सीधै सामग्रीमा जाने

युवाहरू सोध्छन्‌

आमाबुबाले तोक्नुभएका नियमहरूबारे कसरी कुरा गरूँ?

आमाबुबाले तोक्नुभएका नियमहरूबारे कसरी कुरा गरूँ?

 “आमाबुबाले तोक्नुभएका नियमहरू म १५ वर्षकी हुँदा ठिकै हो जस्तो लाग्थ्यो। तर अहिले १९ वर्षकी हुँदा मलाई ती नियमहरू बोझजस्तै लाग्छ, उहाँहरूले मलाई अझ स्वतन्त्रता दिनुभए हुन्थ्यो जस्तो लाग्छ।”—सिल्भिया।

 के तपाईँलाई पनि सिल्भियालाई जस्तै लाग्छ? लाग्छ भने तपाईँका आमाबुबासित यसबारे कसरी कुरा गर्ने भनेर यस लेखले मदत गर्नेछ।

 तपाईँले के बुझ्नुपर्छ?

 आमाबुबाले तोकेका नियमबारे उहाँहरूसित कुरा गर्नुअघि यी कुराहरू विचार गर्नुहोस्‌:

  •  नियमबिनाको जीवन अस्तव्यस्त हुने थियो। एउटा व्यस्त राजमार्गको दृश्‍य कल्पना गर्नुहोस्‌। कुनै सङ्‌केत, ट्राफिक सिग्नल अथवा गति सीमा छैन भने अवस्था कस्तो हुन्छ होला? ट्राफिक नियमहरूजस्तै घरका नियमहरूले पनि सुव्यवस्था कायम गर्न मदत गर्छ।

  •  आमाबुबाले तपाईँको ख्याल राख्नुहुन्छ भनेर उहाँहरूले तोकेका नियमहरूले देखाउँछ। आमाबुबाले कुनै नियम नतोकेका भए उहाँहरूले तपाईँको ख्यालै गर्नुहुन्‍न जस्तो देखिन सक्थ्यो। त्यस्तो आमाबुबालाई असल आमाबुबा भन्‍न मिल्छ त?

 के तपाईँलाई थाह थियो? आमाबुबाहरूले पनि पालन गर्नुपर्ने नियमहरू छन्‌! यो कुरा विश्‍वास गर्न तपाईँलाई गाह्रो लाग्छ भने उत्पत्ति २:२४; व्यवस्था ६:६, ७; एफिसी ६:४ र १ तिमोथि ५:८ पढ्‌नुहोस्‌।

 तैपनि आमाबुबाले तोकेका नियमहरू तपाईँलाई उचित लाग्दैन भने नि?

 तपाईँ के गर्न सक्नुहुन्छ?

 आमाबुबासित कुरा गर्नुअघि विचार गर्नुहोस्‌। आमाबुबाले तोकेका नियमहरू पालन गर्ने सन्दर्भमा तपाईँले कस्तो नाम कमाउनुभएको छ? त्यति राम्रो नाम कमाउनुभएको छैन भने आमाबुबासित अझ स्वतन्त्रता माग्ने समय अहिले नहुन सक्छ। बरु “म आफ्नो आमाबुबाको भरोसा कसरी जित्न सक्छु?” विषयको लेख हेर्नुभए कसो होला?

 तर तपाईँले नियम पालन गर्ने सन्दर्भमा राम्रो नाम कमाउनुभएको भने आमाबुबालाई के भन्‍ने भनेर तयारी गर्नुहोस्‌। कुन-कुन विषयमा कुरा गर्ने भनेर राम्ररी सोचविचार गर्दा आफूले माग गरेको कुरा कत्तिको जायज हो भनेर तपाईँले ठम्याउन सक्नुहुनेछ। त्यसपछि, सबैलाई सजिलो महसुस हुने वातावरणमा कुरा गर्नको लागि उपयुक्‍त समय र स्थान तोक्न आमाबुबालाई आग्रह गर्नुहोस्‌। अन्तमा, आमाबुबासित कुरा गर्दा यी बुँदा मनमा राख्नुहोस्‌:

 आदरपूर्वक कुरा गर्नुहोस्‌। बाइबल यसो भन्छ: “कठोर बोलीले रिस उठाउँछ।” (हितोपदेश १५:१) त्यसैले यो कुरा मनमा राख्नुहोस्‌: आमाबुबासित भनाभन गर्नुभयो अथवा उहाँहरूलाई दोष लगाउनुभयो भने कुरा बिग्रन बेर लाग्दैन।

 “आमाबुबालाई जति धेरै आदर गर्छु, उहाँहरू पनि मलाई त्यति नै आदर गर्नुहुन्छ। एकअर्कालाई आदर गर्दा सहमतिमा पुग्न सजिलो हुन्छ।”—बिआन्का, १९.

