सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्याय एघार

तिनले हेरे र पर्खे

तिनले हेरे र पर्खे

१, २. एलियालाई कस्तो चुनौतीपूर्ण काम आइपरेको थियो? आहाब र एलियामा कस्तो भिन्‍नता थियो?

एलिया एकान्तमा गएर स्वर्गमा बस्ने आफ्नो बुबासँग कुरा गर्न चाहन्छन्‌। त्यहाँ भएका मानिसहरूले भर्खरै यी साँचो भविष्यवक्‍ताले स्वर्गबाट आगो बर्साएको देखेका थिए। त्यसकारण ती मानिसहरू एलियाको पछिपछि लागेर लोलोपोतो गरिरहेका छन्‌। कर्मेल डाँडाको माथितिर उक्लेर यहोवालाई प्रार्थना गर्नुअघि तिनलाई एउटा चुनौतीपूर्ण काम आइपरेको छ। अब तिनले राजा आहाबसित कुरा गर्नुपर्ने छ।

एलिया र आहाबमा आकाश-जमिनको फरक थियो। आहाब राजसी पहिरनमा ठाँटिएका थिए। उनी लोभी थिए; अरूको कुरा तुरुन्तै पत्याइहाल्ने झुकाव भएका धर्मत्यागी थिए। एलियाले चाहिं भविष्यवक्‍ताले लगाउने साधारण खालको लुगा लगाएका थिए। तिनले लगाएको लुगा सायद जनावरको छालाबाट अथवा ऊँटको वा बाख्राको भुत्लाबाट बनाइएको थियो। एलिया एकदमै साहसी, सत्यनिष्ठ र विश्‍वासी मानिस थिए। दिन ढल्किंदासम्ममा त यी दुई मानिस कत्ति फरक थिए भनेर प्रकट भइसकेको थियो।

३, ४. (क) राजा आहाब र बाल उपासकहरूको लागि त्यो दिन किन साह्रै लाजमर्दो भयो? (ख) हामी कस्ता प्रश्‍नहरू छलफल गर्नेछौं?

राजा आहाब र बाल उपासकहरूको लागि यो दिन साह्रै लाजमर्दो भयो। राजा आहाब र उनकी पत्नी ईजेबेलले इस्राएलको दस गोत्रे राज्यभरि फैलाएको झूटो धर्मको आज पर्दाफास भयो। बाल झूटा हो भनेर उदाङ्‌ग भयो। यदि बाल साँचो देवता हुँदो हो त उसले वेदीमा सजिलै आगो बर्साउन सक्नुपर्थ्यो। बालका भविष्यवक्‍ताहरूले जोडतोडले बिन्ती गर्दा, बौलाहा जस्तै भएर नाच्दा र आफैलाई घाइते बनाउँदा समेत बालले केही जवाफ दिएन। मृत्युदण्ड पाउन लायक ती ४५० जना भविष्यवक्‍तालाई उनीहरूको देव बालले बचाउन सकेन। त्यो झूटो देव अर्को तरिकामा पनि असफल भएको थियो। त्यसको असफलता अब प्रमाणित हुनै लागेको थियो। खडेरीको अन्त होस्‌ भनेर बालका भविष्यवक्‍ताहरूले आफ्ना देवतालाई पुकारेको तीन वर्षभन्दा धेरै भइसकेको थियो। तर सब बेकार! छिट्टै नै खडेरीको अन्त गरेर यहोवा परमेश्‍वरले आफू नै साँचो ईश्‍वर हो भनेर प्रमाणित गर्नुहुने थियो।—१ राजा १६:३०–१७:१; १८:१-४०.

तर यहोवाले कहिले कदम चाल्नुहुने थियो? त्यतिन्जेल एलियाले के गर्ने थिए? यी विश्‍वासी पुरुषबाट हामी कस्तो पाठ सिक्न सक्छौं? आउनुहोस्‌, यससम्बन्धी बाइबल विवरण केलाऔं।—१ राजा १८:४१-४६ पढ्‌नुहोस्‌।

एलियाले प्रार्थना गर्दै पर्खे

५. एलियाले राजा आहाबलाई के गर्न भने? त्यस दिनको घटनाबाट राजा आहाबले पाठ सिके?

