सीधै सामग्रीमा जाने

युवाहरू सोध्छन्‌

म आफ्नो आमाबुबाको भरोसा कसरी जित्न सक्छु?

म आफ्नो आमाबुबाको भरोसा कसरी जित्न सक्छु?

 तपाईँले के बुझ्नुपर्छ?

 आमाबुबाले तपाईँमाथि कत्तिको भरोसा गर्नुहुन्छ भन्‍ने कुरा तपाईँ कत्तिको भरोसायोग्य हुनुहुन्छ, त्यसैमा भर पर्छ। आमाबुबाको कुरा मान्‍नु भनेको ऋण तिर्नुजस्तै हो। त्यो ‘ऋण’ आमाबुबाप्रतिको आज्ञाकारिता हो। तपाईँ ‘ऋण तिर्ने’ सन्दर्भमा जति भरोसायोग्य हुनुहुन्छ, उहाँहरूबाट त्यति नै ‘धेरै ऋण’ (वा स्वतन्त्रता) पाउनुहुनेछ। अर्कोतर्फ तपाईँले आफ्नो व्यवहारबाट उहाँहरूको भरोसा जित्न सकिरहनुभएको छैन भने उहाँहरूले तपाईँले पाइरहनुभएको स्वतन्त्रतामा कटौती गर्न पनि सक्नुहुन्छ।

 भरोसा जित्न समय लाग्छ। आमाबुबाले तपाईँलाई अझ धेरै स्वतन्त्रता दिएको चाहनुहुन्छ भने तपाईँले दिनदिनैको व्यवहारबाट आफू भरोसा गर्न लायकको छु भनेर साबित गर्नुपर्छ।

 साँचो कथा: “किशोर छँदा मेरो आमाबुबा मबाट के चाहनुहुन्छ भनेर मैले राम्ररी बुझेको थिएँ। त्यसैले उहाँहरूको अगाडि म उहाँहरूले चाहेजस्तै गरेको ढोँग गर्थेँ। मेरो यस्तो व्यवहारले गर्दा उहाँहरूलाई ममाथि भरोसा गर्न गाह्रो भयो। केही समयपछि मैले यो कुरा बुझेँ: अझ धेरै स्वतन्त्रता पाउनको लागि चोर बाटो अपनाउन सकिँदैन। अरूको भरोसा जित्न आफू भरोसायोग्य हुनै पर्छ।”—क्रेग।

 तपाईँ के गर्न सक्नुहुन्छ?

 गाह्रो हुँदा समेत आफूलाई भरोसायोग्य साबित गर्नुहोस्‌। सबैबाट गल्ती हुन्छ तर त्यसलाई झूटले ढाकछोप गर्ने प्रयास गर्नुभयो (वा पूरै साँचो कुरा बताउनुभएन) भने आमाबुबाको तपाईँमाथिको भरोसा चकनाचुर हुन्छ। अर्कोतर्फ तपाईँले आफूलाई हर क्षेत्रमा इमानदार साबित गरिसक्नुभएको छ भने तपाईँका आमाबुबाले तपाईँ परिपक्व हुनुहुन्छ र आफ्नो गल्ती स्विकार्न पछि हट्‌नुहुन्‍न भनेर बुझ्नुहुनेछ। त्यस्तो व्यक्‍तिमाथि भरोसा गर्न सजिलो हुन्छ।

 “तपाईँले कुनै गल्ती गर्दैमा अरूले तपाईँमाथि भरोसा गर्न छोड्‌छन्‌ भन्‍ने होइन। तर आफ्नो गल्तीलाई ढाकछोप गर्ने प्रयास गर्नुभयो भनेचाहिँ अरूले तपाईँमाथि भरोसा गर्न पक्कै छोड्‌नेछन्‌।”—अन्‍ना।

 बाइबल भन्छ: “हामी सबै कुरामा इमानदार भई चल्न चाहन्छौँ।”—हिब्रू १३:१८.

  •   यसबारे सोच्नुहोस्‌: आमाबुबाले तपाईँलाई कहाँ जान लागेको र त्यहाँ गएर के-के गर्नेछौ भनेर सोध्नुहुँदा के तपाईँ उहाँहरूलाई एक-एक कुरा बताउनुहुन्छ? अथवा आमाबुबाले कहाँ गएर आएको र त्यहाँ के-के गऱ्‍यौ भनेर सोध्नुहुँदा उहाँहरूलाई मन नपर्ला भनेर कुनै-कुनै कुरा लुकाउनुहुन्छ कि?

