सीधै सामग्रीमा जाने

युवाहरू सोध्छन्‌

म कसरी दोहोरो जीवन बिताउन छोड्‌न सक्छु?

म कसरी दोहोरो जीवन बिताउन छोड्‌न सक्छु?

 कहिलेकाहीँ परमेश्‍वरका केही उपासकहरूलाई बाइबलको स्तरअनुसार चलेर समय र शक्‍ति खेर फालिरहेको छु कि जस्तो लाग्न सक्छ। (भजन ७३:२, ३) तिनीहरूले यहोवाको स्तरसित बाझिने कामहरूसमेत गर्न थाल्न सक्छन्‌ अनि आफूले गरिरहेको गलत काम अरूदेखि लुकाउन खोज्छन्‌।

 यो लेख यसरी नै दोहोरो जीवन बिताइरहेका तर यस्तो जीवनशैली छोड्‌न चाहनेहरूलाई मदत गर्न तयार पारिएको हो।

यस पृष्ठमा

 दोहोरो जीवन भनेको के हो?

 यदि तपाईँ दोहोरो जीवन बिताउँदै हुनुहुन्छ भने यहोवाको आज्ञा नमान्‍ने साथीहरूमाझ हुँदा आफूलाई गलत हो भन्‍ने थाह भएको कुरा पनि गर्नुहुन्छ। तर मण्डलीका भाइबहिनीमाझ हुँदा भने यहोवाको सेवा गर्न चाहेको जस्तो देखाउनुहुन्छ। यसो गर्नु भनेको तपाईँले भाइबहिनीहरूमाझ हुँदा एउटा मुखौटा लगाउनु र साथीहरूमाझ हुँदा अर्को मुखौटा लगाउनुजस्तै हो।

 “दोहोरो जीवन बिताउँदा तपाईँले दुवैतर्फका मानिसहरूबाट आफूबारे केही न केही कुरा लुकाइरहनुभएको हुन्छ। तपाईँ वास्तवमा कस्तो मानिस हो भनेर कसैलाई थाह हुँदैन। त्यसैले दोहोरो जीवन बिताउनु भनेको दुवैतर्फका मानिसहरूलाई धोका दिनु हो।”—इरिन।

 के तपाईँलाई थाह थियो? दोहोरो जीवन बिताउनु भनेको एक्लै हुँदा यहोवालाई मन नपर्ने काम गर्नु पनि हो।

 “चौध वर्षको छँदा मैले इन्टरनेटमा अश्‍लील सामग्रीहरू हेर्न थालेँ। अरू मानिसहरूको अगाडि म अश्‍लील सामग्रीलाई घृणा गरेको जस्तो देखाउँथेँ तर वास्तविकता के हो भनेर मलाई मात्र थाह थियो।”—नोलन।

 बाइबल सिद्धान्त: “कोही पनि दुई मालिकको दास बन्‍न सक्दैन किनकि उसले एक जनालाई घृणा र अर्कोलाई प्रेम गर्नेछ अथवा ऊ एक जनासित टाँसिनेछ र अर्कोलाई तुच्छ ठान्‍नेछ।”—मत्ति ६:२४.

 के दोहोरो जीवन बिताउँदैमा म नराम्रो मान्छे हुन्छु?

 हुनत केही मानिसहरूले बाइबलको स्तरअनुसार जीवन नबिताउने छनौट गरेका छन्‌ तर तपाईँको सन्दर्भमा भने त्यसो नहुन सक्छ। तपाईँले अरू कुनै कारणले दोहोरो जीवन बिताइरहनुभएको हुन सक्छ। जस्तै:

  •   साथीहरूभन्दा फरक देखिनुपर्दा तपाईँलाई अप्ठ्यारो लाग्न सक्छ।

  •   तपाईँलाई मण्डलीका साथीहरूसँग भन्दा स्कुलका साथीहरूसँग आफ्नो कुरा मिल्छ जस्तो लाग्न सक्छ।

  •   तपाईँलाई आफूले परमेश्‍वरको एक-एक आज्ञा पालन गर्न सक्दिनँ जस्तो लाग्न सक्छ।

 “मेरो विचारमा दोहोरो जीवन बिताइरहेका जवानहरूलाई संसारका साथीहरूसित हुँदा अझ सजिलो महसुस हुन्छ अनि आफ्ना साथीहरूजस्तै देखिन तिनीहरू जे गर्न पनि तयार हुन्छन्‌।”—डेभिड।

 के त्यस्ता कारणहरू देखाएर दोहोरो जीवन बिताउनु ठीक हो? पक्कै होइन! जेहोस्‌ यस्ता कारणहरूले एक जना असल मानिस पनि कसरी दोहोरो जीवन बिताउने पासोमा पर्न सक्छन्‌ भनेर देखाउँछ। यदि तपाईँ पनि त्यस्तो पासोमा पर्नुभएको छ भने के गर्न सक्नुहुन्छ?

