यर्मिया १०:१-२५

  • जातिजातिका देवताहरू र जीवित परमेश्‍वरबीचको भिन्‍नता (१-१६)

  • आउँदै गरेको विनाश र निर्वासन (१७, १८)

  • यर्मिया विलाप गर्छन्‌ (१९-२२)

  • भविष्यवक्‍ताको प्रार्थना (२३-२५)

    • मानिसले आफ्नो पाइलालाई सही मार्गमा हिँडाउन सक्दैन (२३)

१०  ए इस्राएलको घराना, यहोवा तिमीहरूविरुद्ध के भन्‍नुहुन्छ, सुन! २  यहोवा यसो भन्‍नुहुन्छ: “अरू जातिको चालमा नहिँड।+ तिनीहरू आकाशका चिन्हहरू देखेर डराउँछन्‌+ तर तिमीहरूचाहिँ नडराओ।  ३  तिनीहरूका रीतिथिति सब व्यर्थ हुन्‌। तिनीहरूले पुज्ने कुरा त रूखको मुढो मात्र हो, जसलाई कालिगडले आफ्नो औजार चलाएर आकार दिन्छन्‌।+  ४  तिनीहरू त्यसलाई सुन र चाँदीले मोहोर्छन्‌+ अनि त्यो नढलोस्‌ भनेर हतौडा र किलाले ठोकठाक पार्छन्‌।+  ५  तिनीहरू काँक्राबारीमा राखिएको जुलुङ्‌गोजस्तै* छन्‌, जुन बोल्न सक्दैन+ अनि तिनीहरूलाई यताउता लैजान बोक्नुपर्छ किनकि तिनीहरू हिँड्‌न सक्दैनन्‌।+ तिनीहरूलाई देखेर नडराओ किनकि तिनीहरूले कुनै हानि गर्न सक्दैनन्‌ न त तिनीहरूले कुनै भलाइ नै गर्न सक्छन्‌।”+  ६  हे यहोवा, तपाईँजस्तो कोही छैन।+ तपाईँ महान्‌ हुनुहुन्छ अनि तपाईँको नाम महान्‌ र शक्‍तिशाली छ।  ७  हे जातिजातिका राजा, तपाईँसित को डराउँदैन र?+ किनभने तपाईँको डर मान्‍नु उचित छ; जातिजातिका बुद्धिमान्‌ मानिसहरूमध्ये अनि यी सारा राज्यभरि तपाईँजस्तो अरू कोही छैन।+  ८  तिनीहरू सबै निर्बुद्धि र मूर्ख छन्‌।+ एउटा काठको मुढोले मानिसलाई डोऱ्‍याउला भनेर सोच्नु मूर्खता हो।+  ९  तर्सिसबाट चाँदी+ अनि उफजबाट सुन मगाइन्छ। अनि कालिगडले ती काठहरूलाई त्यही सुनचाँदीले मोहोर्छन्‌ र ती मूर्तिहरूलाई निलो धागो अनि बैजनी ऊनले सिङ्‌गार्छन्‌। ती मूर्तिहरू सिपालु कालिगडका हातका काम मात्र हुन्‌। १०  तर यहोवा साँचो परमेश्‍वर हुनुहुन्छ। उहाँ जीवित परमेश्‍वर+ अनि अनन्तका राजा हुनुहुन्छ।+ उहाँ रिसाउँदा सारा पृथ्वी हल्लिन्छ+ अनि उहाँको क्रोधसामु कुनै पनि राष्ट्र टिक्न सक्दैन। ११ * तिमीले तिनीहरूलाई यसो भन्‍नू: “ती देवताहरू, जसले यो आकाश र पृथ्वी सृष्टि गरेका होइनन्‌, तिनीहरूको नामोनिसान यो पृथ्वीबाट अनि आकाशबाट मेटाइनेछ।”+ १२  उहाँले आफ्नो शक्‍तिले यो पृथ्वी सृष्टि गर्नुभयो; आफ्नो बुद्धिले उर्वर भूमिलाई स्थिर पार्नुभयो+ अनि आफ्नो समझले आकाशलाई फैलाउनुभयो।+ १३  उहाँ बोल्दा आकाशका पानीहरू छचल्किन्छन्‌;+ पृथ्वीको पल्लो छेउदेखि उहाँले कुहिरो उठाउनुहुन्छ।