सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

आवरण विषय: संसारको अन्तदेखि डराउनुपर्छ?

संसारको अन्त—त्रास, हैरानी र कौतूहलता

संसारको अन्त—त्रास, हैरानी र कौतूहलता

डिसेम्बर २१, २०१२। माया पात्रोअनुसार यस मितिमा संसारमा ठूलो परिवर्तन हुनेछ भन्‍ने थुप्रै मानिसको सोचाइ थियो। तर अहिले तपाईंलाई कस्तो लाग्छ—ढुक्क हुनुहुन्छ, निराश हुनुहुन्छ कि चासो नै सेलायो? के यो पनि संसारको अन्तबारे अर्को झूटो भविष्यवाणी मात्र हो?

बाइबलमा बताइएको “संसारको अन्त”-बारे चाहिं के भन्‍न सकिन्छ? (मत्ती २४:३, पढ्‌न सजिलो संस्करण) कसै-कसैलाई आगोले संसार भस्म होला भन्‍ने डर लाग्छ। कोहीचाहिं संसारको अन्त हुँदा के होला भनेर हेर्न उत्सुक छन्‌। अनि अरू भने संसारको अन्तबारे सुन्दा-सुन्दा वाक्कै भइसके। तर यथार्थ के हो?

संसारको अन्तबारे बाइबलले बताउने कुरा थाह पाउँदा तपाईं छक्क पर्नुहुन्छ होला। बाइबलले अन्त हुने समय पर्खनुपर्ने कारणबारे बताउँछ। त्यति मात्र होइन, धेरै ढिलो भइसक्यो भनेर कोही-कोहीले दिक्क मान्‍नेछन्‌ भनेर पनि बताउँछ। अब संसारको अन्तबारे अक्सर सोधिने केही प्रश्‍नको बाइबलआधारित जवाफ विचार गरौं।

के संसार आगोले भस्म हुनेछ?

बाइबलको जवाफ: ‘त्यो कहिल्यै नडग्मगाओस्‌ भनेर परमेश्‍वरले पृथ्वीको जग बसाल्नुभयो।’भजन १०४:५.

पृथ्वी आगोले वा अरू तत्त्वले नाश हुनेछैन। पृथ्वी मानिसलाई सधैंभरि बस्नको लागि दिइएको घर हो भनी बाइबल बताउँछ। परमेश्‍वरको स्तरअनुसार चल्नेहरूले “देश” अर्थात्‌ पृथ्वी “अधिकार गर्नेछन्‌, र त्यसैमा सधैंभरि रहन्छन्‌” भनी भजन ३७:२९ बताउँछ।—भजन ११५:१६; यशैया ४५:१८.

पृथ्वी बनाइसकेपछि परमेश्‍वरले त्यसलाई “साह्रै राम्रो” भन्‍नुभयो र अहिले पनि उहाँ त्यस्तै महसुस गर्नुहुन्छ। (उत्पत्ति १:३१) पृथ्वी नाश गर्ने उहाँको कुनै सोच छैन, बरु उहाँले “पृथ्वीका विनाशकारीहरूलाई विनाश गर्ने” र पृथ्वीलाई विनाश हुनदेखि जोगाउने प्रतिज्ञा गर्नुभएको छ।—प्रकाश ११:१८.

दोस्रो पत्रुस ३:७ यसो भन्छ: “आकाश र पृथ्वीलाई आगोको निम्ति साँचिएको छ।” यो पद पढ्‌दा तपाईंलाई ‘पृथ्वी त आगोले भस्म हुने रहेछ नि’ जस्तो लाग्न सक्छ। तर बाइबलमा कहिलेकाहीं “आकाश,” “पृथ्वी” र “आगो”-लाई प्रतीकात्मक अर्थमा प्रयोग गरिएको छ। जस्तै, उत्पत्ति ११:१ यसो भन्छ: “जम्मै पृथ्वीमा एउटै भाषा थियो।” यहाँ मानव समाजलाई बुझाउन “पृथ्वी” शब्द प्रयोग गरिएको छ।

