सीधै सामग्रीमा जाने

युवाहरू सोध्छन्‌

के फोहोर बोली बोल्नु साँच्चै नराम्रो हो?

के फोहोर बोली बोल्नु साँच्चै नराम्रो हो?

“मलाई फोहोर बोली सुन्‍ने बानी नै परिसकेको छ। त्यसैले त्यस्ता शब्दहरू सुन्दा मलाई अचम्म लाग्दैन। त्यस्तो बोली साधारण नै हो जस्तो मलाई लाग्छ।”—क्रिस्टोफर, १७.

“किशोरावस्थामा हुँदा फोहोर बोली बोल्ने मेरो बानी नै थियो। त्यो बानी सजिलै बस्यो तर छुटाउन भने एकदमै गाह्रो भयो।”—रिबेका, १९.

 क्विज

  •   अरूले फोहोर बोली बोलेको सुन्दा तपाईँलाई कस्तो लाग्छ?

    •  म खास वास्तै गर्दिनँ—मलाई यो सामान्य लाग्छ।

    •  मलाई अलि मन पर्दैन—तर अरू कसैलाई त्यसो गर्नदेखि रोक्दिनँ।

    •  मलाई यो एकदमै खराब कुरा हो जस्तो लाग्छ—यसलाई म सामान्य कुराको रूपमा हेर्नै सक्दिनँ।

  •   के तपाईँ फोहोर बोली बोल्नुहुन्छ?

    •  बोल्दिनँ

    •  कहिलेकाहीँ बोल्छु

    •  बोलिरहन्छु

  •   तपाईँको विचारमा फोहोर बोली बोल्नु कत्तिको नराम्रो कुरा हो?

    •  सामान्य

    •  गम्भीर

 यस विषयमा किन चासो राख्नुपर्छ?

 के तपाईँलाई फोहोर बोली बोल्नु गम्भीर कुरा हो जस्तो लाग्छ? तपाईँलाई लाग्ला, ‘यो खासै ठूलो कुरा होइन। हामीले चिन्ता गर्नुपर्ने विषय त अरू नै छन्‌। आखिर सबैले फोहोर बोली बोल्छन्‌।’ तर के साँच्चै सबैले त्यसो गर्छन्‌?

 वास्तवमा भन्‍ने हो भने, अहिले पनि धेरै मानिस फोहोर बोली बोल्दैनन्‌। अनि तिनीहरूले त्यसो नगर्नुको कारण पनि छ। जस्तै:

  •  तपाईँको बोलीले तपाईँ कस्तो व्यक्‍ति हुनुहुन्छ भनेर प्रकट गर्छ। यसको मतलब, फोहोर बोली बोल्नुभयो भने तपाईँलाई अरूको भावनाको वास्तै छैन भनी देखिन्छ। के तपाईँ यस्तै हुनुहुन्छ?

     बाइबल यसो भन्छ: “हृदयमा जे छ, त्यो मुखबाट बाहिर निस्कन्छ।”—मत्ति १५:१८.

    फोहोर बोलीलाई प्रदूषणसित तुलना गर्न सकिन्छ। त्यसैले अरूलाई र आफूलाई पनि हानि पुऱ्‍याउने यस्तो बोली नबोल्नुहोस्‌

  •  फोहोर बोली बोल्नुभयो भने अरूले तपाईँलाई राम्रो ठान्‍ने छैनन्‌। फोहोर बोली त्याग्न मदत गर्ने एउटा किताब यसो भन्छ: “हाम्रो बोल्ने तरिकाले को हाम्रो साथी बन्‍नेछन्‌, परिवार र सहकर्मीहरूले हामीलाई कत्तिको आदर गर्छन्‌ अनि अरूसितको हाम्रो सम्बन्ध कस्तो हुन्छ भन्‍ने कुरालाई असर गर्छ। त्यतिमात्र होइन, हामीले भन्‍ने कुरालाई अरूले कत्तिको गम्भीरतापूर्वक लिन्छन्‌, हामीले कुनै जागिर वा पदोन्‍नति पाउँछौँ कि पाउँदैनौँ अनि नचिनेका मानिसहरूले समेत हामीसित कस्तो व्यवहार गर्छन्‌ भन्‍ने कुरालाई समेत यसले असर गर्छ।” त्यस किताबमा यस्तो पनि लेखिएको छ: “फोहोर बोली नबोलेको भए अरूसितको आफ्नो सम्बन्ध अझ राम्रो हुने थियो कि भनेर आफैलाई सोध्नुहोस्‌।”

     बाइबल यसो भन्छ: “दुर्वचन . . . त्याग।”—एफिसी ४:३१.

