होसे २:१-२३

  • विश्‍वासघाती इस्राएलले सजाय पाउँछे (१-१३)

  • यहोवाकहाँ फेरि फर्कन्छे (१४-२३)

    • “तिमीले मलाई ‘मेरा पति’ भन्‍नेछ्यौ” (१६)

 “आफ्ना दाजुभाइलाई यसो भन, ‘मेरा मानिसहरू!’*+ अनि आफ्ना दिदीबहिनीलाई यसो भन, ‘हे कृपा पाएकी स्त्री!’*+  २  आफ्नी आमालाई दोषी ठहराओ, उसलाई दोषी ठहराओ किनकि ऊ मेरी पत्नी होइन+ र म उसको पति होइनँ। उसले वेश्‍यावृत्ति गर्न छोडोस्‌, उसले व्यभिचार* नगरोस्‌।  ३  नत्र त म उसलाई निर्वस्त्र पारिदिनेछु; जन्मेको बेलामा जस्तै नाङ्‌गै पारिदिनेछु। म उसलाई उजाड भूमि बनाइदिनेछु, उसलाई खडेरी परेको जमिन बनाइदिनेछु अनि ऊ तिर्खाले प्याकप्याक भएर मर्नेछे।  ४  उसका सन्तानलाई म कृपा देखाउनेछैनँ किनकि तिनीहरू वेश्‍यावृत्तिबाट* जन्मेका सन्तान हुन्‌।  ५  तिनीहरूकी आमा वेश्‍यावृत्तिमा लागेकी छे।+ तिनीहरूलाई गर्भधारण गर्ने तिनीहरूकी आमाले निर्लज्ज काम गरेकी छे+ किनकि उसले यसो भनेकी छे, ‘म मेरा कामुक प्रेमीहरूको पछिपछि जानेछु,+ जसले मलाई खानेकुरा र पानी दिए, ऊन र मलमलको लुगा दिए अनि तेल र मद्य दिए।’  ६  त्यसैले म काँडाको बार लगाएर उसको बाटो छेक्नेछु अनि उसको अगाडि ढुङ्‌गाको पर्खाल खडा गर्नेछु र उसले आफू जाने बाटो फेला पार्न सक्नेछैन।  ७  ऊ आफ्ना कामुक प्रेमीहरूको पछिपछि दगुर्नेछे तर तिनीहरूलाई भेट्टाउन सक्नेछैन,+ उसले तिनीहरूलाई यताउता खोज्नेछे तर तिनीहरूलाई फेला पार्न सक्नेछैन। अनि उसले यसो भन्‍नेछे, ‘म मेरो पहिलो पतिकहाँ नै फर्केर जान्छु+ किनकि मलाई अहिलेभन्दा त पहिला नै राम्रो थियो।’+  ८  मैले नै उसलाई अन्‍न, नयाँ मद्य र तेल दिएको हुँ भनेर उसले मानिन+ उसलाई प्रशस्त चाँदी दिने पनि म नै हुँ अनि सुन पनि, जुन तिनीहरूले बाआलको लागि चलाए।+  ९  ‘त्यसैले म फर्केर आउनेछु र कटनीको समयमा अन्‍न खोस्नेछु अनि अङ्‌गुर टिप्ने बेला नयाँ मद्य लैजानेछु।+ उसको लाज ढाक्ने मेरो ऊन र मेरो मलमल पनि ऊबाट खोस्नेछु। १०  उसका कामुक प्रेमीहरूको आँखाअगाडि नै म उसलाई निर्वस्त्र पारिदिनेछु। अनि कुनै पनि मानिसले उसलाई मेरो हातबाट छुटाउन सक्नेछैन।