दानिएल ७:१-२८

  • चार वटा जनावरको दर्शन (१-८)

    • घमन्डी सानो सिङ उम्रन्छ ()

  • ‘अतिप्राचीन’-ले अदालती कारबाही सुरु गर्छन्‌ (९-१४)

    • मानिसको छोरालाई राजा बनाइन्छ (१३, १४)

  • दानिएललाई अर्थ खुलाइन्छ (१५-२८)

    • चार वटा जनावर चार राजा हुन्‌ (१७)

    • पवित्र जनहरूलाई राज्य दिइनेछ (१८)

    • दस सिङ अर्थात्‌ राजाहरू खडा हुन्छन्‌ (२४)

 बेबिलोनका राजा बेलसजरको+ शासनको पहिलो वर्षमा दानिएल पलङमा ढल्किरहेको बेला तिनले सपना र दर्शनहरू* देखे।+ त्यसपछि तिनले आफूले देखेको सपना लेखे;+ तिनले आफूले देखेको कुराको विस्तृत विवरण लेखे। २  दानिएलले भने: “मैले राती दर्शन देखिरहेको थिएँ अनि हेर! आकाशका चारै बतासले विशाल समुद्रलाई जोडसित हल्लाइरहेको थियो।+ ३  अनि समुद्रबाट चार वटा बडेमाका जनावर बाहिर निस्के।+ ती सबै फरक-फरक किसिमका थिए। ४  “पहिलो जनावर सिंहजस्तो थियो+ र त्यसका पखेटाहरूचाहिँ चीलका जस्ता थिए।+ मैले हेरिरहेको बेला त्यसका पखेटाहरू उखेलिए अनि त्यसलाई जमिनबाट उचालियो र मानिसजस्तै दुई खुट्टामा उभ्याइयो र त्यसलाई मानिसको मन दिइयो। ५  “अनि हेर! दोस्रो जनावरचाहिँ भालुजस्तो थियो।+ त्यसको शरीरलाई एकापट्टिबाट उठाइएको थियो र त्यसको मुखमा दाँतहरूका बीचमा तीन वटा करङ थिए अनि त्यसलाई यसो भनियो, ‘उठ्‌, टन्‍न मासु खा।’+ ६  “त्यसपछि हेर! मैले हेर्दै गर्दा चितुवाजस्तो एउटा अर्को जनावर देखेँ।+ तर त्यसको पिठिउँमा चराको जस्तो चार वटा पखेटा थिए। अनि त्यसका चार वटा टाउका थिए+ र त्यसलाई शासन गर्ने अधिकार दिइयो। ७  “त्यसपछि रातीको दर्शनमा मैले चौथो जनावर देखेँ। त्यो जनावर डरलाग्दो, भयङ्‌कर र अत्यन्तै बलियो थियो अनि त्यसको फलामका ठूलठूला दाँत थिए। त्यसले सबै कुरा खर्ल्याप्पै खान्थ्यो र चकनाचुर पार्थ्यो अनि बाँकी भएको कुराचाहिँ खुट्टाले कुल्चीमिल्ची गर्थ्यो।+ त्यो यसअघिका जनावरहरूभन्दा फरक थियो र त्यसका दस वटा सिङ थिए। ८  अनि हेर! मैले ती सिङहरू हेरिरहेको बेला ती सिङहरूको बीचबाट एउटा अर्को सिङ उम्रेको देखेँ र त्यो सिङ सानो थियो।+ पहिलेका १० सिङमध्ये तीन वटा सिङ त्यो सानो सिङको अगाडि उखेलिए। अनि हेर! त्यो सानो सिङमा मानिसका जस्ता आँखाहरू थिए र घमन्डी कुरा गर्ने मुख थियो।+ ९  “मैले हेर्दै गर्दा सिंहासनहरू बसालिएको देखेँ अनि त्यसमा ‘अतिप्राचीन’+ बस्नुभयो।+ उहाँको लुगा हिउँजस्तो सेतो थियो+ र उहाँको शिरको केश सफा ऊनजस्तै थियो। उहाँको सिंहासन बलिरहेको आगोको ज्वाला थियो र त्यसका चक्काहरू दन्किरहेका आगो थिए।+ १०  अनि उहाँको सामुबाट आगोको खोला बगिरहेको थियो।+ हजारौँ-हजारले उहाँको सेवा गरिरहेका थिए र लाखौँलाख उहाँको अगाडि उभिरहेका थिए।+ अनि अदालती+ कारबाही सुरु भयो र पुस्तकहरू खोलिए। ११  “मैले हेरी नै रहेँ किनभने त्यस सिङले घमन्डी कुरा गर्दै थियो+ अनि मैले हेर्दै गर्दा त्यस जनावरलाई मारियो र त्यसको शरीर नाश गरियो र आगोमा फ्याँकियो। १२  बाँकी अरू जनावरको+ चाहिँ शासन गर्ने अधिकार खोसियो र तिनीहरूलाई केही समय र ऋतुसम्म बाँच्न दिइयो। १३  “रातीको दर्शनमा मैले हेरी नै रहेको थिएँ। तब हेर! आकाशका बादलहरूसँगै मानिसको छोराजस्तै+ कोही आइरहेको देखेँ र तिनलाई ‘अतिप्राचीन’-कहाँ+ जान अनुमति दिइयो र तिनलाई तिनीहरूले उहाँको अगाडि ल्याए। १४  अनि सबै राष्ट्रका र सबै भाषाका मानिसहरूले तिनको सेवा गरून्‌+ भनेर तिनलाई शासन गर्ने अधिकार, गौरव+ र राज्य दिइयो।