सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्याय तेह्र

तिनले आफ्नो गल्तीबाट पाठ सिके

तिनले आफ्नो गल्तीबाट पाठ सिके

१, २. (क) योनाको कारणले गर्दा जहाजका नाविकहरू र तिनी आफैमाथि कस्तो आपत्‌ आइलाग्यो? (ख) योनाको विवरणबाट हामी कस्तो पाठ सिक्न सक्छौं?

योना चढेको जहाजलाई नै उडाउला जस्तो गरी आँधी चलिरहेको छ। कानै खानेगरि बतासको हुइँ-हुइँ आवाज आइरहेको छ। समुद्रका भयानक छालहरूले जहाजलाई ड्यामड्याम हिर्काउँदै छ, उचाल्दै पछार्दै गरिरहेको छ। जहाजका हरेक फल्याकबाट चुइँ-चुइँ आवाज निस्किरहेको छ। तर यो सबै आवाज ओझेलमा परेको छ, नाविकहरूको कहालिलाग्दो चिच्याहटले गर्दा। जहाजका कप्तान र ती नाविकहरू सकिनसकी जहाजलाई सम्हाल्न खोज्दैछन्‌। सबै जना अब मर्ने भए भनेर योना सोचिरहेका छन्‌। कसको कारणले? योनाकै कारणले!

योनालाई कसरी यस्तो आपत्‌ आइलाग्यो? तिनले यहोवाको गम्भीर आज्ञालाई जानाजानी उल्लङ्‌घन गरेका थिए। कस्तो आज्ञा? के तिनले अक्षम्य पाप गरेका थिए? यी प्रश्‍नको जवाफबाट हामी थुप्रै पाठ सिक्न सक्छौं। यहोवाप्रति साँचो विश्‍वास हुनेहरू पनि कसरी बाटो बिराउन पुग्छन्‌ र तिनीहरू कसरी फर्कन सक्छन्‌ भनेर योनाको विवरणले हामीलाई सिकाउँछ।

गालीलबाट उदाएका भविष्यवक्‍ता

३-५. (क) योनाको नाम सुन्‍नेबित्तिकै धेरैजसो मानिसहरूलाई कुन कुरा याद आउँछ? (ख) योनाबारे बाइबलमा कस्तो जानकारी दिइएको छ? (फुटनोट पनि हेर्नुहोस्‌) (ग) योनाको लागि भविष्यवक्‍ताको काम किन सजिलो र आनन्ददायी थिएन?

योनाको नाम सुन्‍नेबित्तिकै धेरैजसो मानिसलाई तिनले गरेका गल्तीहरू मात्रै याद आउँछ। तिनले यहोवाको आज्ञा उल्लङ्‌घन गरेको र यहोवाले सम्झाउन खोज्दा पनि जिद्दी गरेको कुरा मानिसहरू सम्झन्छन्‌। तर योनामा थुप्रै राम्रा पक्षहरू पनि थिए। योना यहोवाका भविष्यवक्‍ता थिए भन्‍ने कुरा नबिर्सनुहोस्‌। तपाईं आफै भन्‍नुस्‌ त, योना अवफादार र दुष्ट मानिस भएका भए के यहोवाले तिनलाई त्यत्ति ठूलो जिम्मेवारी सुम्पनुहुने थियो र?

