प्रेषितहरूका कार्य १५:१-४१

  • खतनाको विषयलाई लिएर एन्टिओकमा विवाद (१, २)

  • मामिला यरुसलेममा पुऱ्‍याइन्छ (३-५)

  • एल्डर र प्रेषितहरू एकसाथ भेला हुन्छन्‌ (६-२१)

  • परिचालक निकायको पत्र (२२-२९)

  • मण्डलीहरूले पत्रबाट प्रोत्साहन पाउँछन्‌ (३०-३५)

  • पावल र बर्णाबास छुट्टिन्छन्‌ (३६-४१)

१५  यहुदियाबाट केही मानिसहरू आएर भाइहरूलाई यसो भनेर सिकाउन थाले: “मोसाको व्यवस्थाअनुसार खतना+ नगरेसम्म तपाईँहरूको उद्धार हुन सक्दैन।” २  पावल र बर्णाबासको उनीहरूसित निकै मतभेद र बहस भएपछि यस विषयमा कुरा गर्न पावल र बर्णाबासका साथै अरू केही भाइहरूलाई यरुसलेममा+ भएका प्रेषितहरू र एल्डरहरूकहाँ पठाउने प्रबन्ध मिलाइयो। ३  त्यसैले मण्डलीले तिनीहरूलाई केही परसम्म पुऱ्‍याइसकेपछि फोनिसिया र सामरिया हुँदै ती मानिसहरूले आफ्नो यात्रा जारी राखे। अनि अन्यजातिका मानिसहरूले गरेको धर्म परिवर्तनबारे सविस्तार सुनाए र यो सुनेर सबै भाइहरू असाध्यै रमाए। ४  तिनीहरू यरुसलेम पुग्दा मण्डलीले, प्रेषितहरूले अनि एल्डरहरूले न्यानो स्वागत गरे। अनि पावल र बर्णाबासले उनीहरूलाई आफूहरूमार्फत परमेश्‍वरले गर्नुभएका थुप्रै कामका विषयमा बताए। ५  तर फरिसी गुटका केही मानिसहरू, जसले प्रभुमा विश्‍वास गर्न थालेका थिए, उनीहरू आफू बसेको ठाउँबाट उठे र भने: “तिनीहरूको खतना गराउनुपर्छ अनि तिनीहरूलाई मोसाको व्यवस्था पालन गर्ने आदेश दिनुपर्छ।”+ ६  यस विषयमा छलफल गर्न प्रेषितहरू र एल्डरहरू एकै ठाउँमा भेला भए। ७  चर्को बहस भइसकेपछि पत्रुस उभिए र उनीहरूलाई भने: “भाइहरू हो, तपाईँहरूलाई थाहै छ, अन्यजातिका मानिसहरूले मेरो मुखबाट सुसमाचार सुनून्‌ र विश्‍वास गरून्‌ भनेर परमेश्‍वरले सुरुदेखि तपाईँहरूको माझबाट मलाई रोज्नुभयो।+ ८  अनि हृदयको कुरा जान्‍नुहुने परमेश्‍वरले+ हामीलाई जस्तै उनीहरूलाई पनि पवित्र शक्‍ति दिएर+ उनीहरूलाई रोजेको प्रमाण दिनुभयो। ९  हामी र उनीहरूबीच उहाँले कुनै भेदभाव गर्नुभएन+ तर विश्‍वासद्वारा उनीहरूको हृदय शुद्ध पार्नुभयो।+ १०  त्यसैले अब तपाईँहरू ती चेलाहरूको गर्दनमा किन यस्तो जुवा लादेर परमेश्‍वरको परीक्षा लिनुहुन्छ,+ जुन न हाम्रा पुर्खाहरूले बोक्न सके न त हामीले नै बोक्न सक्यौँ?+ ११  बरु प्रभु येसुको असीम अनुग्रहद्वारा उद्धार पाउँछौँ + भनी हामी विश्‍वास गर्छौँ अनि ती मानिसहरू पनि त्यसै गर्छन्‌।”