एलिया आहाबकहाँ गए र उनलाई भने: “गएर खानपीन गर्नुहोस्‌, किनभने म ठूलो झरी आइरहेको आवाज सुन्दैछु।” त्यस दिनको घटनाबाट के यी दुष्ट राजाले केही पाठ सिके? यसबारे बाइबलले तोकेरै बताएको छैन। उनले पश्‍चात्ताप गरेको कुनै पनि शब्द हामी बाइबलमा भेट्टाउँदैनौं। राजा आहाबले आफ्नो गल्ती स्वीकार गर्दै क्षमा पाउनको लागि यहोवालाई प्रार्थना गरिदिन भविष्यवक्‍ता एलियालाई आग्रह गरेको कुरा पनि कतै छैन। बाइबलमा यतिमात्र लेखिएको छ: “तिनले खानपीन गरे।” (१ राजा १८:४१, ४२) एलियाले चाहिं के गरे?

६, ७. एलियाले केको लागि प्रार्थना गरे? किन?

“एलियाचाहिं कर्मेल डाँडाको टाकुरामा चढे। त्यहाँ तिनले भूइँमा निहुरेर आफ्नो शिर घुँडाहरूमा अडाए।” आहाब आफ्नो पेट भर्नतिर लागे। तर त्यही मौका छोपेर एलिया आफ्नो बुबा यहोवालाई प्रार्थना गर्न थाले। प्रार्थना गर्दा एलियाको आसन कस्तो थियो, विचार गर्नुहोस्‌। तिनी घुँडा टेकेर भुइँमा बसे र आफ्नो शिर घुँडासम्मै झुकाए। तिनी के विषयमा प्रार्थना गरिरहेका थिए? बाइबलले नै यसको जवाफ दिएको छ। तिनले खडेरी रोकिदिन यहोवालाई बिन्ती गरिरहेका थिए भनेर याकूब ५:१८ ले बताएको छ। यहोवालाई प्रार्थना गर्न एलिया कर्मेल डाँडाको टुप्पोमै पुगेको हुनुपर्छ।

परमेश्‍वरको इच्छा पूरा भएको हेर्न एलिया उत्सुक थिए भन्‍ने कुरा तिनको प्रार्थनाबाट देखिन्थ्यो

यहोवाले एलियालाई पहिला नै यो कुरा बताइसक्नुभएको थियो: “म देशमा वृष्टि पठाउनेछु।” (१ राजा १८:१) त्यसकारण एलियाले यहोवालाई ‘तपाईंको इच्छा पूरा गर्नुहोस्‌’ भनेर बिन्ती गरे। यो घटना घटेको लगभग एक हजार वर्षपछि येशूले पनि आफ्ना अनुयायीहरूलाई त्यसैगरि प्रार्थना गर्न सिकाउनुभयो।—मत्ती ६:९, १०.

८. एलियाको उदाहरणबाट प्रार्थनाबारे हामी के सिक्न सक्छौं?

एलियाको उदाहरणबाट प्रार्थनाबारे हामी धेरै कुरा सिक्न सक्छौं। एलियाको मुख्य चिन्ताको विषय परमेश्‍वरको इच्छा पूरा होस्‌ भन्‍ने थियो। प्रार्थना गर्दा हामीले पनि यो कुरा बिर्सनु हुँदैन: “परमेश्‍वरको इच्छाबमोजिम हामीले जेसुकै मागे पनि उहाँले हाम्रो बिन्ती सुन्‍नुहुन्छ।” (१ यूह. ५:१४) परमेश्‍वरलाई मन पर्ने तरिकामा प्रार्थना गर्न हामीले उहाँको इच्छा के हो भनेर बुझेको हुनुपर्छ। उहाँको इच्छा राम्ररी बुझ्नको लागि हामीले दिनदिनै बाइबल पढ्‌नै पर्छ। खडेरीको कारण आफ्नो देशका मानिसहरूले ठूलो समस्या भोगिरहेकोले एलिया त्यो खडेरीको अन्त भएको हेर्न चाहन्थे। यहोवाले त्यस दिन देखाउनुभएको चमत्कारको लागि एलिया उहाँप्रति एकदमै धन्यवादी थिए। त्यसैगरि हामीले पनि प्रार्थना गर्दा यहोवालाई मनदेखि नै धन्यवाद दिनुपर्छ र अरूको भलाइको लागि बिन्ती गर्नुपर्छ।—२ कोरिन्थी १:११; फिलिप्पी ४:६ पढ्‌नुहोस्‌।

