तितस ३:१-१५

  • उचित अधीनता (१-३)

  • असल कामहरूको निम्ति तयार होओ (४-८)

  • मूर्खताले भरिएको वादविवाद र गुटबन्दीलाई तिरस्कार गर (९-११)

  • केही निर्देशन र समापनका शब्दहरू (१२-१५)

 तिनीहरूलाई यो कुरा सम्झाइरहनू कि तिनीहरू सरकार र अख्तियारवालाहरूको अधीनमा बसून्‌ अनि उनीहरूप्रति आज्ञाकारी होऊन्‌,+ हरेक असल कामको लागि तत्पर होऊन्‌, २  कसैको बदनाम नगरून्‌, झगडालु नहोऊन्‌ बरु व्यावहारिक होऊन्‌+ र सबै मानिससित व्यवहार गर्दा कोमलता देखाऊन्‌।+ ३  किनकि कुनै समय हामी पनि अबुझ, अनाज्ञाकारी, बहकिएका, विभिन्‍न कुइच्छा र सुखविलासको दासत्वमा परेका, खराबी र ईर्ष्या गर्ने, घृणित र एकअर्कालाई घृणा गर्ने मानिसहरू थियौँ। ४  तर जब हाम्रा उद्धारक परमेश्‍वरको दया+ र मानिसजातिप्रतिको प्रेम प्रकट भयो ५  (हामीले गरेको असल कामहरूको कारण होइन+ तर उहाँको कृपाले गर्दा),+ तब उहाँले जीवन दिने स्नानद्वारा+ अनि पवित्र शक्‍तिले नयाँ बनाएर हाम्रो उद्धार गर्नुभयो।+ ६  हाम्रा उद्धारक येसु ख्रिष्टमार्फत उहाँले यो पवित्र शक्‍ति हामीमाथि प्रचुर मात्रामा* खन्याउनुभयो+ ७  ताकि उहाँको असीम अनुग्रहले गर्दा धर्मी ठहरिसकेपछि+ हामी आफ्नो आशाअनुसारै अनन्त जीवनको+ उत्तराधिकारी बन्‍न सकौँ।+ ८  यी कुराहरू विश्‍वासयोग्य छन्‌ अनि तिमीले यी कुराहरूमा जोड दिइरह भन्‍ने म चाहन्छु ताकि ज-जसले परमेश्‍वरमा विश्‍वास गरेका छन्‌, तिनीहरूले आफ्नो ध्यान असल कामहरूमा लगाइरहन सकून्‌। यी कुराहरू मानिसहरूका लागि असल र फाइदाजनक छन्‌। ९  तर मूर्खताले भरिएको वादविवाद, वंशावलीको खोजीनिती, बहस अनि मोसाको व्यवस्थाको विषयमा झगडा गर्नदेखि टाढै बस किनकि त्यसबाट कुनै फाइदा हुँदैन, ती बेकारका कुराहरू हुन्‌।+ १०  कुनै मानिसले गुटबन्दीलाई प्रोत्साहन दिन्छ भने+ उसलाई पहिला एक चोटि अनि फेरि दोस्रो चोटि चेतावनी देऊ, त्यसपछि+ ऊसित सङ्‌गत गर्न छोडिदेऊ।+ ११  यो जानेर कि यस्तो मानिस सत्यको मार्गबाट तर्केको छ अनि उसले पाप गरिरहेको छ र आफूले आफैलाई दोषी ठहराइरहेको छ। १२  मैले अर्तिमास वा टाइकिकसलाई+ तिमीकहाँ पठाएपछि मकहाँ निकोपोलिस आउन सक्दो प्रयास गर किनकि मैले त्यहीँ हिउँद काट्‌ने निधो गरेको छु। १३  जिनस, जो मोसाको व्यवस्थामा पोख्त छन्‌, तिनी र अपोल्लसका लागि यात्राको सम्पूर्ण बन्दोबस्त मिलाइदिन सक्दो गर ताकि तिनीहरूलाई कुनै कुराको अभाव नहोस्‌।+ १४  हाम्रा मानिसहरूले पनि असल काम गर्न सिकून्‌ ताकि आवश्‍यक परेको बेला तिनीहरूले मदत गर्न सकून्‌+ र तिनीहरू असल काममा निष्फल नहोऊन्‌।+ १५  मसित भएकाहरू सबैले तिमीलाई अभिवादन पठाएका छन्‌। विश्‍वासमा भएकाहरू, जो हामीलाई माया गर्छन्‌, तिनीहरूलाई मेरो अभिवादन छ भनिदेऊ। परमेश्‍वरको असीम अनुग्रह तिमीहरू सबैमाथि रहोस्‌।

फुटनोटहरू

वा “उदारतासाथ।”