 ध्यान दिएर सुन्‍नुहोस्‌। बाइबल यसो भन्छ: “सुन्‍नलाई सधैँ तयार हुनुपर्छ, बोल्न हतार गर्नु हुँदैन।” (याकुब १:१९) नबिर्सनुहोस्‌, तपाईँ आमाबुबासित कुराकानी गर्न बस्नुभएको हो, भाषण छाँट्‌न होइन।

 “हुर्कदै जाँदा आमाबुबालाई भन्दा आफूलाई धेरै थाह छ भन्‍ने लाग्न सक्छ तर त्यसो पटक्कै होइन। उहाँहरूको सल्लाह-सुझाव ध्यान दिएर सुन्‍नुपर्छ।”—दिभान, २०.

 कुरा बुझ्ने प्रयास गर्नुहोस्‌। आमाबुबाको दृष्टिकोणबाट हेर्ने प्रयास गर्नुहोस्‌। बाइबलको यो सल्लाह पालन गर्नुहोस्‌: “आफ्नै कुरामा मात्र होइन तर अरूको कुरामा पनि ध्यान देओ।” यस सन्दर्भमा तपाईँको आमाबुबाको कुरामा ध्यान दिनुहोस्‌।—फिलिप्पी २:४

तपाईँको विचारमा कुन तरिका अपनाउँदा नतिजा राम्रो हुन्छ होला?

 “आमाबुबालाई साथी ठान्‍नुको सट्टा म सधैँ उहाँहरूलाई शत्रु ठान्थेँ। तर म जिम्मेवार वयस्क हुन सिकेजस्तै उहाँहरू पनि असल आमाबुबा हुन सिक्दै हुनुहुन्थ्यो भनेर बल्ल बुझेँ। उहाँहरू जे गर्नुहुन्थ्यो, मप्रतिको मायाले नै गर्नुहुन्थ्यो।”—जोसुवा, २१.

 सुझावहरू प्रस्तुत गर्नुहोस्‌। मानिलिनुहोस्‌, तपाईँका आमाबुबाले तपाईँ जान चाहनुभएको जमघटमा जान अनुमति दिनुभएको छैन किनभने त्यहाँसम्म पुग्न लामो यात्रा गर्नुपर्छ। यस्तो बेला उहाँहरूले जान नदिनुको मुख्य कारण पत्ता लगाउनुहोस्‌। उहाँहरूलाई चिन्ता लाग्नुको कारण के हो—लामो यात्रा हो कि त्यो जमघट नै?

  •   यदि कारण लामो यात्रा हो भने अर्को एक जना साथी पनि सँगै जान्छ भने अनुमति दिनुहुन्छ कि?

  •   यदि कारण त्यो जमघट नै हो भने त्यहाँ को-को हुनेछन्‌ र कसले निरीक्षण गर्नेछन्‌ भनेर उहाँहरूलाई सबै कुरा बताएर ढुक्क बनाउन सक्नुहुन्छ कि?

 आमाबुबासित आदरपूर्वक बोल्नुहोस्‌ र उहाँहरूले भनेको कुरा ध्यान दिएर सुन्‍नुहोस्‌। आफ्नो बोली र व्यवहारले ‘बुबा र आमाको आदर गरेको’ देखाउनुहोस्‌। (एफिसी ६:२, ३) यसो गर्दा के उहाँहरूले तपाईँको कुरा मान्‍नुहुनेछ? सायद मान्‍नु हुन्छ होला तर नमान्‍न पनि सक्नुहुन्छ। जे होस्‌ . . .

 आमाबुबाको निर्णय आदरपूर्वक स्विकार्नुहोस्‌। यो महत्त्वपूर्ण कदम हो तर प्रायजसोले यो कुरा त्यति नबुझेको जस्तो देखिन्छ। आफूले चाहेको कुरा नपाएकोले आमाबुबासित भनाभन गर्नुभयो भने उहाँहरूसित अर्को चोटि कुरा गर्न तपाईँ आफैले गाह्रो बनाइरहनुभएको हुनेछ। अर्कोतर्फ, उहाँहरूको निर्णयलाई आज्ञाकारी भई स्विकार्नुभयो भने उहाँहरूले केही नियम खुकुलो बनाउने सम्भावना बढी हुन्छ।