सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

सहिष्णुता देखाउन बाइबलले कसरी मदत गर्न सक्छ?

सहिष्णुता देखाउन बाइबलले कसरी मदत गर्न सक्छ?

 “सहिष्णुता यस्तो सद्‌गुण हो, जसले शान्ति स्थापना गराउँछ।”—सहिष्णुताका सिद्धान्तहरूसम्बन्धी युनेस्कोको घोषणापत्र, १९९५.

 अर्कोतर्फ असहिष्णुताले मानिसहरूको मनमा अरूप्रति अनादर र घृणा जगाउँछ। त्यस्तो भावना बढ्‌दै गएपछि घृणा तिनीहरूको बोलीमा देखिन्छ अनि तिनीहरू पूर्वाग्रही हुन्छन्‌ र हिंसा मच्चाउँछन्‌।

 तर सहिष्णुताको सन्दर्भमा मानिसहरूको धारणा फरक-फरक छ। केही मानिसहरू सहिष्णु व्यक्‍ति अरूले गरेको वा भनेको सबै कुरामा सहमत हुनुपर्छ भन्‍ने धारणा राख्छन्‌। अरू कतिपयले राख्ने धारणा भने बाइबलसित मेल खान्छ। तिनीहरूको विचारमा सहिष्णु व्यक्‍तिले आफू अरूको मूल्यमान्यता र आस्थासित सहमत नभए तापनि त्यस्ता कुराहरूको छनौट गर्ने अधिकार प्रत्येक व्यक्‍तिसित छ भन्‍ने कुरा स्विकार्छ।

 के बाइबलले अहिले मानिसहरूलाई साँचो अर्थमा सहिष्णुता देखाउन मदत गर्छ?

सहिष्णुतासम्बन्धी बाइबलको स्तर

 बाइबलले सहिष्णुता देखाउन प्रोत्साहन दिन्छ। बाइबल भन्छ: “तिमीहरूको व्यावहारिकता सबै मानिसलाई थाह होस्‌।” (फिलिप्पी ४:५) बाइबलले हामीलाई अरूप्रति विचारशील हुन अनि अरूसित विनम्र र निष्पक्ष व्यवहार गर्न प्रोत्साहन दिन्छ। बाइबलको यो सल्लाह पालन गर्ने मानिसहरू अरूको मूल्यमान्यतासित सहमत नहोलान्‌ वा त्यसअनुसार नचल्लान्‌। तैपनि तिनीहरू उक्‍त व्यक्‍ति आफ्नो रुचिअनुसार चलेकोमा आपत्ति जनाउँदैनन्‌।

 परमेश्‍वरले अरूसित गर्ने व्यवहारको सन्दर्भमा स्तर तोकिदिनुभएको छ। त्यसबारे बाइबल यसो भन्छ: “हे मानिस, असल के हो, [परमेश्‍वरले] तिमीलाई बताउनुभएको छ।” (मिका ६:८) यसले परमेश्‍वरको सल्लाह पालन गर्दा मानिसहरू आनन्दित भई जीवन बिताउन सक्छन्‌ भन्‍ने कुरा प्रस्ट पार्छ।—यसैया ४८:१७, १८.

 परमेश्‍वरले हामीलाई अरूको न्याय गर्ने अधिकार दिनुभएको छैन। बाइबल भन्छ: “व्यवस्थाको दाता र न्यायकर्ता एकै जना हुनुहुन्छ, . . . आफ्नो छिमेकीको न्याय गर्ने तिमी को हौ?” (याकुब ४:१२) उहाँले हामी प्रत्येकलाई छनौट गर्ने स्वतन्त्रता दिनुभएको छ अनि हामीले गर्ने छनौटको नतिजाको जबाफदेही पनि हामी आफै हुन्छौँ।—व्यवस्था ३०:१९.

आदर गर्नेबारे बाइबल के भन्छ?

 बाइबल भन्छ: “हरप्रकारका मानिसहरूको आदर गर।” (१ पत्रुस २:१७) त्यसैले बाइबलको स्तरअनुसार चल्ने मानिसहरू सबै मानिसको आदर गर्छन्‌, चाहे तिनीहरूको आस्था वा जीवनशैली जस्तोसुकै किन नहोस्‌। (लुका ६:३१) तर यसको मतलब बाइबलको स्तरअनुसार चल्नेहरू अरूले राख्ने जुनसुकै आस्था वा विचारधारासित सहमत हुन्छन्‌ वा अरूले गर्ने सबै निर्णयलाई स्विकार्छन्‌ भन्‍ने त होइन। तिनीहरू अरूसित रुखो वा अनादरपूर्ण व्यवहार गर्नुको साटो येसुको अनुकरण गर्न यथासक्दो गर्छन्‌।

 उदाहरणको लागि, एकपटक येसुले बेग्लै धर्ममा आस्था राख्ने स्त्रीसित भेट्‌नुभयो। उनी जोसित बसिरहेकी थिइन्‌, तिनी उनको पति थिएनन्‌। येसुको लागि यस्तो किसिमको जीवनशैली पक्कै स्वीकार्य थिएन। तैपनि उहाँ ती स्त्रीसित आदरपूर्वक बोल्नुभयो।—युहन्‍ना ४:९, १७-२४.

