सीधै सामग्रीमा जाने

युवाहरू सोध्छन्‌

मेसेज पठाउनेबारे मैले के थाह पाउनुपर्छ?

मेसेज पठाउनेबारे मैले के थाह पाउनुपर्छ?
  • :-) सही तरिकाले मेसेज गरेका छौं भने साथीभाइको हालखबर बुझ्न सजिलो हुन्छ।

  • :-( जथाभाबी मेसेज गऱ्‍यौं भने साथीहरूसितको सम्बन्ध बिग्रन सक्छ र नाम पनि बदनाम हुन्छ।

यस लेखले तपाईंलाई यी कुराहरू बुझ्न मदत गर्छ:

साथै यी कुराहरू पनि थाह पाउन सक्नुहुन्छ:

 कसलाई मेसेज पठाउने

 थुप्रै युवाहरूलाई कुराकानी गर्न नभई नहुने एउटा माध्यम मेसेज पठाउनु हो जस्तो लाग्छ। मेसेज पठाएर तपाईंले आफ्नो फोनमा नम्बर भएजति सबैसँग कुरा गर्न सक्नुहुन्छ—तर ममीड्याडीले रोक्नु नभएसम्म।

 “मेरो ड्याडीलाई बहिनी र मैले केटाहरूसँग कुरा गरेको फिटिक्कै मन पर्दैन। यदि कुरा गर्नु नै पऱ्‍यो भने पनि बैठक कोठामा गएर, घरको नम्बरबाट अनि अरूहरू भएको बेलामा गर्नुपर्छ।”—लेनोर।

 तपाईंले के बुझ्नुपर्छ? जो पायो त्यहीलाई आफ्नो नम्बर दिनुभयो भने समस्यामा फस्नुहुनेछ।

 “विचार नपुऱ्‍याई जो पायो त्यहीलाई नम्बर दिंदा आफूले पढ्‌न वा हेर्न नचाहेको मेसेज अथवा तस्बिर पाउने सम्भावना धेरै हुन्छ।”—स्कट।

 “विपरीत लिङ्‌गको व्यक्‍तिलाई नियमित रूपमा मेसेज पठाउने गर्नुहुन्छ भने ऊसँग तपाईं भावनात्मक रूपमा सजिलै नजिकिनु हुनेछ।”—स्टिभन।

 बाइबल भन्छ: “चतुर मानिस दुःख आएको देखेर जोगिन्छ, तर सीधा-साधा त्यसमा पर्छ र दण्ड भोग्छ।” (हितोपदेश २२:३) केही सतर्कता अपनाउनुभयो भने पछि ठूलो समस्या निम्तिनदेखि जोगिनसक्नुहुन्छ।

 सत्य कथा: “मेरो एउटा केटा साथी थियो; एकअर्कालाई खुबै मेसेज पठाउँथ्यौं। दुई जना असल साथीहरू हौं जस्तो लाग्थ्यो। तर उसले त मलाई मन पराउन पो थालिसकेको रहेछ। उसले भनेपछि मात्र थाह पाएँ। ऊसित त्यसरी झ्याम्मिन्‍नु हुन्‍नथ्यो अनि त्यति धेरै मेसेज पनि पठाउनु हुन्‍नथ्यो भनेर अहिले चुकचुक लाग्छ।”—मेलिन्डा।

 सोच्नुहोस्‌: त्यो केटाले आफूलाई मन पराउँछ भन्‍ने कुरा थाह पाइसकेपछि मेलिन्डा र त्यो केटाबीचको मित्रता अहिले कस्तो होला?

 यो कथालाई अर्को तरिकामा लेख्नुहोस्‌! मेलिन्डाले त्यो केटासित मित्रता कायम राख्न के गर्न सक्थिन्‌?

 कस्तो मेसेज पठाउने

 मेसेज पठाउन निकै सजिलो छ अनि मेसेज पाउँदा खुसी पनि लाग्छ। त्यसैले आफूले लेखेको कुरालाई अरूले अर्कै तरिकामा बुझ्न सक्छन्‌ भन्‍ने कुरा हामीले बिर्सिरहेका हुन सक्छौं।

 तपाईंले के बुझ्नुपर्छ? मेसेजमा लेखेको कुरालाई अरूले अर्कै तरिकामा पनि बुझ्न सक्छन्‌।

 “मेसेज पढ्‌दा अर्को पक्षले कुन लवजमा, कस्तो भावनासहित लेखेको हो, बुझ्न गाह्रो हुन्छ। सङ्‌केत चित्रहरू भए पनि ठम्याउनै गाह्रो हुन्छ। यसले गर्दा गलतफहमी हुन सक्छ।”—ब्रायना।

 “केटाहरूलाई चाहिने-नचाहिने कुरा लेखिपठाउने अनि जिस्किने केटीहरूको बदनाम भएको मैले यही आँखाले देखेको छु।”—लोरा।

 बाइबल भन्छ: “जवाफ दिनुअघि धर्मीहरू सोच्दछन्‌।” (हितोपदेश १५:२८) यसको मतलब? मेसेज पठाउनुअघि एकचोटि त्यो मेसेज फेरि पढ्‌नुहोस्‌।

