सीधै सामग्रीमा जाने

युवाहरू सोध्छन्‌

घरमै बसेर पढाइ गर्ने—के तपाईँ सफल हुन सक्नुहुन्छ?

घरमै बसेर पढाइ गर्ने—के तपाईँ सफल हुन सक्नुहुन्छ?

 अहिले धेरैजसो विद्यार्थीले फरक तरिकामा आफ्नो पढाइलाई निरन्तरता दिनुपरेको छ। धेरैले घरमै बसी अनलाइनबाट वा अन्य तरिकाबाट अध्ययन गरिरहेका छन्‌। तपाईँ पनि यसरी नै अध्ययन गर्दै हुनुहुन्छ भने कसरी यस्तो प्रबन्धबाट पूरापूर लाभ उठाउन सक्नुहुन्छ? यहाँ केही सुझावहरू दिइएका छन्‌। a

 तपाईँको लागि उपयोगी हुने ५ सुझाव

  •   तालिका बनाउनुहोस्‌। तपाईँ स्कुलमा हुँदा जसरी तालिकाअनुसार चल्नुहुन्थ्यो, घरमा पनि त्यसै गर्नुहोस्‌। स्कुलको पढाइ, घरायसी काम र अरू महत्त्वपूर्ण कामहरूका लागि निश्‍चित समय तोक्नुहोस्‌। तपाईँको आवश्‍यकताअनुसार तालिकामा छाँटकाँट गर्नुहोस्‌।

     बाइबल सिद्धान्त: ‘सबै कुरा व्यवस्थित ढङ्‌गले होस्‌।’—१ कोरिन्थी १४:४०.

     “आफू स्कुलमै छु भन्ठान्दै तालिकाअनुसार चल्नुहोस्‌। तपाईँले आफ्नो काम निश्‍चित समयमै पूरा गर्ने गर्नुपर्छ।”क्याटी।

     यसबारे सोच्नुहोस्‌: तालिका बनाएपछि त्यसलाई सजिलै देखिने ठाउँमा राख्नु किन महत्त्वपूर्ण छ?

  •   आत्म-अनुशासन विकास गर्नुहोस्‌। परिपक्व व्यक्‍ति बन्‍न आफूले गर्नुपर्ने काम पूरा गर्नै पर्छ, चाहे त्यो काम हामीलाई मन परोस्‌ या नपरोस्‌। गर्नुपर्ने कामलाई ‘पछि गरौँला’ भन्दै पन्छाउने नगर्नुहोस्‌।

     बाइबल सिद्धान्त: “मेहनती होओ, आफ्नो काममा आलटाल नगर।”—रोमी १२:११, फुटनोट.

     “आत्म-अनुशासन विकास गर्न सजिलो हुँदैन। हामी सजिलै बहाना बनाउन पुग्छौँ अनि स्कुलको कामलाई पछि सार्छौँ। तर ‘पछि गरौँला’ भन्दा-भन्दा त्यो काम गरिदैँन अनि पछाडि परिन्छ।”अलेक्जान्ड्रा।

     यसबारे सोच्नुहोस्‌: स्कुलको असाइनमेन्ट हरेक दिन एउटै ठाउँमा अनि एकै समयमा गर्दा तपाईँ कसरी अझ आत्म-अनुशासन विकास गर्न सक्नुहुन्छ?

  •   पढ्‌ने वातावरण बनाउनुहोस्‌। आफूलाई चाहिने सबै सामान नजिकै राख्नुहोस्‌। पढ्‌ने ठाउँलाई आरामदायी बनाउनुहोस्‌ तर सुतौँ-सुतौँ लाग्ने सम्मको आरामदायी चाहिँ होइन। तपाईँ पढ्‌न र अध्ययन गर्न आरामदायी वातावरण बनाउँदै हुनुहुन्छ, सुत्नको लागि त पक्कै होइन। यदि पढ्‌नको लागि छुट्टै ठाउँ छैन भने भान्छाकोठा वा बेडरूमलाई आफ्नो पढ्‌ने ठाउँ बनाउन सक्नुहुन्छ।

     बाइबल सिद्धान्त: “मेहनती मानिसले बनाएको योजना सफल हुन्छ।”—हितोपदेश २१:५.

     “खेलकुदका सामानहरू अनि भिडियो गेमहरूलाई आफ्नो नजिक नराख्नुहोस्‌। फोनलाई साइलेन्ट मोडमा राख्नुहोस्‌, गितारलाई आफ्नो अगाडि नराख्नुहोस्‌। राम्ररी अध्ययन गर्ने हो भने ध्यान खलबलाउने कुराहरू अगाडि नराख्नु एकदमै महत्त्वपूर्ण छ।”एलिजाबेथ।

     यसबारे सोच्नुहोस्‌: आफ्नो पढ्‌ने ठाउँलाई व्यवस्थित बनाउन तपाईँ के-के गर्न सक्नुहुन्छ?

  •   एउटै कुरामा ध्यान केन्द्रित गर्न सिक्नुहोस्‌। तपाईँ जे गर्दै हुनुहुन्छ, त्यसमै ध्यान केन्द्रित गर्नुहोस्‌। एकैचोटि थुप्रै काम नगर्नुहोस्‌। एकैचोटि थुप्रै काम गर्न थाल्नुभयो भने गल्ती गर्ने सम्भावना हुन्छ अनि काम सिद्ध्याउन पनि लामो समय लाग्न सक्छ।

     बाइबल सिद्धान्त: ‘समयको पूर्ण सदुपयोग गर।’—एफिसी ५:१६.

     “फोन नजिकै हुँदा ध्यान दिन एकदमै गाह्रो लाग्थ्यो। अनावश्‍यक कुरामा आफ्नो समय खेर फालिरहेकी हुन्थेँ।”ओलिभिया।

     यसबारे सोच्नुहोस्‌: कुनै कुरामा ध्यान केन्द्रित गर्न सक्ने समय बिस्तारै बढाउँदै लान सक्नुहुन्छ कि?

  •   ब्रेक लिनुहोस्‌। कतै हिँड्‌न निस्कनुहोस्‌, खुट्टा तन्काउनुहोस्‌ वा व्यायाम गर्नुहोस्‌। आफूलाई रुचि लाग्ने कुरा गर्दा स्फूर्ति पाउनुहुनेछ। स्कुल पावर नामको किताब यसो भन्छ, “तर पहिले आफ्नो काम सिद्ध्याउनुहोस्‌। केही काम गर्न बाँकी छैन भने मात्र तपाईँ स्वतन्त्र महसुस गर्न सक्नुहुन्छ।”

     बाइबल सिद्धान्त: “मरुन्जेल मेहनत गरेर बतासलाई खेद्‌नुभन्दा बरु केही बेर आराम गर्नु नै बेस हो।”—उपदेशक ४:६.

     “स्कुलमा तपाईँ विभिन्‍न वाद्यियन्त्र बजाउन वा कुनै आर्ट सिक्न सक्नुहुन्छ। अहिले म ती कुराहरू मिस गर्छु। स्कुलमा आफूलाई रुचि भएको कुनै कुरा सिक्नु राम्रो कुरा हो।”टेलर।

     यसबारे सोच्नुहोस्‌: ब्रेकमा के गर्दा तपाईँलाई स्कुलको काम अझ राम्ररी पूरा गर्न ताजगी मिल्छ?

a अहिले मानिसहरू घरमै बसी पढाइ गर्न मिल्ने विभिन्‍न तरिकाहरू अपनाउँदै छन्‌। त्यसैले आफ्नो परिस्थितिसित सुहाउने सुझावहरू लागू गर्न सक्नुहुन्छ।