सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्याय पन्ध्र

तिनी परमेश्‍वरका मानिसहरूको पक्षमा खडा भइन्‌

तिनी परमेश्‍वरका मानिसहरूको पक्षमा खडा भइन्‌

१-३. (क) आफ्नो श्रीमान्‌कहाँ जान एस्तरलाई किन डर लागिरहेको थियो? (ख) हामी एस्तरसित सम्बन्धित कुन-कुन प्रश्‍न विचार गर्नेछौं?

एस्तर बिस्तारै-बिस्तारै शूशनको दरबारको भित्री चोकको नजिक पुग्छिन्‌। तिनको पाइला सँगसँगै तिनको मुटुको ढुकढुकी पनि बढ्‌दै गइरहेको छ। तिनी आफूलाई जसोतसो सम्हाल्न खोज्दैछिन्‌। तर के सक्नु, त्यत्ति ठूलो दरबारमा! जताततै भव्यता झल्काउने दृश्‍यहरू छन्‌। जता आँखा डुलायो त्यतै पखेटा भएका साँढेहरूका अनि धनुर्धारी योद्धाहरूका रङ्‌गीबिरङ्‌गी कलाकृतिहरू देखिन्छन्‌। टिलिक्क टल्किने इँटाबाट बनेका सिंहका आकृतिहरू पनि साह्रै मनमोहक देखिन्छन्‌। दरबारका बुट्टेदार खम्बाहरू अनि विशाल मूर्तिहरू पनि अत्यन्तै आकर्षक छन्‌। यो दरबार हिउँले ढाकिएको जागरोस पर्वत नजिकैको फाँटमा ठाँटिएर बसेको छ र तलतिर कलकलाउँदै बगिरहेको कोआसपिस नदीलाई एकटकले हेरिरहेको छ। साँच्चै यो ठाउँको भव्यता वर्णन गरिनसक्नुको छ। हो, यही भव्य ठाउँका सबैभन्दा उच्च पदका व्यक्‍ति, जसले आफैलाई “महाराजा” भनेर चिनाउँछन्‌, उनलाई नै भेट्‌न एस्तर जाँदैछिन्‌। ती व्यक्‍ति तिनका श्रीमान्‌ पनि हुन्‌।

श्रीमान्‌ रे! यो कसरी हुन सक्छ? अहासूरसजस्तो भिन्‍नै आस्था भएको व्यक्‍ति एउटी विश्‍वासी यहूदी स्त्रीको श्रीमान्‌? * कल्पनै गर्न गाह्रो! आफ्नी प्यारी श्रीमती साराको कुरा सुन्‍ने अब्राहामजस्ता छैनन्‌ अहासूरस। (उत्प. २१:१२) त्यसमाथि पनि उनलाई एस्तरको भगवान्‌ यहोवा अनि उहाँको नियमबारे फिटिक्कै थाह छैन। अहासूरसलाई फारसी कानुनको भने नालीबेली थाह छ। उनको आँखाकै सामने अब एस्तरले एउटा कानुन उल्लङ्‌घन गर्न लागेकी छिन्‌। एस्तरले त्यस्तो के कदम चाल्न लागेकी थिइन्‌ र? फारसी कानुनअनुसार राजाले नडाकीकन उनीसामु देखा पर्नेलाई मृत्युदण्ड दिइन्थ्यो। एस्तरलाई राजाले डाकेका थिएनन्‌ तैपनि तिनी राजाकहाँ जाँदैछिन्‌। राजाको सिंहासनबाट छर्लङ्‌गै देखिने भित्री चोकमा पुग्दा तिनलाई खुकुरीको धारमा हिंडेको महसुस भइरहेको थियो।—एस्तर ४:११; ५:१ पढ्‌नुहोस्‌।

आखिर किन तिनले यस्तो जोखिम मोलिन्‌? यी असाधारण स्त्रीले देखाएको विश्‍वासबाट हामी कस्तो पाठ सिक्न सक्छौं? यी प्रश्‍नको जवाफ पाउनुअघि, एस्तर कसरी फारसकी महारानी बन्‍न पुगिन्‌, त्यो विचार गरौं।

एस्तरको पृष्ठभूमि

४. एस्तरको पृष्ठभूमि कस्तो थियो? तिनी कसरी मोर्दकैसित बस्न पुगिन्‌?

एस्तरले सानैमा आमाबाबुको न्यानो काख गुमाउनुपरेको थियो; तिनी अनाथ थिइन्‌। बाइबलमा तिनका आमाबाबुबारे त्यत्ति धेरै जानकारी दिइएको छैन। जेहोस्‌, तिनका आमाबाबुले तिनको नाम हदस्सा राखिदिएका थिए। हिब्रू भाषामा यो एउटा बोटको नाम हो जसमा सेता फूलहरू ढकमक्क फुल्छन्‌। सानैमा आमाबाबुको छत्रछाया गुमाएकी यी टुहुरीलाई तिनकै दयालु आफन्त मोर्दकैले हेरचाह गर्छन्‌। नाताले मोर्दकै एस्तरका दाइ पर्छन्‌ तर उमेरले भने निकै जेठा। उनले एस्तरलाई घरमा ल्याउँछन्‌ र आफ्नै छोरीसरह पाल्छन्‌।—एस्त. २:५-७, १५.