दोस्रो पत्रुस ३:७ को प्रसङ्‌ग विचार गर्दा यसमा आकाश, पृथ्वी र आगोजस्ता शब्दहरू पनि प्रतीकात्मक अर्थमा प्रयोग गरिएको छ। पद ५ र ६ मा नूहको समयको संसार जलप्रलयद्वारा नाश भयो भनी बताइएको छ। हो, त्यतिबेलाको संसार विनाश भयो तर पृथ्वी भने रहिरह्‍यो। त्यसकारण जलप्रलयमा नाश भएको “पृथ्वी”-ले त्यतिबेलाका भ्रष्ट अनि हिंस्रक मानिसहरूको समाजलाई बुझाउँछ। अनि “आकाश”-ले मानव शासकहरूलाई बुझाउँछ। (उत्पत्ति ६:११) त्यसैगरि दोस्रो पत्रुस ३:७ मा अहिलेको आकाश र पृथ्वीलाई आगोको निम्ति साँचिएको छ भन्‍नुले दुष्ट मानव समाज र भ्रष्ट मानव शासकहरूको पूर्णतया विनाशलाई बुझाउँछ।

संसारको अन्त हुँदा के हुनेछ?

बाइबलको जवाफ: “संसार बितेर जाँदैछ र त्यसको अभिलाषा पनि, तर जसले परमेश्‍वरको इच्छा पूरा गर्छ, ऊ सधैंभरि रहिरहन्छ।”१ यूहन्‍ना २:१७.

बितेर जाने “संसार” पृथ्वी होइन, यहोवाको इच्छाअनुसार जीवन नबिताउने मानिसहरू हुन्‌। बिरामीलाई बचाउन डाक्टरले क्यान्सर सङ्‌क्रमित ट्युमर काटेर फ्याँकिदिएझैं यहोवाले दुष्टहरूलाई “नष्ट” गर्नुहुनेछ अनि असल मानिसहरूले पृथ्वीमा खुसीसित जीवन बिताउनेछन्‌। (भजन ३७:९) यस अर्थमा “संसारको अन्त” राम्रो कुरा हो।

यही बुँदालाई समर्थन गर्दै केही बाइबल अनुवादमा “संसारको अन्त”-लाई “यस युगको आखिरी समय” वा “जगत्‌को अन्त” भनेर अनुवाद गरिएको छ। (मत्ती २४:३; RV) संसारको अन्त हुँदा मानिस अनि पृथ्वीको विनाश नहुने भएकोले नयाँ युग आउनेछ भन्‍नु तर्कसङ्‌गत छ। बाइबलमा “आउने युग”-बारे चर्चा गरिएको छ।—लूका १८:३०.

येशूले आउने युगलाई “पुनःसृष्टि” भन्‍नुभयो। त्यतिबेला येशूले परमेश्‍वरको उद्देश्‍यअनुसारै मानिसहरूलाई तिनीहरूको सुरुको अवस्थामा फर्काउनुहुनेछ। (मत्ती १९:२८) त्यसपछि हामीले यी आशिष्‌हरू पाउनेछौं:-

यदि हामी “परमेश्‍वरको इच्छा” पूरा गर्छौं भने संसारको अन्तबारे सोचेर डराउनुपर्दैन। बरु हामी त्यस दिनको प्रतीक्षा गर्न सक्छौं।

के संसारको अन्त साँच्चै नजिक छ?

बाइबलको जवाफ: “जब यी कुराहरू भइरहेका देख्छौ, तब परमेश्‍वरको राज्य नजिकै छ भनेर जान।”लूका २१:३१.