एलिया विश्‍वस्त भएर पर्खिरहे

९. एलियाले आफ्नो चाकरलाई के काम अह्राए? हामी कुन दुई गुणबारे चर्चा गर्नेछौं?

खडेरीको अन्त गर्न यहोवाले कदम चाल्नुहुनेछ भनेर एलिया विश्‍वस्त थिए। तर कहिले चाल्नुहुनेछ भन्‍ने कुरा चाहिं तिनलाई थाह थिएन। त्यतिन्जेल एलियाले के गरे? बाइबल विवरणले बताएको यो कुरा याद गर्नुहोस्‌: “तिनले आफ्नो चाकरलाई भने, ‘गएर पश्‍चिमतिर हेर्‌।’ त्यसले गएर हेऱ्‍यो, र आएर भन्यो, ‘त्यहाँ केही देखिंदैन।’ एलियाले त्यसलाई सातपल्ट गएर हेर्ने हुकूम गरे।” (१ राजा १८:४३) एलियाको उदाहरणबाट हामी कम्तीमा पनि दुईवटा पाठ सिक्न सक्छौं। पहिलो, एलिया विश्‍वस्त थिए। दोस्रो, तिनले चनाखो हुँदै पर्खे।

यहोवाले चाल्ने कदमको सङ्‌केत थाह पाउन एलिया उत्सुक थिए

१०, ११. (क) यहोवाका प्रतिज्ञाप्रति एलिया कसरी विश्‍वस्त भए? (ख) हामी पनि किन त्यसरी नै विश्‍वस्त हुन सक्छौं?

१० यहोवाको प्रतिज्ञा पूरा हुन्छ भन्‍ने कुरामा विश्‍वस्त भएको कारण उहाँले कदम चाल्ने सङ्‌केत हेर्न एलिया उत्सुक थिए। पानी पर्ने कुनै सङ्‌केत देखिन्छ कि भनेर टाढा-टाढासम्म हेर्न एलियाले आफ्नो चाकरलाई अग्लो ठाउँतिर पठाए। फर्केपछि चाकरले एलियालाई यस्तो निराशाजनक खबर सुनायो: “त्यहाँ केही देखिंदैन।” आकाश एकदमै सफा थियो। टाढा-टाढासम्म पनि बादलको एक टुक्रा देखिंदैनथ्यो। एलियाले राजा आहाबलाई यसो भनेको कुरा याद गर्नुहोस्‌: “म ठूलो झरी आइरहेको आवाज सुन्दैछु।” बादलको एक टुक्रा पनि नभएको बेला ती भविष्यवक्‍ताले कसरी त्यसो भन्‍न सके होलान्‌? यो कुरा तपाईंलाई अनौठो लागेन?

११ एलियालाई यहोवाको प्रतिज्ञाबारे थाह थियो। एलिया यहोवाको भविष्यवक्‍ता र उहाँको प्रतिनिधि थिए। त्यसैले यहोवाले आफ्नो वचन पूरा गर्नुहुन्छ भन्‍ने कुरामा तिनलाई कुनै शङ्‌का थिएन। एलिया यत्ति ढुक्क थिए कि पानी पर्नुअघि नै तिनलाई ठूलो झरी परेको आवाज सुनेझैं लाग्यो। यसले हामीलाई मोशाको यो कुरा सम्झना गराउँछ: “अदृश्‍य परमेश्‍वरलाई देखेझैं गरी तिनी अटल रहिरहे।” के तपाईंको लागि पनि परमेश्‍वर उत्तिकै वास्तविक हुनुहुन्छ? परमेश्‍वरमा र उहाँले गरेका प्रतिज्ञाहरूमा विश्‍वास गर्न उहाँले हामीलाई प्रमाणको छेलोखेलो दिनुभएको छ।—हिब्रू ११:१, २७.

