सीधै सामग्रीमा जाने

युवाहरू सोध्छन्‌

मेरो किन कोही साथी छैन?

मेरो किन कोही साथी छैन?

तपाईँ अनलाइन आउनुहुन्छ अनि हालसालैको एउटा पार्टीको फोटो देख्नुहुन्छ। त्यहाँ तपाईँका सबै साथीहरू छन्‌ र निकै रमाइलो गर्दै छन्‌। तर त्यस फोटोमा कोही छुटेको जस्तो देखिन्छ। बिचरा, त्यो फोटोमा तपाईँ हुनुहुन्‍न।

तपाईँ सोच्नुहोला, ‘मलाई चाहिँ किन नबोलाएका होलान्‌?’

आफूलाई नबोलाइँदा तपाईँलाई नमीठो लाग्न सक्छ। तपाईँ त्यागिएको महसुस गर्नुहुन्छ। तासको पत्ताबाट बनाइएको घर भत्किएजस्तै साथीहरूसितको तपाईँको सम्बन्ध पनि भत्किएको महसुस गर्नुहुन्छ। तपाईँलाई एक्लोपनले सताउँछ। तपाईँ आफैलाई सोध्नुहुन्छ, ‘मेरो किन कोही साथी छैन?’

 एक्लोपनबारे क्विज खेलौँ

 सही वा गलत, जवाफ दिनुहोस्‌।

  1.  १. थुप्रै साथीहरू छन्‌ भने तपाईँले कहिल्यै एक्लो महसुस गर्नुहुनेछैन।

  2.  २. सामाजिक सञ्जाल चलाउनुहुन्छ भने तपाईँले कहिल्यै एक्लो महसुस गर्नुहुनेछैन।

  3.  ३. मेसेजमार्फत धेरै कुराकानी गर्नुहुन्छ भने तपाईँले कहिल्यै एक्लो महसुस गर्नुहुनेछैन।

  4.  ४. अरूको लागि केही गरिदिनुभयो भने तपाईँले कहिल्यै एक्लो महसुस गर्नुहुनेछैन।

 यी सबै वाक्य गलत हुन्‌।

 किन?

 साथीहरूसितको सम्बन्ध र एक्लोपनबारे केही तथ्य

  •   थुप्रै साथीहरू छन्‌ भन्दैमा तपाईँले कहिल्यै एक्लो महसुस गर्नुहुनेछैन भन्‍ने त होइन।

     “म साथीहरूको ख्याल राख्छु तर तिनीहरूले चाहिँ मेरो ख्याल नै राख्दैनन्‌ जस्तो लाग्छ। आफूलाई खासै माया नगर्ने वा महत्त्व नदिने साथीहरूको माझ हुँदा झन्‌ एक्लोपन महसुस हुन सक्छ।”​—आन।

  •   सामाजिक सञ्जाल चलाउनुहुन्छ भन्दैमा तपाईँले कहिल्यै एक्लो महसुस गर्नुहुनेछैन भन्‍ने त होइन।

     “कोही मानिसहरू खेलौना बटुलेजस्तै साथीहरू बटुल्ने गर्छन्‌। तर धेरै साथी बटुल्दैमा माया पाएको महसुस हुन्छ भन्‍ने त होइन। यदि ती साथीहरूसितको तपाईँको मित्रता बलियो छैन भने तिनीहरू केवल खेलौनामै सीमित रहनेछन्‌।”​—इलेन।

  •   मेसेजमार्फत धेरै कुराकानी गर्नुहुन्छ भन्दैमा तपाईँले कहिल्यै एक्लो महसुस गर्नुहुनेछैन भन्‍ने त होइन।

     “कहिलेकाहीँ एक्लो महसुस भइरहेको बेला कसैले मेसेज पठाएको छ कि भनेर हेर्ने गर्नुहुन्छ होला। यस्तो बेला कसैको पनि मेसेज नआएको देख्दा तपाईँ झनै निराश हुनुहुनेछ!”​—सेरेना।

  •   अरूको लागि केही गरिदिँदैमा तपाईँले कहिल्यै एक्लो महसुस गर्नुहुनेछैन भन्‍ने त होइन।

     “म सधैँ साथीहरूको लागि सकेजति सबै गर्थेँ तर तिनीहरू भने मेरो लागि त्यसो गर्दैनथे। तिनीहरूको लागि सकेजति गरेकोमा म पछुतो त मान्दिनँ। तर तिनीहरूले मेरो लागि केही नगरेकोले अलि नरमाइलो चाहिँ लाग्छ।”​—रिचार्ड।

 निष्कर्ष: एक्लोपन हाम्रो सोचाइमा हुन्छ। जेनेट नाम गरेकी एक युवती भन्छिन्‌, “हामी बाहिरी कुराहरूले गर्दा नभई आफ्नो सोचाइले गर्दा एक्लो महसुस गरिरहेका हुन्छौँ।”

 तपाईँलाई आफ्नो कोही साथी छैन र एक्लो छु जस्तो लाग्छ भने के गर्न सक्नुहुन्छ?