आफ्नी धर्मपुत्रीप्रति गर्व गर्नुपर्ने असल कारण मोर्दकैसित थियो

५, ६. (क) मोर्दकैले एस्तरलाई कसरी हुर्काए? (ख) मोर्दकै र एस्तरले शूशनमा कस्तो जीवन बिताए?

यहूदीहरू निर्वासनमा परेको हुँदा मोर्दकै र एस्तर पनि फारसको राजधानीमा बसोबास गर्न पुगे। त्यहाँ बस्दा तिनीहरूलाई आफ्नो धर्म मान्‍न अनि व्यवस्थामा दिइएका नियमहरू पालन गर्न औधी सकस परेको हुनुपर्छ। तैपनि मोर्दकैले हार नमानी एस्तरलाई यहोवाबारे सिकाउँछन्‌ जसले गर्दा तिनीहरूबीचको आत्मीयता झनै बढ्‌छ। कृपालु परमेश्‍वर यहोवाले पहिला पनि आफ्ना मानिसहरूलाई थुप्रै चोटि बचाइसक्नुभएको थियो र फेरि त्यस्तै कदम चाल्न लाग्नुभएको थियो। (लेवी २६:४४, ४५) समयको रफ्तारसँगसँगै मोर्दकै र एस्तरबीचको माया र चोखो बन्धन पनि बलियो हुँदै जान्छ।

मोर्दकैले शूशनको दरबारमा अफिसरको रूपमा काम गरेका थिए जस्तो देखिन्छ। उनी दिनहुँ राजाका अरू चाकरहरूसँगै मूलढोकामा बस्थे। (एस्त. २:१९, २१; ३:३) एस्तरले आफ्नो बाल्यकाल कसरी बिताइन्‌, त्यो त हामी कल्पना मात्र गर्न सक्छौं। तैपनि तिनले आफ्नो दाइ र उनको घरको राम्रो हेरचाह गरेको देखिन्छ। तिनीहरू राजदरबारको पारिपट्टि रहेको साधारण घरमा बस्थेजस्तो देखिन्छ। एस्तर रमाउँदै-रमाउँदै शूशनको बजारतिर गइरहेको दृश्‍य कल्पना गर्नुहोस्‌। त्यहाँ सुन, चाँदी अनि अरू थुप्रै सामानहरू बेच्न व्यापारीहरू व्यस्त छन्‌। तर त्यस्ता महँगा सरसमान पछि गएर तिनको लागि छेलोखेलो हुनेछ भनेर एस्तरले सपनामा पनि चिताएकी थिइनन्‌। जीवनले कस्तो मोड लिने हो, एस्तरलाई केही थाह थिएन।

“सुन्दरी”

७. वश्‍तीलाई महारानीको पदबाट किन हटाइयो र परिणाम के भयो?

एकदिनको कुरा हो, शूशनको राजदरबारमा कोलाहल मच्चिन्छ। राजा अहासूरस ले आफ्ना भारदारहरूलाई भव्य भोज दिएका थिए। उनले मानिसहरूलाई चौरासी व्यञ्जन अनि किम्मती दाखमद्यहरू टक्राएका थिए। भोज भइरहेकै बेला राजाले आफ्नी सुन्दरी रानी वश्‍तीलाई मानिसहरूसामु देखा पर्न डाके। महारानी वश्‍ती पनि छुट्टै कक्षमा आफ्ना सहेलीहरूसित भोजमा मस्त थिइन्‌। राजाले डाक्दा वश्‍तीले ठाडै इन्कार गरिन्‌। राजालाई आफ्नो इज्जत माटोमै मिलेको जस्तो लाग्यो। रिसले चूर हुँदै उनी आफ्ना सल्लाहकारहरूसित वश्‍तीलाई कस्तो सजाय दिनुपर्छ भनेर सोध्छन्‌। परिणाम के हुन्छ? वश्‍तीलाई महारानीको पदबाट हटाइन्छ। त्यसपछि राजाका भारदारहरूले त्यो साम्राज्यभरि नै सुन्दरी कन्याहरू खोज्न थाल्छन्‌। राजाले तिनीहरूमध्येबाटै एउटी रानी छान्‍ने थिए।—एस्त. १:१–२:४.

