सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्याय सत्र

“हेर्नुहोस्‌, म यहोवाकी दासी हुँ!”

“हेर्नुहोस्‌, म यहोवाकी दासी हुँ!”

१, २. (क) मरियमकहाँ आएका पाहुनाले तिनलाई कसरी सम्बोधन गरे? (ख) मरियम जीवनको कस्तो मोडमा उभिएकी थिइन्‌?

मरियम छक्कमाथि छक्क पर्छिन्‌। तिनको घरमा एक जना पाहुना आएका छन्‌। ती पाहुनाले मरियमका आमाबाबुको बारेमा सोधखोज गर्दैनन्‌। ती पाहुना त मरियमलाई पो भेट्‌न आएका रहेछन्‌! उनी नासरतबाट आएका भए त मरियमले देख्नेबित्तिकै चिन्‍ने थिइन्‌। ती पाहुना तिनको सानो सहर नासरतका बासिन्दा होइनन्‌ भनेर प्रस्टै चिनिन्छन्‌। हो, ती पाहुना हेर्दाखेरि पनि एकदमै फरक देखिन्छन्‌। उनी अनौठो तरिकाले मरियमलाई सम्बोधन गर्छन्‌: “हे परमेश्‍वरको निगाह-पात्र, तिमीलाई अभिवादन छ। यहोवा तिमीसित हुनुहुन्छ।”—लूका १:२६-२८ पढ्‌नुहोस्‌।

बाइबलले मरियमलाई एलीकी छोरी भनेर चिनाएको छ। एली नासरत सहरको गालीलमा बस्थे। बाइबलमा मरियमको परिचय सुरु हुँदा तिनी जीवनको एउटा महत्त्वपूर्ण मोडमा उभिएकी थिइन्‌। सिकर्मी यूसुफसँग मरियमको मगनी भइसकेको थियो। यूसुफ धनी त थिएनन्‌ तर तिनी यहोवाप्रतिको विश्‍वासका भने खानी थिए। आफ्नो जीवन कसरी बित्ने हो, मरियम कल्पना गर्न सक्थिन्‌—एउटी गृहिणीको रूपमा यूसुफलाई सघाउनु, बालबच्चा हुर्काउनु जस्ता काम तिनको दिनचर्या हुने थियो। तर अचानक घरमा आएका ती पाहुनाले परमेश्‍वरको तर्फबाट मरियमको लागि ल्याएको एउटा जिम्मेवारी सुम्पन्छन्‌। त्यसले गर्दा मरियमको जीवनले नयाँ मोड लिन्छ जस्तो देखिन्छ।

३, ४. मरियमलाई राम्रोसँग चिन्‍ने हो भने हामीले के-कस्ता कुरालाई ध्यान दिनु हुँदैन? तर हामीले ध्यान दिनुपर्ने कुरा के हो?

बाइबलले मरियमबारे त्यत्ति धेरै बताएको छैन भनेर थाह पाउँदा धेरैलाई अचम्म लाग्छ। तिनको पृष्ठभूमिबारे बाइबलले त्यति धेरै बताएको छैन, तिनको व्यक्‍तित्वबारे अलिअलि मात्र बताएको छ, झन्‌ रूपरङ्‌गबारे त केही पनि बताएको छैन। तर बाइबलले मरियमबारे जे-जति बताएको छ, त्यसबाट पनि हामी तिनीबारे धेरै कुरा थाह पाउन सक्छौं।

संसारका थुप्रै धर्महरूले मरियमबारे आ-आफ्नै किसिमको शिक्षा सिकाएका छन्‌। तर मरियमलाई राम्रोसँग चिन्‍ने हो भने हामीले त्यसमा मात्र ध्यान दिनु हुँदैन। त्यसैले मरियम “यस्ती थिइन्‌, उस्ती थिइन्‌” भनेर कोरिएको चित्र वा कुँदिएका मूर्तिलाई एकछिन बिर्सौं। यी नम्र स्त्रीलाई थुप्रै धर्महरूले “परमेश्‍वरकी आमा” र “स्वर्गकी रानी” भन्‍ने उपाधि पनि दिएका छन्‌। तिनीहरूले मरियमलाई जसरी चित्रण गरेका छन्‌, त्यसलाई पनि हामी एकछिन बिर्सौं। बरु आउनुहोस्‌, बाइबलले मरियमबारे वास्तवमा के बताएको छ, त्यसमा ध्यान देऔं।