+ तिनको शासन सदासर्वदै रहिरहने शासन हो र तिनको राज्य कहिल्यै नाश हुनेछैन।+ १५  “अनि म दानिएलचाहिँ आकुलव्याकुल भएँ किनभने मैले देखेको दर्शनले गर्दा म डराएँ।+ १६  ती कुराहरूको साँचो अर्थ के हो भनेर सोध्न म त्यहाँ उभिरहेकाहरूमध्ये एक जनाको छेवैमा गएँ। अनि तिनले जवाफमा ती कुराहरूको अर्थ खोलिदिए। १७  “‘ती बडेमाका चार वटा जनावर+ चार राजा हुन्‌ र तिनीहरू पृथ्वीबाट खडा हुनेछन्‌।+ १८  तर सर्वोच्च परमेश्‍वरका पवित्र जनहरूलाई+ राज्य दिइनेछ+ र त्यो राज्य सधैँभरि तिनीहरूको हुनेछ,+ हो, सदासर्वदाको लागि तिनीहरूले अधिकार गर्नेछन्‌।’ १९  “त्यसपछि मैले अरूभन्दा फरक देखिने चौथो जनावरबारे अझ बुझ्न चाहेँ; त्यो अत्यन्तै डरलाग्दो थियो अनि त्यसका दाँत फलामका र पन्जाचाहिँ तामाका थिए; त्यसले सबै कुरा खर्ल्याप्प खान्थ्यो र चकनाचुर पार्थ्यो अनि बाँकी भएको कुराचाहिँ खुट्टाले कुल्चीमिल्ची गर्थ्यो।+ २०  अनि मैले त्यसको टाउकोमा भएका १० वटा सिङबारे+ बुझ्न चाहेँ। साथै अर्को सिङबारे पनि बुझ्न चाहेँ, जुन उम्रँदा तीन वटा सिङ झरेका थिए।+ त्यस सिङमा आँखाहरू थिए र घमन्डी कुरा गर्ने एउटा मुख थियो। अनि त्यो सिङ अरूभन्दा ठूलो देखिन्थ्यो। २१  “अनि मैले हेर्दै गर्दा त्यस सिङले पवित्र जनहरूविरुद्ध तबसम्म लडाइँ गऱ्‍यो र जित हासिल गर्दै गयो,+ २२  जबसम्म ‘अतिप्राचीन’+ आउनुभएन र सर्वोच्च परमेश्‍वरका पवित्र जनहरूको+ पक्षमा इन्साफ गर्नुभएन। अनि पवित्र जनहरूले राज्य अधिकार गर्ने तोकिएको समय आयो।+ २३  “मलाई अर्थ खोलिदिनेले यसो भने: ‘चौथो जनावरचाहिँ चौथो राज्य हो, जुन पृथ्वीमा खडा हुनेछ। त्यो अरू राज्यभन्दा फरक हुनेछ र त्यसले सारा पृथ्वीलाई निल्नेछ अनि खुट्टाले कुल्चीमिल्ची पारेर चकनाचुर पार्नेछ।+ २४  अनि १० सिङचाहिँ १० राजा हुन्‌, जो त्यस राज्यबाट खडा हुनेछन्‌ अनि तिनीहरूपछि अझै अर्को एउटा राजा खडा हुनेछ, जुन पहिलेकाहरूभन्दा फरक हुनेछ र त्यसले तीन राजामाथि अधिकार जमाउनेछ।+ २५  त्यसले सर्वोच्च परमेश्‍वरको विरुद्धमा बोल्नेछ+ र सर्वोच्च परमेश्‍वरका पवित्र जनहरूमाथि अत्याचार गरिरहनेछ। त्यसले समय र नियम बदल्न खोज्नेछ अनि एक काल, दुई काल र आधा कालको लागि* तिनीहरूलाई त्यसको हातमा दिइनेछ।+ २६  तर अदालती कारबाही सुरु भयो र त्यसलाई नामेट पार्न तिनीहरूले त्यसको शासन खोसे।+ २७  “‘अनि राज्य र शासनाधिकार अनि स्वर्गमुनि भएका राज्यहरूको महिमा सर्वोच्च परमेश्‍वरका पवित्र जनहरूलाई दिइनेछ।+ तिनीहरूको राज्य सदासर्वदै रहिरहनेछ+ र सबै राज्यले उहाँको सेवा गर्नेछन्‌ र उहाँको आज्ञा मान्‍नेछन्‌।’ २८  “यस विवरणको अन्त यही हो। म दानिएलचाहिँ आफ्ना विचारहरूले गर्दा साह्रै आत्तिएँ अनि मेरो अनुहारको रङ्‌ग उड्‌यो तर मैले यो कुरा आफ्नो मनमै राखेँ।”

फुटनोटहरू

शब्दावली हेर्नुहोस्‌।
अर्थात्‌, साढे तीन कालको लागि।