो सालतिएलका+ छोरा थिए,जो नेरिका छोरा थिए, २८  जो मल्किका छोरा थिए,जो अद्दिका छोरा थिए,जो कोसामका छोरा थिए,जो एलमादमका छोरा थिए,जो एरका छोरा थिए, २९  जो येसुका छोरा थिए,जो एलिएजरका छोरा थिए,जो योरिमका छोरा थिए,जो मत्तातका छोरा थिए,जो लेविका छोरा थिए, ३०  जो सिमियोनका छोरा थिए,जो यहुदाका छोरा थिए,जो युसुफका छोरा थिए,जो योनामका छोरा थिए,जो एलियाकिमका छोरा थिए, ३१  जो मलेआका छोरा थिए,जो मिन्‍नाका छोरा थिए,जो मत्ताथाका छोरा थिए,जो नातानका+ छोरा थिए,जो दाउदका+ छोरा थिए, ३२  जो यिसैका+ छोरा थिए,जो ओबेदका+ छोरा थिए,जो बोअजका+ छोरा थिए,जो साल्मोनका+ छोरा थिए,जो नहसोनका+ छोरा थिए, ३३  जो अम्मिनादाबका छोरा थिए,जो अरनिका छोरा थिए,जो हेस्रोनका छोरा थिए,जो पेरेजका+ छोरा थिए,जो यहुदाका+ छोरा थिए, ३४  जो याकुबका+ छोरा थिए,जो इसहाकका+ छोरा थिए,जो अब्राहामका+ छोरा थिए,जो तेरहका+ छोरा थिए,जो नाहोरका+ छोरा थिए, ३५  जो सरुगका+ छोरा थिए,जो रउका+ छोरा थिए,जो पेलेगका+ छोरा थिए,जो एबेरका+ छोरा थिए,जो सेलहका+ छोरा थिए, ३६  जो केनानका छोरा थिए,जो अर्पक्षदका+ छोरा थिए,जो सेमका+ छोरा थिए,जो नुहका+ छोरा थिए,जो लेमेकका+ छोरा थिए, ३७  जो मतुसेलहका+ छोरा थिए,जो हनोकका छोरा थिए,जो यारेदका+ छोरा थिए,जो महलालेलका+ छोरा थिए,जो केनानका+ छोरा थिए, ३८  जो एनोसका+ छोरा थिए,जो सेतका+ छोरा थिए,जो आदमका+ छोरा थिए,जो परमेश्‍वरका छोरा थिए।

फुटनोटहरू

अर्थात्‌, हेरोद एन्टिपास। शब्दावलीमा “हेरोद” हेर्नुहोस्‌।
शब्दावली हेर्नुहोस्‌।
अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।
वा “ज्यालामा।”