पहिलो पत्रुस २:१-२५

  • परमेश्‍वरको वचनको तिर्सना गर (१-३)

  • जीवित ढुङ्‌गाहरूबाट घर निर्माण गर्ने (४-१०)

  • संसारमा परदेशीहरूको रूपमा जीवन बिताउने (११, १२)

  • उचित किसिमको अधीनता (१३-२५)

    • ख्रिष्ट—हाम्रो निम्ति उदाहरण (२१)

 त्यसैले हरकिसिमका खराबी, छल, कपट, ईर्ष्या अनि अरूको कुरा काट्‌ने बानी त्याग।+ २  नवजात शिशुहरूले झैँ+ शुद्ध दूध अर्थात्‌ परमेश्‍वरको वचनको तिर्सना गर। यसो गऱ्‍यौ भने त्यस वचनद्वारा तिमीहरू बढ्‌दै जानेछौ र उद्धार पाउनेछौ।+ ३  किनकि प्रभु दयालु हुनुहुन्छ भनेर तिमीहरूले चाखिसकेका छौ।* ४  हो, तिमीहरू त्यस जीवित ढुङ्‌गोकहाँ आयौ, जसलाई मानिसहरूले तिरस्कार गरे+ तर परमेश्‍वरले चुन्‍नुभयो अनि अनमोल ठान्‍नुभयो।+ ५  त्यसैले तिमीहरू आफै पनि जीवित ढुङ्‌गा हौ र तिमीहरूलाई आध्यात्मिक घरको रूपमा* निर्माण गरिँदै छ+ ताकि तिमीहरू पवित्र पुजारीको दल बन्‍न सक र तिमीहरूले परमेश्‍वरलाई येसु ख्रिष्टमार्फत स्वीकार्य आध्यात्मिक बलिदान* चढाउन सक।+ ६  किनकि धर्मशास्त्रमा यस्तो लेखिएको छ: “हेर, म सियोनमा एउटा चुनिएको ढुङ्‌गो बसाल्दै छु, जुन जगको कुनाको अनमोल ढुङ्‌गो हो; त्यसमाथि विश्‍वास गर्ने कोही पनि कहिल्यै निराश हुनेछैन।”*+ ७  त्यसैले तिमीहरूको निम्ति उहाँ अनमोल हुनुहुन्छ किनकि तिमीहरूले उहाँमाथि विश्‍वास गऱ्‍यौ तर विश्‍वास नगर्नेहरूको निम्ति भने “जुन ढुङ्‌गोलाई डकर्मीहरूले काम नलाग्ने ठाने,+ त्यही ढुङ्‌गो नै कुनाको शिरढुङ्‌गो बनेको छ”+ ८  अनि “ठेस लाग्ने ढुङ्‌गो र ठक्कर दिने चट्टान” बनेको छ।+ तिनीहरू ठेस खान्छन्‌ किनकि तिनीहरू परमेश्‍वरको वचन पालन गर्दैनन्‌। तिनीहरूको अन्त यसरी नै हुनुपर्ने हो। ९  तर तिमीहरू त “चुनिएको जाति, शाही पुजारीको दल, पवित्र जाति+ अनि परमेश्‍वरको विशेष सम्पत्ति हौ।+ त्यसकारण तिमीहरूले उहाँका असल गुणहरूबारे* चारैतिर घोषणा गर्नुपर्छ,”+ जसले तिमीहरूलाई अन्धकारबाट बोलाएर आफ्नो अद्‌भुत ज्योतिमा ल्याउनुभयो।+ १०  किनकि कुनै बेला तिमीहरू परमेश्‍वरका जन थिएनौ तर अहिले परमेश्‍वरका जन हौ;+ कुनै बेला तिमीहरूलाई कृपा देखाइएको थिएन तर अहिले भने तिमीहरूले कृपा पाएका छौ।+ ११  हे मेरा प्रियहरू हो, आफूलाई परदेशी अनि अस्थायी बासिन्दा+ ठानेर शारीरिक इच्छाहरूदेखि अलग बसिरहो+ भनी म तिमीहरूलाई आग्रह गर्छु किनकि यस्तै इच्छाहरूले तिमीहरूसित युद्ध गर्छ।