८. (क) एस्तर हुर्किसकेपछि मोर्दकैलाई किन चिन्ता लाग्यो? (ख) बाहिरी सुन्दरतालाई ज्यादै महत्त्व नदिन बाइबलले सिकाएको कुरा हामी कसरी लागू गर्न सक्छौं? (हितोपदेश ३१:३० पनि हेर्नुहोस्‌)

यो दृश्‍य कल्पना गर्नुहोस्‌: मोर्दकै आफ्नी छोरी एस्तरलाई मायालु नजरले हेर्दैछन्‌। उनकी छोरी अब ठूली भइसकी! राम्री पनि बिछट्टै राम्री! एकातिर खुसीले मन फुरुङ्‌ङ परेको छ भने चिन्ता पनि उत्तिकै लागेको छ मोर्दकैलाई। बाइबल विवरणमा एस्तरबारे यस्तो लेखिएको छ: “तिनी राम्री र सुन्दरी थिइन्‌।” (एस्त. २:७) बाहिरी सुन्दरतालाई ज्यादै महत्त्व नदिन बाइबलले सिकाउँछ। हुन त सुन्दरता आफैमा राम्रो कुरा हो, तर त्यससँगसँगै बुद्धि र नम्रता पनि चाहिन्छ। नत्र मानिसमा अहङ्‌कार, घमन्ड अनि अरू दुर्गुणहरू पैदा हुन सक्छ। (हितोपदेश ११:२२ पढ्‌नुहोस्‌) यो कुरा साँचो हो भनेर तपाईंले पनि महसुस गर्नुभएको होला। तर एस्तरको सन्दर्भमा चाहिं के भन्‍न सकिन्छ? तिनी पनि राम्री भएकीले पछि घमन्डी भइन्‌ कि? त्यो त समयले नै बताउने थियो।

९. (क) राजाका भारदारहरूले एस्तरलाई देखेपछि के गरे? मोर्दकै र एस्तरलाई छुट्टिन किन गाह्रो भएको हुनुपर्छ? (ख) मोर्दकैले एस्तरको विवाह किन गैर-इस्राएलीसित हुन दिए? (पृष्ठ १३८ मा भएको पेटी हेर्नुहोस्‌)

राजाका भारदारहरू एस्तरलाई देख्छन्‌। तिनीहरू एस्तरलाई पनि खोलापारि रहेको राजदरबारमा लैजान्छन्‌। एस्तर मोर्दकैसित बिछोडिन बाध्य हुन्छिन्‌। (एस्त. २:८) यो विछोडले मोर्दकै र एस्तरको मुटु कत्ति छियाछिया भयो होला! आखिर तिनीहरू बुबा-छोरीजस्तै थिए। आफ्नी प्यारी धर्मपुत्रीले गैर-इस्राएलीसित विवाह गरेको मोर्दकै चाहँदैन थिए। चाहे त्यो व्यक्‍ति राजा नै किन नहोस्‌। * तर चाहेर मात्र हुँदैन रहेछ! लाचार भएर टुलुटुल हेर्नुसिवाय उनी अरू के पो गर्न सक्थे र! एस्तर दरबारमा जानुअघि मोर्दकैले तिनलाई सिकाएका कुरा तिनले गम्भीरतासाथ सुनेकी हुनुपर्छ। शूशनको सानदार दरबारतिर पाइला चाल्दा तिनको मनमा अनेकौं प्रश्‍नहरू खेल्न थाल्छन्‌। अब तिनको जीवनले कस्तो मोड लिने थियो?

“तिनलाई देख्ने सबैलाई एस्तरले मोहित गराइन्‌”

१०, ११. (क) नयाँ ठाउँले एस्तरलाई कस्तो प्रभाव पार्न सक्थ्यो? (ख) मोर्दकै एस्तरको चिन्ता गर्थे भन्‍ने कुरा कसरी देखियो?

१० एस्तरलाई अर्कै दुनियाँमा पुगेको आभास हुन्छ। जता हेरे पनि नौलै-नौलो देखिन्छ। तिनले आफूलाई “धेरै ठिटीहरू”-को माझमा पाउँछिन्‌। तिनीहरूलाई पनि फारस साम्राज्यको टाढा-टाढाको इलाकाबाट खोजेर ल्याइएको थियो। तिनीहरूको रहनसहन, भाषा, आनीबानीमा कत्ति भिन्‍नता थियो होला! ती सबै ठिटीहरूलाई अफिसर हेगेको जिम्मा लगाइन्छ। अब तिनीहरूले आफ्नो सौन्दर्यलाई निखार्न विशेष प्रक्रिया अपनाउनुपर्ने हुन्छ। तिनीहरूलाई एक वर्षसम्म विभिन्‍न किसिमका सुगन्धित तेलले मालिस पनि गरिने थियो। (एस्त. २:८, १२) त्यसबेला ती ठिटीहरूले आफूलाई सक्दो राम्री बनाउनमा नै सारा ध्यान लगाएका थिए होलान्‌। तिनीहरूले एकअर्कालाई कत्ति चुरीफुरी देखाए होलान्‌, कत्ति प्रतिस्पर्धा गरे होलान्‌! त्यस्तो माहोलले एस्तरलाई कस्तो प्रभाव पाऱ्‍यो?