 जिम्मेवार हुनुहोस्‌। घरको सबै नियम पालन गर्नुहोस्‌। तपाईँलाई अह्राइएका कामहरू गरिहाल्नुहोस्‌। समयनिष्ठ हुनुहोस्‌। स्कुलका गृहकार्यहरू राम्ररी गर्नुहोस्‌। तोकिएको समयमै घर आइपुग्नुहोस्‌।

 “मानिलिनुहोस्‌, तपाईँको आमाबुबाले तपाईँलाई साथीहरूसित घुमघाम गर्न अनुमति दिनुभएको छ र बेलुकी नौ बजेभित्र घर फर्कनु भन्‍नुभएको छ। तर तपाईँ १०:३० तिर मात्र घर फर्कनुहुन्छ भने फेरि पनि साथीहरूसित बाहिर जान अनुमति पाउने आशा नगर्नुहोस्‌!”—रायन।

 बाइबल भन्छ: “हरेकले आफ्नो जिम्मेवारीको भारी आफै बोक्नेछ।”—गलाती ६:५, फुटनोट।

  •   यसबारे सोच्नुहोस्‌: आफूलाई अह्राइएको कुनै-कुनै काम तपाईँलाई मन पर्दैन होला वा घरका कुनै-कुनै नियम चित्त बुझ्दैन होला, तैपनि तपाईँले ती पालन गर्ने सन्दर्भमा कस्तो नाम कमाउनुभएको छ? अनि समयनिष्ठ हुनेबारे नि?

 धीरजी हुनुहोस्‌। तपाईँले आमाबुबाको भरोसा तोड्‌नुभएको छ भने फेरि भरोसा जित्न समय लाग्छ। त्यसैले पर्खन तयार हुनुहोस्‌।

 “मेरो उमेरअनुसार आमाबुबाले मलाई अझ धेरै जिम्मेवारी नदिँदा मलाई रिस उठेको थियो। तर उमेरमा बढ्‌दै जानु र परिपक्व हुनु भनेको एउटै कुरा होइन भनेर मैले बुझेको रहेनछु। मैले आमाबुबासित आफू भरोसायोग्य छु भनेर साबित गर्ने मौका मागेँ। समय त लाग्यो तर म सफल भएँ। अनि उमेर बढ्‌दैमा भरोसा जित्न सकिँदैन, व्यवहारबाट जित्न सकिन्छ भनेर मैले सिकेँ।”—रेचेल।

 बाइबल भन्छ: “तिमीहरू कस्ता मानिसहरू हौ, साबित गरिरहो।”—२ कोरिन्थी १३:५.

  •   यसबारे सोच्नुहोस्‌: आमाबुबाको भरोसा जित्न (वा फेरि भरोसा जित्न) तपाईँले आफू ‘कस्तो मानिस हुँ’ भनेर ‘साबित गर्नुपर्छ।’ त्यसोभए तपाईँ कसरी त्यसो गर्न सक्नुहुन्छ?

 सुझाव: समयनिष्ठ हुनेबारे, अह्राइएको काम सिध्याउनेबारे, तोकिएको समयमा घर फर्कनेबारे वा अन्य त्यस्तै विषयमा पहिल्यै लक्ष्य तय गर्नुहोस्‌। आमाबुबालाई आफ्नो सङ्‌कल्पबारे बताउनुहोस्‌ र उहाँहरूको भरोसा जित्न आफूले के गर्नुपर्छ भनेर सोध्नुहोस्‌। त्यसपछि बाइबलको यो सल्लाह पालन गर्न सक्दो गर्नुहोस्‌: “तिमीहरूले आफ्नो पुरानो व्यक्‍तित्वलाई फुकाल्नुपर्छ, जुन तिमीहरूको पहिलेको आचरणसित मेल खान्छ।” (एफिसी ४:२२) समय बित्दै जाँदा तपाईँको आमाबुबाले तपाईँको प्रगति देख्नेछन्‌!