+ १२  संसारका मानिसहरूबीच तिमीहरूको चालचलन असल भइरहोस्‌+ ताकि तिमीहरूलाई कुकर्मी भनेर दोष लगाउने मानिसहरूले आफ्नै आँखाले तिमीहरूको असल काम देखून्‌+ र परमेश्‍वरले जाँच्नुहुने दिनमा उहाँको महिमा गरून्‌। १३  प्रभुको खातिर, मानिसहरूले स्थापना गरेका सबै अख्तियारको अधीनमा बस:+ चाहे राजाको+ किनकि तिनी अरूभन्दा ठूला हुन्‌ १४  वा चाहे राज्यपालहरूको किनकि तिनीहरू कुकर्मीहरूलाई सजाय दिन तर असल काम गर्नेहरूको प्रशंसा गर्न राजाले पठाएका मानिसहरू हुन्‌।+ १५  परमेश्‍वरको इच्छा पनि यही छ कि तिमीहरूले असल काम गरेर मूर्ख मानिसहरूको मुख बन्द गर,* जो सोचविचारै नगरी तिमीहरूविरुद्ध बोल्छन्‌।+ १६  स्वतन्त्र मानिसहरूझैँ बाँच+ तर आफ्नो स्वतन्त्रतालाई खराब काम गर्ने आड* नबनाओ+ बरु परमेश्‍वरको दासको रूपमा जीवन बिताओ।+ १७  हरप्रकारका मानिसहरूको आदर गर,+ सबै भाइहरूलाई प्रेम गर,+ परमेश्‍वरको डर मान+ अनि राजाको आदर गर।+ १८  आफ्ना मालिकहरूलाई दिनुपर्ने आदर दिँदै नोकरहरू उनीहरूको अधीनमा बसून्‌।+ तिनीहरू असल अनि व्यावहारिक मालिकहरूको मात्र होइन तर रिझाउन गाह्रो मालिकहरूको पनि अधीनमा बसून्‌। १९  परमेश्‍वरसामु आफ्नो अन्तस्करण सफा राख्न यदि कसैले दुःख* सहन्छ अनि अन्याय भोग्छ भने त्यो राम्रै कुरा हो।+ २०  किनकि तिमीहरूले पाप गरेकोले तिमीहरू पिटियौ अनि तिमीहरूले सह्‍यौ भने के नै ठूलो कुरा भयो र?+ तर तिमीहरूले असल काम गरेकोले दुःख पायौ अनि तिमीहरूले सह्‍यौ भने त्यो पो परमेश्‍वरको नजरमा राम्रो कुरा हो।+ २१  भनौँ भने यसैको निम्ति तिमीहरू बोलाइएका हौ किनभने ख्रिष्टले पनि तिमीहरूका निम्ति दुःख भोग्नुभयो+ र तिमीहरूले राम्ररी उहाँको पाइला पछ्याओ भनेर एउटा उदाहरण तिमीहरूका निम्ति छोड्‌नुभयो।+ २२  उहाँले एउटै पाप गर्नुभएन+ अनि उहाँको मुखमा कुनै छल पाइएन।+ २३  अरूले अपमान* गर्दा+ उहाँले उल्टो अपमान* गर्नुभएन।+ आफूले दुःख भोग्नुपर्दा+ उहाँले धम्काउनुभएन बरु सही न्याय गर्न सक्नुहुनेको+ हातमा आफूलाई सुम्पनुभयो। २४  हामी पापहरूबाट मुक्‍त हुन सकौँ अनि हामीले धर्मी जीवन बिताउन सकौँ भनेर उहाँ हाम्रा पापहरू बोकेर+ खम्बामा* टाँगिनुभयो।+ अनि “उहाँका चोटहरूद्वारा तिमीहरू निको भयौ।”+ २५  तिमीहरू बाटो बिराएका भेडाहरूजस्तै थियौ+ तर अब तिमीहरू आफ्नो गोठालो अनि तिमीहरूको जीवनको रेखदेख गर्नेकहाँ फर्केर आएका छौ।+

फुटनोटहरू

वा “अनुभव गरिसकेका छौ।”
वा “तिमीहरूले परमेश्‍वरको पवित्र शक्‍तिको निर्देशनबमोजिम येसु ख्रिष्टमार्फत उहाँलाई स्वीकार्य बलिदान।”
वा “परमेश्‍वरको पवित्र शक्‍तिद्वारा बनाइँदै गरेको घरको रूपमा।”
शा., “सरममा पर्नेछैन।”
अर्थात्‌, उहाँका प्रशंसनीय गुण र कामहरू।
शा., “मुखमा मोहोलो लगाओ।”
वा “बहाना।”
वा “पीडा।”
वा “गाली।”
वा “गाली।”
वा “रूखमा।”