फिलिप्पी ४:१-२३

  • एकता, रमाहट, उचित विचार (१-९)

    • कुनै कुराको विषयमा चिन्तित नहोओ (६, ७)

  • फिलिप्पीहरूको उपहारको निम्ति आभारी (१०-२०)

  • समापनका शब्दहरू (२१-२३)

 यसकारण हे मेरा प्रिय भाइहरू, जो मेरो खुसी र मुकुट हौ+ अनि जसलाई म प्रेम गर्छु र भेट्‌न तीव्र इच्छा गर्छु, तिमीहरू यसरी नै प्रभुमा स्थिर भइरहो।+ २  म इयोदियालाई आग्रह गर्छु र त्यसैगरि सिन्तकेलाई पनि आग्रह गर्छु कि प्रभुमा एकै मनका होओ।+ ३  हो, मेरो साँचो सहकर्मी, म तिमीलाई पनि यो अनुरोध गर्छु कि यी स्त्रीहरूलाई मदत गरिरह, जसले क्लेमेन्ट र मेरा अरू सहकर्मीहरू, जसको नाम जीवनको पुस्तकमा छ,+ उनीहरूसित मिलेर सुसमाचार सुनाउन मसँगै परिश्रम गरेका छन्‌।* ४  प्रभुमा सधैँ रमाओ। म फेरि भन्छु, रमाओ!+ ५  तिमीहरूको व्यावहारिकता+ सबै मानिसलाई थाह होस्‌। प्रभु नजिकै हुनुहुन्छ। ६  कुनै कुराको विषयमा चिन्तित नहोओ+ तर हरेक कुरामा प्रार्थना, उत्कट बिन्ती र धन्यवादका साथ आफ्नो निवेदन परमेश्‍वरसमक्ष जाहेर गर।+ ७  तब परमेश्‍वरको शान्ति,+ जुन मानिसको समझभन्दा बाहिरको छ, त्यसले ख्रिष्ट येसुद्वारा तिमीहरूको हृदय+ र सोच्ने क्षमताको* रक्षा गर्नेछ। ८  अन्तमा हे भाइहरू हो, जुन कुराहरू सत्य छन्‌, जुन कुराहरू गम्भीरतासाथ ध्यान दिन लायकका छन्‌, जुन कुराहरू असल छन्‌, जुन कुराहरू चोखा* छन्‌, जुन कुराहरू प्रेम गर्न योग्य छन्‌, जुन कुराहरूले राम्रो नाम कमाएका छन्‌, जुन कुराहरूमा सद्‌गुण छ अनि जुन कुराहरू प्रशंसायोग्य छन्‌, ती नै कुराहरूको विचार गरिरहो।*+ ९  जुन कुराहरू तिमीहरूले मबाट सिक्यौ, स्विकाऱ्‍यौ, सुन्यौ र देख्यौ, ती नै कुराहरू गर्नेगर+ अनि शान्तिका परमेश्‍वर तिमीहरूका साथमा हुनुहुनेछ। १०  म प्रभुमा ज्यादै रमाउँछु किनकि बल्ल तिमीहरूले फेरि मेरो विषयमा सोच्न थालेका छौ।+ हुनत तिमीहरूले मेरो विषयमा सोचेका थियौ तर त्यो देखाउने मौका भने पाएका थिएनौ। ११  खाँचोमा परेकोले मैले यसो भनेको त होइनँ किनकि जस्तोसुकै परिस्थितिमा परे तापनि सन्तुष्ट हुन मैले सिकेको छु।+ १२  अभावमा कसरी जीवन बिताउने+ अनि प्रशस्ततामा कसरी जीवन बिताउने, त्यो मलाई थाह छ। पेट टन्‍न हुँदा होस्‌ वा भोकै रहँदा अनि प्रशस्ततामा होस्‌ वा अभावमा, हरेक कुरामा र सबै परिस्थितिमा कसरी सन्तुष्ट हुने, त्यो रहस्य मैले सिकेको छु। १३  किनकि जसले मलाई शक्‍ति दिनुहुन्छ, उहाँद्वारै म सबै कुरा गर्ने बल पाउँछु।+ १४  जे होस्‌, मेरो सङ्‌कष्टमा मलाई साथ दिएर तिमीहरूले राम्रो गऱ्‍यौ। १५  वास्तवमा हे फिलिप्पीका भाइहरू हो, तिमीहरूलाई यो कुरा पनि थाह छ कि तिमीहरूले पहिलो पटक सुसमाचार सुनेपछि, जब म म्यासिडोनियाबाट बिदा भएँ, तब तिमीहरूबाहेक अरू कुनै मण्डलीले न मलाई मदत गऱ्‍यो न त मेरो मदत नै स्विकाऱ्‍यो+ १६  किनकि म थिस्सलोनिकामा हुँदा मेरो खाँचो टार्न तिमीहरूले एक चोटि मात्र होइन तर दुई-दुई चोटि सहयोग पठायौ। १७  म तिमीहरूबाट कुनै उपहार पाउने आशा गर्दिनँ बरु यस्तो फल पाउन चाहन्छु, जसले गर्दा तिमीहरूको खातामा असल कुराहरू थपिँदै जानेछ। १८  तथापि मसित मलाई आवश्‍यक पर्ने सबै कुरा छ, भनौँ भने आवश्‍यकताभन्दा धेरै छ। अब मलाई कुनै कुराको कमी छैन किनकि तिमीहरूले इपाफ्रोडाइटसमार्फत+ पठाएका कुराहरू मैले पाएको छु। ती कुराहरू परमेश्‍वरको लागि ग्रहणयोग्य अनि मीठो बास्ना भएको यस्तो बलिदान हो,+ जसले उहाँलाई असाध्यै खुसी बनाउँछ। १९  यसको बदलामा मेरा परमेश्‍वरले आफ्नो प्रशस्त धनसम्पत्तिद्वारा तिमीहरूको सबै खाँचो ख्रिष्ट येसुमार्फत प्रशस्तगरि पूरा गरिदिनुहुनेछ।+ २०  हाम्रा परमेश्‍वर र बुबाको सदासर्वदा महिमा भइरहोस्‌। आमिन। २१  ख्रिष्ट येसुसित एकतामा भएका सबै पवित्र जनलाई मेरो अभिवादन छ भनिदेओ। मसित भएका भाइहरूले तिमीहरूलाई अभिवादन पठाएका छन्‌। २२  सबै पवित्र जन, अझ विशेषगरि सिजरको* घरानाले+ तिमीहरूलाई अभिवादन पठाएका छन्‌। २३  तिमीहरूले देखाउने मनोभावमाथि प्रभु येसु ख्रिष्टको असीम अनुग्रह रहोस्‌।

फुटनोटहरू

वा “मसँगै कडा सङ्‌घर्ष गरेका छन्‌।”
वा “तिमीहरूको दिमागको; तिमीहरूको विचारको।”
वा “ती नै कुराहरूमा मनन गरिरहो।”
वा “शुद्ध।”
शब्दावली हेर्नुहोस्‌।