प्रस्थान ३:१-२२

  • मोसा र बलिरहेको झाडी (१-१२)

  • यहोवा आफ्नो नामको अर्थ बताउनुहुन्छ (१३-१५)

  • यहोवा मोसालाई निर्देशन दिनुहुन्छ (१६-२२)

 मोसा आफ्ना ससुरा, मिद्यानीहरूका पुजारी यिथ्रोका भेडाबाख्रा चराउँथे।+ बगाललाई निर्जनभूमिको पश्‍चिमपट्टि चराउँदै जाँदा तिनी साँचो परमेश्‍वरको डाँडा होरेबमा आइपुगे।+ २  अनि झाडीको बीचमा यहोवा परमेश्‍वरको स्वर्गदूत आगोको ज्वालाको रूपमा मोसासामु देखा परे।+ तिनले अझ नियालेर हेर्दा झाडी बलिरहेको देखे तर त्यो डढेको भने थिएन। ३  त्यसैले मोसाले भने: “कस्तो अनौठो! झाडी बलिरहेको छ तर डढेको छैन। के भएको रहेछ, म त्यहीँ गएर हेर्छु।” ४  तिनी झाडीको नजिकै आइरहेको देखेपछि यहोवा परमेश्‍वरले झाडीको बीचबाट तिनलाई “मोसा! ए मोसा!” भनेर बोलाउनुभयो। तिनले जवाफ दिए: “हजुर!” ५  उहाँले भन्‍नुभयो: “त्यहीँ उभिराख, नजिक नआऊ! तिम्रो जुत्ता फुकाल किनभने तिमी जहाँ उभिरहेका छौ, त्यो भूमि पवित्र छ।” ६  उहाँले अझै यसो भन्‍नुभयो: “म तिम्रा पुर्खाहरूका परमेश्‍वर हुँ; अब्राहाम,+ इसहाक+ अनि याकुबका+ परमेश्‍वर।” तब मोसाले आफ्नो अनुहार छोपे किनभने तिनी साँचो परमेश्‍वरलाई हेर्न डराए। ७  त्यसपछि यहोवा परमेश्‍वरले भन्‍नुभयो: “मिश्रमा मेरो प्रजाको दुःख मैले देखेको छु। मिश्रीहरूको थिचोमिचोमा परेका मेरो प्रजाको चीत्कार मैले सुनेको छु। तिनीहरूले भोगिरहेको पीडा मलाई राम्ररी थाह छ।+ ८  म तिनीहरूलाई मिश्रीहरूको हातबाट छुटाएर+ कनानी, हित्ती, एमोरी, परिज्जी, हिव्वी अनि यबुसीहरूको देशमा पुऱ्‍याउन तल ओर्लनेछु।+ त्यो देश राम्रो र ठूलो छ अनि त्यहाँ दूध र मह बग्छ।+ ९  हेर, इस्राएलीहरूको चीत्कार मैले सुनेको छु। मिश्रीहरूले कठोर भएर तिनीहरूमाथि गरेको अत्याचार पनि मैले देखेको छु।+ १०  त्यसैले म तिमीलाई फारोकहाँ पठाउनेछु र तिमीले मेरो प्रजा इस्राएलीहरूलाई मिश्रबाट छुटाएर ल्याउनेछौ।”+ ११  तर मोसाले साँचो परमेश्‍वरलाई भने: “फारोकहाँ गएर इस्राएलीहरूलाई मिश्रबाट छुटाएर ल्याउन सक्ने म को हुँ र?” १२  तब उहाँले भन्‍नुभयो: “म तिमीसँग हुनेछु।+ तिमीले इस्राएलीहरूलाई मिश्रबाट छुटाएर ल्याएपछि तिमीहरूले यही डाँडामा मेरो उपासना गर्नेछौ;+ यो मेरो प्रतिज्ञा हो अनि तिमीलाई पठाउने साँचो परमेश्‍वर म नै हुँ भनेर तिमीले थाह पाउनेछौ।” १३  तब मोसाले साँचो परमेश्‍वरलाई भने: “म इस्राएलीहरूकहाँ गएर यसो भनूँला: ‘मलाई तिमीहरूका पुर्खाहरूका परमेश्‍वरले पठाउनुभएको हो।’ तर तिनीहरूले ‘उहाँको नाम के हो?’+ भनेर सोधे भने मैले तिनीहरूलाई के भन्‍नू?” १४  परमेश्‍वरले मोसालाई भन्‍नुभयो: “म जे बन्‍न चाहन्छु, त्यही बन्‍नेछु।”*+ उहाँले अझै यसो भन्‍नुभयो: “तिमीले इस्राएलीहरूलाई यसो भन्‍नू, ‘म जे बन्‍न चाहन्छु, त्यही बन्‍नेछु भन्‍नुहुनेले मलाई तिमीहरूकहाँ पठाउनुभएको हो।’”+ १५  त्यसपछि परमेश्‍वरले मोसालाई फेरि यसो भन्‍नुभयो: “तिमीले इस्राएलीहरूलाई भन्‍नू, ‘तिमीहरूका पुर्खाहरूका परमेश्‍वर यहोवाले मलाई पठाउनुभएको हो; अब्राहाम,+ इसहाक+ अनि याकुबका+ परमेश्‍वरले नै मलाई तिमीहरूकहाँ पठाउनुभएको हो।’ मेरो नाम सधैँका लागि यही रहनेछ+ अनि पुस्तौँपुस्तासम्म म यही नामले चिनिनेछु। १६  अब जाऊ र इस्राएलका नाइकेहरूलाई भेला गर अनि तिनीहरूलाई यसो भन, ‘तिमीहरूका पुर्खाहरू अर्थात्‌ अब्राहाम, इसहाक अनि याकुबका परमेश्‍वर यहोवा मकहाँ देखा पर्नुभयो अनि भन्‍नुभयो: “तिमीहरूले मिश्रमा भोगिरहेको दुःख अनि अत्याचार मैले अवश्‍य देखेको छु।+ १७  त्यसैले म तिमीहरूलाई मिश्रीहरूको हातबाट छुटाएर+ कनानी, हित्ती, एमोरी,+ परिज्जी, हिव्वी अनि यबुसीहरूको+ देशमा पुऱ्‍याउनेछु, जहाँ दूध र मह बग्छ।+ यो मेरो प्रतिज्ञा हो।”’ १८  “तिनीहरूले तिम्रो कुरा अवश्‍य सुन्‍नेछन्‌;+ तिमी र इस्राएलका नाइकेहरू मिश्रका राजाकहाँ जाऊ र यसो भन: ‘हिब्रूहरूका+ परमेश्‍वर यहोवाले हामीसित कुरा गर्नुभएको छ। त्यसैले कृपया हामीलाई तीन दिन यात्रा गरेर यहोवा परमेश्‍वरको निम्ति बलि चढाउन निर्जनभूमिमा जाने अनुमति दिनुहोस्‌।’+ १९  तर मलाई थाह छ, पराक्रमी हातले बाध्य नपारेसम्म मिश्रका राजाले तिमीहरूलाई जान दिनेछैनन्‌।+ २०  त्यसैले म आफ्नो हात पसार्नेछु अनि अचम्मलाग्दा कामहरू गरेर मिश्रमाथि प्रहार गर्नेछु। तब मात्र उनले तिमीहरूलाई जान दिनेछन्‌।+ २१  म मिश्रीहरूलाई तिमीहरूमाथि निगाह गर्न लगाउनेछु। अनि त्यहाँबाट तिमीहरू रित्तो हात निस्कनेछैनौ।+ २२  हरेक स्त्रीले आफ्नो छिमेकीसित अनि आफ्नो घरमा बस्ने स्त्रीसित सुनचाँदीका सरसामान र लुगाफाटा मागोस्‌ अनि ती आफ्ना छोराछोरीलाई लगाइदेओस्‌। यसरी तिमीहरूले मिश्रीहरूलाई लुट्‌नेछौ।”+

फुटनोटहरू

अतिरिक्‍त लेख क४ हेर्नुहोस्‌।