उत्पत्ति १:१-३१

  • आकाश र पृथ्वीको सृष्टि (१, २)

  • छ दिनमा पृथ्वीको सृष्टि (३-३१)

    • पहिलो दिन: उज्यालो; दिन र रात (३-५)

    • दोस्रो दिन: अन्तर (६-८)

    • तेस्रो दिन: सुक्खा जमिन र वनस्पति (९-१३)

    • चौथो दिन: आकाशका ज्योतिहरू (१४-१९)

    • पाँचौँ दिन: माछा र चराहरू (२०-२३)

    • छैटौँ दिन: जमिनमा बस्ने जीवजन्तु र मानिस (२४-३१)

 सुरुमा परमेश्‍वरले आकाश र पृथ्वी सृष्टि गर्नुभयो।+ २  त्यतिखेर पृथ्वीमा केही थिएन अनि त्यसको कुनै आकार पनि थिएन। जताततै पानी*+ मात्र थियो र चारैतिर अन्धकार थियो। अनि परमेश्‍वरको सक्रिय शक्‍ति+ पानीमाथि घुमिरहन्थ्यो।+ ३  परमेश्‍वरले भन्‍नुभयो: “उज्यालो होस्‌।” तब उज्यालो भयो।+ ४  परमेश्‍वरले उज्यालोलाई हेर्नुभयो र त्यो उहाँलाई राम्रो लाग्यो। त्यसपछि उहाँले अँध्यारो र उज्यालोलाई छुट्ट्याउन थाल्नुभयो। ५  परमेश्‍वरले उज्यालोलाई दिन र अँध्यारोलाई रात भन्‍नुभयो।+ साँझ पऱ्‍यो र बिहान भयो—पहिलो दिन। ६  त्यसपछि परमेश्‍वरले भन्‍नुभयो: “पानीको बीचमा एक अन्तर*+ होस्‌, यसले पानीलाई दुई भागमा छुट्ट्याओस्‌।”+ ७  परमेश्‍वरले पानीको बीचमा अन्तर बनाउनुभयो अनि अन्तरमुनिको पानी र अन्तरमाथिको पानीलाई छुट्ट्याउनुभयो।+ अनि त्यस्तै भयो। ८  परमेश्‍वरले त्यस अन्तरलाई आकाश भन्‍नुभयो। साँझ पऱ्‍यो र बिहान भयो—दोस्रो दिन। ९  त्यसपछि परमेश्‍वरले भन्‍नुभयो: “आकाशमुनि भएको सबै पानी एक ठाउँमा जम्मा होस्‌ र सुक्खा जमिन देखा परोस्‌।”+ तब त्यस्तै भयो। १०  परमेश्‍वरले सुक्खा जमिनलाई भूमि भन्‍नुभयो+ र जम्मा भएको पानीलाई समुद्र भन्‍नुभयो।+ अनि परमेश्‍वरले हेर्नुभयो र त्यो उहाँलाई राम्रो लाग्यो।+ ११  त्यसपछि परमेश्‍वरले भन्‍नुभयो: “भूमिले घाँसपात, बिउ लाग्ने किसिम-किसिमका बोटबिरुवा र फलमा बिउ हुने किसिम-किसिमका रूख उमारोस्‌।” तब त्यस्तै भयो। १२  अनि भूमिले किसिम-किसिमका घाँसपात, बिउ लाग्ने किसिम-किसिमका बोटबिरुवा+ र फलमा बिउ हुने किसिम-किसिमका रूख उमाऱ्‍यो। अनि परमेश्‍वरले हेर्नुभयो र त्यो उहाँलाई राम्रो लाग्यो। १३  साँझ पऱ्‍यो र बिहान भयो—तेस्रो दिन। १४  त्यसपछि परमेश्‍वरले भन्‍नुभयो: “दिन र रात छुट्ट्याउनलाई+ आकाशमा ज्योतिहरू+ देखा परून्‌। तिनीहरूले ऋतु, दिन र वर्ष छुट्ट्याउने चिन्हको रूपमा काम गरून्‌।+ १५  ती ज्योतिहरू आकाशमा चम्कून्‌ र पृथ्वीलाई उज्यालो पारून्‌।” तब त्यस्तै भयो। १६  अनि परमेश्‍वरले दुई वटा ठूला ज्योति बनाउनुभयो—दिनको लागि ठूलो ज्योति+ र रातको लागि अलि सानो ज्योति। उहाँले ताराहरू पनि बनाउनुभयो।