योनामा कमीकमजोरी मात्र होइन तर राम्रा पक्षहरू पनि थिए

बाइबलमा हामी योनाबारे छोटो विवरण पाउँछौं। (२ राजा १४:२५ पढ्‌नुहोस्‌) तिनी गालीलको गात-हेपेर भन्‍ने ठाउँका मानिस थिए। * योनाको समयभन्दा आठ शताब्दीपछि येशू हुर्कनुभएको सहर नासरतबाट यो ठाउँ चार किलोमिटर मात्र टाढा पर्थ्यो। योनाले भविष्यवक्‍ताको रूपमा सेवा गर्दा इस्राएलको दस-गोत्रे राज्यमा राजा यारोबाम द्वितीयले शासन गरिरहेका थिए। यो कुरा भविष्यवक्‍ता एलियाको समयभन्दा निकै पछिको हो। एलियाका उत्तराधिकारी एलीशाको पनि राजा यारोबामका पिताकै पालामा मृत्यु भइसकेको थियो। ती भविष्यवक्‍ताहरूलाई चलाएर यहोवाले इस्राएलबाट बाल उपासनालाई हटाउनुभएको थियो। तर इस्राएलीहरू फेरि जानाजानी कुबाटोमा लागिरहेका थिए। अहिले त्यो देश यस्तो राजाको हातमा परेको थियो, जसले “परमप्रभुको दृष्टिमा जे कुरो खराब थियो त्यही गरे।” (२ राजा १४:२४) त्यस्तो अवस्थामा भविष्यवक्‍ताको रूपमा सेवा गर्न योनालाई कहाँ सजिलो थियो र! आनन्ददायी नभए तापनि तिनले यो काम वफादार भई पूरा गरे।

एकदिन योनाको जीवनले नयाँ मोड लिन्छ। यहोवाले तिनलाई एउटा काम सुम्पनुहुन्छ। तर तिनको नजरमा भने त्यो काम असम्भव देखिन्छ। यहोवाले त्यस्तो के काम अह्राउनुभयो र?

“उठ्‌, त्यस ठूलो शहर निनवेमा जा”

६. यहोवाले योनालाई कस्तो काम अह्राउनुभयो? त्यो काम गर्न योनालाई किन असाध्यै गाह्रो लाग्यो?

यहोवाले योनालाई यसो भन्‍नुभयो: “उठ्‌, त्यस ठूलो शहर निनवेमा जा, र त्यसको विरुद्धमा करा, किनकि त्यसको दुष्ट्याइँ मेरो नजरको सामने छ।” (योना १:२) योनालाई यो जिम्मेवारी किन असाध्यै गाह्रो लाग्यो भनेर हामी सजिलै अनुमान लगाउन सक्छौं। योना बसेको ठाउँबाट निनवे शहर लगभग ८०० किलोमिटर पूर्वतिर अश्‍शूरमा पर्थ्यो। पैदल यात्रा गर्दा त्यहाँसम्म पुग्न लगभग एक महिना लाग्थ्यो। तर त्यहाँ पुगेपछि गर्नुपर्ने काम तिनको यात्राभन्दा पनि कता हो कता कठिन थियो। निनवेवासीहरू अत्यन्तै हिंस्रक र जङ्‌गली स्वभावका थिए। त्यस्ता मानिसहरूलाई योनाले यहोवाको न्यायदण्ड घोषणा गर्नुपर्थ्यो। त्यसकारण योनालाई यस्तो लाग्यो होला: ‘यहोवाका जनहरू त अनाज्ञाकारी भइरहेका छन्‌ भने ती अन्यजातिहरूले मेरो कुरा के सुन्लान्‌ र?’ निनवे विशाल सहर थियो र त्यो “हत्यारा शहर” भनेर चिनिएको थियो। त्यस्तो ठाउँमा यहोवाका यी एक्ला भविष्यवक्‍ता कसरी टिक्न सक्थे?—नहू. ३:१, ७.

७, ८. (क) यहोवाले दिनुभएको जिम्मेवारीबाट भाग्न योनाले कतिसम्म कोसिस गरे? (ख) योनालाई किन डरछेरुवा भनिहाल्न मिल्दैन?