 तपाईँ कसरी सफल हुन सक्नुहुन्छ

आत्मविश्‍वास बढाउनुहोस्‌।

 “आफ्ना कमीकमजोरीबारे धेरै सोच्दा हामी एक्लो महसुस गर्न सक्छौँ। आफू अरूबाट माया पाउन लायक छैन जस्तो लाग्दा अग्रसर भएर तिनीहरूसित कुरा गर्न र साथी बनाउन गाह्रो हुन्छ।”​—जेनेट।

 बाइबल भन्छ: “तिमीहरूले आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नू।” (गलाती ५:१४) मित्रता राम्रो बनाउन हामीले आफैलाई जाँच्नुपर्छ। हामीले आफूलाई पनि प्रेम गर्नुपर्छ तर आफूलाई को-को न हुँ भनी सम्झनु हुदैँन।​—गलाती ६:३, ४

आफूलाई बिचराको पात्र नठान्‍नुहोस्‌।

 “एक्लोपन दलदले हिलोजस्तै हो। हामी त्यसमा जति गाढिँदै जान्छौँ, त्यसबाट निस्कन त्यति नै गाह्रो हुन्छ। तपाईँ आफूलाई जति बिचराको पात्र ठान्‍नुहुन्छ, त्यति नै मानिसहरू तपाईँसित नजिक हुन चाहँदैनन्‌। त्यसैले तपाईँ झनै एक्लो हुनुहुनेछ।”​—इरिन।

 बाइबल भन्छ: “प्रेमले . . . आफ्नै फाइदा खोज्दैन।” (१ कोरिन्थी १३:४, ५) आफूलाई बढ्‌तै ध्यान दिन्छौँ भने हामी अरूसित खासै दयालु व्यवहार गर्न सक्दैनौँ र अरू पनि हामीसित साथी बन्‍न इच्छुक हुँदैनन्‌। (२ कोरिन्थी १२:१५) साँच्चै भन्‍ने हो भने यदि तपाईँको सफलता अरूले गर्ने कुरामा निर्भर हुन्छ भने तपाईँ झनै असफल हुनुहुनेछ। विचार गर्नुहोस्‌ त, यदि तपाईँ “मलाई कसैले बोलाउँदैन वा फोन नै गर्दैन” भनेर दुःख मान्‍ने गर्नुहुन्छ भने तपाईँले आफ्नो खुसी अरूको हातमा सुम्पिरहनुभएको हुनेछ, होइन र?

जोकोहीलाई साथी नबनाउनुहोस्‌।

 “एक्लो व्यक्‍तिहरू अरूले आफूलाई ध्यान दिएको चाहन्छन्‌ र त्यसको लागि जे गर्न पनि तयार हुन्छन्‌। तिनीहरू केवल अरूबाट माया पाउन चाहन्छन्‌ तर कतिपय मानिसहरू आफ्नै स्वार्थको लागि तिनीहरूलाई चासो देखाउँछन्‌, जसले गर्दा एक्लो महसुस गरिरहेका व्यक्‍तिहरूले झनै एक्लो महसुस गर्छन्‌।”​—ब्रियन।

 बाइबल भन्छ: “बुद्धिमान्‌सित हिँड्‌ने मानिस बुद्धिमान्‌ हुन्छ तर मूर्खसित सङ्‌गत गर्ने मानिसले दुःख भोग्छ।” (हितोपदेश १३:२०) एकदम भोकाएको व्यक्‍तिले जे पाउँछ, त्यही खान्छ। ठीक त्यसैगरी, साथी बनाउनको लागि मरिहत्ते गर्ने व्यक्‍ति नराम्रो साथी बनाउन पनि पुग्न सक्छन्‌। तिनीहरूलाई आफूले राम्रै साथी बनाएजस्तो लाग्न सक्छ तर तिनीहरू सजिलै अरूको बहकाउमा परिरहेका हुन सक्छन्‌।

 निष्कर्ष: सबै व्यक्‍तिले कुनै न कुनै समय एक्लो महसुस गर्न सक्छन्‌। तर कतिलाई भने एक्लोपनले धेरै नै सताउन सक्छ। यसले भावनात्मक रूपमा निकै गाह्रो बनाउन सक्छ। तर त्यस्तो भावनाहरू आफूमा आउन नदिन हामीले आफ्नो सोचाइलाई नियन्त्रणमा राख्नुपर्छ।

 अरूबाट अव्यावहारिक आशा नराख्नुहोस्‌। माथि उल्लेख गरिएकी जेनेट यसो भन्छिन्‌, “तपाईँले भेट्‌ने सबै व्यक्‍ति सधैँभरि तपाईँको एकदम मिल्ने साथी बन्छन्‌ भन्‍ने छैन। तर तपाईँको ख्याल राख्ने कोही न कोही त भेट्टाउन सक्नुहुन्छ। त्यसरी ख्याल राख्ने साथी पाउँदा तपाईँले एक्लोपन हटाउन सक्नुहुनेछ।”

 थप मदत चाहनुहुन्छ? मित्रता गाँस्न डर लाग्छ भने के गर्न सक्नुहुन्छ?” पेटी हेर्नुहोस्‌। साथै “एक्लोपनको सामना गर्ने” (अङ्‌ग्रेजी) पिडिएफ डाउनलोड गर्नुहोस्‌।