+ ११  म उसको रमाहटको अन्त गरिदिनेछु, उसका उत्सव, औँसी, विश्रामदिन* र चाडहरू+ सबै अन्त गरिदिनेछु। १२  अनि म उसको अङ्‌गुरको बोट र अन्जिरको रूख नाश गरिदिनेछु, जसबारे उसले यसो भन्थी: “यी मेरा कामुक प्रेमीहरूले दिएका ज्याला हुन्‌;” अब म ती सबैलाई एउटा जङ्‌गलमा परिणत गर्नेछु अनि जङ्‌गली जनावरहरूले ती खानेछन्‌। १३  म ऊसित ती दिनहरूको बदला लिनेछु, जब उसले बाआलका मूर्तिहरूलाई बलि चढाउने गर्थी,+ जब ऊ कुण्डल र गरगहनाले सजिएर आफ्ना कामुक प्रेमीहरूको पछिपछि लाग्थी तर मलाई भने उसले बिर्सिई,’+ यहोवा घोषणा गर्नुहुन्छ। १४  ‘अब म उसलाई मनाउनेछु, र उजाड भूमिमा ल्याउनेछु अनि उसको मन जित्ने कुरा गर्नेछु। १५  त्यसपछि म उसको अङ्‌गुर बगान उसलाई फिर्ता दिनेछु,+ अनि आकोर बेँसीचाहिँ+ आशाको द्वार हुनेछ। जसरी जवानीमा उसले जवाफ दिने गर्थी, त्यसरी नै त्यहाँ उसले मलाई जवाफ दिनेछे, मिश्रबाट* निस्केर आएको दिनमा जस्तैगरि।’+ १६  यहोवा घोषणा गर्नुहुन्छ, ‘त्यस दिन तिमीले मलाई “मेरा पति” भन्‍नेछ्यौ, तिमीले त्यस उपरान्त मलाई “मेरा मालिक”* भन्‍नेछैनौ। १७  बाआलका मूर्तिहरूको नाम म उसको मुखबाट हटाइदिनेछु,+ मेरा मानिसहरू त्यस उपरान्त ती नामले चिनिनेछैनन्‌।+ १८  त्यस दिन तिनीहरूको खातिर म जमिनका जङ्‌गली जनावरहरूसित,+ आकाशका चराचुरुङ्‌गीसित अनि जमिनमा घस्रने जन्तुहरूसित+ करार गर्नेछु; म त्यस भूमिबाट धनु, तरबार र लडाइँ नामेट पारिदिनेछु+ अनि तिनीहरूलाई ढुक्क भएर बस्न दिनेछु।+ १९  म तिमीसित सदाको लागि बन्धनमा बाँधिनेछु। न्याय र धार्मिकतासहित* अनि अटल प्रेम* र कृपा देखाउँदै म तिमीसित बन्धनमा बाँधिनेछु।+ २०  म वफादार हुँदै तिमीसित बन्धनमा बाँधिनेछु अनि तिमीले यहोवालाई निश्‍चय नै चिन्‍नेछ्यौ।’+ २१  यहोवा घोषणा गर्नुहुन्छ, ‘त्यस दिन म जवाफ दिनेछु। म आकाशलाई जवाफ दिनेछु र आकाशले पृथ्वीलाई जवाफ दिनेछ;+ २२  पृथ्वीले अन्‍न, नयाँ मद्य र तेललाई जवाफ दिनेछ अनि ती कुराहरूले यिज्रेललाई* जवाफ दिनेछन्‌।+ २३  म उसलाई मेरो निम्ति पृथ्वीमा बिउजस्तै छर्नेछु,+ कृपा नपाएकी* उसलाई म कृपा देखाउनेछु, जो मेरा मानिसहरू होइनन्‌,* तिनीहरूलाई म यसो भन्‍नेछु: “तिमीहरू मेरा मानिसहरू हौ”+ अनि तिनीहरूले यसो भन्‍नेछन्‌: “तपाईँ मेरा परमेश्‍वर हुनुहुन्छ।”’”+

फुटनोटहरू

होसे १:९ को फुटनोट हेर्नुहोस्‌।
होसे १:६ को फुटनोट हेर्नुहोस्‌।
शब्दावली हेर्नुहोस्‌।
वा “अवैध यौनसम्बन्धबाट।”
हिब्रू भाषामा सबाथ। शब्दावलीमा “विश्रामदिन” हेर्नुहोस्‌।
वा “इजिप्टबाट।”
वा “मेरा बाआल।”
शब्दावली हेर्नुहोस्‌।
शब्दावली हेर्नुहोस्‌।
यसको अर्थ हो, “परमेश्‍वरले बिउ छर्नुहुनेछ।”
होसे १:६ को फुटनोट हेर्नुहोस्‌।
होसे १:९ को फुटनोट हेर्नुहोस्‌।