 कहिले मेसेज पठाउने

 मेसेज पठाउने विषयमा तपाईंले राम्ररी सोच-विचार गरेर एउटा सीमा तोक्न सक्नुहुन्छ, कसै-कसैले यसलाई मेसेज पठाउँदा पालन गर्नुपर्ने नियम पनि भन्‍ने गर्छन्‌।

 तपाईंले के बुझ्नुपर्छ? मेसेज पठाउने विषयमा होस पुऱ्‍याउनुभएन भने एक अर्थमा तपाईं मतलबी भइरहनुभएको हुनेछ अनि साथी बनाउने त होइन, उल्टै साथीहरूलाई टाढा-टाढा भगाइरहनुभएको हुनेछ।

 “कहिलेकाहीं हामीले बेला न कुबेला मेसेज पठाइरहेका हुन सक्छौं। म पनि कहिलेकाहीं कसैसित कुरा गरिरहेको बेला अथवा कसैसित खाना खान बसेको बेला अरूलाई मेसेज पठाउन पुग्दो रैछु।—एलिसन।

 “गाडी चलाइरहेको बेला मेसेज गर्नु त साह्रै खतराको कुरा हो। रोडमा ध्यान दिएन भने सजिलै दुर्घटना हुन सक्छ।”—आना।

 बाइबल भन्छ: “सबै कुराको लागि समय छ, . . . चुप्प लाग्ने एउटा समय छ, बोल्ने एउटा समय।” (उपदेशक ३:१, ७) बोल्दा मात्र होइन, मेसेज गर्दा पनि यही सिद्धान्त लागू हुन्छ।

 मेसेज पठाउँदा ध्यान दिनुपर्ने कुरा

कसलाई मेसेज पठाउने

  •  ;-)आमाबुबाको निर्देशनअनुसार चल्नुहोस्‌।—कलस्सी ३:२०.

  •  ;-)विचार पुऱ्‍याएर मात्र अरूलाई नम्बर दिनुहोस्‌। विनम्र हुँदै आफ्नो जानकारी वा फोन नम्बर अरूलाई दिन इन्कार गर्नुभयो भने तपाईंले वयस्क व्यक्‍तिमा हुनुपर्ने गुण खेती गरिरहनुभएको हुनेछ।

  •  ;-)मेसेज गर्दा जिस्काजिस्की गरेर ज्यादै नजिक हुने नगर्नुहोस्‌। पछि रोमान्टिक भावना उब्ज्‌यो भने बित्थामा निराशा र टाउको दुखाईको सिकार हुनुपर्नेछ।

 “मैले फोनको दुरुपयोग गर्दिनँ भनेर आमाबुबालाई थाह छ। त्यसैले उहाँहरू मलाई भरोसा गर्नुहुन्छ। कसको नम्बर लिने-नलिने भनेर निर्णय गर्ने जिम्मा उहाँहरूले मलाई नै छोड्‌नुभएको छ।”—ब्रायना।

कस्तो मेसेज पठाउने

  •  ;-)मेसेज लेख्नुभन्दाअघि आफैलाई सोध्नुहोस्‌, ‘यस्तो अवस्थामा मेसेजद्वारा कुरा गर्नु के उचित हो?’ मेसेज गर्नुभन्दा फोन गरेर वा भेटेर कुरा गर्नु अझ बेस हुन सक्छ।

  •  ;-)भेटघाटको दौडान प्रयोग नगर्ने शब्दहरू मेसेज पठाउँदा प्रयोग नगर्नुहोस्‌। ‘अघिपछि कुरा गर्दा कुनै शब्द चलाउनुहुन्‍न भने मेसेज लेख्दा पनि त्यो शब्द प्रयोग नगर्नुहोस्‌’ भनी २३ वर्षीया सारा भन्छिन्‌।

 “कसैले उत्तेजक फोटो पठायो भने ममीबुबालाई भन्‍नुहोस्‌। यसो गर्दा तपाईं सुरक्षित रहनुहुनेछ अनि ममीबुबाको भरोसा पनि जित्न सक्नुहुन्छ।”—सर्भान।

कहिले मेसेज पठाउने

  •  ;-)कस्तो-कस्तो बेला फोन नचलाउने भनेर पहिल्यै सीमा तोक्नुहोस्‌। ओलिभिया भन्छिन्‌: “खाना खान वा पढ्‌न बस्दा म आफूसँग फोन राख्दिनँ। अनि हेर्न सकसकी नलागोस्‌ भनेर मिटिङको (ख्रीष्टियन सभा) बेला स्वीच अफ गर्छु।”

  •  ;-)विचारशील हुनुहोस्‌। (फिलिप्पी २:४) कसैसित आमनेसामने बसेर कुरा गर्दै हुनुहुन्छ भने त्यतिबेला अरूलाई मेसेज नपठाउनुहोस्‌।

 “साथीभाइसँग हुँदा अरूलाई मेसेज नपठाउने सीमा तोकेको छु। आवश्‍यकै पऱ्‍यो भने मात्र मेसेज गर्छु, नत्र गर्दिनँ। अनि कोहीसित घनिष्ठ छैन भने उसलाई पनि नम्बर दिन्‍नँ।”—यानेली।