प्रस्थान ६:१-३०

  • छुटकारा दिने वाचा दोहोऱ्‍याइन्छ (१-१३)

    • यहोवाको नामको पूरै अर्थ प्रकट गरिएको थिएन (२, ३)

  • मोसा र हारुनको वंशावली (१४-२७)

  • मोसा फेरि फारोकहाँ जानुपर्छ (२८-३०)

 अनि यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: “म फारोलाई के गर्छु, अब तिमीले देख्नेछौ।+ इस्राएलीहरूलाई यहाँबाट जान दिन मेरो पराक्रमी हातले फारोलाई बाध्य पार्नेछ। मेरो पराक्रमी हातले गर्दा तिनीहरूलाई यो देशबाट पठाउन उनी बाध्य हुनेछन्‌।”+ २  त्यसपछि परमेश्‍वरले मोसालाई भन्‍नुभयो: “म यहोवा हुँ। ३  म अब्राहाम, इसहाक अनि याकुबकहाँ सर्वशक्‍तिमान्‌ परमेश्‍वरको रूपमा देखा परेको थिएँ।+ तर मेरो यहोवा नामले+ भने म तिनीहरूकहाँ प्रकट भइनँ।+ ४  तिनीहरूले प्रवासी भएर जीवन बिताएको कनान देश तिनीहरूलाई नै दिनेछु भनेर पनि मैले करार गरेँ।+ ५  मिश्रीहरूको थिचोमिचोमा परेका इस्राएलीहरूको सुस्केरा मैले सुनेको छु र तिनीहरूसित गरेको करार सम्झेको छु।+ ६  “त्यसकारण इस्राएलीहरूलाई भन: ‘म यहोवा हुँ। म तिमीहरूलाई मिश्रीहरूको थिचोमिचोबाट मुक्‍त गर्नेछु र उनीहरूको दासत्वबाट छुटकारा दिनेछु।+ मेरो पराक्रमी हातले तिमीहरूको उद्धार गर्नेछु र मिश्रीहरूलाई कडा दण्ड दिनेछु।+ ७  म तिमीहरूलाई मेरो प्रजाको रूपमा स्विकार्नेछु र म नै तिमीहरूका परमेश्‍वर हुनेछु।+ अनि मिश्रीहरूको थिचोमिचोबाट छुटकारा दिने परमेश्‍वर म यहोवा नै हुँ भनेर तिमीहरूले थाह पाउनेछौ। ८  अब्राहाम, इसहाक अनि याकुबलाई दिन्छु भनेर शपथ खाएको देशमा म तिमीहरूलाई लैजानेछु; त्यो देश तिमीहरूले अधिकार गर्नेछौ।+ म यहोवा हुँ।’”+ ९  मोसाले यो सन्देश इस्राएलीहरूलाई सुनाए तर निराश भएकोले र कठोर दासत्वमा परेकोले तिनीहरूले मोसाको कुरा सुन्‍न मानेनन्‌।+ १०  अनि यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: ११  “मिश्रका फारोकहाँ जाऊ र इस्राएलीहरूलाई मिश्रबाट जान देऊ भन।” १२  तर मोसाले यहोवा परमेश्‍वरलाई भने: “इस्राएलीहरूले त मेरो कुरा सुनेनन्‌ भने+ फारोले त झन्‌ के सुन्लान्‌ र? किनभने म राम्ररी बोल्न जान्दिनँ।”+ १३  इस्राएलीहरूलाई मिश्रबाट निकालेर ल्याउन मोसा र हारुनले मिश्रका फारोलाई र इस्राएलीहरूलाई भन्‍नुपर्ने कुराहरू यहोवा परमेश्‍वरले तिनीहरूलाई फेरि बताउनुभयो। १४  इस्राएलीहरूको कुलअनुसारका नाइकेहरू यी हुन्‌: इस्राएलको जेठो छोरा रुबेनका+ छोराहरू हानोक, पल्लु, हेस्रोन र कर्मि।+ रुबेनका परिवार यी नै हुन्‌। १५  सिमियोनका छोराहरू यी थिए: यमुएल, यामिन, ओहद, याकिन, जोहर र कनानी स्त्रीबाट जन्मेका सावल।+ सिमियोनका परिवार यी नै हुन्‌। १६  लेविका छोराहरूको नाम+ तिनीहरूको वंशावलीअनुसार यी थिए: गेर्सोन, कोहात र मरारि।+ लेवि १३७ वर्ष बाँचे। १७  गेर्सोनका छोराहरू तिनीहरूको घरानाअनुसार यी थिए: लिब्नि र सिमि।+ १८  कोहातका छोराहरू यी थिए: अम्राम, इजहार, हेब्रोन र उज्जिएल।+ कोहात १३३ वर्ष बाँचे। १९  मरारिका छोराहरू यी थिए: महलि र मुसि। लेविको कुलको परिवार तिनीहरूको वंशावलीअनुसार यी नै थिए।+ २०  अम्रामले आफ्नी फुपू योकेबेदसित विवाह गरे।+ योकेबेदले हारुन र मोसालाई जन्माइन्‌।+ अम्राम १३७ वर्ष बाँचे। २१  इजहारका छोराहरू यी थिए: कोरह,+ नेपेग र जिक्रि। २२  उज्जिएलका छोराहरू यी थिए: मिसाएल, एलिसापान+ र सिथ्रि। २३  हारुनले अम्मिनादाबकी छोरी, नहसोनकी बहिनी एलिसेबासित विवाह गरे।+ एलिसेबाले नादाब, अबिहु, एलियाजार र इथामारलाई जन्माइन्‌।+ २४  कोरहका छोराहरू यी थिए: अस्सिर, एल्काना र अबिआसाप।+ कोरहका परिवार यी नै थिए।+ २५  हारुनको छोरा एलियाजारले+ पतिएलकी छोरीसित विवाह गरे। तिनले पिनहासलाई जन्माइन्‌।+ लेविको कुलका नाइकेहरू तिनीहरूको बुबापट्टिको घरानाअनुसार यी नै थिए।+ २६  यी तिनै हारुन र मोसा हुन्‌, जसलाई यहोवा परमेश्‍वरले यसो भन्‍नुभएको थियो: “इस्राएलीहरूलाई समूह-समूह* बनाएर मिश्रबाट निकालेर ल्याऊ।”+ २७  इस्राएलीहरूलाई मिश्रबाट छुटाउन त्यहाँका राजा फारोसँग कुरा गर्ने मोसा र हारुन पनि यिनीहरू नै थिए।+ २८  यहोवा परमेश्‍वरले मिश्रमा मोसासित कुरा गर्नुभएको दिन २९  यहोवाले तिनलाई भन्‍नुभयो: “म यहोवा हुँ। म तिमीलाई जे-जे भन्दै छु, मिश्रका फारोलाई ती सबै भन।” ३०  त्यसपछि मोसाले यहोवा परमेश्‍वरलाई भने: “म राम्ररी बोल्न जान्दिनँ, फारोले मेरो कुरा के सुन्लान्‌ र?”+

फुटनोटहरू

शा., “सेनाको जस्तै डफ्फा-डफ्फा।”