सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्याय दस

तिनले साँचो उपासनाको लागि अडान लिए

तिनले साँचो उपासनाको लागि अडान लिए

१, २. (क) एलियाका मानिसहरूको हालत किन नाजुक थियो? (ख) कर्मेल डाँडामा एलियाविरुद्ध को-को भेला भए?

एलिया कर्मेल डाँडाबाट तलतिर नजर लगाउँछन्‌। भीडका भीड मानिसहरू खुई-खुई गर्दै डाँडामाथि उक्लिरहेका छन्‌। बिहानको यो झिसमिसे उज्यालोमा समेत ती मानिसहरूको दुर्दशा छर्लङ्‌गै देखिन्छ। तिनीहरू अभावै अभावमा बाँचिरहेका छन्‌। तिनीहरूसित खान लाउनलाई केही पनि छैन। साँढे तीन वर्ष लामो खडेरीले गर्दा तिनीहरूको यो हालत भएको हो।

त्यही भीडमा गमक्क पर्दै ठाँटसित आइरहेका बाल देवताका ४५० भविष्यवक्‍ताहरू पनि छन्‌। उनीहरू घमन्डले फुलिरहेका छन्‌। उनीहरू यहोवाका भविष्यवक्‍ता एलियालाई औधी घृणा गर्छन्‌। रानी ईजेबेलले यहोवाका थुप्रै सेवकहरूलाई मारिसकेकी थिइन्‌। तर यी भविष्यवक्‍ताले भने अझै पनि बाल उपासकहरूको विरुद्धमा दृढ अडान लिइरहेका छन्‌। तर कतिन्जेल? ‘यत्तिका बाल उपासकहरूको अगाडि त्यो नाथे एलिया के टिक्ला र?’ भनेर ती बाल उपासकहरूले सोचेको हुनुपर्छ। (१ राजा १८:४, १९, २०) राजा आहाब पनि आफ्नो शाही रथमा चढेर त्यस ठाउँमा आइपुग्छन्‌। उनी पनि एलियालाई देखी सहँदैनन्‌।

३, ४. (क) एलियालाई किन डर लागेको हुनुपर्छ? (ख) हामी कस्ता प्रश्‍नहरू विचार गर्नेछौं?

बिचरा एलिया! एक्लै छन्‌। तर आजको दिन तिनको जीवनको सबैभन्दा विशेष दिन साबित हुनेछ। परमेश्‍वर र दुष्ट मानिसहरूबीचको भिन्‍नता आज स्पष्टै छुट्टिनेछ। त्यही कुराको जाँच गर्न एकाबिहानै त्यहाँ भव्य तयारी पनि भइरहेको छ। त्यतिखेर एलियाले कस्तो महसुस गरे होलान्‌? “एलिया हामीजस्तै मानिस नै थिए” भनी बाइबल बताउँछ। (याकूब ५:१७ पढ्‌नुहोस्‌) त्यसैले तिनलाई पनि फिटिक्कै डर नलागेको त होइन होला। जेहोस्‌, त्यत्तिका अविश्‍वासी मानिसहरू, तिनीहरूका धर्मत्यागी राजा र ती दुष्ट पुजारीहरूले घेर्दा तिनलाई आफू एक्लो छु जस्तो पक्कै लागेको हुनुपर्छ।—१ राजा १८:२२.

तर इस्राएलमा यस्तो अवस्था कसरी आइपऱ्‍यो? यो विवरणमा हामीले किन चासो दिनुपर्छ? आउनुहोस्‌, एलियाले देखाएको विश्‍वासको उदाहरण केलाएर हेरौं। तिनको उदाहरण हाम्रो लागि कत्तिको उपयोगी छ, त्यो पनि विचार गरौं।

वर्षौंदेखिको सङ्‌घर्ष टुङ्‌गो लाग्ने दिन

५, ६. (क) इस्राएलमा लामो समयदेखि कस्तो द्वन्द्व मच्चिंदै आएको थियो? (ख) राजा आहाबले कसरी यहोवाको घोर अनादर गरे?