११ मोर्दकै एस्तरको साह्रै चिन्ता गर्थे। सायद उनी जत्तिको एस्तरको चिन्ता गर्ने मानिस अरू कोही थिएन। एस्तरलाई के कसो हुँदैछ, त्यो जान्‍न मोर्दकै दिनहुँ स्त्रीहरू बस्ने घर नजिकैको चोकबाट जाने गर्थे भनेर बाइबलमा लेखिएको छ। (एस्त. २:११) उनले सायद सँगी सेवकहरूबाट केही जानकारी पाउँथे। तिनीहरूले एस्तरबारे जानकारी दिंदा मोर्दकैको छाती गर्वले फुल्थ्यो। तर किन?

१२, १३. (क) एस्तरले आफू वरपरका मानिसहरूमाझ कस्तो छाप छोडिन्‌? (ख) एस्तरले आफू यहूदी भएको कुरा कसैलाई नबताएकोमा मोर्दकै किन खुसी थिए?

१२ एस्तर अफिसर हेगेको मन जित्न सफल भएकी थिइन्‌। त्यसैले हेगेले पनि माया गरेर एस्तरको लागि सात जना दासीहरूको प्रबन्ध गरिदिएका थिए र तिनलाई स्त्रीहरू बस्ने घरमा सबैभन्दा राम्रो स्थान दिएका थिए। विवरण यसो पनि भन्छ: “तिनलाई देख्ने सबैलाई एस्तरले मोहित गराइन्‌।” (एस्त. २:९, १५) के त्यसोभए एस्तरको सुन्दरताले गर्दा मात्र मानिसहरू चित परेका थिए त? अहँ होइन, अर्को रहस्य पनि लुकेको थियो।

बाहिरी सुन्दरताभन्दा नम्रता र बुद्धि कता हो कता महत्त्वपूर्ण छ भनेर एस्तरलाई थाह थियो

१३ बाइबल यसो भन्छ: “मोर्दकैले त्यसो गर्न तिनलाई मनाई गरेकाले एस्तरले आफ्नो वंश अथवा घराना बताएकी थिइनन्‌।” (एस्त. २:१०) मोर्दकैले एस्तरलाई आफू यहूदी भएको कुरा कसैलाई नबताउनू भनेर सिकाएका थिए। किनभने फारसको दरबारमा यहूदीहरूलाई निकै पक्षपात गरिन्थ्यो भन्‍ने कुरा मोर्दकैलाई थाह थियो। आफ्नो आँखाअगाडि मात्र होइन तर अरू बेला समेत एस्तर आज्ञाकारी भइरहेकी छिन्‌ भनेर थाह पाउँदा मोर्दकैको मन कत्ति रमायो होला!

१४. आजका युवायुवतीहरूले एस्तरको उदाहरण कसरी अनुकरण गर्न सक्छन्‌?

१४ आजका युवायुवतीहरूले पनि आफ्नो आमाबाबु वा आफ्नो हेरविचार गर्नेहरूलाई त्यसरी नै खुसी बनाउन सक्छन्‌। आमाबाबुले नदेखेको बेलामा अनि अल्लारे, अनैतिक, बदमास मानिसहरूको माझमा हुनुपर्दा समेत तिनीहरू खराब प्रभावबाट अलग्गै रहन सक्छन्‌ र जे सही छ त्यही गर्न सक्छन्‌। त्यसो गरेमा तिनीहरूले पनि एस्तरले जस्तै स्वर्गमा बस्नुहुने बुबा यहोवाको मन खुसी बनाउन सक्छन्‌।—हितोपदेश २७:११ पढ्‌नुहोस्‌।

१५, १६. (क) एस्तरले राजाको मन कसरी जितिन्‌? (ख) एस्तरलाई नयाँ जीवनशैली अपनाउन किन गाह्रो भएको हुनुपर्छ?

१५ राजासामु जाने समय आएपछि एस्तरलाई विभिन्‍न श्रृङ्‌गार सामग्री अनि अरू जे-जति चाहिन्छ त्यो सबै लिने अनुमति दिइयो। तर तिनले विनम्र हुँदै जिम्मावाल हेगेले दिएको कुराबाहेक अरू केही लिइनन्‌। (एस्त. २:१५) बाहिरी सुन्दरताले होइन तर भद्र भएर अनि नम्र भएर नै राजाको मन जित्न सकिन्छ भन्‍ने एस्तरलाई लागेको हुनुपर्छ। त्यसोभए तिनी सफल भइन्‌ त?

१६ बाइबल यस्तो जवाफ दिन्छ: “राजालाई अरू सबै स्त्रीहरूभन्दा एस्तर . . . नै मन पऱ्‍यो। औ राजाले अरू कन्येकेटीहरूभन्दा तिनलाई निगाह र दया देखाए। उनले तिनको शिरमा राजकीय शिरपेच लगाइदिए। औ वश्‍तीको सट्टामा तिनलाई आफ्नी रानी तुल्याए।” (एस्त. २:१७) यी विनम्र यहूदी ठिटीलाई जिन्दगीको यो नयाँ मोडमा हिंड्‌न कत्ति गाह्रो भयो होला! महारानी, त्यो पनि त्यतिबेलाकै सबैभन्दा शक्‍तिशाली राजाकी पत्नी! के यसले तिनलाई घमन्डी बनायो? अहँ, बनाएन!