स्वर्गदूत देखा पर्छन्‌

५. (क) स्वर्गदूतले “निगाह-पात्र” भनेर सम्बोधन गर्दा मरियमले देखाएको प्रतिक्रियाबाट तिनीबारे हामी के सिक्न सक्छौं? (ख) मरियमबाट हामी कस्तो अमूल्य पाठ सिक्न सक्छौं?

मरियमलाई भेट्‌न आउने पाहुना कुनै साधारण मानिस थिएनन्‌। उनी गब्रिएल स्वर्गदूत थिए। जब स्वर्गदूतले मरियमलाई “निगाह-पात्र” भनेर सम्बोधन गरे तब तिनी “साह्रै घबराइन्‌।” (लूका १:२९) मरियमले कसबाट निगाह पाएकी थिइन्‌? तिनले मानिसहरूबाट निगाह पाउने आशा गरेकी थिइनन्‌। ती स्वर्गदूतले यहोवा परमेश्‍वरको तर्फबाट निगाह पाएको कुरा गरिरहेका थिए। यो तिनको लागि महत्त्वपूर्ण कुरा थियो। तर पनि आफूले पहिल्यै परमेश्‍वरको निगाह पाएकै छु नि भनेर तिनी घमन्डले फुलिनन्‌। मरियमको उदाहरणबाट हामी यस्तो पाठ सिक्न सक्छौं: हामीले परमेश्‍वरको निगाह पाउन प्रयास गर्नुपर्छ, पहिलादेखि नै पाएका छँदैछौं भनेर घमन्ड गर्नु हुँदैन। परमेश्‍वर अहङ्‌कारीहरूको विरोध गर्नुहुन्छ तर दीन तथा नम्रहरूलाई माया गर्नुहुन्छ र साथ दिनुहुन्छ।—याकू. ४:६.

परमेश्‍वरको निगाह पाएकै छु नि भनेर मरियम घमन्डले फुलिनन्‌

६. स्वर्गदूतले मरियमलाई कस्तो ठूलो जिम्मेवारी सुम्पे?

आफूले त्यत्ति ठूलो जिम्मेवारी पाउन लागेकी छु भनेर स्वर्गदूतबाट थाह पाउँदा मरियमलाई सपनाजस्तै लाग्यो होला। त्यसैले तिनी नम्र हुनु पर्थ्यो। मरियमले एउटा छोरा जन्माउनेछिन्‌ र ती छोरा मानिसहरूमध्ये सबैभन्दा महान्‌ हुनेछन्‌ भनेर ती स्वर्गदूत बताउँछन्‌। गब्रिएल यसो भन्छन्‌: “उहाँको पुर्खा दाऊदको सिंहासन यहोवा परमेश्‍वरले उहाँलाई दिनुहुनेछ। उहाँले राजाको रूपमा याकूबको घरानामाथि सधैंभरि शासन गर्नुहुनेछ र उहाँको राज्यको अन्त कहिल्यै हुनेछैन।” (लूका १:३२, ३३) परमेश्‍वरले एक हजार वर्षभन्दा पहिला दाऊदसित गर्नुभएको प्रतिज्ञा मरियमलाई थाह थियो। यहोवाले दाऊदलाई उनकै घरानाका एक जनाले सदाको लागि शासन गर्नेछन्‌ भनेर प्रतिज्ञा गर्नुभएको थियो। (२ शमू. ७:१२, १३) वास्तवमा मरियमको छोरा नै परमेश्‍वरका जनहरूले शताब्दिऔंदेखि आशा गरेका मसीह हुने थिए!

