सीधै सामग्रीमा जाने

युवाहरू सोध्छन्‌

परिवारमा दाजुभाइ दिदीबहिनीसित किन मिलेर बस्नुपर्छ?

परिवारमा दाजुभाइ दिदीबहिनीसित किन मिलेर बस्नुपर्छ?

 “कहिले मित्र त कहिले शत्रु”

 दाजुभाइ दिदीबहिनी “कहिले मित्र त कहिले शत्रु” बन्छन्‌। तपाईं तिनीहरूलाई माया गर्नुहुन्छ अनि तिनीहरू पनि तपाईंलाई माया गर्छन्‌। तर कहिलेकाहीं तिनीहरूसित ठ्याक मिल्दैन। अठार वर्षीया हेलेना भन्छिन्‌, “भाइले मलाई दिक्क पार्छ। के गर्दा वा के भन्दा मेरो पारो तात्छ, उसलाई राम्ररी थाह छ।”

 दाजुभाइ दिदीबहिनीबीचको कुनै-कुनै मतभेद कुराकानी गरेर सुल्झाउन सकिन्छ। उदाहरणको लागि:

  •   एउटै कोठामा बस्ने दुई दाजुभाइबीच प्राइभेसीको विषयमा भनाभन हुन सक्छ। यसलाई कसरी सुल्झाउने? त्याग गर्न सिक्नुहोस्‌ र एकअर्काको भावनाको कदर गर्नुहोस्‌। लूका ६:३१ मा पाइने बाइबल सिद्धान्त लागू गर्नुहोस्‌।

  •   दुई दिदीबहिनीले एकअर्काको लुगा नसोधी लगाउलान्‌। यसलाई कसरी सुल्झाउने? यसबारे कुराकानी गर्नुहोस्‌ र स्पष्ट सीमा तोक्नुहोस्‌। २ तिमोथी २:२४ मा पाइने बाइबल सिद्धान्त लागू गर्नुहोस्‌।

 कुनै-कुनै अवस्थामा दाजुभाइ दिदीबहिनीबीचको समस्या अझ गम्भीर हुन्छ र त्यसको नतिजा नराम्रो हुन सक्छ। बाइबलमा पाइने दुई वटा उदाहरण विचार गर्नुहोस्‌:

  •   आफ्नो भाइ मोशाप्रति मरियम र हारूनलाई डाह लाग्यो। यसको परिणाम नराम्रो भयो। गन्ती १२:१-१५ को विवरण पढ्‌नुहोस्‌। त्यसपछि आफैलाई सोध्नुहोस्‌: “दाजुभाइ दिदीबहिनीको डाह नगर्न म के गर्न सक्छु?”

  •   कयिन असाध्यै रिसाए अनि तिनले आफ्नो भाइ हाबिलको हत्या गरे। उत्पत्ति ४:१-१२ को विवरण पढ्‌नुहोस्‌। त्यसपछि आफैलाई सोध्नुहोस्‌: “दाजुभाइ दिदीबहिनीसित व्यवहार गर्दा म कसरी रिस थाम्न सक्छु?”

 मिलेर बस्नुपर्ने दुई वटा कारण

 दाजुभाइ दिदीबहिनीसित मिलेर बस्नु गाह्रो भए पनि यसो गर्न प्रयास गर्नुपर्ने दुई वटा कारण छन्‌।

  1.  १. यो परिपक्वताको चिन्ह हो। एलेक्स नाम गरेका युवक यसो भन्छन्‌, “म बहिनीहरूसित झनक्क रिसाउने गर्थें। अहिले उनीहरूसित अझ शान्त र धीरजी हुन सकेको छु। मलाई आफू परिपक्व भए जस्तो लाग्छ।”

     बाइबल भन्छ: “धीरज धारण गर्नु ठूलो समझशक्‍ति देखाउनु हो, झ्वाट्टै रिस गर्नु मूर्खताको चरमसीमा हो।”—हितोपदेश १४:२९.

  2.  २. यो भविष्यको लागि राम्रो प्रशिक्षण हो। तपाईंले आफ्नो दाजुभाइ दिदीबहिनीको कमजोरी सहन सक्नुहुन्‍न भने आफ्नो जोडी, सहकर्मी, कर्मचारी वा अरूको कमजोरी कसरी सहन सक्नुहुन्छ र?

     तथ्य: भविष्यमा अरूसितको सम्बन्ध राम्रो हुने/नहुने कुरा तपाईं कसरी कुराकानी गर्नुहुन्छ, त्यसमा भर पर्छ अनि यस्तो क्षमता विकास गर्ने सबैभन्दा उपयुक्‍त ठाउँ परिवार नै हो।

     बाइबल भन्छ: “सबै मानिससित शान्तिसित बस्न तिमीहरू सक्दो कोसिस गर।”—रोमी १२:१८.

 के तपाईं आफ्नो दाजुभाइ दिदीबहिनीसितको समस्या सुल्झाउन मदत चाहनुहुन्छ? “तपाईंका साथीहरू के भन्छन्‌” भन्‍ने लेख पढ्‌नुहोस्‌ अनि “दाजुभाइ दिदीबहिनीसित कसरी मिलेर बस्ने?” भन्‍ने अभ्यास सामग्री हेर्नुहोस्‌।