१७. (क) एस्तर आफ्नो धर्मबुबाप्रति कसरी आज्ञाकारी भइरहिन्‌? (ख) अहिले एस्तरको उदाहरण अनुकरण गर्नु किन निकै जरुरी छ?

१७ एस्तर आफ्नो धर्मबुबाप्रति आज्ञाकारी भइरहिन्‌। तिनले आफू यहूदी भएको कुरा गोप्य नै राखिरहिन्‌। राजा अहासूरसलाई मार्ने षड्यन्त्र भइरहेको छ भनेर मोर्दकैले सुराकी दिंदा एस्तरले आज्ञाकारी हुँदै राजासम्म त्यो सन्देश पुऱ्‍याइन्‌। फलतः ती षड्यन्त्रकारीहरूको योजना भताभुङ्‌ग भयो। (एस्त. २:२०-२३) हो, नम्र अनि आज्ञाकारी मनोभाव देखाएर तिनले आफ्ना परमेश्‍वर यहोवालाई विश्‍वास गरेको कुरा पनि देखाइन्‌। एस्तरको उदाहरण अनुकरण गर्नु अहिले निकै जरुरी छ। किनभने अहिले जता हेरे पनि अनाज्ञाकारी अनि विद्रोही मानिसहरूको बिगबिगी छ, आज्ञाकारी हुने कुरालाई त तिनीहरूले मानौं कुल्चीमिल्ची नै पारिसके। तर साँचो विश्‍वास खेती गर्नेहरू आज्ञाकारी हुनुलाई अनमोल धन सम्झन्छन्‌, एस्तरले जस्तै!

एस्तरको विश्‍वासको जाँच

१८. (क) मोर्दकैले किन हामानलाई दण्डवत्‌ गरेनन्‌? (फुटनोट पनि हेर्नुहोस्‌) (ख) आजका विश्‍वासी पुरुष तथा स्त्रीले मोर्दकैको उदाहरण कसरी अनुकरण गर्छन्‌?

१८ राजा अहासूरस आफ्नो दरबारका हामान भन्‍ने व्यक्‍तिलाई उच्च पदमा नियुक्‍त गर्छन्‌। राजाले तिनलाई प्रधानमन्त्री नियुक्‍त गर्छन्‌। साथै आफ्नो निजी सल्लाहकार र साम्राज्यकै दोस्रो दर्जाको व्यक्‍ति बनाउँछन्‌। तिनलाई देख्नेजति सबैले दण्डवत्‌ गर्नुपर्छ भन्‍ने उर्दी पनि जारी गर्छन्‌। (एस्त. ३:१-४) तर मोर्दकैलाई यो नियम पालन गर्न गाह्रो पर्छ। राजाको आज्ञा पालन गर्नुमा उनलाई कुनै समस्या थिएन तर त्यसले गर्दा परमेश्‍वरलाई अनादर गर्ने कुरा उनी सोच्न पनि सक्दैनथे। तपाईंलाई थाहै छ, हामान अगागी थिए, मतलब तिनी अमालेकी राजा अगागका सन्तान थिए। अनि यहोवाका भविष्यवक्‍ता शमूएलले राजा अगागलाई टुक्रा-टुक्रा गरी मारेका थिए। (१ शमू. १५:३३) अमालेकीहरू यत्ति दुष्ट थिए कि तिनीहरू यहोवा परमेश्‍वर र इस्राएलको शत्रु बने। फेरि परमेश्‍वरले तिनीहरूलाई दण्ड दिने घोषणा पनि गर्नुभएको थियो। * (व्यव. २५:१९) त्यस्तो मान्छेलाई एक जना विश्‍वासी यहूदीले कसरी दण्डवत्‌ गर्न सक्थे र? हो, मोर्दकैले हामानलाई दण्डवत्‌ गर्न सक्दैनथे। त्यसैले उनले दृढ भई इन्कार गरे। चाहे आफ्नो ज्यानै जोखिममा किन नपरोस्‌, आज पनि सबै विश्‍वासी पुरुष तथा स्त्री बाइबलको एउटा अनमोल सिद्धान्तअनुसार चल्छन्‌: “हामीले मानिसहरूको भन्दा परमेश्‍वरको आज्ञा मान्‍नै पर्छ।”—प्रेषि. ५:२९.

१९. हामान के गर्न चाहन्थे? राजालाई आफ्नो पक्षमा लिन तिनले के गरे?