वर्षौंदेखि एलिया एउटा दुःखलाग्दो दृश्‍य हेर्न बाध्य छन्‌। इस्राएल र त्यहाँका मानिसहरूसित भएको सबैभन्दा अनमोल कुरा अर्थात्‌ यहोवाको उपासना थिचोमिचोमा परेको वर्षौं भइसकेको छ, कुल्चीमिल्ची हुनै लागिसक्यो। वर्षौंदेखि मानिसहरूले त्यसको अवहेलना गरे पनि एलियाले केही गर्न सकेका छैनन्‌। इस्राएलमा लामो समयदेखि साँचो र झूटो उपासनाबीच द्वन्द्व चलिरहेको छ। वरपरका देशहरूमा व्याप्त मूर्तिपूजाले यहोवाका उपासकहरूलाई पनि असर गरेको छ। अहिले एलियाको समयमा त मूर्तिपूजा झनै व्याप्त भएको छ।

आहाब राजाले यहोवाको घोर अनादर गरेका छन्‌। उनले सिदोनका राजाकी छोरी ईजेबेलसित विवाह गरेका थिए। इस्राएलबाट यहोवाको उपासनालाई जरैदेखि उखेलेर बाल देवको उपासनालाई फैलाउन ईजेबेल जोडतोडले लागेकी छिन्‌। तिनी आहाबलाई तुरुन्तै आफ्नो मुठीमा पार्न सफल हुन्छिन्‌। आहाबले बाल देवको लागि एउटा मन्दिर र वेदी बनाएका छन्‌। त्यति मात्र होइन, झूटा देवताहरूलाई दण्डवत गर्न नेतृत्वसमेत लिन्छन्‌।—१ राजा १६:३०-३३.

७. (क) बाल देवको उपासना किन अत्यन्तै खराब कुरा थियो? (ख) एलियाको समयमा परेको खडेरीको अवधिबारे बाइबलमा दिइएको विवरण बाझिंदैन भनेर हामी किन भन्‍न सक्छौं? ( पेटी हेर्नुहोस्‌)

बाल देवको उपासना किन अत्यन्तै खराब कुरा थियो? यसले गर्दा थुप्रै इस्राएलीहरू साँचो परमेश्‍वर यहोवाको उपासनाबाट तर्केका थिए। साथै यो एउटा घिनलाग्दो र क्रूर प्रकारको धर्म थियो। बाल देवताका उपासकहरू पुरुष र स्त्री दुवै नै मन्दिरमा वेश्‍यावृत्ति गर्थे, तिनीहरू घिनलाग्दा यौन क्रियाकलापहरूमा भाग लिन्थे र केटाकेटीको बलि समेत चढाउँथे। इस्राएलमा यस्ता कुराहरू व्याप्त हुन थालेकोले यहोवाले भविष्यवक्‍ता एलियालाई राजा आहाबकहाँ पठाउनुहुन्छ र इस्राएलमा खडेरी पर्नेछ भनेर घोषणा गर्न लगाउनुहुन्छ। एलियाले बिन्ती नगरेसम्म त्यो खडेरी अन्त हुने थिएन। (१ राजा १७:१) एलिया राजा आहाबकहाँ देखा परेर बालका भविष्यवक्‍ताहरू र मानिसहरूलाई कर्मेल डाँडामा भेला हुन अनुरोध गर्दा खडेरी परेको केही वर्ष बितिसकेको हुन्छ। *

बाल उपासनाको झल्को दिने कुराहरू आज पनि जताततै छन्‌

८. बाल देवको उपासनासित सम्बन्धित बाइबलको यो विवरणमा हामीले किन चासो दिनुपर्छ?