१२. आफू चनाखो हुँदै पर्खेको कुरा एलियाले कसरी देखाए? बादलको सानो टुक्रा देखापरेको खबर पाउनासाथ एलियाले के गरे?

१२ एलियाले कत्तिको चनाखो हुँदै पर्खेका थिए भनेर पनि याद गर्नुहोस्‌। पानी पर्ने सङ्‌केत देखिन्छ कि भनेर हेर्न तिनले आफ्नो चाकरलाई पठाएका थिए। एक चोटि होइन, दुई चोटि होइन, सात-सात चोटि! एउटै काम घरीघरी गरिरहनुपर्दा बिचरा त्यो चाकर लखतरान भयो होला। तर एलिया भने यहोवाले दिने चिन्ह हेर्न उत्सुक थिए, तिनले हार मानेनन्‌। सातौं पटक हेरेर फर्केपछि एलियालाई त्यो चाकर यसो भन्छ: “मान्छेको हात जत्रो एउटा बादल पश्‍चिमबाट आइरहेको म देख्तैछु।” कल्पना गर्नुहोस्‌: टाढा भूमध्य सागरको माथितिर देखापरेको बादलको सानो टुक्रातिर एलियाको चाकरले आफ्नो हात पसारिरहेको छ र हत्केलाले त्यसलाई नापिरहेको छ। ‘बादलको त्यो सानो टुक्राले गर्दा पानी पर्ला र?’ भनेर चाकरले सोच्यो होला। तर एलियाको लागि भने त्यो विशेष कुरा थियो। त्यसैले आफ्नो चाकरलाई एलिया तुरुन्तै यस्तो निर्देशन दिन्छन्‌: “अब जा, आहाबलाई आफ्नो रथ तयार गरेर गइहाल्नुहोस्‌ भनी भन्‌, नत्रता पानीले तिनलाई रोक्नेछ।”—१ राजा १८:४४.

१३, १४. (क) चनाखो हुँदै पर्खने एलियाको मनोवृत्ति हामी कसरी अनुकरण गर्न सक्छौं? (ख) तुरुन्तै कदम चालिहाल्नुपर्ने के-कस्ता कारण हामीसित छन्‌?

१३ हो, यसपालि पनि एलियाले हाम्रो लागि जोडदार उदाहरण बसाले। हामी पनि परमेश्‍वरको उद्देश्‍य पूरा हुनै लागेको समयमा बाँचिरहेका छौं। एलियाले खडेरीको अन्त हुने समय पर्खे। आजका परमेश्‍वरका सेवकहरू पनि यो भ्रष्ट रीतिरिवाजको अन्त हुने समय पर्खिरहेका छन्‌। (१ यूह. २:१७) यहोवाले कदम नचालेसम्म हामीले पनि एलियाले जस्तै चनाखो हुँदै पर्खनुपर्छ। परमेश्‍वरको छोरा येशूले आफ्ना अनुयायीहरूलाई यस्तो सुझाव दिनुभयो: “जागा रहो, किनकि तिमीहरूका प्रभु कुन दिन आउँदै हुनुहुन्छ, तिमीहरूलाई थाह छैन।” (मत्ती २४:४२) के यसको मतलब अन्त कहिले आउँछ भनेर येशूका चेलाहरूलाई केही पनि थाह हुँदैन त? त्यसो होइन। बरु, अन्तको दिन नजिकिंदै जाँदा संसारको अवस्था कस्तो हुन्छ भनेर उहाँले धेरै कुरा बताउनुभएको छ। “यस युगको आखिरी समयको चिन्ह” विस्तृत रूपमा पूरा भएको हामी सबैले देखेका छौं।—मत्ती २४:३-७ पढ्‌नुहोस्‌।

यहोवाले कदम चाल्नुहुन्छ भनेर विश्‍वस्त हुन टाढा आकाशमा देखिएको बादलको सानो टुक्रा नै एलियाको लागि पर्याप्त थियो। आखिरी समयको चिन्हले अहिले ढिलासुस्ती गर्ने समय होइन भन्‍ने कुराको बलियो प्रमाण दिन्छ