  •  कसै-कसैले सोचेजस्तो फोहोर बोली बोलेर अरूलाई प्रभावित पार्न सकिँदैन। हाउ रुड! किताबका लेखक एलेक्स पार्करले यस्तो लेखे: “फोहोर बोली धेरै बोल्ने मानिससित कुरा गर्नु दिक्कलाग्दो हुन्छ।” तिनले बताएअनुसार शब्दैपिच्छे मुख छाड्‌ने मानिसले “बुद्धिमानी, अन्तरदृष्टि भएको अनि समानुभूतिशिल कुरा गर्दैन। तपाईँ बोल्दा राम्ररी सोचविचार गर्नुहुन्‍न र फोहोर बोली बोल्नुहुन्छ भने तपाईँमा बुद्धिको कमी भएको देखिन्छ।”

     बाइबल यसो भन्छ: “तिमीहरूको मुखबाट सडेको वचन ननिस्कोस्‌।”—एफिसी ४:२९.

 तपाईँ के गर्न सक्नुहुन्छ?

  •  लक्ष्य राख्नुहोस्‌। एक महिना फोहोर बोली नबोल्ने कोसिस गर्नुभए कसो होला? आफूले राखेको लक्ष्यअनुसारै गरिरहेको छु कि छैनँ भनेर क्यालेन्डरमा वा कागजमा लेखेर राख्नुहोस्‌। तर फोहोर बोली बोल्ने बानी पूरै हटाउन तपाईँले अरू पनि केही गर्नुपर्छ। जस्तै:

  •  फोहोर बोलीले भरिएका मनोरञ्जनदेखि टाढै रहनुहोस्‌। बाइबल यसो भन्छः “नराम्रो सङ्‌गतले नैतिकतालाई भ्रष्ट पार्छ।” (१ कोरिन्थी १५:३३, फूटनोट) “सङ्‌गतमा” तपाईँले भेट्‌ने मानिसहरू मात्र होइन बरु तपाईँले गर्ने मनोरञ्जन पनि समावेश छ। जस्तै: तपाईँले हेर्ने फिल्महरू, खेल्ने भिडियो गेमहरू र सुन्‍ने गीतहरू। सत्र वर्षीय केनेथ यसो भन्छन्‌: “राम्रो धुन भएको कुनै गीत आफूलाई मन पर्छ भने त्यो गीतमा फोहोर शब्द भए तापनि त्यो गाउनदेखि आफूलाई रोक्न धेरै गाह्रो हुन्छ।”

  •  परिपक्वता देखाउनुहोस्‌। कोही-कोही फोहोर बोली बोल्छन्‌ किनकि तिनीहरूलाई यसरी बोल्नु भनेको वयस्क व्यक्‍तिको चिनारी हो जस्तो लाग्छ। तर यो वास्तविकता होइन। परिपक्व व्यक्‍तिहरूले “आफ्नो सोच्नेबुझ्ने क्षमता चलाएर त्यसलाई सही र गलत छुट्याउन तालिम दिएका हुन्छन्‌” भनी बाइबल बताउँछ। (हिब्रू ५:१४) तिनीहरू अरूबाट आदर कमाउने नाममा फोहोर बोली बोल्दैनन्‌।

 फोहोर बोलीलाई प्रदूषणसित तुलना गर्न सकिन्छ। प्रदूषणले हावालाई दूषित बनाएजस्तै फोहोर बोलीले पनि हाम्रो दिमागमा भ्रष्ट कुराहरू भरेर त्यसलाई दूषित बनाउँछ। संसारमा धेरै मानिसको दिमाग भ्रष्ट कुराहरूले भरिएको छ। माथि उल्लेख गरिएकै फोहोर बोली छोड्‌न मदत गर्ने एउटा किताबले यस्तो सल्लाह दिन्छ: “तपाईँ पनि तिनीहरूजस्तै नबन्‍नुहोस्‌। अरूसित कुराकानी गर्दा राम्रो बोली बोल्नुहोस्‌। यसो गर्नुभयो भने तपाईँ अझ खुसी हुनुहुनेछ। साथै अरू मानिस पनि तपाईँसित हुँदा खुसी हुनेछन्‌।”