सीधै सामग्रीमा जाने

युवाहरू सोध्छन्‌

साथीले मेरो चित्त दुखायो भने के गर्ने?

साथीले मेरो चित्त दुखायो भने के गर्ने?

 तपाईँले के बुझ्नुपर्छ?

  •   समस्या नै नहुने कुनै पनि सम्बन्ध छैन। त्रुटिपूर्ण भएकोले तपाईँको राम्रो साथी, तपाईँको सबैभन्दा मिल्ने साथीले समेत तपाईँको चित्त दुख्ने कुनै काम गर्न वा केही भन्‍न सक्छन्‌। अनि यो कुरा नबिर्सनुहोस्‌, तपाईँ आफै पनि त्रुटिपूर्ण हुनुहुन्छ। त्यसैले नढाँटी भन्‍नुपर्दा, कुनै बेला तपाईँ आफैले पनि कसैको चित्त दुखाउनुभएको हुन सक्छ!—याकूब ३:२.

  •   इन्टरनेटको कारण पनि तपाईँको चित्त दुख्न सक्छ। उदाहरणको लागि, डेभिड नाम गरेका एक किशोर यसो भन्छन्‌: “तपाईँ अनलाइनमा हुनुहुन्छ अनि तपाईँले तपाईँको साथी अरूसँग रमाइलो गरिरहेको फोटो देख्नुभयो। त्यतिबेला तपाईँ ‘मलाई चाहिँ किन नबोलाएको होला’ भनेर सोच्न थाल्नुहुन्छ। तपाईँ ‘अरूलाई मेरो वास्तै छैन’ भन्‍ने महसुस गर्नुहुन्छ र निराश हुनुहुन्छ।”

  •   समस्या वास्तवमा के हो, तपाईँ पत्ता लगाउन सक्नुहुन्छ।

 तपाईँ के गर्न सक्नुहुन्छ?

 आफैलाई जाँच्नुहोस्‌। बाइबल यसो भन्छ: “रीस देखाउन छिटो नगर्‌, किनभने रीस मूर्खको मनमा हुन्छ।”—उपदेशक ७:९.

 “तपाईँ जुन कुराले गर्दा निराश हुनुभएको थियो, वास्तवमा त्यो त्यत्ति ठूलो समस्या होइन रहेछ भनेर तपाईँले पछि मात्र थाह पाउनुहुन्छ।”अलिशा।

 यसबारे सोच्नुहोस्‌: के तपाईँको सानो कुरामा पनि चित्त दुखाइहाल्ने बानी छ? कसैले तपाईँको चित्त दुख्ने केही कुरा भन्दा वा गर्दा सहन सिक्नुभए कसो होला?—उपदेशक ७:२१, २२.

 क्षमा दिँदा हुने फाइदाबारे सोच्नुहोस्‌। बाइबल भन्छ: “दोषको वास्ता नगर्नु मानिसको गौरव हो।”—हितोपदेश १९:११.

 “गुनासो गर्ने जायज कारण छ नै भने पनि खुला मनले क्षमा दिनु राम्रो हो। अनि खुला मनले क्षमा दिनु भनेको क्षमा दिइसकेपछि पनि साथीले गरेको गल्तीबारे घरीघरी सम्झाइरहनु र हरेक पटक त्यो कुरा निस्कँदा उसलाई अप्ठ्यारोमा पार्नु होइन। त्यसैले एक पटक क्षमा दिइसकेपछि त्यो कुरा मनबाट सधैँको लागि हटाइदिनुहोस्‌।”—माल्लोरी।

 यसबारे सोच्नुहोस्‌: के त्यो कुरा त्यत्ति गम्भीर हो र? के तपाईँ साथीसित शान्तिमा रहन उसलाई क्षमा दिन सक्नुहुन्छ?—कलस्सी ३:१३.

मित्रतामा समस्या उत्पन्‍न हुँदा प्रत्येक चोटि नै त्यसबारे कुरा गर्नु भनेको घरीघरी ढोका उघारेर न्यानो कोठामा चिसो हावा छिर्न दिनु जस्तै हो

 तपाईँको साथीबारे पनि सोच्नुहोस्‌। बाइबल भन्छ: “तिमीहरू आफ्नै कुरामा मात्र होइन तर अरूको कुरामा पनि ध्यान देओ।”—फिलिप्पी २:४.

 “यदि तपाईँहरूको मित्रतामा प्रेम र आदर छ भने तपाईँ समस्या उब्जिनेबित्तिकै त्यसलाई तुरुन्तै समाधान गर्नतर्फ लाग्नुहुन्छ। किनकि त्यो मित्रतालाई बलियो बनाउन तपाईँले निक्कै मेहनत गर्नुभएको छ। हो, तपाईँले त्यसमा आफ्नो समय र शक्‍ति खर्च गर्नुभएको छ; त्यसैले तपाईँ सजिलै त्यो मित्रता टुटेको चाहनुहुन्‍न।”—निकोल।

 यसबारे सोच्नुहोस्‌: तपाईँको साथीको दृष्टिकोणमा केही न केही राम्रो पक्ष त अवश्‍य हुन्छ। त्यसैले त्यो बुझ्ने कोसिस गर्नुहोस्‌।—फिलिप्पी २:३.

 निष्कर्ष: चित्त दुख्दा कसरी त्यसको सामना गर्ने भनेर थाह पाउनु एउटा कला हो र त्यस कलाले तपाईँलाई पछिसम्म फाइदा पुऱ्‍याउँछ। त्यसैले अहिल्यै त्यस्तो कला विकास गर्नुभए कसो होला?