१४ आखिरी समयको चिन्हका प्रत्येक पक्ष नै हामी विश्‍वस्त हुन सक्ने बलिया प्रमाण हुन्‌। यत्तिका प्रमाणहरू देखेपछि के हामी ढिलासुस्ती नगरी यहोवाको सेवामा लाग्न उत्प्रेरित हुँदैनौं र? यहोवाले अब कदम चाल्नुहुन्छ भन्‍ने कुरामा विश्‍वस्त हुन टाढा आकाशमा देखिएको बादलको सानो टुक्रा नै एलियाको लागि पर्याप्त थियो। के ती विश्‍वासी अगमवक्‍ताको आशा निराशामा परिणत भयो?

यहोवा एलियाको बिन्ती सुन्‍नुहुन्छ र आशिष्‌ दिनुहुन्छ

१५, १६. तुरुन्ता-तुरुन्तै के-कस्ता घटना घटे? आहाबबारे एलियाले के सोचिरहेका थिए होलान्‌?

१५ विवरण यसो भन्छ: “यसै बीचमा कालो बादलले आकाश छायो, हुरी चल्यो र ठूलो पानी पर्न लाग्यो। आहाब आफ्नो रथमा चढेर यिज्रेलमा गए।” (१ राजा १८:४५) यी घटनाहरू एकदमै छिटोछिटो हुन्छन्‌। एलियाको चाकरले आहाबलाई एलियाको सन्देश सुनाउँदा सुनाउँदै बादलले आकाश ढाकिसकेको हुन्छ। आकाश अन्धकारमय भइसकेको हुन्छ। ठूलो हुरीबतास चल्न थाल्छ। इस्राएलको माटोमा पानीको थोपा पनि नखसेको साढे तीन वर्ष भइसकेको थियो। जमिनले पानी स्वाट्टै सोस्छ, तिर्खाले प्याकप्याक परेको मानिसले कलकल पानी पिएझैं! त्यसपछि किशोन खोला उर्लेर आउँछ र बालका भविष्यवक्‍ताहरूको रगत पखालेर लान्छ। बाटो बिराएका इस्राएलीहरूले पनि बाल उपासनाको नामोनिसान मेटाउने र पश्‍चात्ताप गरेर यहोवातर्फ फर्कने मौका पाउँछन्‌।

“ठूलो पानी पर्न लाग्यो”

१६ एलिया पनि इस्राएलबाट बाल उपासना नामेट भएको चाहन्थे। त्यहाँ भइरहेका नाटकीय घटनाहरू देखेर राजा आहाबले के गर्लान्‌ भनेर एलियाले सोचिरहेका थिए होलान्‌। के आहाबले पश्‍चात्ताप गर्लान्‌? के उनी बाल उपासनाबाट फर्कलान्‌? त्यस दिन भएको घटनाले उनलाई सही कदम चाल्न जुरमुऱ्‍याउनुपर्ने हो। ती सबै घटना देखिसकेपछि आहाबले के सोचिरहेका थिए भनेर हामीलाई थाह छैन। बाइबल विवरणले यति मात्र बताएको छ, “आहाब आफ्नो रथमा चढेर यिज्रेलमा गए।” उनले केही पाठ सिके कि? के उनले आफ्नो जीवनशैली परिवर्तन गर्ने निर्णय गरे? पछिका घटनाहरूलाई केलाएर हेर्दा उनले त्यसो गरेनन्‌ भनेर हामी थाह पाउँछौं। तर आहाब र एलियाले त्यस दिन अझ धेरै कुरा हेर्न बाँकी थियो।

१७, १८. (क) यिज्रेल जाने बाटोमा एलियालाई के भयो? (ख) कर्मेलबाट यिज्रेलसम्म एलिया दौडेको घटनामा तपाईंलाई कुन कुरा उल्लेखनीय लाग्यो? (फुटनोट पनि हेर्नुहोस्‌)