१९ मोर्दकैले दण्डवत्‌ नगरेपछि हामान रिसले चूर हुन्छन्‌। त्यसैले तिनी मोर्दकैलाई मार्ने विचार गर्छन्‌। मोर्दकैलाई मात्र होइन तर उसको सारा जातिलाई नै खतम पार्न चाहन्छन्‌ हामान! त्यसैले राजाको अगाडि गएर यहूदीहरूबारे भए नभएको कुरा लगाइदिन्छन्‌। “समस्त प्रान्तमा धेरै मानिसहरूका बीचमा फैलिएको एउटा जाति छ। तिनीहरू अलग्गै बस्छन्‌” भनेर घुमाउरो तरिकामा हामानले यहूदीहरू काम न काजका मानिसहरू हुन्‌ भन्‍ने भान पार्न खोज्छन्‌। त्यति मात्र होइन, तिनीहरू राजाको उर्दी नै पालन गर्दैनन्‌, साह्रै खतरनाक छन्‌ समेत भन्छन्‌! पूरै साम्राज्यभरिबाट यहूदीहरूको जरो उखेल्न जेजति खर्च लाग्छ, त्यो सबै आफैले बेहोरिदिने प्रस्ताव पनि राख्छन्‌। * अहासूरसले आफ्नो छाप-औंठी खोलेर तिनलाई दिन्छन्‌ र तिनले आफूलाई मन लागेको जुनसुकै उर्दी पनि जारी गर्ने अधिकार पाउँछन्‌।—एस्त. ३:५-१०.

२०, २१. (क) हामानको उर्दीले सारा फारसी साम्राज्यमा भएका यहूदीहरू अनि मोर्दकैलाई कस्तो असर गऱ्‍यो? (ख) मोर्दकैले एस्तरलाई कस्तो सन्देश पठाए?

२० त्यसको केही समयपछि नै शाही-दूतहरू यहूदीहरूको नामोनिशान मेटाइनेछ भनेर सारा प्रान्तमा घोषणा गर्दै हिंड्‌छन्‌। घोषणा गर्दै तिनीहरू यरूशलेमसम्मै पुग्छन्‌। त्यो सन्देश सुनेपछि यरूशलेममा भएका बाँकी यहूदीहरूको हालत कस्तो भयो होला सोच्नुहोस्‌ त! बाबेलको निर्वासनबाट फर्केर तिनीहरूले भर्खरै सहरको पुनर्निर्माण गर्न थालेका थिए, त्यसमाथि सुरक्षा दिने पर्खाल पनि थिएन! त्यो सन्देश कानमा परेपछि मोर्दकैलाई यरूशलेममा भएका यहूदीहरूको अनि शूशनमा भएका आफ्ना साथीभाइ तथा नातागोताहरूको कत्ति चिन्ता लाग्यो होला! व्याकुल हुँदै उनी आफ्नो लुगा च्यात्छन्‌, भाङ्‌ग्रा लगाउँछन्‌, खरानी घस्छन्‌ र सहरको बीच भागमा गएर चर्को स्वरमा विलाप गर्छन्‌। यस्तो उर्दीले गर्दा यहूदीहरू अनि शूशनमा भएका मोर्दकैका साथीहरूमाथि के बितिरहेको छ भनेर हामानलाई वास्तै छैन। तिनी मस्तले राजासित बसेर सुरुपसुरुप गर्दै दाखमद्य पिइरहेका छन्‌।—एस्तर ३:१२–४:१ पढ्‌नुहोस्‌।

२१ अब चुप लागेर बस्नु हुँदैन भन्‍ने मोर्दकैलाई लाग्छ। तर उनले के नै गर्न सक्थे र? एस्तरले मोर्दकै दुःखी भएका छन्‌ भन्‍ने खबर पाउँछिन्‌। तिनले मोर्दकैको लागि भनेर केही लुगा पठाउँछिन्‌ तर मोर्दकैले त्यो लिन मान्दैनन्‌। आफ्नी फूलजस्ती छोरीलाई यहोवाले किन आफूबाट अलग हुन र मूर्तिपूजक राष्ट्रको रानी बन्‍न दिनुभयो भनेर मोर्दकैलाई लागिरहेको थियो होला। तर अब त्यसको जवाफ बिस्तारै प्रकट हुँदैछ। मोर्दकैले एस्तरलाई “आफ्नो जातिको निम्ति” राजासित कुरा गरिदिन सन्देश पठाउँछन्‌।—एस्त. ४:४-८.