त्यस्ता सोचाइहरूले योनालाई पक्कै पिरोलेको हुनुपर्छ। तिनको मनमा के कस्ता कुराहरू खेले भनेर हामी किटेरै भन्‍न त सक्दैनौं तर यति कुराचाहिं हामीलाई प्रस्टै थाह छ—आफ्नो जिम्मेवारीलाई छोडेर योना भागे। यहोवाले तिनलाई पूर्वतिर जान अह्राउनुभएको थियो तर तिनी पश्‍चिमतिर पो लागे, त्यो पनि जतिसक्दो टाढा! तिनी जोप्पा सहरको बन्दरगाहमा गए। तिनले त्यहाँ तर्शीश जान लागेको जहाज भेट्टाए र त्यसमा चढे। केही विज्ञहरूको भनाइअनुसार तर्शीश सहर आधुनिक समयको स्पेनमा पर्छ। यदि त्यसो हो भने योना निनवे सहरदेखि लगभग ३,५०० किलोमिटर टाढा भागिरहेका थिए। भूमध्यसागरको पल्लो छेउमा रहेको तर्शीशसम्म पुग्न तिनलाई एक वर्ष जति लाग्थ्यो! यहोवाले दिनुभएको जिम्मेवारीलाई त्यागेर योना सकेसम्म टाढा भाग्न चाहन्थे।—योना १:३ पढ्‌नुहोस्‌।

के यसको मतलब योना डरछेरुवा थिए? त्यसो भनिहाल्न त मिल्दैन। विवरण केलाउँदै जाने हो भने तिनले असाधारण साहस देखाए भनेर पनि हामी थाह पाउँछौं। तर योना पनि हामीजस्तै त्रुटिपूर्ण थिए र तिनले पनि थुप्रै कमजोरीहरूविरुद्ध लड्‌नुपरेको थियो। (भज. ५१:५) डर भन्‍ने कुरा जिन्दगीमा कहिल्यै अनुभव नगरेको मान्छे को होला र?

९. यहोवाको आज्ञा कहिलेकाहीं हामीलाई कस्तो लाग्न सक्छ? त्यस्तो बेला हामीले कुन अनमोल सत्य सम्झनुपर्छ?

यहोवाको आज्ञा कहिलेकाहीं हामीलाई असाध्यै गाह्रो वा असम्भव जस्तो पनि लाग्न सक्छ। प्रत्येक ख्रीष्टियनको जिम्मेवारी अर्थात्‌ सुसमाचार प्रचार गर्ने कामसमेत हामीलाई असाध्यै गाह्रो जस्तो लाग्न सक्छ। (मत्ती २४:१४) येशूले बताउनुभएको यो अनमोल सत्य हामी पनि कहिलेकाहीं सजिलै बिर्सन सक्छौं: “परमेश्‍वरको तर्फबाट सबै कुरा सम्भव छ।” (मर्कू. १०:२७) यो कुरा बिर्सेको बेला हामीलाई पनि आफ्नो जिम्मेवारी पूरा गर्न कत्ति गाह्रो लाग्छ नि, होइन र? हो, त्यस्तो बेला हामी योनाको भावना बुझ्न सक्छौं। योना भागेपछि के-कस्ता घटना घटे?

अनाज्ञाकारी भविष्यवक्‍तालाई यहोवा अनुशासन दिनुहुन्छ

१०, ११. (क) बन्दरगाहबाट जहाज छुट्‌दा सुरुमा योनाले के सोचे होलान्‌? (ख) तर एकैछिनमा कस्तो विपद्‌ आइलाग्यो?

१० योना तर्शीश जाने जहाज चढ्‌दै गरेको दृश्‍य कल्पना गर्नुहोस्‌। त्यो सायद फोनिसियाको एउटा मालबाहक जहाज थियो। जहाजका कप्तान र नाविकहरू जहाजलाई बन्दरगाहबाट निकालेर गन्तव्यतिर लाग्ने तयारी गर्दैछन्‌। तिनीहरूको कल्याङमल्याङ योनाको कानमा परिरहेको छ। जहाजले बिस्तारै किनार छोड्‌छ र अघि बढ्‌छ। त्यसपछि योनाले यसरी सोचे होलान्‌: “उफ्‌! बल्ल मुक्‍ति पाइयो।” तर अचानक मौसम परिवर्तन हुन्छ।

