सीधै सामग्रीमा जाने

के यहोवाका साक्षीहरू ढोका-ढोकामा प्रचार गर्न गएर उद्धार पाउन खोज्दै छन्‌?

के यहोवाका साक्षीहरू ढोका-ढोकामा प्रचार गर्न गएर उद्धार पाउन खोज्दै छन्‌?

 अहँ, होइन। हामी नियमित रूपमा ढोका-ढोकामा गएर प्रचार त गर्छौं तर यो कामबाटै उद्धार पाउन सकिन्छ भनेर चाहिं विश्‍वास गर्दैनौं। (एफिसी २:८) किन?

 यो उदाहरण विचार गर्नुहोस्‌। एक जना दयालु मान्छेले सबै जनालाई एकदमै महङ्‌गो उपहार दिन्छु भनेर प्रतिज्ञा गरेको छ। तर त्यो उपहार पाउन उसले भनेकै दिनमा एउटा ठाउँमा पुग्नुपर्ने हुन्छ। यदि तपाईं त्यो मान्छेको प्रतिज्ञामा विश्‍वास गर्नुहुन्छ भने उसको निर्देशनअनुसार गर्नुहुन्छ नि, होइन र? आफ्नो साथीभाइ अनि परिवारका सदस्यहरूले पनि त्यो उपहार पाऊन्‌ भनेर तपाईं त्यसको बारेमा तिनीहरूलाई पनि बताउनुहुन्छ होला। तर त्यो मान्छेको निर्देशनअनुसार गर्दैमा तपाईंले त्यो उपहार पाउनै पर्छ भनेर दाबी गर्न त मिल्दैन। किनभने त्यो उपहार तपाईंले केही काम गरेको बदलामा दिइने होइन।

 त्यसैगरि परमेश्‍वरप्रति आज्ञाकारी मानिसहरूलाई अनन्त जीवन दिन्छु भनेर उहाँले गर्नुभएको प्रतिज्ञामा हामी यहोवाका साक्षीहरू विश्‍वास गर्छौं। (रोमी ६:२३) अरू मानिसले पनि परमेश्‍वरको यस प्रतिज्ञाबाट लाभ उठाऊन्‌ भन्‍ने चाहना भएकोले हामी यसको विषयमा अरूहरूलाई बताउन सक्दो गर्छौं। तर यसरी प्रचार गर्दैमा उद्धार पाइहाल्छौं भनेर हामी विश्‍वास गर्दैनौं। (रोमी १:१७; ३:२८) परमेश्‍वरबाट त्यत्ति ठूलो उपहार पाउन लायकको कुनै पनि काम मानिसले कहिल्यै गर्न सक्दैन भनेर हामीलाई थाह छ। बाइबल यसो भन्छ: “उहाँको स्तरबमोजिम हामीले गरेका असल कामहरूको कारण होइन तर उहाँको कृपाद्वारा उहाँले हामीलाई उद्धार गर्नुभयो।”—तीतस ३:५.