मरियमले सपनामा पनि नचिताएको जिम्मेवारी स्वर्गदूतले तिनलाई सुम्पे

७. (क) मरियमले सोधेको प्रश्‍नबाट तिनीबारे कुन कुरा प्रकट भयो? (ख) मरियमबाट आजका जवानहरूले के सिक्न सक्छन्‌?

अझै रोचक कुरा, मरियमका छोरा “सर्वोच्च परमेश्‍वरको छोरा कहलाइनुहुनेछ” भनेर ती स्वर्गदूत बताउँछन्‌। तर मरियमको त भर्खरै मात्र मगनी भएको थियो, विवाह हुन त बाँकी नै थियो। तिनले कसरी छोरा जन्माउन सक्थिन्‌ र? त्यसमाथि पनि एउटी मानव स्त्रीले कसरी परमेश्‍वरको छोरा जन्माउन सक्छिन्‌ र? खुलस्त भएर मरियम यस्तो प्रश्‍न सोध्छिन्‌: “यो कसरी हुनसक्छ किनकि कुनै पुरुषसित मेरो शारीरिक सम्पर्क भएको छैन?” (लूका १:३४) याद गर्नुहोस्‌, आफू कुमारी नै छु भनेर मरियमले लाज नमानीकन भनिन्‌। आफ्नो कौमार्य नगुमाएकोमा तिनले गर्व गरिन्‌। आजकल थुप्रै जवानहरू आफ्नो कौमार्य गुमाउन हतार गर्छन्‌ र कौमार्य नगुमाएकाहरूको खिसीटिउरी गर्छन्‌। हो, संसार परिवर्तन भइसक्यो। तर यहोवा परमेश्‍वर परिवर्तन हुनुभएको छैन। (मला. ३:६) यहोवाको नैतिक स्तर पछ्याउनेहरूलाई मरियमको पालामा उहाँ जत्ति कदर गर्नुहुन्थ्यो, अहिले पनि त्यत्तिकै कदर गर्नुहुन्छ।—हिब्रू १३:४ पढ्‌नुहोस्‌।

८. मरियमले कसरी त्रुटिरहित सन्तान जन्माउन सक्थिन्‌?

हुन त मरियम परमेश्‍वरप्रति भक्‍त स्त्री थिइन्‌। तैपनि तिनी त्रुटिपूर्ण नै थिइन्‌। गब्रिएलले यसो भने: “पवित्र शक्‍ति तिमीमाथि आउनेछ र सर्वोच्च परमेश्‍वरको सामर्थ्य तिमीमाथि बास गर्नेछ। यो कारणले पनि जो जन्मिनुहुनेछ, उहाँ परमेश्‍वरको छोरा अनि पवित्र कहलाइनुहुनेछ।” (लूका १:३५) पवित्रको अर्थ हो, “सफा,” “शुद्ध,” “चोखो।” आमाबाबुमा भएको अशुद्ध र पापी अवस्था तिनीहरूको सन्तानमा सर्ने गर्छ। तर मरियमले छोरा जन्माउँदा भने यहोवाले चमत्कार गर्न लाग्नुभएको थियो। स्वर्गमा रहेको आफ्नो छोरालाई यहोवाले मरियमको गर्भमा सारिदिनुहुने थियो। त्यसपछि उहाँको सक्रिय शक्‍ति अर्थात्‌ पवित्र शक्‍ति मरियममाथि “बास” गर्ने थियो र त्यसले मरियममा रहेको पाप येशूमा सर्नदेखि रोक्ने थियो। ती स्वर्गदूतले गरेको प्रतिज्ञामाथि मरियमले विश्‍वास गरिन्‌ त? तिनले कस्तो प्रतिक्रिया देखाइन्‌?

गब्रिएललाई मरियमको जवाफ

९. (क) आलोचकहरूले मरियममाथि शङ्‌का गर्नु किन गलत हो? (ख) मरियमलाई विश्‍वस्त पार्न गब्रिएलले के भने?