साँचो र झूटो उपासनाबिच एलियाको समयमा भएको द्वन्द्वमा हामीले किन चासो दिनुपर्छ? कसै-कसैलाई यस्तो लाग्ला: “न त बाल देवको मन्दिर नै बाँकी छ न त वेदी! यो विवरण पढेर के काम?” तर यो विवरण एउटा सामान्य ऐतिहासिक घटना मात्र होइन। (रोमी १५:४) “बाल” शब्दको अर्थ “स्वामी” वा “मालिक” हो। इस्राएलीहरूले यहोवालाई नै आफ्नो “बाल” बनाउनुपर्छ अर्थात्‌ पतिझैं ठान्‍नुपर्छ भनेर उहाँले भन्‍नुभएको थियो। (यशै. ५४:५) आज पनि मानिसहरू सर्वशक्‍तिमान्‌ परमेश्‍वरलाई नभएर नानाथरीका कुराहरूलाई नै आफ्नो मालिक बनाइरहेका छन्‌। यो कुरा साँच्चै हो जस्तो तपाईंलाई लाग्दैन? आज थुप्रै मानिसहरू पैसा कमाउने, भविष्य उज्ज्वल बनाउने, मनोरञ्जन गर्ने, यौन सन्तुष्टि प्राप्त गर्ने र यहोवाबाहेक अरू अनगन्ती देवताहरूको उपासना गर्ने जस्ता कुराहरूमै तल्लीन छन्‌। आफ्नो मालिक को हो भनेर यसरी तिनीहरूले देखाइरहेका छन्‌। (मत्ती ६:२४; रोमी ६:१६ पढ्‌नुहोस्‌) बाल उपासनाको झल्को दिने कुराहरू आज पनि जताततै छन्‌ भनेर हामी भन्‍न सक्छौं। यहोवा र बाल देवमध्ये को शक्‍तिशाली छ भनेर विगतमा गरिएको जाँचबारे मनन गऱ्‍यौं भने हामीले पनि एउटा महत्त्वपूर्ण विषयमा निर्णय गर्न मदत पाउनेछौं। त्यो हो: हामी कसको सेवा गर्छौं?

“दोधारमा”—कसरी?

९. (क) बाल देवको उपासनालाई उदाङ्‌ग पार्न कर्मेल डाँडा किन उपयुक्‍त थियो? (फुटनोट पनि हेर्नुहोस्‌) (ख) एलियाले मानिसहरूलाई के भने?

कर्मेल डाँडाबाट देखिने दृश्‍य मनमोहक थियो। * यहाँबाट किशोनको खोलाको इलाकादेखि लिएर नजिकैको भूमध्यसागर र उत्तरी क्षितिजमा लबानोनका पहाडहरूसमेत देखिन्थ्यो। तर आज भने यहाँबाट देखिने दृश्‍य कहालिलाग्दो छ। यहोवाले अब्राहामका सन्तानलाई दिनुभएको यो भूमिमा कुनै समय प्रशस्त उब्जनी हुन्थ्यो। तर अहिले भने यहाँ डरलाग्दोगरि खडेरी परेको छ। एकातिर निर्दयी घामको रापले सुकेर सारा जमिन कक्रक्क परिसकेको छ भने अर्कोतिर त्यहाँका भ्रष्ट मानिसहरूले देश पनि खतम बनाइसके। मानिसहरू जम्मा भएपछि एलियाले अघि सरेर तिनीहरूलाई भने, “तिमीहरू कहिलेसम्म दोधारमा बसिरहन्छौ? यदि परमप्रभुनै परमेश्‍वर हुनुहुन्छ भने उहाँलाई पछ्याऊ। तर यदि बाल परमेश्‍वर हो भने त्यसलाई पछ्याऊ।”—१ राजा १८:२१.

१०. इस्राएलीहरू कुन अर्थमा “दोधारमा” थिए? तिनीहरूले कुन महत्त्वपूर्ण सत्यलाई बेवास्ता गरिरहेका थिए?