२२. राजाकहाँ जान एस्तर किन डराइन्‌? (फुटनोट पनि हेर्नुहोस्‌)

२२ त्यो सन्देश पाएपछि एस्तर चिन्तामा चुर्लुम्मै डुब्छिन्‌। तिनको विश्‍वासको ठूलो जाँच हुन्छ। मोर्दकैले भनेअनुसार गर्न एस्तर डराउँछिन्‌ र मोर्दकैलाई त्यो कुरा खुलेर बताउँछिन्‌। राजाको कानुन कस्तो छ, त्यो पनि एस्तरले मोर्दकैलाई सम्झाउँछिन्‌। राजाले नडाकीकन उनीकहाँ जानु भनेको मृत्युदण्ड पाउन लायकको अपराध थियो। राजाले केहीगरि आफ्नो राजदण्ड तेर्स्याए भने मात्र बच्न सकिन्थ्यो। वश्‍तीले राजासामु देखा पर्न इन्कार गर्दा सजाय पाएकी थिइन्‌। त्यसोभए के एस्तरले राजाको निगाह प्राप्त गर्ने खास कारण थियो र? राजाले आफूलाई नबोलाएको पनि ३० दिन भइसक्यो भनेर एस्तर मोर्दकैलाई बताउँछिन्‌। त्यसैले राजाले निगाह नदेखाउने हुन्‌ कि भनेर एस्तरलाई साह्रै डर लागेको थियो। *एस्त. ४:९-११.

२३. (क) एस्तरको विश्‍वास बढाउन मोर्दकैले के भने? (ख) मोर्दकैको उदाहरण किन अनुकरण गर्न लायकको छ?

२३ एस्तरको विश्‍वास बढाउन मोर्दकै दृढ हुँदै जवाफ दिन्छन्‌। एस्तर यो काम गर्न असमर्थ भएमा यहूदीहरूको उद्धार अरू नै कसैबाट आउनेछ भनेर उनी एस्तरलाई बताउँछन्‌। तर सारा शक्‍ति नै यहूदीहरूविरुद्ध खडा भइसकेको अवस्थामा एस्तरले के पो गर्न सक्थिन्‌ र! यतिबेला मोर्दकै आफ्ना परमेश्‍वर यहोवाप्रति बलियो विश्‍वास देखाउँछन्‌। उहाँले आफ्ना जनहरूलाई कहिल्यै विनाश हुन दिनुहुन्‍न र उहाँको प्रतिज्ञा कहिल्यै फेल खाँदैन भनी उनी विश्‍वस्त हुन्छन्‌। (यहो. २३:१४) उनी एस्तरलाई यस्तो प्रश्‍न सोध्छन्‌: “कसले जान्दछ कि यस्तै समयको निम्ति नै तिमी यो राजपदमा पुगेको हो कि?” (एस्त. ४:१२-१४) के हामीले मोर्दकैको उदाहरण अनुकरण गर्नु पर्दैन र? उनले आफ्ना परमेश्‍वर यहोवामा पूरा भरोसा गरे। हामी नि?—हितो. ३:५, ६.

मृत्युलाई माथ गर्ने विश्‍वास

२४. एस्तरले कसरी विश्‍वास र साहस देखाइन्‌?

२४ एस्तरले अब निर्णायक कदम चाल्ने समय आउँछ। शूशनमा भएका सबै यहूदीहरूलाई उपवास बस्न र तीन दिन तीन रातसम्म खानेकुरा तथा पानी नपिउन भन्‍नुहोस्‌ भनेर तिनी मोर्दकैलाई सन्देश पठाउँछिन्‌। त्यसपछि तिनले भनेको यो कुरा अझै पनि लोकप्रिय छ: “मेरो विनाश भए पनि होस्‌।” (एस्त. ४:१५-१७) तिनको यो सरल जवाफमा असाधारण विश्‍वास र साहस झल्किन्छ। तिनले त्यो तीन दिन कत्ति व्यग्र प्रार्थना गरिन्‌ होला! अब त्यो भयानक क्षण पनि आइपुग्छ। तिनी राजसी पोसाकमा चिटिक्क पर्छिन्‌; राजाको मन जित्न जे जति गर्न सकिन्छ, सबै गर्छिन्‌। त्यसपछि बिस्तारै अघि बढ्‌छिन्‌।

परमेश्‍वरका मानिसहरूलाई बचाउन एस्तरले आफ्नो ज्यानै जोखिममा हालिन्‌

२५. एस्तर राजासामु गएको विवरण छोटकरीमा बताउनुहोस्‌।

२५ सुरुमा चर्चा गरिएझैं एस्तर राजाको कक्षतिर जाँदैछिन्‌। तिनको मनमा कत्ति आँधीहुरी चल्यो होला, तिनले कत्ति प्रार्थना गरिन्‌ होली, त्यो त हामी कल्पना मात्र गर्न सक्छौं। तिनी राजाको कक्षमा पुग्छिन्‌ जहाँ अहासूरस आफ्नो भव्य सिंहासनमा ठाँटिएर बसेका छन्‌। तिनी राजाको अनुहारको भाव पढ्‌ने प्रयास गर्छिन्‌। केही समय कुर्नुपरेको भए त तिनलाई जुगौं काट्‌नु परेको जस्तै लाग्थ्यो होला। तर छिट्टै नै तिनलाई तिनको श्रीमान्‌ले देख्छन्‌। एस्तरलाई देखेर राजा तीनछक पर्छन्‌ तर उनको अनुहारमा कुनै अप्रसन्‍नता देखिंदैन। उनी आफ्नो राजदण्ड एस्तरतिर पसार्छन्‌।—एस्त. ५:१, २.