आलोचकहरू र चर्चका केही धर्मविद्‌हरूसमेत मरियमले कुमारी अवस्थामै बच्चा जन्माइन्‌ भन्‍ने कुरा मानिलिंदैनन्‌। तिनीहरूले जति नै जानेबुझेका भए तापनि एउटा सरल सत्यलाई भने बुझ्न सकेका छैनन्‌। स्वर्गदूत गब्रिएलले भनेझैं “आफूले बोलेको कुनै पनि कुरा पूरा गर्न परमेश्‍वरको लागि असम्भव हुँदैन।” (लूका १:३७) गब्रिएलले भनेको कुरा ती जवान मरियमले पत्याइन्‌ किनभने यहोवा परमेश्‍वरप्रति तिनको विश्‍वास बलियो थियो। तिनले अन्धाधुन्ध विश्‍वास गरेकी थिइनन्‌। सुझबुझ भएको अरू मान्छेले जस्तै मरियमले पनि प्रमाणकै आधारमा स्वर्गदूतले भनेको कुरा सही हो भनेर मानिलिएकी थिइन्‌। गब्रिएलले तिनलाई थप प्रमाण पनि दिन लागेका थिए। उनले मरियमकी नातेदार इलीशिबाको बारेमा बताए। इलीशिबा वृद्ध र बाँझी थिइन्‌। तर परमेश्‍वरको आशिष्‌ले गर्दा नै अहिले ती वृद्ध इलीशिबा गर्भवती भएकी थिइन्‌। कस्तो चमत्कार!

१०. मरियमले परमेश्‍वरको छोरालाई जन्म दिने विशेष सुअवसर पाएकी भए पनि तिनलाई सजिलो थिएन भनेर हामी किन भन्‍न सक्छौं?

१० अब मरियमले के गर्ने होलिन्‌? तिनको अगाडि एउटा ठूलो जिम्मेवारी थियो। गब्रिएलले भनेको कुरा परमेश्‍वरले पूरा गर्नुहुनेछ भनेर तिनले प्रमाण पनि पाएकी थिइन्‌। हुन त मरियमले परमेश्‍वरको छोरालाई जन्म दिने विशेष सुअवसर पाएकी थिइन्‌। तर कहाँ सजिलो थियो र! यूसुफसित मरियमको मगनी भइसकेको थियो। गर्भवती भएको कुरा थाह पाएपछि यूसुफले कतै मरियमलाई विवाह नगर्ने पो हुन्‌ कि? फेरि, यो जिम्मेवारी आफैमा एउटा गम्भीर जिम्मेवारी थियो। तिनले यहोवा परमेश्‍वरको सृष्टिमध्ये सबैभन्दा अनमोल प्राणीको जीवनलाई अर्थात्‌ परमेश्‍वरको प्यारो छोरालाई आफ्नो गर्भमा राख्नुपर्थ्यो। त्यसपछि उहाँ नहुर्कुन्जेल उहाँको हेरचाह गर्नुपर्थ्यो र दुष्ट संसारमा उहाँको सुरक्षा गर्नुपर्थ्यो। कत्ति ठूलो जिम्मेवारी!

११, १२. (क) यहोवाबाट गहन जिम्मेवारी पाउँदा बलियो विश्‍वास भएका परमेश्‍वरका सेवकहरूले समेत कस्तो प्रतिक्रिया देखाए? (ख) गब्रिएललाई जवाफ दिंदा मरियमले कस्तो मनोभाव देखाइन्‌?

११ बाइबल विवरण हेर्ने हो भने बलियो विश्‍वास भएका परमेश्‍वरका सेवकहरू पनि उहाँबाट गहन जिम्मेवारी पाउँदा त्यो स्वीकार्न हिचकिचाएका थिए। आफूलाई त्यति राम्रोसँग बोल्न आउँदैन भनेर बहाना बनाउँदै मोशा यहोवाको प्रवक्‍ताको रूपमा काम गर्न अनकनाए। (प्रस्थ. ४:१०) यर्मिया पनि यहोवाले अह्राउनुभएको काम गर्न हिचकिचाए र “मता बच्चै छु” भनेर बहाना बनाए। (यर्मि. १:६) योना त झन्‌ आफूलाई अह्राइएको काम गर्न डराएर अन्तै भागे! (योना १:३) मरियम नि?

