मर्कुसका अनुसार ४:१-४१

  • राज्यसम्बन्धी उदाहरणहरू (१-३४)

    • बिउ छर्ने मानिस (१-९)

    • येसु किन उदाहरणहरू चलाउनुहुन्थ्यो (१०-१२)

    • बिउ छर्ने मानिसको उदाहरणको अर्थ (१३-२०)

    • दियो बालेर टोकरीले छोपिँदैन (२१-२३)

    • जुन नापले तिमीहरू नाप्छौ (२४, २५)

    • बिउ छर्ने मानिस, जो सुत्छ (२६-२९)

    • रायोको दाना (३०-३२)

    • येसु उदाहरणहरू चलाउनुहुन्थ्यो (३३, ३४)

  • येसु आँधीलाई शान्त पार्नुहुन्छ (३५-४१)

 अनि उहाँले समुद्रको छेउमा फेरि सिकाउन थाल्नुभयो। तब उहाँको नजिकै असाध्यै ठूलो भीड जम्मा भयो। त्यसैले उहाँ डुङ्‌गामा चढ्‌नुभयो र किनाराबाट अलि पर जानुभयो तर सबै मानिस भने किनारामै बसे।+ २  त्यसपछि उहाँले उदाहरणहरू चलाएर+ तिनीहरूलाई धेरै कुरा सिकाउन थाल्नुभयो र भन्‍नुभयो:+ ३  “लौ सुन। एक जना बिउ छर्ने मानिस बिउ छर्नलाई निस्क्यो।+ ४  बिउ छर्दै जाँदा केही बिउ बाटोको छेउछाउमा परे अनि चराहरू आएर ती खाइदिए। ५  अरू केहीचाहिँ चट्टानमा परे, जहाँ त्यति माटो थिएन अनि माटो गहिरो नभएकोले ती तुरुन्तै टुसाइहाले।+ ६  तर घाम लागेपछि ती ओइलाए अनि जरा लाग्न नपाएकोले सुकिहाले। ७  अरू केही बिउचाहिँ काँडाहरूको बीचमा परे अनि काँडाहरू बढ्‌दै जाँदा ती निसासिए र कुनै फल फलाएनन्‌।+ ८  तर बाँकी भने असल माटोमा परे अनि अङ्‌कुराएर बढे र तिनीहरूले फल फलाउन थाले—कुनैले ३० गुणा, कुनैले ६० गुणा अनि कुनैले १०० गुणा।”+ ९  त्यसपछि उहाँले यसो पनि भन्‍नुभयो: “जसको सुन्‍ने कान छ, उसले सुनोस्‌।”+ १०  उहाँ एक्लै हुनुभएपछि केही चेलाहरू र ती १२ जना प्रेषित उहाँकहाँ आए अनि ती उदाहरणहरूबारे सोध्न थाले।+ ११  उहाँले तिनीहरूलाई भन्‍नुभयो: “तिमीहरूलाई परमेश्‍वरको राज्यको पवित्र रहस्य+ बुझ्ने मौका दिइएको छ तर अरूका लागि त यो उदाहरणमै सीमित हुनेछ+ १२  ताकि तिनीहरूले हेर्न त हेरून्‌ तर नदेखून्‌, सुन्‍न त सुनून्‌ तर त्यसको अर्थ नबुझून्‌। तिनीहरू मकहाँ कहिल्यै फर्केर आउनेछैनन्‌ र क्षमा पाउनेछैनन्‌।”+ १३  उहाँले तिनीहरूलाई यसो पनि भन्‍नुभयो: “तिमीहरूले यो उदाहरण त बुझेनौ भने बाँकी सबै उदाहरण कसरी बुझौला? १४  “बिउ छर्नेले परमेश्‍वरको वचन छर्छ।+ १५  बाटोको छेउछाउमा छरिएकाहरू ती हुन्‌, जसले परमेश्‍वरको वचन सुन्‍नेबित्तिकै सैतान आउँछ+ र तिनीहरूको हृदयमा छरिएको परमेश्‍वरको वचन खोसेर लैजान्छ।+ १६  त्यसैगरि चट्टानमा छरिएकाहरू ती हुन्‌, जसले वचन सुन्‍नेबित्तिकै खुसीसाथ स्विकार्छन्‌।+ १७  आफ्नै जरा नभए तापनि तिनीहरू केही समयसम्म रहिरहन्छन्‌ तर परमेश्‍वरको वचनको कारण सङ्‌कष्ट वा खेदो आउनेबित्तिकै तिनीहरू ठेस खान्छन्‌। १८  काँडाहरूको बीचमा छरिएका बाँकी अरू भने ती हुन्‌, जसले परमेश्‍वरको वचन सुन्छन्‌+ १९  तर यस संसारमा* आइपर्ने फिक्री+ र धनसम्पत्तिको भ्रामक शक्‍ति+ अनि बाँकी सबै कुरा प्राप्त गर्ने चाहना+ तिनीहरूको हृदयमा पस्छ र परमेश्‍वरको वचन निसासिन्छ र त्यसले फल फलाउँदैन। २०  अन्तमा असल माटोमा छरिएकाचाहिँ ती हुन्‌, जसले वचन सुन्छन्‌ र खुसीसाथ त्यसलाई स्विकार्छन्‌ अनि कुनैले ३० गुणा, कुनैले ६० गुणा र कुनैले १०० गुणा फल फलाउँछन्‌।”