१० “कहिलेसम्म दोधारमा बसिरहन्छौ” भनेर एलियाले मानिसहरूलाई के भन्‍न खोजिरहेका थिए? ती मानिसहरूले एउटा निर्णय गर्नुपर्ने थियो। यहोवाको उपासना गर्ने कि बालको? दुई मध्ये एकलाई रोज्नै पर्छ भनेर ती मानिसहरूले बुझेका थिएनन्‌। तिनीहरू दुई डुङ्‌गामा खुट्टा हालेर अघि बढ्‌न चाहन्थे। एकातिर घिनलाग्दो चलन पछ्याएर बाल देवलाई खुसी बनाउने र अर्कोतिर यहोवाको आशिष्‌ पनि खोज्ने—यी दुवै गर्न सम्भव छ भनेर ती मानिसहरू सोच्थे। सायद तिनीहरूले यस्तो सोचेका थिए होलान्‌: बाल देवले हाम्रो बालीनाली र गाईवस्तुमा आशिष्‌ दिनुहुनेछ र “सेनाहरूका परमप्रभु” यहोवाले चाहिं हामीलाई युद्धमा विजयी गराउनुहुनेछ। (१ शमू. १७:४५) तिनीहरूले एउटा महत्त्वपूर्ण सत्यलाई बेवास्ता गरिरहेका थिए: यहोवा आफ्नो उपासना कसैसित पनि बाँड्‌नुहुन्‍न। मानिसहरूले उहाँको मात्र उपासना गरून्‌ भन्‍ने उहाँ चाहनुहुन्छ र त्यसको लागि उहाँ योग्य पनि हुनुहुन्छ। झूटो उपासनासित मिसाएर गरिएको कुनै पनि उपासना उहाँ स्वीकार्नुहुन्‍न; त्यस्तो उपासनादेखि त उहाँ घिनाउनुसमेत हुन्छ! यही कुरा आज पनि थुप्रै मानिसहरूले बुझेका छैनन्‌।—प्रस्थान २०:५ पढ्‌नुहोस्‌।

११. कर्मेल डाँडामा एलियाले बताएको कुराले हाम्रो प्राथमिकता र हामीले गरिरहेको उपासनालाई फेरि केलाएर हेर्न हामीलाई कसरी मदत गर्छ?

११ ती इस्राएलीहरू “दोधारमा” परेका थिए। तिनीहरू एकैपटक दुईवटा बाटोमा हिंड्‌न खोजिरहेका थिए। आज थुप्रै मानिसहरू त्यसै गर्छन्‌। तिनीहरू विभिन्‍न कुरालाई आफ्नो जीवनको “बाल” अर्थात्‌ मालिक बनाउँछन्‌ र यहोवाको उपासनालाई एकातिर लत्याउँछन्‌। एलियाले इस्राएलीहरूलाई गरेको जोडदार आग्रहलाई विचार गर्दा हामी पनि यी कुराहरू फेरि एक पटक सोच्न बाध्य हुन्छौं: “मैले जीवनमा कुन कुरालाई प्राथमिकता दिइरहेको छु? यहोवाको उपासना मैले कसरी गरिरहेको छु?”

साँचो ईश्‍वर को हो भन्‍ने प्रमाण

१२, १३. (क) एलियाले कस्तो प्रस्ताव राखे? (ख) हामी पनि एलियाजत्तिकै ढुक्क भएर यहोवामा भर पर्छौं भन्‍ने कुरा कसरी देखाउन सक्छौं?

१२ अब एलिया एउटा प्रस्ताव राख्छन्‌। यो एउटा साधारण खालको जाँच थियो र यसबाट साँचो ईश्‍वर को हो भनेर दूधको दूध पानीको पानी हुने थियो। बाल देवका पुजारीहरूले एउटा वेदी बनाउनुपर्थ्यो र बलि दिने जनावरलाई मारेर त्यसमाथि राख्नुपर्थ्यो। त्यसपछि त्यो वेदीमा आगो लगाउन आफ्नो देवतालाई बिन्ती गर्नुपर्थ्यो। त्यसपछि एलियाले पनि त्यसै गर्ने थिए। “आगोद्वारा जवाफ दिनुहुने नै परमेश्‍वर हुनुहुन्छ” भनेर एलिया बताउँछन्‌। साँचो परमेश्‍वर को हुनुहुन्छ भनेर एलियालाई राम्ररी थाह थियो। यहोवामाथिको तिनको विश्‍वास यत्ति बलियो थियो कि तिनले बाल देवका पुजारीहरूलाई सकेजति सबै गर्ने मौका दिए। बलिदान चढाउने पहिलो मौका पनि एलियाले उनीहरूलाई नै दिए। उनीहरूले एउटा साँढे छाने र बलि चढाए। *१ राजा १८:२४, २५.

