याकुबको पत्र २:१-२६

  • भेदभाव गर्नु पाप हो (१-१३)

    • प्रेम—शाही व्यवस्था ()

  • कामविनाको विश्‍वास मरेको हुन्छ (१४-२६)

    • प्रेतहरू विश्‍वास गर्छन्‌ अनि थरथर काँप्छन्‌ (१९)

    • अब्राहाम यहोवाको मित्र कहलाइए (२३)

 हे मेरा भाइ हो, के तिमीहरू एकातिर हाम्रा महिमित प्रभु येसु ख्रिष्टमाथि विश्‍वास गर्दै अर्कोतिर भेदभाव पनि गरिरहेका छौ?+ २  किनकि सुनका औँठीहरू र सानदार लुगा लगाएको एक जना मानिस अनि फोहोर लुगा लगाएको एक जना गरिब मानिस तिमीहरूको सभामा पस्दा ३  के तिमीहरू सानदार लुगा लगाउनेलाई इज्जत गर्दै “तपाईँ यहाँ राम्रो ठाउँमा बस्नुहोस्‌” भन्छौ तर गरिबलाई चाहिँ “तिमी यहीँ उभिरह” अथवा “यहाँ मेरो पाउदाननजिकै बस” भन्छौ?+ ४  यसो गर्छौ भने के तिमीहरूले सानो-ठूलो भनेर भेदभाव गरिरहेका हुँदैनौ र?+ अनि के तिमीहरू दुष्ट फैसला गर्ने न्यायाधीशहरू भएनौ र?+ ५  हे मेरा प्रिय भाइ हो, सुन। के परमेश्‍वरले संसारले गरिब ठानेका मानिसहरूलाई विश्‍वासमा धनी हुन+ अनि त्यस राज्यको उत्तराधिकारी हुन छान्‍नुभएको होइन र, जुन उहाँले आफूलाई प्रेम गर्नेजतिलाई दिने प्रतिज्ञा गर्नुभएको थियो?+ ६  तर तिमीहरूले गरिबको बेइज्जत गरेका छौ। के धनी मानिसहरूले तिमीहरूको शोषण गर्दैनन्‌+ अनि के तिमीहरूलाई घिसारेर अदालत लैजाँदैनन्‌? ७  के तिनीहरू तिमीहरूलाई दिइएको असल नामको निन्दा गर्दैनन्‌? ८  तर यदि तिमीहरू धर्मशास्त्रमा लेखिएबमोजिम “तिमीहरूले आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नू”+ भन्‍ने शाही* व्यवस्था पालन गर्छौ भने असलै गरिरहेका छौ। ९  तर यदि तिमीहरू भेदभाव गरिरहन्छौ भने+ तिमीहरूले पाप गरिरहेका हुन्छौ अनि त्यो व्यवस्थाले तिमीहरूलाई दोषी ठहराउँछ।+ १०  यदि कसैले मोसाको व्यवस्थामा भएका सबै कुरा पालन गर्छ तर ऊ एउटा आज्ञा पालन गर्न चाहिँ चुक्छ भने उसले पूरै व्यवस्था उल्लङ्‌घन गरिरहेको हुन्छ।+ ११  किनकि जसले “तिमीहरूले व्यभिचार* नगर्नू”+ भन्‍नुभयो, उहाँले “तिमीहरूले हत्या नगर्नू”+ पनि भन्‍नुभयो। त्यसैले यदि तिमी व्यभिचार गर्दैनौ तर हत्याचाहिँ गर्छौ भने तिमीले व्यवस्था उल्लङ्‌घन गरिरहेका हुन्छौ। १२  तिमीहरू ती मानिसहरूझैँ बोलिरहो अनि ती मानिसहरूले झैँ व्यवहार गरिरहो, जसको न्याय स्वतन्त्र मानिसहरूको व्यवस्थाबमोजिम हुनेछ।*+ १३  किनकि जसले कृपा देखाउँदैन, न्याय हुँदा ऊमाथि पनि कृपा देखाइनेछैन।+ कृपाले न्यायमाथि विजय हासिल गर्छ। १४  हे मेरा भाइ हो, यदि कसैले परमेश्‍वरमाथि विश्‍वास गर्छु भन्छ तर त्यसबमोजिम कामचाहिँ गर्दैन भने के फाइदा हुन्छ र?+ के त्यस्तो विश्‍वासले उसको उद्धार गर्न सक्छ?+ १५  यदि कुनै भाइ वा बहिनीसित लुगा छैन* वा दिनभरि खान पुग्ने भोजन छैन १६  र तिमीहरूमध्ये कोही उसलाई “शान्तिसित जाऊ, न्यानो गरी बस अनि पेटभरि खाऊ” भन्छौ तर उसको शरीरलाई चाहिने कुराचाहिँ दिँदैनौ भने त्यसबाट के फाइदा हुन्छ र?+ १७  विश्‍वास पनि त्यस्तै हो, यदि कामबाट प्रकट हुँदैन भने त्यो मरेको हुन्छ।+ १८  तर कसैले तिमीलाई यसो भन्‍न सक्छ: “तिमीसित विश्‍वास छ तर मसित कामहरू छन्‌। तिमी कामविनाको विश्‍वास देखाऊ तर म आफ्ना कामहरूद्वारा मेरो विश्‍वास प्रकट गर्नेछु।” १९  परमेश्‍वर एकै जना हुनुहुन्छ भनेर तिमी विश्‍वास गर्छौ, होइन र? धेरै राम्रो। प्रेतहरू* पनि विश्‍वास गर्छन्‌ अनि थरथर काँप्छन्‌।+ २०  तर ए अज्ञानी मानिस, कामविनाको विश्‍वास बेकामको हुन्छ भनेर चाहिँ के तिमी स्विकार्न चाहँदैनौ? २१  आफ्नो छोरा इसहाकलाई वेदीमा चढाएको हुनाले नै के हाम्रा पुर्खा अब्राहाम कामद्वारा धर्मी ठहरिएका होइनन्‌ र?+ २२  तिनले विश्‍वास गर्नुका साथै त्यसबमोजिम काम पनि गरे र तिनको कामले गर्दा नै तिनको विश्‍वास पूर्ण भयो+ २३  अनि धर्मशास्त्रमा लेखिएको यो वचन पूरा भयो: “अब्राहामले यहोवा* परमेश्‍वरमाथि विश्‍वास गरे र यसले गर्दा तिनी उहाँको नजरमा धर्मी ठहरिए”+ अनि तिनी यहोवा* परमेश्‍वरको मित्र कहलाइए।+ २४  त्यसैले तिमीहरूले देखिहाल्यौ, मानिसलाई उसको विश्‍वासद्वारा मात्र होइन तर कामहरूद्वारा धर्मी ठहराइनेछ। २५  त्यसैगरि के वेश्‍या राहाबले सन्देशवाहकहरूलाई आफ्नो घरमा स्वागत गरेर अर्कै बाटोबाट पठाइदिएकी हुनाले नै तिनी पनि कामद्वारा धर्मी ठहरिएकी होइनन्‌ र?+ २६  वास्तवमा जसरी सासविनाको शरीर मरेको हुन्छ,+ त्यसरी नै कामविनाको विश्‍वास पनि मरेको हुन्छ।+

फुटनोटहरू

वा “राजकीय।”
शब्दावली हेर्नुहोस्‌।
शा., “जसको न्याय स्वतन्त्रताको व्यवस्थाबमोजिम हुनेछ।”
शा., “कुनै भाइ वा बहिनी नाङ्‌गो छ।”
वा “दुष्ट स्वर्गदूतहरू।”
अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।
अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।