१२ आज्ञाकारी हुँदै मरियमले मनदेखि नै जवाफ दिइन्‌। तिनको त्यो जवाफ अहिलेसम्म पनि थुप्रै मानिसको मनमा ठप्प बसेको छ। तिनले गब्रिएललाई भनिन्‌: “हेर्नुहोस्‌, म यहोवाकी दासी हुँ! तपाईंले घोषणा गर्नुभएअनुसारै मलाई होस्‌।” (लूका १:३८) दासीलाई घरका सबै कामदारभन्दा तल्लो दर्जाको ठानिन्थ्यो; तिनको जीवन मालिकको हातमा हुन्थ्यो। यहोवाको अगाडि मरियम आफूलाई एउटी दासी जस्तै ठान्थिन्‌। आफ्नो मालिक यहोवाको हातमा सुरक्षित छु भनेर तिनी ढुक्क थिइन्‌। वफादारप्रति यहोवा पनि वफादार हुनुहुन्छ र गाह्रो जिम्मेवारी पूरा गर्न सक्दो प्रयास गर्दा उहाँले त्यसमाथि आशिष्‌ दिनुहुन्छ भनेर मरियमलाई थाह थियो।—भज. १८:२५, NRV.

वफादार परमेश्‍वर यहोवाको हातमा आफू सुरक्षित छु भनेर मरियम ढुक्क थिइन्‌

१३. यहोवाले दिनुभएको काम हामीलाई असाध्यै गाह्रो लागेको छ वा सम्भव नै छैन जस्तो देखिएको छ भने मरियमबाट के सिक्न सक्छौं?

१३ यहोवाले दिनुभएको काम कहिलेकाहीं हामीलाई असाध्यै गाह्रो लाग्न सक्छ वा सम्भव नै छैन जस्तो देखिन सक्छ। यस्तो बेला मरियमले जस्तै यहोवामा भरोसा राख्नुपर्छ र उहाँकै शरणमा पर्नुपर्छ भनेर यहोवाले हामीलाई आफ्नो वचनबाट सिकाउनुभएको छ। (हितो. ३:५, ६) तर के हामी यहोवामा भरोसा राख्छौं? यहोवामा भरोसा राख्यौं भने उहाँ हामीलाई आशिष्‌ दिनुहुन्छ र उहाँप्रतिको विश्‍वास अझै बलियो बनाउनसमेत मदत गर्नुहुन्छ।

मरियम र इलीशिबाको भेट

१४, १५. (क) मरियमले इलीशिबा र जकरियालाई भेटेपछि यहोवाले मरियमलाई कस्तो आशिष्‌ दिनुभयो? (ख) लूका १:४६-५५ मा लेखिएको मरियमको भनाइबाट तिनीबारे के प्रकट हुन्छ?