११ जोडतोडले हुरी चल्न थाल्छ। छालहरू यति जोडले उर्लेर आउँछन्‌ कि अहिलेका जहाजहरूलाई पनि त्यसको अगाडि टिक्न धौधौ पर्थ्यो होला। पहाडजत्रा छालहरूको अगाडि त्यो सानो जहाज त पानीमा यता र उता हल्लिरहेको काठको टुक्राजस्तै देखिन्थ्यो। “परमप्रभुले समुद्रमा एउटा ठूलो बतास चलाउनुभयो” भनेर पछि योनाले लेखे। तर त्यसबेला के तिनलाई त्यो कुरा थाह थियो? हामी ठोकुवा गरेर भन्‍न त सक्दैनौं। नाविकहरूचाहिं आ-आफ्ना ईश्‍वरलाई पुकार्न थाल्छन्‌। तर ती ईश्‍वरहरूबाट कुनै मदत मिल्नेवाला छैन भनेर योनालाई थाह थियो। (लेवी १९:४) विवरण यसो भन्छ: “समुद्रमा प्रचण्ड आँधी उठेर जहाजलाई त्यसले नाश गर्ला जस्तै भयो।” (योना १:४) तर योना जुन परमेश्‍वरदेखि भागिरहेका थिए तिनी उहाँलाई नै कसरी पुकार्न सक्थे र?

१२. (क) जोडसित आँधी चलिरहेको बेला योना सुत्न गए तापनि तिनलाई अरूको बेवास्ता गर्ने मानिस भन्‍न मिल्दैन, किन? (फुटनोट पनि हेर्नुहोस्‌) (ख) कसले गर्दा आपत्‌ आइलागेको हो भनेर यहोवाले कसरी देखाइदिनुभयो?

१२ आफूले केही मदत गर्न नसक्ने भएपछि योना जहाजको तल्लो भागमा जान्छन्‌ र एकातिर ढल्किन्छन्‌। तिनी भुसुक्कै निदाउँछन्‌। * जहाजका कप्तानले योना निदाइरहेको भेट्टाउँछन्‌, तिनलाई उठाउँछन्‌ र अरूले जस्तै आफ्ना परमेश्‍वरलाई पुकार भनेर हकार्छन्‌। यो आँधी आउनुमा कुनै ईश्‍वरकै हात हुनुपर्छ भन्‍ने ती नाविकहरूलाई लाग्छ। त्यसैले कसको कारण त्यस्तो आपत्‌ आइलागेको हो भनेर पत्ता लगाउन तिनीहरू एकआपसमा चिट्ठा हाल्छन्‌। एकपछि अर्को गर्दै मानिसहरू निर्दोष ठहरिंदै जाँदा योनाको मुटुको धड्‌कन कत्ति बढ्यो होला! दोषी को रहेछ, आखिर पत्ता लागिछाड्यो। योनाकै कारणले गर्दा यहोवाले त्यो आँधी चलाउनुभएको थियो। चिट्ठा तिनको नाममा पार्ने पनि यहोवा नै हुनुहुन्थ्यो।—योना १:५-७ पढ्‌नुहोस्‌।

१३. (क) योनाले जहाजका नाविकहरूसामु कुन कुरा स्वीकारे? (ख) योनाले नाविकहरूलाई के भने र किन?