१७ एलिया पनि आहाब गइरहेको बाटो हुँदै जान्छन्‌। दिन ढल्किसकेको छ। कालो बादलले ढाकेर सारा देशमा अन्धकार छाएको छ र घनघोर पानी परिरहेकोले बाटो हिलाम्मे छ। यात्रा गर्न कत्ति गाह्रो! तर त्यति नै बेला एउटा अचम्मको घटना घट्‌छ।

१८ “परमप्रभुको हात एलियामाथि पऱ्‍यो। तिनले आफ्नो लुगा समेटे, र यिज्रेलसम्मै आहाबको अगिअगि दगुरे।” (१ राजा १८:४६) कुरा प्रस्ट छ, “परमप्रभुको हात एलियामाथि” परेकोले तिनले असाधारण शक्‍ति पाएका थिए। यिज्रेल ३० किलोमिटर टाढा थियो। एलिया जवान पनि त थिएनन्‌। * कल्पना गर्नुहोस्‌, दौडिन सजिलो होस्‌ भनेर एलिया आफ्नो लामो लुगा माथितिर सारेर कम्मरमा बाँध्दैछन्‌। त्यसपछि हिलाम्मे बाटोमा एक्लै दौडिरहेका छन्‌। एलिया यत्ति छिटो दौडन्छन्‌ कि तिनले आहाबलाई भेट्टाउँछन्‌, उनलाई उछिन्छन्‌ र उनीभन्दा निकै अघि जान्छन्‌। आहाबको राजकीय रथले पनि तिनलाई भेट्टाउन सक्दैन!

१९. (क) एलियालाई परमेश्‍वरले दिनुभएको बलले हामीलाई कुन भविष्यवाणीको सम्झना गराउँछ? (ख) एलिया यिज्रेलतिर दौडँदा तिनी कुन कुरामा ढुक्क थिए?

१९ एलियाले पक्कै पनि आशिष्‌ पाएको महसुस गरेको हुनुपर्छ। तिनले असाधारण बल पाए। जवान छँदा तिनी जति बलिया थिए, त्योभन्दा धेरै गुणा बलियो भएको महसुस गरे। कस्तो अचम्मको अनुभव! यसले हामीलाई एउटा भविष्यवाणीको सम्झना गराउँछ। त्यो हो: यहोवाप्रति वफादार मानिसहरू आउनै लागेको प्रमोदवनमा पूर्णतया स्वस्थ हुनेछन्‌। (यशैया ३५:६ पढ्‌नुहोस्‌; लूका २३:४३) त्यो हिलाम्मे बाटोमा दौडँदा एलिया आफ्नो बुबा यहोवा परमेश्‍वरको अनुमोदन पाएको कुरामा ढुक्क थिए।

२०. यहोवाको आशिष्‌ पाउनलाई हामी कसरी अघि बढ्‌न सक्छौं?

२० यहोवा परमेश्‍वर अहिले हामीलाई पनि आशिष्‌ दिन उत्सुक हुनुहुन्छ। आउनुहोस्‌, उहाँको आशिष्‌ पाउन अघि बढौं। हामीले पाउने आशिष्‌ हाम्रो प्रयासभन्दा कता हो कता ठूलो हुनेछ। अहिले हामी पनि खतरै खतराले भरिएको अन्तिम समयमा बाँचिरहेका छौं। यहोवाले कदम चाल्नै लाग्नुभएको छ भनेर हामीले प्रशस्त प्रमाण पाएका छौं। त्यसैले एलियाले जस्तै हामीले पनि चनाखो हुँदै पर्खनै पर्छ। एलिया “सत्य परमेश्‍वर” यहोवाप्रति विश्‍वस्त भएझैं हामी पनि उहाँप्रति विश्‍वस्त हुन सक्ने हर कारण छ।—भज. ३१:५.

^ अनु. 18 यो घटना घटेको केही समयपछि नै एलिशालाई तालिम दिन यहोवा परमेश्‍वर एलियालाई अह्राउनुभयो। पछि एलिशा “एलियाका हातमा पानी हाल्ने” व्यक्‍ति भनेर चिनिए। (२ राजा ३:११) एलिशाले एलियाको चाकरको रूपमा सेवा गरे। उनले वृद्ध भइसकेका ती भविष्यवक्‍ताको हेरचाह गरे।