+ २१  उहाँले तिनीहरूलाई फेरि यसो भन्‍नुभयो: “के दियो बालेर टोकरीले* छोपिन्छ र? वा खाटमुनि राखिन्छ र? त्यो त पानसमा राखिन्छ नि, होइन र?+ २२  किनकि लुकाइएको यस्तो कुनै कुरा छैन, जुन प्रकट हुँदैन; होसियारीपूर्वक ढाकछोप गरिएको यस्तो कुनै कुरा छैन, जुन उदाङ्‌ग हुँदैन।+ २३  जसको सुन्‍ने कान छ, उसले सुनोस्‌।”+ २४  उहाँले तिनीहरूलाई यो कुरा पनि भन्‍नुभयो: “तिमीहरू जे सुन्दै छौ, त्यसलाई ध्यान देओ।+ जुन नापले तिमीहरू नाप्छौ, त्यही नापले तिमीहरूका लागि नापिनेछ। हो, तिमीहरूलाई त्योभन्दा अझ धेरै दिइनेछ। २५  किनकि जोसित छ, उसलाई अझ धेरै दिइनेछ।+ तर जोसित छैन, ऊसित भएको समेत ऊबाट खोसिनेछ।”+ २६  उहाँले फेरि यसो भन्‍नुभयो: “परमेश्‍वरको राज्य यस्तो हो: एक जना मानिसले जमिनमा बिउ छर्छ। २७  हरेक रात ऊ सुत्छ र बिहान उठ्‌छ अनि बिउ पनि अङ्‌कुराउँछ र बढ्‌दै जान्छ तर यी सब कसरी हुन्छ, त्यो उसले जान्दैन। २८  जमिनले आफ्नै सुरले बाली उमार्छ; पहिले डाँठ, त्यसपछि बाला अनि अन्तमा अन्‍नको गेडा। २९  अन्‍न पाक्नेबित्तिकै उसले हँसिया लगाउँछ किनकि बाली काट्‌ने समय आएको छ।” ३०  उहाँले फेरि यसो भन्‍नुभयो: “परमेश्‍वरको राज्यलाई हामी केसित तुलना गर्न सक्छौँ अथवा कुन उदाहरण चलाएर बुझाउन सक्छौँ? ३१  त्यो त रायोको दानाजस्तो हो। छर्ने बेला त्यो पृथ्वीमा पाइने बिउहरूमध्ये सबैभन्दा सानो हुन्छ।+ ३२  तर छरेपछि त्यो उम्रन्छ अनि सबै सागपातभन्दा अग्लो हुन्छ र त्यसमा ठूलठूला हाँगाहरू लाग्छन्‌, यहाँसम्म कि त्यसको छायामुनि आकाशका चराचुरुङ्‌गी बास बस्न सक्छन्‌।” ३३  तिनीहरूले बुझ्न सकुन्जेल उहाँ यस्ता थुप्रै उदाहरण चलाएर+ तिनीहरूलाई परमेश्‍वरको वचन सुनाउनुहुन्थ्यो। ३४  वास्तवमा उदाहरण नचलाई उहाँ तिनीहरूसित कुरा गर्नुहुन्‍नथ्यो तर कोही नभएको बेला आफ्ना चेलाहरूलाई सबै कुरा बुझाउनुहुन्थ्यो।+ ३५  त्यो दिन साँझ परेपछि उहाँले तिनीहरूलाई भन्‍नुभयो: “आओ, हामी पारिपट्टि जाऔँ।”+ ३६  त्यसैले भीडलाई बिदा गरिसकेपछि तिनीहरूले उहाँलाई त्यही डुङ्‌गामा लगे। त्यतिखेर त्यहाँ अरू डुङ्‌गाहरू पनि थिए।+ ३७  तब ठूलो आँधी चल्यो र छाल उर्लेर डुङ्‌गालाई हिर्काउन थाल्यो, यहाँसम्म कि डुङ्‌गा पानीले भरिन लाग्यो।+ ३८  तर उहाँ भने डुङ्‌गाको पछिल्तिर सिरानी हालेर निदाइरहनुभएको थियो। त्यसैले तिनीहरूले उहाँलाई ब्युँझाए र यसो भने: “हे गुरु, हामी यहाँ मर्नै आँटिसक्यौँ तैपनि तपाईँलाई चिन्ता छैन?” ३९  यो सुनेर उहाँ उठ्‌नुभयो। त्यसपछि उहाँले आँधीलाई हप्काउनुभयो अनि समुद्रलाई यसो भन्‍नुभयो: “चुप लाग्‌! शान्त भइजा!”+ तब आँधी थामियो अनि समुद्र पूरै शान्त भयो। ४०  अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो: “तिमीहरू किन यत्तिबिघ्न डराउँछौ? के तिमीहरूसित अझैसम्म पनि विश्‍वास छैन?” ४१  तर तिनीहरू असाध्यै डराए र आपसमा यसो भन्‍न थाले: “यिनी साँच्चै को हुन्‌? आँधी र समुद्रले समेत यिनको आज्ञा मान्छन्‌।”+

फुटनोटहरू

वा “यस युगमा।” शब्दावलीमा “युग” हेर्नुहोस्‌।
वा “पाथीले।”