१३ योनाले ती मानिसहरूलाई सबै कुरा बताए। तिनी सर्वशक्‍तिमान्‌ परमेश्‍वर यहोवाका सेवक हुन्‌ भनेर पनि तिनले बताए। तिनी यहोवाको आज्ञालाई बेवास्ता गर्दै उहाँदेखि भागिरहेका थिए। त्यसैले सबैमाथि त्यो भयानक विपत्ति आइपरेको थियो। योनाको कुरा सुनेर ती मानिसहरू छाँगाबाट खसेझैं भए। तिनीहरूको आँखामा छाएको त्रास योना स्पष्टै देख्न सक्थे। अब आफ्नो ज्यान र जहाजलाई जोगाउन के गर्नुपर्छ भनेर तिनीहरूले योनालाई सोधे। तिनले के जवाफ दिए? एकातिर कठाङ्‌ग्रिने जाडो, त्यसमाथि पनि त्यसरी गर्जिरहेको समुद्रमा डुब्ने कुरा योनालाई कल्पना गर्न पनि गाह्रो थियो होला। तर त्यत्तिका मानिसहरूको जीवनलाई जानाजानी मृत्युको मुखमा पुऱ्‍याउन योनाको मनले कहाँ मान्थ्यो र? त्यसैले योनाले तिनीहरूलाई यसो भने: “मलाई उचालेर समुद्रमा फालिदेऊ, र समुद्र तिमीहरूप्रति शान्त हुनेछ, किनकि मेरै कारणले गर्दा यो प्रचण्ड आँधी तिमीहरूमाथि चलेको हो भन्‍ने मलाई थाहा छ।”—योना १:१२.

१४, १५. (क) हामी योनाको विश्‍वास कसरी अनुकरण गर्न सक्छौं? (ख) योनाको कुरा सुनेपछि नाविकहरूले के गरे?

१४ विचार गर्नुहोस्‌ त, योना डरछेरुवा भएको भए त्यसो भन्थे होलान्‌ र? त्यस्तो आपत्‌कालीन परिस्थितिमा योनाले साहस र आत्मत्यागी भाव देखाउँदा यहोवाको मन कत्ति खुसी भयो होला! योनाले कत्ति ठूलो विश्‍वास देखाएका! हामीले पनि आफ्नो होइन तर अरूको भलाइ खोज्ने गऱ्‍यौं भने योनाको अनुकरण गरिरहेका हुन्छौं। (यूह. १३:३४, ३५) अभावमा परेका, निराश भएका वा यहोवासितको सम्बन्ध अझ बलियो बनाउनुपर्ने आवश्‍यकता भएका व्यक्‍तिहरूलाई मदत गर्न के हामी अग्रसर हुन्छौं? हामीले त्यसो गर्दा यहोवालाई कत्ति खुसी लाग्ला!

१५ योनाको कुरा सुनेर ती नाविकहरू पनि छक्क परे होलान्‌। किनभने सुरुमा त तिनीहरूले योनाले भनेअनुसार गर्न मानेनन्‌। बरु जहाजलाई सम्हाल्न अझै कोसिस गरिरहे। तर केही सीप लागेन! झनै जोडले हुरी चल्न थाल्छ। अब तिनीहरूलाई लाग्छ, योनालाई नफाली अरू कुनै उपाय छैन। त्यसैले योनाको हत्याको दोष नलागोस्‌ भनेर तिनीहरू योनाका परमेश्‍वर यहोवालाई बिन्ती गर्छन्‌। त्यसपछि योनालाई उचालेर समुद्रमा फालिदिन्छन्‌।—योना १:१३-१५.

योनाको आग्रहपछि नाविकहरूले तिनलाई उचाले र समुद्रमा फालिदिए

योनाले दया र छुटकारा पाउँछन्‌

१६, १७. जहाजबाट फालिएपछि योनालाई के भयो, बताउनुहोस्‌। (चित्रहरू पनि हेर्नुहोस्‌)

१६ योना उर्लंदो छालहरूको बीचमा खस्छन्‌। सुरुमा त तिनी तैरिने प्रयास गर्दै छटपटाइरहन्छन्‌। पानीको फोहोरा छुटाउँदै जहाज पर-पर गइरहेको छ। योनामाथि ती ठूला छालहरू खनिन्छन्‌ र तिनी छोपिन्छन्‌। योना पानीमा डुब्छन्‌, तल, तल, झन्‌ झनै तल पुग्छन्‌, समुद्रको गहिराइमा। अब योनाले बाँच्ने आस पनि मारिसके।