२६. साँचो ख्रीष्टियनहरूलाई किन एस्तरको जस्तै साहस चाहिन्छ? तिनी राजासामु खडा हुनु किन सुरुवात मात्र थियो?

२६ अचम्म! एस्तरको कुरा सुन्‍न राजा तयार हुन्छन्‌। एस्तर परमेश्‍वरप्रति विश्‍वासी भइन्‌ र उहाँका जनहरूलाई जोगाउन तिनले आफ्नो ज्यानै जोखिममा हालिन्‌। तिनको विश्‍वास अहिलेका परमेश्‍वरका सेवकहरूको लागि पनि कत्ति अनमोल छ नि, होइन र? साँचो ख्रीष्टियनहरू यस्तो उदाहरणलाई अनमोल ठान्छन्‌। आफ्ना चेलाहरूले आत्मत्यागी प्रेम देखाउनेछन्‌ भनेर येशूले बताउनुभएको थियो। (यूहन्‍ना १३:३४, ३५ पढ्‌नुहोस्‌) यस्तो प्रेम देखाउन एस्तरको जस्तै साहस चाहिन्छ। आफ्ना मानिसहरूको खातिर त्यो दिन राजासामु खडा हुनु त सुरुवात मात्र थियो। झन्‌ राजाका प्रिय सल्लाहकार नै दुष्ट षड्यन्त्रकारी हुन्‌ भनेर कसरी बताउने? अनि तिनले आफ्ना मानिसहरूको ज्यान कसरी जोगाउने? हामी यी प्रश्‍नहरूको जवाफ यसपछिको लेखमा पाउनेछौं।

^ अनु. 2 राजा अहासूरस र सम्राट्‌ जारसेस प्रथम एउटै व्यक्‍ति थिए भन्‍ने थुप्रैको मान्यता छ। जारसेस प्रथमले ईसापूर्व पाँचौं शताब्दीको सुरुतिर फारसी साम्राज्यमा शासन गरेका थिए।

^ अनु. 9 पृष्ठ १३८ मा भएको “एस्तरको विवरणबारे उठेका केही प्रश्‍न” शीर्षकको पेटी हेर्नुहोस्‌।

^ अनु. 18 राजा हिजकियाहको पालामा “बाँचेका अमालेकीहरू सबैलाई नाश” गरिसकेकोले हामान नै अमालेकीहरूको अन्तिम पुस्ता थिए जस्तो देखिन्छ।—१ इति. ४:४३.

^ अनु. 19 हामानले राजालाई १०,००० तोडा चाँदी दिने प्रस्ताव राख्छन्‌। अहिलेको हिसाबअनुसार यो रकम अरबौं रुपैयाँ हुन आउँछ। यदि अहासूरस जारसेस प्रथम नै हुन्‌ भने हामानको प्रस्ताव निकै आकर्षक देखिएको हुनुपर्छ। किनभने जारसेसलाई ग्रीसविरुद्ध युद्ध गर्ने आफ्नो योजना कार्यान्वयन गर्न थुप्रै पैसाको खाँचो थियो। तर पछि गएर त्यो युद्धमा उनको ठूलो नोक्सानी हुन्छ।

^ अनु. 22 जारसेस प्रथमलाई छिनछिनमै मुड परिवर्तन गर्ने र हिंस्रक स्वभावका शासक भनेर चिनिन्थ्यो। जारसेस प्रथमले ग्रीसविरुद्ध लडेका केही युद्धबारे ग्रीक इतिहासकार हेरोडोटसले उल्लेख गरेका छन्‌। हेलेसपोन्ट भन्‍ने ठाउँको घाटीमा पानीजहाजहरूलाई जोडेर पानीमा तैरिनै एउटा पुल बनाउन जारसेस प्रथमले आदेश दिएका थिए। तर त्यो पुल आँधीले गर्दा नष्ट भयो। त्यसपछि जारसेसले त्यो पुल बनाउने इन्जिनियरहरूको टाउको काट्‌न लगाए। त्यति मात्र नभएर हेलेस्पोन्टलाई निकै होच्याउने खालको एउटा घोषणा गर्न लगाउँदै त्यस ठाउँको पानीमा कोर्रा हान्‍न लगाएर पानीलाई समेत उनले दण्ड दिन खोजे। ग्रीसविरुद्धको त्यही युद्धको दौडान एक जना धनी मानिसले आफ्नो छोरालाई सेनामा भर्ती नगरिदिन जारसेसलाई बिन्ती गरेका थिए। तर जारसेसले ती मानिसको छोरालाई दुई टुक्रा पार्ने आदेश दिए र सबैलाई चेतावनी दिन तिनको लासलाई सार्वजनिक रूपमा प्रदर्शन गरे।