१४ गब्रिएलले इलीशिबाको बारेमा बताएको कुराले मरियमलाई निकै ढुक्क बनायो। त्यतिबेला मरियमको कुरा राम्रोसँग बुझ्न सक्ने व्यक्‍ति इलीशिबाबाहेक अरू को नै थियो र! इलीशिबालाई भेट्‌न मरियम हतारहतार यहूदाको पहाडी इलाकातिर लाग्छिन्‌। नासरतबाट यहूदासम्म जान सायद तीन वा चार दिन लाग्थ्यो। जब मरियम इलीशिबा र पुजारी जकरियाको घरभित्र पस्छिन्‌, तब मरियमको विश्‍वास बलियो बनाउन यहोवाले थप प्रमाण दिनुहुन्छ। यस्तो प्रमाण मरियमको लागि कत्ति ठूलो आशिष्‌! मरियमले इलीशिबालाई अभिवादन गरेको सुन्‍नेबित्तिकै पेटमा भएको बच्चा खुसीले उफ्रिएको कुरा इलीशिबा महसुस गर्छिन्‌। त्यति नै बेला इलीशिबा यहोवाको पवित्र शक्‍तिले भरिन्छिन्‌ र मरियमलाई “मेरो प्रभुकी आमा” भनेर सम्बोधन गर्छिन्‌। मरियमका छोरा प्रभु अर्थात्‌ मसीह हुनेछन्‌ भनेर परमेश्‍वरले इलीशिबालाई प्रकट गर्नुभएको थियो। साथै मरियम विश्‍वासी र आज्ञाकारी भएकीले इलीशिबाले तिनको यसरी प्रशंसा गरिन्‌: “तिमीले आफूलाई बताइएको कुरामा विश्‍वास गऱ्‍यौ, त्यसैले पनि तिमी आनन्दित हौ।” (लूका १:३९-४५) यहोवाले मरियमबारे जे-जे भन्‍नुभएको थियो, अब त्यो सबै पूरा हुन्छ भनेर अझ पक्का भयो।

मरियम र इलीशिबाको मित्रता दुवैको लागि आशिष्‌ साबित भयो

१५ अब मरियम बोल्न थाल्छिन्‌। तिनले भनेका कुराहरू परमेश्‍वरको वचनमा सुरक्षित छन्‌। बाइबलमा रेकर्ड गरिएको मरियमको सबैभन्दा लामो भनाइ लूका १:४६-५५ मा पाइन्छ। (पढ्‌नुहोस्‌) यस रेकर्डले मरियमबारे धेरै कुरा बताउँछ। मसीहकी आमाको रूपमा सेवा गर्ने सुअवसर पाएकोमा तिनले यहोवाको प्रशंसा गरेकी छिन्‌। आफूले पाएको सुअवसरप्रति तिनी कत्तिको कृतज्ञ छिन्‌ भनेर तिनको भनाइबाट प्रस्ट हुन्छ। यहोवा अहङ्‌कारी मानिसहरूको र शासकहरूको सेखी झार्नुहुन्छ र उहाँको सेवा गर्न चाहने नम्र र दीनहरूलाई मदत गर्नुहुन्छ भनेर मरियमले बताएकी छिन्‌। यहोवाप्रति तिनको विश्‍वास कत्ति बलियो थियो भनेर यसबाट हामी बुझ्न सक्छौं। तिनीसित धर्मशास्त्रको ज्ञान कत्ति धेरै थियो भनेर पनि तिनको भनाइबाट बुझिन्छ। एउटा अनुमानअनुसार मरियमले २० पटकभन्दा धेरै हिब्रू धर्मशास्त्रबाट उद्धृत गरिन्‌। *

१६, १७. (क) मरियम र तिनको छोराले हामीले अनुकरण गर्नुपर्ने कस्तो मनोवृत्ति देखाए? (ख) मरियम र इलीशिबाको भेटघाटले हामीलाई कस्तो कुरा सम्झाउँछ?

१६ कुरा प्रस्ट छ, मरियम परमेश्‍वरको वचनमा गहिरो मनन गर्थिन्‌। तिनले आफ्नै विचार बताइनन्‌ बरु धर्मशास्त्रबाट उद्धृत गरिन्‌। यसबाट तिनी कत्ति नम्र थिइन्‌ भनेर देखिन्छ। मरियमको गर्भमा हुर्कंदै गएको बालकमा पनि पछि त्यस्तै नम्रता देखिने थियो। हो, येशूले पछि यसो भन्‍नुभयो: “म जे सिकाउँछु, त्यो मेरो होइन तर मलाई पठाउनुहुनेको शिक्षा हो।” (यूह. ७:१६) हामीले पनि आफैलाई यसरी सोध्नुपर्छ: ‘के म पनि परमेश्‍वरको वचनप्रति त्यत्तिकै आदर देखाउँछु? उहाँको वचनको त्यत्तिकै महिमा गर्छु? अथवा कतै म आफ्नै विचार र आफ्नै शिक्षाहरू पो सिकाउँछु कि?’ यस सन्दर्भमा मरियमले असल उदाहरण बसालिन्‌।