१७ यति बेला योनालाई कस्तो लागिरहेको थियो भनेर पछि तिनले नै बताए। डुब्दै गर्दा तिनको दिमागमा विभिन्‍न दृश्‍यहरू आउँछन्‌। तिनी डुब्दै डुब्दै समुद्रको गहिराइमा पुग्छन्‌ र समुद्री घाँसमा अल्झिन्छन्‌। अब तिनको चिहान यहीं नै हुने हो कि जस्तो देखिन्छ।—योना २:२-६ पढ्‌नुहोस्‌।

१८, १९. समुद्रको गहिराइमा पुगेपछि योनालाई के भयो? योनालाई कस्तो जीवले निल्यो र त्यसको पछाडि कसको हात थियो? (फुटनोट पनि हेर्नुहोस्‌)

१८ तर अचम्म! कालो, अजङ्‌गको एउटा जीव योनाको नजिक नजिक आउँदैछ। त्यो तिनी भएतिरै लम्किंदैछ। योनाको अगाडि आएर त्यसले आफ्नो ठूलो मुख बाउँछ, योनालाई क्वाप्प पार्छ र सुलुत्त निल्छ।

‘योनालाई निल्न यहोवाले एउटा विराट माछा खटाउनुभयो’

१९ योनालाई अन्तिम सास फेरिरहेको छु जस्तो लागिरहेको थियो। तर तिनी अझै पनि जिउँदै थिए। यो कुरा योना आफैलाई विश्‍वास लागिरहेको छैन! न त माछाले तिनलाई कऱ्‍याप कुरूप पारेको छ, न त पचाएको नै छ। तिनी त्यहाँ निसासिएका पनि छैनन्‌। मरिसकेको हुनुपर्ने तर अझै पनि सास फेरिरहेका छन्‌। यसमा यहोवाकै हात छ भनेर योना बुझ्छन्‌। यहोवा स्वयम्‌ले ‘योनालाई निल्न एउटा विराट माछा खटाउनुभएको’ थियो। योनाको मन यहोवाप्रतिको भय र कृतज्ञताले भरिन्छ। *योना १:१७.

२०. माछाको पेटमा छँदा योनाले गरेको प्रार्थनाबाट तिनीबारे हामी के थाह पाउन सक्छौं?

२० माछाको पेटमै घण्टौं बित्छ। त्यत्ति अँध्यारो ठाउँ त योनाले जीवनमा कहिल्यै देखेका थिएनन्‌ होला। तिनको मनमा थुप्रै कुरा खेल्न थाल्छन्‌। तिनी यहोवालाई प्रार्थना गर्छन्‌। तिनले त्यसबेला गरेको प्रार्थना योनाको पुस्तक अध्याय दुईमा लेखिएको छ। त्यस प्रार्थनाबाट हामी योनाबारे थुप्रै कुरा थाह पाउन सक्छौं। योनाले आफ्नो प्रार्थनामा थुप्रै पटक भजनको पुस्तकका शब्दहरू दोहोऱ्‍याए। तिनीसित धर्मशास्त्रको राम्रो ज्ञान थियो भनेर यसबाट देखिन्छ। हृदयलाई न्यानो पार्ने एउटा अर्को गुण पनि तिनमा थियो भनेर देखिन्छ। त्यो हो, कृतज्ञताको मनोभाव। प्रार्थनाको अन्तमा योनाले यसो भने: “तर मता धन्यवादका स्तुतिसहित तपाईंमा बलिदान चढाउनेछु, मैले जे कुराको भाकल गरेको छु, सो पूरा गर्नेछु। उद्धार परमप्रभुबाटै हुन्छ।”—योना २:९.

२१. यहोवाले गर्ने उद्धारबारे योनाले के सिके? यसबाट हामी कस्तो बहुमूल्य पाठ सिक्न सक्छौं?