१३ अहिले त हामी चमत्कारहरू देख्न सक्दैनौं। तैपनि यहोवा परिवर्तन हुनुभएको छैन। त्यसैले हामी पनि एलिया जत्तिकै ढुक्क भएर यहोवामा भरोसा गर्न सक्छौं। यदि कसैलाई बाइबलको कुनै शिक्षा चित्त बुझेन भने हामी ढुक्क भएर पहिला तिनीहरूलाई आफ्नो विचार बताउने मौका दिन सक्छौं। समस्या सुल्झाउन एलिया जस्तै हामी पनि यहोवामा भर पर्न सक्छौं। त्यस्तो अवस्थामा हामी आफ्नै बुद्धिले होइन तर उहाँको प्रेरणाद्वारा लेखिएको बाइबल चलाएर जवाफ दिन्छौं। किनभने यसमा सबै कुरा “सच्याउन” सक्ने क्षमता छ।—२ तिमो. ३:१६.

बाल देवको उपासना झूटो हो भनेर एलियालाई राम्ररी थाह थियो; यो कुरा इस्राएलीहरूले पनि बुझून्‌ भन्‍ने तिनी चाहन्थे

१४. एलियाले के भनेर बाल देवका पुजारीहरूको खिल्ली उडाए? किन?

१४ बालका पुजारीहरूले बलि तयार गरे र आफ्नो ईश्‍वरलाई पुकार्न थाले। उनीहरू यसो भन्दै चिच्याइरहे: “हे बाल, हे बाल, हाम्रो बिन्ती सुन्‍नुहोस्‌।” उनीहरूले त्यसो गर्दा गर्दै घण्टौं बित्यो। “तर त्यहाँ केही आवाज र केही जवाफ आएन” भनी बाइबल बताउँछ। मध्यदिनतिर एलियाले यसो भन्दै ती ढोंगीहरूको खिल्ली उडाउन थाले: “त्यो ता देवता हो, अझ जोरसित कराऊ। ऊ घोर विचारमा मग्न होला, अथवा दिसा गर्न वा यात्रामा गएको होला अथवा सुतिरहेको होला र उठाउनुपर्छ।” बाल देवको उपासना झूटो हो भनेर एलियालाई राम्ररी थाह थियो। यो कुरा इस्राएलीहरूले पनि बुझून्‌ भन्‍ने एलिया चाहन्थे।—१ राजा १८:२६, २७.

१५. यहोवाबाहेक अरू नै कुरालाई आफ्नो मालिक बनाउनु मूर्खता हो भनेर बाल देवका पुजारीहरूबाट कसरी देखियो?

१५ त्यसपछि त बाल देवका ती पुजारीहरू झनै बौलाहाजस्ता भए। बाइबल भन्छ: “तिनीहरू अझै जोरसित कराए। औ तिनीहरूको रीतिअनुसार आफैलाई तरवार र भालाले चोट पारेर आफ्नो शरीरबाट रगत बगाए।” तर केही सीप लागेन। किनभने बाइबल विवरण अझै यसो भन्छ: “त्यहाँ कुनै आवाज वा जवाफ आएन, न ध्यानै दिइयो।” (१ राजा १८:२८, २९) बाल देव अस्तित्वमै थिएन। त्यो त मानिसहरूलाई यहोवाबाट तर्काउने सैतानको एउटा चाल थियो। यहोवाबाहेक अरू नै कुरालाई आफ्नो मालिक बनाउँदा निराशा सिवाय केही हात लाग्दैन। त्यस्तो छनौटले लाजमा समेत पार्छ।—भजन २५:३; ११५:४-८ पढ्‌नुहोस्‌।