+ १७  यसरी परमेश्‍वरले ती ज्योतिहरू आकाशमा राख्नुभयो। ती ज्योतिहरूले गर्दा पृथ्वी उज्यालो होस्‌, १८  ती ज्योतिहरू दिन र रातमा चम्कून्‌ अनि तिनीहरूले गर्दा उज्यालो र अँध्यारो छुट्टियोस्‌+ भनेर परमेश्‍वरले त्यसो गर्नुभयो। अनि परमेश्‍वरले हेर्नुभयो र त्यो उहाँलाई राम्रो लाग्यो। १९  साँझ पऱ्‍यो र बिहान भयो—चौथो दिन। २०  त्यसपछि परमेश्‍वरले भन्‍नुभयो: “पानी जीवजन्तुले* भरियोस्‌ र उड्‌ने जीवहरू* पृथ्वीमाथि फैलिएको आकाशमा उडून्‌।”+ २१  परमेश्‍वरले समुद्रमा बस्ने जातजातका विशाल जलजन्तु र पानीमा झुन्डझुन्ड बनाएर पौडने जातजातका जलजन्तु सृष्टि गर्नुभयो। साथै उहाँले आकाशमा उड्‌ने जातजातका जीवहरू पनि सृष्टि गर्नुभयो। अनि परमेश्‍वरले हेर्नुभयो र त्यो उहाँलाई राम्रो लाग्यो। २२  परमेश्‍वरले तिनीहरूलाई यस्तो आशिष्‌ दिनुभयो: “फल्दै-फुल्दै, वृद्धि हुँदै र समुद्रमा भरिँदै जाओ।+ अनि उड्‌ने जीवहरू पनि पृथ्वीमा बढ्‌दै जाऊन्‌।” २३  साँझ पऱ्‍यो र बिहान भयो—पाँचौँ दिन। २४  त्यसपछि परमेश्‍वरले भन्‍नुभयो: “पृथ्वीमा जातजातका जीवजन्तु देखा परून्‌ अर्थात्‌ जातजातका घरपालुवा जनावर, जातजातका घस्रने जीवजन्तु* र जातजातका जङ्‌गली जनावर।”+ तब त्यस्तै भयो। २५  अनि परमेश्‍वरले पृथ्वीमा जातजातका जङ्‌गली जनावर, जातजातका घरपालुवा जनावर र जातजातका घस्रने जीवजन्तु बनाउनुभयो। अनि परमेश्‍वरले हेर्नुभयो र त्यो उहाँलाई राम्रो लाग्यो। २६  त्यसपछि परमेश्‍वरले भन्‍नुभयो: “आऊ, मानिसलाई हाम्रै+ स्वरूपमा,+ हामीजस्तै+ बनाऔँ। तिनीहरूले समुद्रका माछा, आकाशमा उड्‌ने जीवहरू, घरपालुवा जनावर, घस्रने जीवजन्तु र सारा पृथ्वीमाथि अधिकार गरून्‌।”+ २७  अनि परमेश्‍वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो। हो, आफ्नै स्वरूपमा उहाँले मानिसलाई सृष्टि गर्नुभयो; उहाँले पुरुष र स्त्री बनाउनुभयो।+ २८  त्यसपछि परमेश्‍वरले तिनीहरूलाई यस्तो आशिष्‌ दिनुभयो: “फल्दै-फुल्दै, वृद्धि हुँदै र पृथ्वीमा भरिँदै जाओ+ अनि पृथ्वीमाथि अधिकार गर।+ समुद्रका माछा, आकाशमा उड्‌ने जीवहरू र पृथ्वीमा चलहल गर्ने सबै जीवजन्तुलाई आफ्नो अधीनमा राख।”+ २९  त्यसपछि परमेश्‍वरले भन्‍नुभयो: “पृथ्वीका सबै बिउ लाग्ने बोटबिरुवा र फलमा बिउ हुने किसिम-किसिमका रूख मैले तिमीहरूलाई दिएको छु। ती तिमीहरूका लागि भोजन हुनेछन्‌।+ ३०  अनि पृथ्वीमा भएका सबै जङ्‌गली जनावर, आकाशमा उड्‌ने सबै जीव अनि जमिनमा चलहल गर्ने सबै जीवजन्तुको निम्ति आहार होस्‌ भनेर मैले हरिया घाँसपात दिएको छु।”+ तब त्यस्तै भयो। ३१  त्यसपछि परमेश्‍वरले आफूले बनाउनुभएका सबै कुरा हेर्नुभयो, ती असाध्यै राम्रा थिए।+ साँझ पऱ्‍यो र बिहान भयो—छैटौँ दिन।

फुटनोटहरू

वा “उर्लँदो पानी।”
अर्थात्‌, वायुमण्डल।
शब्दावलीमा “नेफेश; साइखी” हेर्नुहोस्‌।
यहाँ चलाइएको हिब्रू शब्दले चराचुरुङ्‌गीलाई अनि उड्‌ने किराहरूजस्ता अन्य जीवलाई जनाएको हुन सक्छ।
यसले सर्प, छेपारोजस्ता जीवलाई अनि यस पदमा उल्लिखित जीवहरूभन्दा फरक किसिमका जीवहरूलाई जनाउँछ।