२१ सोच्दै नसोचेको ठाउँ अर्थात्‌ “माछाको पेटभित्र” हुँदा योनाले एउटा महत्त्वपूर्ण कुरा सिके—यहोवा जहाँसुकै अनि जुनसुकै बेला पनि आफ्ना सेवकहरूको उद्धार गर्न सक्नुहुन्छ। माछाको पेटजस्तो असम्भव ठाउँबाट समेत यहोवाले सङ्‌कटमा परेका आफ्ना सेवक योनाको उद्धार गर्नुभयो। (योना १:१७) यहोवा परमेश्‍वरले मात्रै कुनै मानिसलाई माछाको पेटमा तीन दिन र तीन रातसम्म सुरक्षित राख्न सक्नुहुन्छ। आज हाम्रो जीवन पनि ‘परमेश्‍वरको हातमा’ छ भनेर सम्झनु बुद्धिमानी कुरा हो। (दानि. ५:२३) हामीले फेर्ने प्रत्येक सास र हाम्रो जीवन उहाँकै कृपाले गर्दा सम्भव भएको हो। के हामी यसको लागि उहाँप्रति कृतज्ञ छौं? छौं भने के हामीले उहाँको आज्ञा पालन गर्नुपर्दैन र?

२२, २३. (क) केही समय बित्न नपाउँदै योनाको कृतज्ञताको जाँच कसरी भयो? (ख) गल्ती गर्न पुग्दा हामी योनाको उदाहरणबाट कस्तो पाठ सिक्न सक्छौं?

२२ त्यसपछि योनालाई के भयो? के तिनले यहोवाप्रति कृतज्ञ हुँदै उहाँको आज्ञा पालन गर्न सिके? हो, सिके। तीन दिन र तीन रातपछि त्यो माछाले “योनालाई पाखामा उकेलिदियो।” (योना २:१०) विचार गर्नुहोस्‌ त, योनाले किनारासम्म पौडनु पनि परेन। तर अब त्यहाँबाट निनवेसम्म तिनी आफै पुग्नुपर्ने थियो। केही समय बित्न नपाउँदै तिनको कृतज्ञताको जाँच भयो। योना ३:१, २ यसो भन्छ: “अनि परमप्रभुको वचन दोस्रोपल्ट योनाकहाँ आयो, ‘उठ्‌, र त्यस ठूलो शहर निनवेमा जा, र म जे कुरा तँलाई बताउँछु, सो त्यहाँ प्रचार गर्‌।’” के योनाले त्यो कुरा मान्‍ने थिए?

२३ योना निनवे जान तयार भए। हामी यस्तो लेखिएको पाउँछौं: “यसैले योना उठे, र परमप्रभुले भन्‍नुभएबमोजिम निनवेमा गए।” (योना ३:३) हो, तिनले आज्ञा पालन गरे। आफ्नो गल्तीबाट तिनले साँच्चै पाठ सिके। यस सन्दर्भमा पनि हामी योनाको विश्‍वास अनुकरण गर्न सक्छौं। हामी सबै पापी छौं र गल्ती गर्छौं। (रोमी ३:२३) त्यस्तो बेला के हामी हार मान्छौं वा आफ्नो गल्तीबाट पाठ सिकेर फेरि आज्ञाकारी भई यहोवाको सेवामा लाग्छौं?

२४, २५. (क) योनाले आफ्नो जीवनकालमा के-कस्ता आशिष्‌ पाए? (ख) भविष्यमाचाहिं तिनले कस्तो आशिष्‌ पाउनेछन्‌?