साँचो परमेश्‍वरबाट जवाफ आयो

१६. (क) कर्मेल डाँडामा एलियाले वेदी बनाउँदा मानिसहरूले कुन कुरा सम्झेको हुनुपर्छ? (ख) यहोवा परमेश्‍वरमाथि भरोसा राखेको कुरा देखाउन एलियाले के-के गरे?

१६ साँझतिर एलियाको पालो आयो। शत्रुहरूले भत्काइदिएको यहोवा परमेश्‍वरको वेदीलाई तिनी फेरि बनाउँछन्‌। प्रत्येक कुलको निम्ति एक-एक गरी बाह्रवटा ढुङ्‌गा लिएर तिनी वेदी बनाउँछन्‌। यसरी यहोवाले इस्राएलका १२ कुललाई दिनुभएको व्यवस्था ती दस गोत्रे राज्यका मानिसहरूले पनि पालन गर्नुपर्छ भनेर एलियाले सम्झाएको हुनुपर्छ। तिनी बलिदान तयार पार्छन्‌ र वेदीको वरिपरि खाडल खन्‍न लगाउँछन्‌। तिनी वेदीमा गाग्रीका गाग्री पानी खन्याउन लगाउँछन्‌, जुन सम्भवतः नजिकैको भूमध्यसागरबाट ल्याइएको थियो। वेदी पानीले पूरै भिज्छ र वरिपरिको खाडलसमेत भरिन्छ। बाल देवका पुजारीहरूलाई एलियाले सकेसम्म सजिलो हुने गरी बलिदान चढाउने मौका दिएका थिए तर आफ्नो पालोमा भने तिनी अवस्थालाई सकेसम्म गाह्रो बनाउँछन्‌। यहोवामाथि तिनको कत्ति ठूलो भरोसा!—१ राजा १८:३०-३५.

एलिया आफ्ना मानिसहरूको चिन्ता गर्थे र तिनीहरूले पश्‍चात्ताप गरेर यहोवातर्फ फर्केको हेर्न आतुर थिए भन्‍ने कुरा तिनको प्रार्थनामा देखिन्थ्यो

१७. एलियाले प्रार्थना गर्दा तिनको मुख्य चिन्ताको विषय कसरी देखियो? यहोवालाई प्रार्थना गर्दा हामी कसरी तिनको अनुकरण गर्न सक्छौं?

१७ सबै कुरा तयार भएपछि एलियाले यहोवालाई प्रार्थना गरे। तिनले गरेको प्रार्थना सरल तर प्रभावकारी थियो। तिनको मुख्य चिन्ताको विषय के थियो भन्‍ने कुरा त्यसबाट देखियो। पहिलो, “इस्राएलका परमप्रभु” बाल देव होइन तर यहोवा नै हुनुहुन्छ भनेर मानिसहरूले बुझेको तिनी चाहन्थे। दोस्रो, आफूले गरेका सबै कामको महिमा र श्रेय तिनी यहोवालाई नै दिन चाहन्थे र आफू यहोवाको सेवक मात्र भएको कुरा अरूले बुझेको चाहन्थे। तेस्रो, तिनी आफ्ना मानिसहरूको चिन्ता गर्थे र तिनीहरूले पश्‍चात्ताप गरेर यहोवातर्फ फर्केको हेर्न आतुर थिए। किनभने तिनले यसो भने: “तिनीहरूका मन फर्काउने पनि तपाईंनै हुनुहुन्छ।” (१ राजा १८:३६, ३७) ती मानिसहरूको अविश्‍वासले गर्दा थुप्रै कठिनाइ आइपरेको थियो। तर एलिया अझै पनि तिनीहरूलाई प्रेम गर्थे। यहोवालाई प्रार्थना गर्दा के हामी पनि एलियाले जस्तै नम्रता देखाउँछौं? के हामी पनि उहाँको नाम उच्च पारियोस्‌ भन्‍ने इच्छा व्यक्‍त गर्छौं? अथवा मदत चाहिएकाहरूको लागि बिन्ती गर्छौं?