+ १२  यो सुनेर सबै जना चुप लागे अनि परमेश्‍वरले आफूहरूमार्फत अन्यजातिहरूबीच गर्नुभएका थुप्रै चमत्कार अनि आश्‍चर्यजनक कार्यबारे बर्णाबास र पावलले बताउँदा उनीहरूले सुन्‍न थाले। १३  तिनीहरू बोल्न छोडेपछि याकुबले यसो भने: “भाइहरू हो, मेरो कुरा सुन्‍नुहोस्‌। १४  अन्यजातिमध्येबाट आफ्नो नामको लागि मानिसहरू छान्‍न+ परमेश्‍वरले कसरी पहिलो चोटि तिनीहरूतर्फ ध्यान दिनुभयो भनेर सिमियोनले+ विस्तृत रूपमा बताइसकेका छन्‌। १५  अनि भविष्यवक्‍ताहरूले बताएको कुरा पनि यससित मेल खान्छ, जस्तो लेखिएको छ: १६  ‘यी कुराहरूपछि म फर्कनेछु र दाउदको भत्किएको वासस्थान* पुनर्निर्माण गर्नेछु; त्यसको भग्नावशेषलाई बनाउनेछु र त्यसलाई फेरि ठड्‌याउनेछु १७  ताकि बाँकी रहेका मानिसहरूले सबै राष्ट्रका मानिसहरूसित मिलेर जोडतोडले यहोवा* परमेश्‍वरको खोजी गर्न सकून्‌, जसको विषयमा यी सबै काम गर्ने यहोवा* परमेश्‍वर भन्‍नुहुन्छ, यी मेरो नामद्वारा पुकारिने मानिसहरू हुन्‌।+ १८  उहाँले निकै पहिले यसो गर्ने निर्णय गरिसक्नुभएको थियो।’+ १९  त्यसकारण मेरो निर्णय* यो छ, परमेश्‍वरतर्फ फर्किरहेका अन्यजातिहरूलाई हामी दुःख नदेऔँ।+ २०  बरु मूर्तिपूजाद्वारा अपवित्र भएका कुराहरू,+ अवैध यौनसम्बन्ध,*+ गला अँठ्‌याएर मारिएको जनावरको मासु* र रगतबाट+ अलग रहनू भनेर लेखौँ। २१  मोसाका पुस्तकहरूमा लेखिएका कुराहरू प्रचार गर्ने मानिसहरू प्राचीन समयदेखि नै सहरैपिच्छे छन्‌ किनकि हरेक विश्रामदिनमा* तिनीहरूले सभाघरहरूमा ठूलो स्वरले यी पुस्तकहरू पढ्‌ने गर्छन्‌।”+ २२  तब प्रेषितहरू र एल्डरहरूले अनि सम्पूर्ण मण्डलीले आफूहरूमध्येबाट केही भाइलाई रोजेर पावल र बर्णाबाससित एन्टिओक पठाउने निर्णय गरे; तिनीहरूले भाइहरूमाझ अगुवाइ लिइरहेका बर्साबास भनिने यहुदा र सिलासलाई+ पठाए। २३  तिनीहरूले यस्तो पत्र लेखेर यी भाइहरूको हातमा पठाए: “तपाईँहरूका भाइहरू अर्थात्‌ प्रेषितहरू र एल्डरहरूको तर्फबाट एन्टिओक,+ सिरिया र सिलिसियाका गैर-यहुदी भाइहरूलाई अभिवादन! २४  हाम्रा केही मानिसहरूले तपाईँहरूलाई आफ्नो वचनद्वारा दुःख दिएर तपाईँहरूको पतन गराउन खोजेका छन्‌ भनेर हामीले सुन्यौँ + तर हामीले तिनीहरूलाई त्यसो गर्ने कुनै निर्देशन दिएका थिएनौँ। २५  त्यसैले हाम्रो सर्वसम्मतिद्वारा केही भाइलाई रोजेर हाम्रा प्रिय बर्णाबास र पावलसित तपाईँहरूकहाँ पठाउने निर्णय हामीले गऱ्‍यौँ। २६  यी दुवैले हाम्रा प्रभु येसु ख्रिष्टको नामको खातिर आफ्नो ज्यानको खतरा मोलेका छन्‌।+ २७  यस पत्रमा लेखिएका कुराहरू यहुदा र सिलासले पनि आफ्नो मुखैले बताऊन्‌ भनेर हामी तिनीहरूलाई पठाउँदै छौँ।