+ उहाँ वर्षा गराउन बिजुली चम्काउनुहुन्छ* अनि आफ्नो भण्डारबाट बतास चलाउनुहुन्छ।+ १४  हरेक मानिसले बेतुकको र मूर्ख काम गर्छ। हरेक कालिगड आफैले बनाएको मूर्तिले गर्दा लाजमा पर्नेछ+ किनकि तिनीहरूका मूर्तिहरू* झूटा हुन्‌ अनि तिनमा सास छैन।+ १५  ती सबै व्यर्थका काम हुन्‌, गिल्ला गर्न लायकका काम।+ तिनीहरूको लेखा लिने दिनमा तिनीहरू नष्ट हुनेछन्‌। १६  तर याकुबका परमेश्‍वर* त्यस्तो हुनुहुन्‍न किनकि उहाँले नै सबथोक रच्नुभयो। इस्राएल उहाँको उत्तराधिकारको लौरो हो।+ उहाँको नाम सेनाहरूका यहोवा हो।+ १७  ए कैदमा परेका स्त्रीहरू हो, भुईँमा भएको आ-आफ्नो पोकोपन्तरो बटुल। १८  किनकि यहोवा यसो भन्‍नुहुन्छ: “अब म यहाँका बासिन्दाहरूलाई जोडसित* फ्याँक्नेछु+ अनि तिनीहरूमाथि दुःख आइपर्न दिनेछु।” १९  धिक्कार छ मलाई! किनकि मलाई चोट लागेको छ।+ मलाई निको नै नहुने चोट लागेको छ। अनि मैले भनेँ: “यो त मेरो रोग हो; यसलाई मैले सहनै पर्छ। २०  मेरो पाल नष्ट भएको छ; त्यसका डोरीहरू धुजाधुजा पारिएका छन्‌।+ मेरा छोराहरूले मलाई छोडेर गएका छन्‌; अब तिनीहरू मसँग छैनन्‌।+ मेरो पाल टाँगिदिने र त्यसलाई कसिदिने अब कोही बाँकी छैन। २१  गोठालाहरूले बुद्धि नपुऱ्‍याई काम गरेका छन्‌,+ तिनीहरूले यहोवासित केही सोधपुछ गरेका छैनन्‌।+ त्यसैले त तिनीहरूले मूर्ख काम गरेका छन्‌ अनि तिनीहरूको बगाल पनि तितरबितर भएको छ।”+ २२  हे मानिसहरू हो, सुन, एउटा खबर छ! उत्तरको देशबाट ढ्‌वाङढ्‌वाङ ढुङढुङ गरेको आवाज आइरहेको छ।+ त्यसको सेनाले यहुदाका सहरहरूलाई धुलोपिठो पार्नेछ र स्यालहरूको ओडार बनाइदिनेछ।+ २३  हे यहोवा, मलाई राम्ररी थाह छ, मानिसले आफैलाई डोऱ्‍याउन सक्दैन। आफ्नै पाइलालाई बाटो देखाउने अधिकारसमेत मानिससित छैन।+ २४  हे यहोवा, मलाई तपाईँको स्तरअनुसार सुधार्नुहोस्‌। आफ्नो बल्दो रिसमा त होइन+ नत्र त म भस्म हुनेछु।+ २५  तपाईँलाई चिन्‍न इन्कार गर्ने राष्ट्रहरूमाथि+ अनि तपाईँको नाम नपुकार्ने घरानाहरूमाथि आफ्नो क्रोध खन्याउनुहोस्‌। किनकि तिनीहरूले याकुबलाई खर्लप्पै निलेका छन्‌,+ हो, तिनीहरूले याकुबलाई विनाश हुनेगरि निलेका छन्‌+ अनि उसको भूमि उजाड पारिदिएका छन्‌।+

फुटनोटहरू

वा “पुतला, बुख्याचाजस्तै।”
पद ११ सुरुमा अरामी भाषामा लेखिएको थियो।
वा सम्भवतः “आकाशका बाँधहरू बनाउनुहुन्छ।”
वा “धातु पगालेर बनाइएका मूर्तिहरू।”
शा., “अंश।”
वा “घुयेँत्रोमा हालेर।”