१८, १९. (क) यहोवाले एलियाको प्रार्थनाको जवाफ कसरी दिनुभयो? (ख) एलियाले मानिसहरूलाई के गर्ने आदेश दिए? बालका पुजारीहरू किन दया पाउन लायकका थिएनन्‌?

१८ एलियाले प्रार्थना गर्नुअघिसम्म त यहोवा पनि बाल देवजस्तै झूटा ठहरिने हो कि भनेर ती मानिसहरूले सोचेको हुनुपर्छ। तर एलियाले प्रार्थना गरिसक्ने बित्तिकै यहोवाबाट जवाफ आयो। विवरण यसो भन्छ: “तब परमप्रभुको आगो बर्स्यो। आगोले होमबलि, दाउरा, ढुङ्‌गा र माटो भस्म पाऱ्‍यो, र खाडलको पानी सुकाइदियो।” (१ राजा १८:३८) वाह! कस्तो शानदार जवाफ! ती मानिसहरूलाई कस्तो लाग्यो?

‘तब परमप्रभुको आगो बर्स्यो’

१९ तिनीहरू सबै यसो भनेर कराउन थाले: ‘यहोवा नै परमेश्‍वर हुनुहुँदोरहेछ, यहोवा नै परमेश्‍वर हुनुहुँदोरहेछ!’ (१ राजा १८:३९) साँचो परमेश्‍वर को हुनुहुन्छ, आखिरमा तिनीहरूले थाह पाए। तर तिनीहरूले अझै पनि आफ्नो विश्‍वास कामबाट देखाएका थिएनन्‌। प्रार्थनाको जवाफमा स्वर्गबाट आगो बर्सेको देखेपछि यहोवा नै साँचो परमेश्‍वर हुनुहुन्छ भनेर तिनीहरूले स्वीकार्न त स्वीकारे। तर त्यसलाई साँचो विश्‍वास देखाएको भन्‍न कहाँ मिल्छ र? त्यसैले आफ्नो विश्‍वासलाई अरू नै तरिकाबाट प्रमाणित गर्न एलिया तिनीहरूलाई भन्छन्‌। यहोवाको आज्ञा पालन गर भनेर एलिया ती मानिसहरूलाई आदेश दिन्छन्‌, जुन तिनीहरूले वर्षौं पहिला नै गर्नुपर्थ्यो। हो, तिनीहरूले झूटा भविष्यवक्‍ताहरू र मूर्तिपूजकहरूलाई मार्नुपर्ने थियो। (व्यव. १३:५-९) बाल देवका ती पुजारीहरू यहोवाका शत्रु थिए। उनीहरूले जानाजानी यहोवाको उद्देश्‍य विपरीत काम गरेका थिए। के उनीहरू दया पाउन लायकका थिए? सोच्नुहोस्‌ त, बाल देवताको लागि कलिला नानीहरूलाई जिउँदै बलि चढाउँदा उनीहरूले दया देखाए र? (हितोपदेश २१:१३ पढ्‌नुहोस्‌; यर्मि. १९:५) हो, उनीहरू दया पाउन लायकका थिएनन्‌। त्यसैले एलियाले उनीहरू सबैलाई मार्ने आदेश दिए। उनीहरू सबै मारिए!—१ राजा १८:४०.

२०. एलियाले दिएको सजायबारे आधुनिक समयका आलोचकहरूले देखाएको प्रतिक्रिया किन आधारहीन छ?