 म कसरी दोहोरो जीवन बिताउन छोड्‌न सक्छु?

  1.  १. आफूले बिताइरहेको जीवनशैली राम्ररी केलाउनुहोस्‌। आफैलाई सोध्नुहोस्‌: ‘के म साँच्चै यस्तै व्यक्‍ति हुन चाहन्छु? यस्तै जीवन बिताइरहेँ भने नतिजा कस्तो होला?’

     बाइबल सिद्धान्त: “चतुर मानिस खतरा आएको देखेर लुक्छ तर अनुभवहीन मानिस भने सरासर अघि बढ्‌छ र दुःख पाउँछ।”—हितोपदेश २७:१२.

  2.  २. कुरा नलुकाउनुहोस्‌। यहोवाका स्तरहरूको कदर गर्ने आफ्ना आमाबुबा वा परिपक्व साथीलाई आफ्नो अवस्थाबारे खुलेर बताउनुहोस्‌। तपाईँले उहाँहरूसित मदत माग्नुभएको र जे सही छ, त्यही गर्ने प्रयास गर्नुभएको देखेर उहाँहरूलाई खुसी लाग्नेछ।

    यदि तपाईँ दोहोरो जीवनको गहिरो खाडलमा खस्नुभएको छ भने मदतको लागि गुहार्नुहोस्‌

     “आफूले गरिरहेको गलत कामबारे अरूलाई बताउन मलाई धेरै नै गाह्रो भयो तर बताइसकेपछि भने मेरो मनबाट ठूलो बोझ हटेको महसुस भयो।”—नोलन।

     बाइबल सिद्धान्त: “आफ्नो गल्ती लुकाउने मानिस सफल हुँदैन तर गल्ती स्विकार्ने र त्यसलाई त्याग्ने मानिसले निगाह पाउँछ।”—हितोपदेश २८:१३.

  3.  ३. अनुशासन स्विकार्नुहोस्‌। यदि तपाईँले आफ्नो आमाबुबा वा मण्डलीका भाइबहिनीसित केही कुरा लुकाउनुभएको छ भने उहाँहरूलाई तपाईँमा भरोसा गर्न गाह्रो हुन सक्छ। तपाईँले गलत काम गरेकोले तपाईँका आमाबुबा वा मण्डलीका एल्डरहरूले केही समयको लागि कुनै-कुनै कुरामा तपाईँलाई रोक लगाउन सक्छन्‌। आफूले पाएको अनुशासन स्विकार्नुहोस्‌ अनि अबउसो “सबै कुरामा इमानदार भई” चल्ने अठोट गर्नुहोस्‌।—हिब्रू १३:१८.

     बाइबल सिद्धान्त: “सल्लाह सुन र अनुशासन स्विकार; तब तिमी बुद्धिमान्‌ हुनेछौ।”—हितोपदेश १९:२०.

  4.  ४. परमेश्‍वरले तपाईँलाई प्रेम गर्नुहुन्छ भन्‍ने कुरामा विश्‍वस्त हुनुहोस्‌। यहोवा हाम्रो सबै कामकुरा याद गर्नुहुन्छ किनभने उहाँ हामीलाई माया गर्नुहुन्छ। त्यसैले यदि तपाईँ दोहोरो जीवन बिताउँदै हुनुहुन्छ भने त्यो यहोवालाई थाह छ र त्यसले उहाँलाई दुःखी बनाउँछ। तर उहाँले तपाईँको ‘ख्याल राख्नुहुने’ भएकोले तपाईँलाई सही बाटोमा फर्किन मदत गर्नुहुनेछ।—१ पत्रुस ५:७.

     बाइबल सिद्धान्त: “जो-जो आफ्नो पूर्ण हृदयले यहोवा परमेश्‍वरप्रति भक्‍त छन्‌, तिनीहरूको खातिर आफ्नो शक्‍ति प्रकट गर्न उहाँको नजर पृथ्वीभरि नै घुमिरहन्छ।”—२ इतिहास १६:९.