सीधै सामग्रीमा जाने

युवाहरू सोध्छन्‌

आमा वा बुबालाई गम्भीर रोग लाग्यो भने के गरूँ?

आमा वा बुबालाई गम्भीर रोग लाग्यो भने के गरूँ?

 थुप्रै युवायुवतीहरूले आमाबुबाको हेरविचार गर्नुपर्ने हुन्छ भनेर सोचेकै हुँदैनन्‌ किनभने वर्षौं पछि मात्र तिनीहरूको आमाबुबामा स्वास्थ्य समस्या देखा पर्न सक्छ।

 तर तपाईं हुर्कंदै गर्दा आमा वा बुबालाई गम्भीर रोग लाग्यो भने के गर्ने? यस्तो चुनौती सामना गरेका दुई जना युवतीलाई विचार गर्नुहोस्‌।

 एमिलिनको अनुभव

 मेरी आमालाई एहलर्स-डैन्लोस्‌ सिन्ड्रोम (ई डी एस) भएको छ। यो दीर्घकालीन र असाध्यै पीडादायी रोग हो। यसले बिरामीको हाडजोर्नी, छाला र रक्‍तनलीमा असर गर्छ।

 यो रोगको कुनै उपचार छैन अनि बितेको दस वर्षदेखि आमाको अवस्था झन्‌-झनै बिग्रँदै गएको छ। धेरै पटक उहाँको शरीरमा रगतको मात्रा कम भएकोले ज्यान खतरामा परेको थियो। त्यत्ति मात्र होइन, असह्‍य पीडाले गर्दा उहाँ बाँच्न समेत चाहनुहुन्‍न थियो।

 परिवारमा हामी सबैजना यहोवाका साक्षी हौं र मण्डलीका दाजुभाइ दिदीबहिनीबाट हामीले धेरै सान्त्वना पाएका छौं। हालैको कुरा हो, मेरै उमेरको एकजना केटीले हामीलाई कार्ड पठाइन्‌। त्यो कार्डमा तिनी हामीलाई निकै माया गर्छिन्‌ र गाह्रो-साह्रो अवस्थामा पनि सधैं साथ दिन तयार छिन्‌ भनेर लेखेकी थिइन्‌। त्यस्तो साथी पाएकोमा म धेरै खुसी छु!

 बाइबलबाट पनि मैले ठूलो मदत पाएकी छु। उदाहरणको लागि, मलाई मन पर्ने शास्त्रपदहरूमध्ये एउटा भजन ३४:‏१८ हो। त्यहाँ यस्तो लेखिएको छ: ‘टुटेका हृदय भएकाहरू सबैको नजिक यहोवा हुनुहुन्छ।’ अर्को मन पर्ने शास्त्रपद चाहिं हिब्रू १३:६ हो, ‘यहोवा मेरो मदतगार हुनुहुन्छ; म डराउनेछैन।’

 विशेषगरि हिब्रूको पदबाट मैले धेरै सान्त्वना पाएकी छु। मृत्युको कारण आमालाई गुमाउनुपर्ला भन्‍ने डरले मलाई असाध्यै पिरोल्छ। म उहाँलाई धेरै माया गर्छु। उहाँसित बिताउन पाएको हरेक दिनको लागि आभारी छु। भविष्यमा जस्तो-सुकै परिस्थिति आए तापनि निर्धक्क भई सामना गर्न सक्छु भनी बुझ्न मलाई यो बाइबल पदले मदत गरेको छ।

 तर अर्को एउटा कुराको पनि डर लाग्छ। ई डि एस वंशानुगत रोग हो। यो रोग हजुरआमाबाट आमालाई सऱ्‍यो अब आमाबाट मलाई। हो, मलाई पनि ई डि एस भएको छ। तर हिब्रू १३:६ मा भनेझैं यहोवा “मेरो मदतगार” हुनुहुनेछ भन्‍ने कुरामा म निर्धक्क छु।

 विगतको कुरा वा भविष्यमा हुने कुराको चिन्तामा डुबेर बस्नुभन्दा अहिले आफूसित भएको कुराको कदर गर्ने कोसिस गर्छु। आमाले पहिला थुप्रै कुरा गर्न सक्नुहुन्थ्यो, अहिले उहाँले गर्न सक्ने कुराहरू सीमित छन्‌। यी कुराहरूलाई तुलना गरेर बसेमा यसले मलाई निराश बनाउन सक्छ। तर कुनै रोगबिमार विना सधैंभरि बाँच्ने आशाको तुलनामा हामीले भोगिरहेको सङ्‌कष्ट “क्षणिक र हलुका” छ भनी बाइबल बताउँछ।—२ कोरिन्थी ४:१७; प्रकाश २१:१-४.