२० आधुनिक समयका आलोचकहरूले कर्मेल डाँडामा भएको यस घटनाले निम्त्याएको नतिजाको कडा आलोचना गर्लान्‌। धार्मिक कट्टरपन्थीहरूले यही घटनालाई आधार बनाएर धर्मको नाममा हिंसा मच्चाउने बहाना बनाउलान्‌ भनेर कसै-कसैलाई चिन्ता पनि लाग्न सक्छ। दुःखको कुरा त्यस्ता हिंस्रक कट्टरपन्थीहरू आज थुप्रै छन्‌। तर एलिया त्यस्तो हिंस्रक कट्टरपन्थी थिएनन्‌। तिनले बाल देवका ती पुजारीहरूलाई यहोवाको तर्फबाट उचित न्याय दिलाउने काम गरिरहेका थिए। दुष्टहरूलाई सजाय दिन एलियाको तरिका अपनाउँदै हतियार उठाउनु आवश्‍यक छैन भनेर आजका साँचो ख्रीष्टियनहरूले राम्ररी बुझेका छन्‌। बरु येशूले पत्रुसलाई भन्‍नुभएको यो कुरा तिनीहरू पछ्याउँछन्‌, जुन येशूका प्रत्येक अनुयायीलाई लागू हुन्छ: “तिम्रो तरबार म्यानमै राख, किनकि तरबार चलाउनेहरू सबै तरबारबाटै नाश हुनेछन्‌।” (मत्ती २६:५२) यहोवा स्वयम्‌ले नै भविष्यमा न्याय गर्नुहुनेछ। उहाँले आफ्नो छोरा येशू ख्रीष्टमार्फत त्यो काम पूरा गर्नुहुनेछ।

२१. एलियाको उदाहरणबाट आज साँचो ख्रीष्टियनहरूले कस्तो लाभ उठाउन सक्छन्‌?

२१ साँचो ख्रीष्टियनहरूले विश्‍वासअनुसारकै जीवन पनि बिताउनुपर्छ। (यूह. ३:१६) त्यसो गर्ने एउटा तरिका हो, एलियाजस्ता विश्‍वासी मानिसहरूको अनुकरण गर्नु। तिनले यहोवाको मात्र उपासना गरे र अरूलाई पनि त्यसै गर्न आग्रह गरे। सैतानले मानिसहरूलाई यहोवादेखि तर्काउन बनाएको धर्मको तिनले साहसी हुँदै पर्दाफास गरे। समस्या समाधान गर्न तिनले आफ्नै तरिका अपनाएनन्‌, न त तिनी आफ्नो क्षमतामा नै भर परे। तिनी यहोवामा भर परे। तिनले साँचो उपासनाको लागि अडान लिए। हामी सबैले पनि एलियाको विश्‍वास अनुकरण गर्न सकौं!

^ अनु. 9 नजिकैको समुद्रले गर्दा बादल जम्मा भइरहने भएकोले कर्मेल डाँडामा प्रशस्त पानी पर्छ र शीत पनि उत्तिकै झर्छ। त्यसैले यो डाँडा सधैंजसो हरियै हुन्छ। बाल देवलाई वर्षाको देव मानिने भएकोले यो ठाउँलाई बालको उपासना गर्ने एउटा उपयुक्‍त ठाउँ मानिएको हुनुपर्छ। तर यही डाँडा अहिले सुख्खा र उजाड भएकोले बाल देव झूटो हो भनेर देखाउन यो ठाउँ उपयुक्‍त छ।

^ अनु. 12 रोचक कुरा, एलियाले उनीहरूलाई यसो भने: “दाउरामा आगो नलगाऊ”। केही शास्त्रविद्‌का अनुसार त्यस्ता मूर्तिपूजकहरूले प्रयोग गर्ने वेदीमा कहिलेकाहीं अरूले नदेख्नेगरि मुनिपट्टि एउटा प्वाल बनाइएको हुन्थ्यो र त्यसैबाट आगो बालिन्थ्यो। यसो गर्दा वेदीमा आगो बाल्ने ईश्‍वर नै हुन्‌ भनेर मानिसहरूलाई भान पर्थ्यो।