 येसुजस्तै ख्रिष्टियनहरू पनि तिनीहरूको कुरा सुन्‍न इच्छुक व्यक्‍तिहरूलाई आफ्नो आस्थाबारे बताउन तयार हुन्छन्‌ अनि “गहिरो आदर” देखाउँदै कुरा गर्छन्‌। (१ पत्रुस ३:१५) बाइबलले ख्रिष्टियनहरूलाई आफ्नो कुरा अरूमाथि नलाद्‌न होसियार गराउँछ। ख्रिष्टका अनुयायीहरूले आफ्नो भन्दा फरक आस्था राख्ने मानिसलगायत कसैसित पनि “झगडा गर्नु हुँदैन” बरु “सबैसित कोमल व्यवहार” गर्नुपर्छ भनेर बाइबल बताउँछ।—२ तिमोथि २:२४.

घृणाबारे बाइबल के भन्छ?

 बाइबलमा “सबै मानिससित शान्ति कायम गरिरहो” भनेर बताइएको छ। (हिब्रू १२:१४) शान्ति कायम गर्ने व्यक्‍तिले घृणालाई तिरस्कार गर्छ। तिनी आफ्नो मूल्यमान्यतासित सम्झौता गर्दैनन्‌ बरु शान्तिमय वातावरण सृजना गर्न मेहनत गर्छन्‌। (मत्ति ५:९) वास्तवमा बाइबलले आफूलाई दुर्व्यवहार गर्नेहरूलाई समेत दयालु व्यवहार गरेर प्रेम देखाउन प्रोत्साहन दिन्छ।—मत्ति ५:४४.

 कुनै मानिसको मर्यादामा ठेस पुऱ्‍याउने वा अरूलाई हानि पुऱ्‍याउने कामलाई परमेश्‍वर “घृणा गर्नुहुन्छ” वा त्यस्ता कामहरू उहाँको नजरमा “घिनलाग्दा छन्‌।” (हितोपदेश ६:१६-१९) यस बाइबल पदमा प्रयोग गरिएको “घृणा” शब्दले खराब कामहरूलाई मनैदेखि तिरस्कार गर्नुलाई बुझाउँछ। आफ्नो जीवनशैली परिवर्तन गरेर परमेश्‍वरको स्तरअनुसार जीवन बिताउन चाहनेहरूलाई उहाँ क्षमा र मदत दिन इच्छुक हुनुहुन्छ भनेर बाइबल बताउँछ।—यसैया ५५:७.

सहिष्णुता र आदरसम्बन्धी शास्त्रपदहरू

 तितस ३:२: “[तिनीहरू] व्यावहारिक होऊन्‌ र सबै मानिससित व्यवहार गर्दा कोमलता देखाऊन्‌।”

 व्यावहारिक व्यक्‍तिले आफ्नो भन्दा फरक विचारधारा व्यक्‍त गर्नेलाई कोमलतासाथ जवाफ दिएर आदर देखाउँछन्‌।

 मत्ति ७:१२: “त्यसकारण मानिसहरूले तिमीहरूलाई जे-जसो गरून्‌ भन्‍ने तिमीहरू चाहन्छौ, तिमीहरूले पनि तिनीहरूलाई त्यसै गर।”

 अरूले हामीसित आदरपूर्ण व्यवहार गर्दा अनि हाम्रो विचार र भावनाको कदर गर्दा हामी खुसी हुन्छौँ। येसुले आचरणसम्बन्धी सिकाउनुभएको प्रख्यात नियम कसरी लागू गर्न सक्छौँ भनेर बुझ्न “सुनौलो नियम भनेको के हो?” लेख हेर्नुहोस्‌।

 यहोसु २४:१५: “कसको उपासना गर्न चाहन्छौ, आजै रोज।”

 हामीले छनौट गर्ने अरूको अधिकारको कदर गऱ्‍यौँ भने शान्ति कायम गर्न सक्नेछौँ।

 प्रेषित १०:३४: “परमेश्‍वर पक्षपाती हुनुहुन्‍न।”

 परमेश्‍वरले कसैलाई पनि तिनको संस्कृति, लिङ्‌ग, राष्ट्रियता, जात वा पृष्ठभूमिको आधारमा भेदभाव गर्नुहुन्‍न। उहाँको अनुकरण गर्न चाहनेहरूले सबै किसिमका मानिसलाई आदर गर्नुपर्छ।

 हबकुक १:१२, १३: “[परमेश्‍वर] दुष्टता सहन सक्नुहुन्‍न।”

 परमेश्‍वरको सहनशीलताको सीमा छ। उहाँले मानिसहरूको दुष्ट व्यवहार वा कामलाई सधैँभरि रहन दिनुहुनेछैन। यसबारे थप कुरा बुझ्न परमेश्‍वरले किन दुःखकष्ट रहिरहन दिनुभएको छ? भिडियो हेर्नुहोस्‌।

 रोमी १२:१९: “परमेश्‍वरको क्रोधलाई ठाउँ देओ किनकि यस्तो लेखिएको छ: ‘बदला लिने काम मेरो हो; म साटो फेर्नेछु,’ यहोवा a परमेश्‍वर भन्‍नुहुन्छ।”

 यहोवा परमेश्‍वरले कसैलाई पनि बदला लिने अधिकार दिनुभएको छैन। उहाँले तोकिएको समयमै न्याय गर्नुहुनेछ। यसबारे थप कुरा बुझ्न “के न्यायको लागि गरिएको पुकाराको सुनुवाइ हुनेछ?” लेख हेर्नुहोस्‌।

a परमेश्‍वरको नाम यहोवा हो। (भजन ८३:१८) “यहोवा को हुनुहुन्छ?” लेख हेर्नुहोस्‌।