 यसबारे सोच्नुहोस्‌: सकारात्मक मनोवृत्ति राख्न एमिलिन्‌लाई कुन कुराले मदत गर्छ? गाह्रो अवस्थाको सामना गर्नुपर्दा सकारात्मक मनोवृत्ति राख्न तपाईंलाई कुन कुराले मदत गर्न सक्छ?

 एमिलीको अनुभव

 म स्कुलमा छँदा मेरो बुबालाई डिप्रेसन भयो। मेरो बुबाको स्वभाव यत्ति परिवर्तन भयो कि मलाई उहाँ अर्कै मान्छे जस्तो लाग्थ्यो। त्यतिबेलादेखि बुबालाई निराशा, अनावश्‍यक डर र फिक्रीले सताउँछ। उहाँलाई यो रोग लागेको १५ वर्ष भइसक्यो। कुनै कारणैविना आफू निराश भइरहेको छु भनेर थाह पाउँदा त्यो सहन उहाँलाई कत्ति गाह्रो हुन्छ होला!

 हामी यहोवाका साक्षी हौं र हामीले सङ्‌गत गर्ने मण्डलीबाट धेरै मदत पाएका छौं। मण्डलीका दाजुभाइ दिदीबहिनीहरू दयालु हुनुहुन्छ र हाम्रो अवस्था राम्ररी बुझ्नुहुन्छ। उहाँहरूले बुबालाई मण्डलीमा उहाँको खाँचो छैन भन्‍ने महसुस कहिल्यै गराउनु भएको छैन। बुबाले यस्तो गाह्रो अवस्थाको कसरी सामना गर्दै हुनुहुन्छ भनेर देख्दा उहाँप्रति मेरो माया पहिलाभन्दा अझ बढेको छ।

 मेरो बुबा पहिला-पहिला कत्ति रमाइलो हुनुहुन्थ्यो। त्यतिखेर उहाँ फिक्रीमा डुब्नु हुन्‍न थियो, स्वस्थ र खुसी रहनु हुन्थ्यो। अहिले उहाँ हरेक दिन आफ्नो दिमागमा भएको अदृश्‍य शत्रुसित लड्‌दै हुनुहुन्छ। मलाई एकदम दुःख लाग्छ!

 तर सकारात्मक मनोवृत्ति कायम राख्न बुबा धेरै कोसिस गर्नुहुन्छ। केही समय अगाडि, डिप्रेसनले गर्दा निकै गाह्रो भएको बेला बुबाले अलिकति भएपनि हरेक दिन बाइबल पढ्‌ने कोसिस गर्नुभयो। यसले बुबालाई अझ बलियो बनायो। हुन त यस्तो तालिका सानो कुरा जस्तो देखिन्छ तर यसले बुबाको जीवन जोगाएको छ। त्यस्तो गाह्रो अवस्थामा बुबाले गर्नुभएको प्रयास देखेर मलाई धेरै गर्व लाग्यो।

 मलाई नहेम्याह ८:‏१० मा बताइएको कुरा धेरै मनपर्छ। त्यहाँ यस्तो लेखिएको छ: ‘यहोवाको आनन्द नै तिमीहरूको बल हो।’ यो कुरा एकदम सही हो। मण्डलीका दाजुभाइ दिदीबहिनीहरूको साथमा हुन पाउँदा र सक्रिय भई सभाहरूमा भाग लिन पाउँदा जुन आनन्द म महसुस गर्छु त्यसले मेरो मनमा भएको निराशा र खोक्रोपना हटाउन मदत गरेको छ। यसले मलाई दिनभरि स्फूर्ति दिन्छ। जस्तोसुकै अवस्थाको सामना गर्नुपरे पनि यहोवाले सधैं सम्हाल्नुहुनेछ भनेर बुबाको उदाहरणबाट मैले सिकेकी छु।

 यसबारे सोच्नुहोस्‌: एमिलीले बिरामी बुबालाई कसरी मदत गरेकी छिन्‌? डिप्रेसनको सामना गरिरहेका व्यक्‍तिलाई तपाईं कसरी मदत दिन सक्नुहुन्छ?