१७ मरियम लगभग तीन महिनासम्म इलीशिबासँगै बसिन्‌। त्यतिबेला पक्कै पनि एकअर्काबाट दुवैले प्रोत्साहन पाएको हुनुपर्छ। (लूका १:५६) बाइबलमा उल्लेख गरिएको यो मायालु भेटघाटको विवरणले मित्रता कत्ति ठूलो आशिष्‌ हो भनेर हामीलाई सम्झाउँछ। यदि हामीले परमेश्‍वरलाई प्रेम गर्ने साथीहरू छान्यौं भने यहोवासँगको हाम्रो सम्बन्ध अझै बलियो हुन्छ भनेर हामी ढुक्क हुन सक्छौं। (हितो. १३:२०) अब मरियम आफ्नो घर फर्कने बेला पनि आयो। तिनको कुरा सुनेपछि यूसुफले के भन्लान्‌?

मरियम र यूसुफ

१८. मरियमले यूसुफलाई कुन कुरा बताइन्‌? यूसुफले कस्तो प्रतिक्रिया देखाए?

१८ मरियमले ढिलासुस्ती गर्नु हुँदैनथ्यो। अरू मानिसहरूले थाह पाउनुअघि नै तिनी यूसुफकहाँ जानु पर्थ्यो र सबै कुरा बताउनु पर्थ्यो। परमेश्‍वरको भय राख्ने मानिस यूसुफले के भन्लान्‌ भनेर सायद मरियमले सोचिन्‌। जेहोस्‌, यूसुफकहाँ गएर मरियमले आफूमाथि घटेका सम्पूर्ण घटना बताइन्‌। सबै कुरा सुनेर यूसुफलाई कत्ति छटपटी भयो होला! आफ्नी प्रेयसीले बताएको सबै कुरा यूसुफ पत्याउन चाहन्थे तर मरियमले धोका दिइन्‌ भन्‍ने तिनलाई लाग्यो। यूसुफको मनमा कस्तो कुरा खेलिरहेको थियो वा तिनले कस्तो तर्क गरे, यसबारे बाइबलले केही बताएको छैन। तर यति मात्र बताएको छ, यूसुफले मरियमसित सम्बन्धविच्छेद गर्ने विचार गरे। बाइबलकालीन समयमा मगनी गरिएको जोडीलाई विवाहित जोडीजस्तै ठानिन्थ्यो। समाजमा मरियमको बेइज्जत भएको यूसुफ चाहँदैनथे। त्यसैले तिनले गुप्तमै मरियमसँग सम्बन्धविच्छेद गर्ने निर्णय गरे। (मत्ती १:१८, १९) यूसुफ इन्तु न चिन्तु भएको देख्दा मरियलाई कत्ति दुःख लाग्यो होला! ‘मलाई विश्‍वास नगर्ने?’ भनेर मरियम यूसुफसित रिसाइनन्‌।

१९. सही निर्णय गर्न यहोवाले यूसुफलाई कसरी मदत गर्नुभयो?

१९ सही निर्णय गर्न दयालु हुँदै यहोवाले यूसुफलाई मदत गर्नुभयो। मरियम साँच्चै चमत्कारपूर्ण ढङ्‌गमा गर्भवती भएकी हुन्‌ भनेर परमेश्‍वरको दूतले यूसुफलाई सपनामा बताए। यूसुफ कत्ति ढुक्क भए होलान्‌! मरियमले पहिलेदेखि नै यहोवाको निर्देशनअनुसार गर्दै आएकी थिइन्‌। अब पालो यूसुफको। मरियमले जस्तै तिनले पनि यहोवा जसो-जसो भन्‍नुहुन्छ, त्यसै-त्यसै गर्छन्‌। यूसुफ मरियमलाई आफ्नो घरमा भित्र्याउँछन्‌ र यहोवाको छोराको हेरचाह गर्ने विशेष जिम्मेवारी स्वीकार्न तयार हुन्छन्‌।—मत्ती १:२०-२४.