+ २८  पवित्र शक्‍ति+ र हामीलाई यी आवश्‍यक कुराहरूबाहेक अरू थप बोझ तपाईँहरूलाई नबोकाउन उचित लाग्यो: २९  मूर्तिलाई बलि चढाइएका थोकहरू,+ रगत,+ गला अँठ्‌याएर मारिएको जनावरको मासु*+ र अवैध यौनसम्बन्धबाट*+ सधैँ अलग रहनुहोस्‌। यी कुराहरूबाट अलग रहन होसियार हुनुभयो भने तपाईँहरूको कल्याण हुनेछ। तपाईँहरूको भलो होस्‌!”* ३०  त्यसैले ती मानिसहरू बिदा भएर एन्टिओक झरे अनि थुप्रै चेलालाई भेला गरेर त्यो पत्र बुझाए। ३१  त्यो पत्र पढेपछि चेलाहरू त्यसबाट पाएको प्रोत्साहनले गर्दा रमाए। ३२  साथै यहुदा र सिलास पनि भविष्यवक्‍ताहरू भएकोले तिनीहरूले धेरै भाषण दिएर भाइहरूलाई प्रोत्साहन दिनुका साथै सुदृढ पारे।+ ३३  यसरी भाइहरूसित केही समय बिताइसकेपछि बिदाबारी गरेर तिनीहरू यरुसलेम फर्के। ३४  * ३५  तर पावल र बर्णाबास भने एन्टिओकमै बसे अनि तिनीहरूले अरू धेरै जनासित मिलेर यहोवा* परमेश्‍वरको वचनको सुसमाचार प्रचार गरे र सिकाए। ३६  केही दिनपछि पावलले बर्णाबासलाई यसो भने: “आऊ, हामीले जुन-जुन सहरमा यहोवा* परमेश्‍वरको वचन प्रचार गरेका थियौँ, त्यहाँ फेरि गएर* भाइहरूलाई भेटौँ र तिनीहरूको हालखबर बुझौँ।”+ ३७  बर्णाबासले मर्कुस भनिने युहन्‍नालाई+ पनि सँगै लैजाने निश्‍चय गरेका थिए। ३८  तर पावल भने उनलाई सँगै लैजाने पक्षमा थिएनन्‌ किनकि उनी तिनीहरूको काममा साथ नदिई तिनीहरूलाई पाम्फिलियाबाट छोडेर गएका थिए।+ ३९  यो कुरामा तिनीहरूबीच चर्को भनाभन भयो र तिनीहरू एकअर्काबाट छुट्टिए। तब बर्णाबासले+ मर्कुसलाई आफूसित लगे अनि समुद्री यात्रा गरेर साइप्रसतिर लागे। ४०  पावलले भने सिलासलाई रोजे अनि भाइहरूले पावलमाथि यहोवा* परमेश्‍वरको असीम अनुग्रह रहोस्‌ भनेर बिन्ती चढाएपछि तिनी आफ्नो बाटो लागे।+ ४१  मण्डलीहरूलाई सुदृढ बनाउँदै तिनी सिरिया र सिलिसियाको इलाकाभरि गए।

फुटनोटहरू

वा “घराना।”
अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।
अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।
वा “धारणा।”
वा “रगत ननिथारी मारिएको जनावरको मासु।”
ग्रीक भाषामा पोर्निया। शब्दावलीमा “अवैध यौनसम्बन्ध” हेर्नुहोस्‌।
हिब्रू भाषामा सबाथ। शब्दावलीमा “विश्रामदिन” हेर्नुहोस्‌।
वा “बिदा!”
ग्रीक भाषामा पोर्निया। शब्दावलीमा “अवैध यौनसम्बन्ध” हेर्नुहोस्‌।
वा “रगत ननिथारी मारिएको जनावरको मासु।”
अतिरिक्‍त लेख क३ हेर्नुहोस्‌।
अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।
अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।
वा सम्भवतः “जसरी भए पनि गएर।”
अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।