सीधै सामग्रीमा जाने

युवाहरू सोध्छन्‌

बाइबलले मलाई कसरी मदत गर्न सक्छ?—भाग २: बाइबल पढाइलाई रमाइलो बनाउनुहोस्‌

बाइबलले मलाई कसरी मदत गर्न सक्छ?—भाग २: बाइबल पढाइलाई रमाइलो बनाउनुहोस्‌

 विल नाम गरेका किशोर यसो भन्छन्‌: “बाइबल पढ्‌ने सही तरिका थाह भएन भने पढ्‌न धेरै अल्छी लाग्न सक्छ।

 के तपाईँ बाइबल पढाइलाई रमाइलो बनाउने तरिका थाह पाउन चाहनुहुन्छ? यस लेखले तपाईँलाई मदत गर्नेछ।

 धर्मशास्त्रलाई जीवन्त बनाउनुहोस्‌

 सरसरती पढ्‌ने मात्र नभएर पढ्‌ने कुरामा डुब्नुहोस्‌। यस्तो तरिका अपनाउन सक्नुहुन्छ:

  1.  १. बाइबल विवरण छान्‍नुहोस्‌। आफूले अध्ययन गर्न चाहेको बाइबल विवरण छान्‍नुहोस्‌। कुनै बाइबल घटना वा सुसमाचारको पुस्तकको कुनै भाग छान्‍न सक्नुहुन्छ। अथवा jw.org/ne-मा पाइने बाइबलआधारित श्रव्य नाटकमध्ये कुनै छान्‍न सक्नुहुन्छ।

  2.  २. विवरण पढ्‌नुहोस्‌। तपाईँ एक्लै बसेर त्यो विवरण पढ्‌न सक्नुहुन्छ अथवा आफ्ना साथीहरू वा परिवारसँगै ठूलो स्वरमा पढ्‌न सक्नुहुन्छ। पढाइको भागमा वृत्तान्तलाई एक जनाले र विभिन्‍न पात्रहरूबीचको वार्तालापलाई अरूले पढ्‌न सक्छन्‌।

  3.  ३. तल दिइएका एउटा वा त्योभन्दा बढी सल्लाह लागू गर्नुभए कसो होला:

    •   विवरणको व्याख्या गर्न चित्रहरू बनाउनुहोस्‌। अथवा घटनाक्रम देखाउनको लागि सरल चित्रहरू बनाउनुहोस्‌। हरेक चित्रमा भइरहेको कुरा बुझाउन त्यसको मुनि केही लेख्नुहोस्‌।

    •   रेखाचित्र कोर्नुहोस्‌। उदाहरणको लागि, तपाईँले कुनै वफादार व्यक्‍तिबारे पढ्‌दै जानुहुँदा तिनले देखाएका गुणहरू र तिनले गरेका कामले गर्दा कस्ता आशिष्‌हरू पाए, सो देखाउन रेखाचित्र कोर्नुहोस्‌।

    •   विवरणलाई एउटा समाचारको रूपमा लेख्नुहोस्‌। घटनालाई विभिन्‍न मानिसहरूको दृष्टिकोणबाट लेख्नुहोस्‌ अनि मुख्य पात्र र प्रत्यक्षदर्शीहरूसँगको “अन्तरवार्ता” पनि समावेश गर्नुहोस्‌।

    •   कुनै पात्रले गलत निर्णय गरेको विवरण पढ्‌दै हुनुहुन्छ भने तिनले राम्रो निर्णय गरेको भए परिणाम के हुन्थ्यो, कल्पना गर्नुहोस्‌। उदाहरणको लागि, पत्रुसले येशूलाई चिन्‍न इन्कार गरेको विवरण विचार गर्नुहोस्‌। (मर्कूस १४:६६-७२) पत्रुसले त्यस्तो दबाब आइपर्दा कसरी राम्रो निर्णय गर्न सक्थे?

    •   तपाईँलाई केही नयाँ कुरा गरूँ-गरूँ जस्तो लागिरहेको छ भने कुनै एउटा बाइबल विवरणबारे आफैले नाटक लेख्नुहोस्‌। त्यस विवरणबाट कस्तो पाठ सिक्न सकिन्छ, त्यो पनि समावेश गर्नुहोस्‌।—रोमी १५:४.

      तपाईँ आफ्नो बाइबल पढाइलाई साँच्चै जीवन्त बनाउन सक्नुहुन्छ!

 खोजतलास गर्नुहोस्‌!

 तपाईँले विवरण राम्ररी केलाएर हेर्नुभयो भने त्यसमा भएको गाडधन भेट्टाउन सक्नुहुन्छ। कहिलेकाहीँ बाइबल विवरणमा भएको एक-दुई शब्दमा पनि गाडधन भेट्टाउन सक्नुहुन्छ।

 उदाहरणको लागि, मत्ती २८:७ र मर्कूस १६:७ तुलना गर्नुहोस्‌।

  •    मर्कूसले किन येशू चाँडै नै चेलाहरू “अनि पत्रुस”-कहाँ देखा पर्नुहुनेछ भनेर बताए?

  •  सङ्‌केत: मर्कूस ती घटनाहरूको प्रत्यक्षदर्शी थिएनन्‌। प्राप्त प्रमाणअनुसार तिनले त्यो जानकारी पछि पत्रुसबाट पाएको हुनुपर्छ।

  •  गाडधन: येशूले पत्रुसलाई फेरि भेट्‌न आउने कुरा बताउनुहुँदा पत्रुसले किन ढुक्क महसुस गरेको हुनुपर्छ? (मर्कूस १४:६६-७२) येशूले कसरी आफूलाई पत्रुसको साँचो मित्र साबित गर्नुभयो? तपाईँ कसरी येशूको अनुकरण गर्दै अरूको साँचो मित्र बन्‍न सक्नुहुन्छ?

 तपाईँले शास्त्रपदलाई जीवन्त बनाउनुभयो र उक्‍त विवरणबारे थप जानकारी खोजतलास गर्नुभयो भने बाइबल पढाइ अझ रमाइलो हुन्छ।