२०, २१. यूसुफ र मरियमको उदाहरणबाट विवाहित जोडीले र विवाह गर्ने विचार गरिरहेकाहरूले कस्तो पाठ सिक्न सक्छन्‌?

२० आजभन्दा २,००० वर्ष पहिलेका यी जवान दम्पतीको उदाहरणबाट विवाहित जोडीले र विवाह गर्ने विचार गरिरहेका व्यक्‍तिहरूले राम्रो पाठ सिक्न सक्छन्‌। मरियमले आमा बन्‍ने जिम्मेवारी स्वीकारेको र त्यसलाई राम्ररी पूरा गरिरहेको यूसुफले देखे। त्यसैले स्वर्गदूतले आफूलाई डोऱ्‍याएकोमा यूसुफ कत्ति कृतज्ञ भए होलान्‌। गम्भीर निर्णयहरू गर्नुपर्दा यहोवामा भर पर्नु कत्ति महत्त्वपूर्ण छ भनेर यूसुफले बुझेका थिए। (भज. ३७:५; हितो. १८:१३) परिवारको शिरको रूपमा निर्णयहरू गर्दा तिनी निकै होसियार र दयालु हुन्थे भन्‍ने कुरामा कुनै शङ्‌का छैन।

२१ अर्कोतर्फ आफूलाई शङ्‌का गर्ने यूसुफसँग विवाह गर्न मरियम तयार भइन्‌। यसबाट हामी के सिक्न सक्छौं? पहिला त मरियमको कुरा सुनेर यूसुफलाई के गरौं कसो गरौं भएको थियो। तर भविष्यमा यूसुफ आफ्नो शिर हुने भएकोले तिनले निर्णय नगरुन्जेल मरियमले पर्खिरहिन्‌। त्यसरी पर्खंदा नतिजा राम्रो भयो। परिवारको शिरको निर्णयलाई पर्खनु अहिले ख्रीष्टियन स्त्रीहरूको लागि पनि राम्रो हुन्छ। यी सबै घटनाहरूबाट यूसुफ र मरियमले इमानदार हुनु र खुलस्त कुराकानी गर्नु कत्तिको महत्त्वपूर्ण छ भनेर सिके।—हितोपदेश १५:२२ पढ्‌नुहोस्‌।

२२. यूसुफ र मरियमको वैवाहिक बन्धनको जग कस्तो थियो? तिनीहरूलाई कस्तो कुराले पर्खिरहेको थियो?

२२ ती जवान जोडीले सुरुमै आफ्नो वैवाहिक बन्धनको जग बलियो बनाए। तिनीहरू दुवैले यहोवालाई नै सबैभन्दा धेरै प्रेम गरे र मायालु अनि जिम्मेवार आमाबाबुको रूपमा आफ्नो दायित्व पूरा गरे। ठूलो आशिष्‌ले तिनीहरूलाई पर्खिरहेको थियो अनि चुनौतीहरूले पनि। तिनीहरूले येशूलाई हुर्काउनु पर्थ्यो—हो, त्यही येशू जो संसारका सबैभन्दा महान्‌ पुरुष भनेर चिनिने थिए।

^ अनु. 15 हिब्रू धर्मशास्त्रबाट मरियमले उद्धृत गरेका कुराहरूमा विश्‍वासी स्त्री हन्‍नाका शब्दहरू पनि पर्छन्‌। हन्‍नाले पनि परमेश्‍वरबाट आशिष्‌ पाएर सन्तान जन्माउन सकेकी थिइन्‌।—अध्याय ६ मा भएको “दुई उल्लेखनीय प्रार्थना” शीर्षकको पेटी हेर्नुहोस्‌।