२४ आज्ञाकारी भएकोमा के यहोवाले योनालाई आशिष्‌ दिनुभयो? पक्कै दिनुभयो। एउटा आशिष्‌ हो, तिनीसँगै यात्रा गरिरहेका ती नाविकहरूको ज्यान जोगियो। यो कुरा योनाले पछि थाह पाए जस्तो देखिन्छ। योनाले आत्मत्यागी कदम चाल्नेबित्तिकै आँधी थामियो। ती नाविकहरूले “परमप्रभुको अत्यन्तै भय माने” र आफ्ना झूटा देवताहरूको लागि होइन, यहोवाको लागि बलिदान चढाए।—योना १:१५, १६.

२५ पछि गएर योनाले अझै ठूलो आशिष्‌ पाए। योनाले माछाको पेटमा बिताएको समय येशूले चिहान अर्थात्‌ शिओलमा बिताउने समयको भविष्यसूचक चिन्ह थियो। यो कुरा येशू स्वयम्‌ले बताउनुभयो। (मत्ती १२:३८-४० पढ्‌नुहोस्‌) पुनर्जीवित भएर पृथ्वीमा आएपछि त्यो कुरा योनाले थाह पाउनेछन्‌। त्यसबेला तिनी कत्ति खुसी हुने होलान्‌! (यूह. ५:२८, २९) यहोवा तपाईंलाई पनि त्यसरी नै आशिष्‌ दिन चाहनुहुन्छ। त्यसोभए के तपाईं पनि योनाले जस्तै आफ्ना गल्तीहरूबाट पाठ सिकेर फेरि आज्ञाकारी हुँदै आत्मत्यागी मनोभाव देखाउनुहुन्छ?

^ अनु. 4 योना गालीलको हुनु रोचक छ। किनभने फरिसीहरूले अहङ्‌कारी हुँदै येशूबारे एकपटक यसो भनेका थिए: “धर्मशास्त्रमा खोजेर हेर, गालीलबाट भविष्यवक्‍ता आउनेछ भनेर कतै लेखिएको छैन।” (यूह. ७:५२) गालीलबाट भविष्यवक्‍ता आएको पनि थिएन र आउने पनि छैन भनेर ती फरिसीहरूले हचुवाको भरमा भनिरहेका थिए भनी थुप्रै अनुवादक र अनुसन्धानकर्ता बताउँछन्‌। यसको मतलब तिनीहरूले न त इतिहासलाई ध्यान दिए, न त भविष्यवाणीलाई नै।—यशै. ९:१, २.

^ अनु. 12 सेप्टुआजिन्ट अनुवादमा हेर्ने हो भने योना घुरिरहेका थिए भनेर बताइएको छ। तिनको निद्रा गहिरो थियो भनेर यसबाट बुझिन्छ। त्यसैले योनालाई अरूको वास्तै थिएन भन्‍ने निष्कर्षमा हामी पुगिहाल्नु हुँदैन। किनभने निराशाले घेर्दा कहिलेकाहीं मानिसहरूलाई निद्राले झपक्क छोप्ने गर्छ। जस्तै, गेत्समनीको बगैंचाका पीडाजनक अन्तिम घडीमा येशूले आफ्ना चेलाहरू पत्रुस, याकूब र यूहन्‍नालाई “सुर्ताले क्लान्त भई निदाइरहेको” भेट्टाउनुभयो।—लूका २२:४५.

^ अनु. 19 “माछा” अर्थ लाग्ने हिब्रू शब्दलाई ग्रीक भाषामा “अजङ्‌गको समुद्री जीव” वा “विशाल माछा” भनेर अनुवाद गरिएको छ। ठ्याक्कै कस्तो किसिमको जीवले योनालाई निलेको थियो भनेर पक्का गर्ने कुनै आधार त छैन तैपनि भूमध्यसागरमा मान्छेलाई सिङ्‌गै निल्न सक्ने ठूलठूला सार्क माछाहरू फेला परेका छन्‌। अन्य समुद्रहरूमा त्योभन्दा पनि विशाल सार्क माछाहरू फेला परेका छन्‌। जस्तै: ह्वेल सार्क भन्‍ने माछा १५ मिटर वा त्यो भन्दा पनि लामो हुन्छ!