प्राध्यापक रिचार्ड काइल आफ्नो किताबमा a यस्तो लेख्छन्‌: “आकस्मिक परिवर्तन अनि सामाजिक उथलपुथल हुँदा मानिसहरू संसारको अन्तबारे अनेकन्‌ अनुमान लगाउँछन्‌।” अझ विशेषगरि यस्तो परिवर्तन र उथलपुथलको कारण बुझ्न नसक्दा त त्यस्ता अनुमानहरूको ओइरो नै लाग्छ।

तर बाइबल भविष्यवक्‍ताहरूले भने आफ्नो वरिपरि भइरहेका खराब अवस्थाको कारण बुझाउन संसारको अन्तबारे लेख्ने विचार गरेका थिएनन्‌। बरु परमेश्‍वरबाट प्रेरित भएर आउनै लागेको अन्तलाई सङ्‌केत गर्ने घटनाहरूबारे लेखे। केही भविष्यवाणीलाई ध्यान देऔं। ती हाम्रै समयमा पूरा भइरहेका छन्‌ कि छैनन्‌, आफै विचार गर्नुहोस्‌।

येशूले भन्‍नुभएझैं “यी सबै कुरा” देख्दा संसारको अन्त नजिकै छ भनेर थाह पाउँछौं। (मत्ती २४:३३) माथि उल्लिखित घटनाहरू अन्त नजिकै छ भन्‍ने कुराको अकाट्य प्रमाण हुन्‌ भनेर यहोवाका साक्षीहरू विश्‍वस्त छन्‌। त्यसैले आफ्नो विश्‍वासबारे तिनीहरूले २३६ देशमा प्रचार गरिरहेका छन्‌।

गलत पूर्वानुमानहरूको मतलब अन्त कहिल्यै आउँदैन भन्‍ने हो?

बाइबलको जवाफ: “जब तिनीहरूले ‘शान्ति र सुरक्षा!’ भनिरहेका हुन्छन्‌, तब गर्भवती स्त्रीलाई अचानक व्यथा लागेजस्तै तिनीहरूमाथि एक्कासि विनाश आइपर्नेछ र तिनीहरू कुनै हालतमा उम्कनेछैनन्‌।”१ थिस्सलोनिकी ५:३.

बाइबलले संसारको विनाशलाई अचानक सुरु हुने प्रसव वेदनासित तुलना गरेको छ। अन्त आउनुअघिको समयलाई गर्भावस्थासित तुलना गर्न सकिन्छ किनभने बच्चा जन्मने दिन नजिकिंदै जाँदा गर्भवती महिलाले लक्षणहरू झन्‌-झनै महसुस गर्न थाल्छिन्‌। डाक्टरले बच्चा जन्मने अन्दाजी मिति बताउलान्‌ तर केही समय ढिलो भयो भने पनि बच्चा पक्कै जन्मनेछ भन्‍ने कुरामा तिनी विश्‍वस्त हुन्छिन्‌। त्यसैगरि अन्तबारे गरिएका पूर्वानुमानहरू गलत हुँदैमा हामी “अन्तको दिनमा” बाँचिरहेका छौं भन्‍ने तथ्यलाई नकार्न सकिंदैन।—२ तिमोथी ३:१.

तपाईं सोध्नुहोला: ‘अन्त हुनै लागेको छ भन्‍ने प्रमाण यति स्पष्ट हुँदा हुँदै पनि मानिसहरू किन यसलाई बेवास्ता गर्छन्‌?’ संसारको अन्त हुनै लाग्दा थुप्रैले प्रमाणलाई बेवास्ता गर्नेछन्‌ भनेर बाइबलले पहिल्यै बताएको थियो। यस अन्तको दिनमा भइरहेका महत्त्वपूर्ण परिवर्तनहरू संसारको अन्तको चिन्ह हो भनी स्वीकार्नुको सट्टा मानिसहरू यसरी खिसी गर्छन्‌: “सृष्टिको सुरुवात्‌देखि सबै कुरा जसरी चल्दै आएको थियो, हाम्रा पुर्खाहरू मृत्युको चिर निद्रामा परेको दिनदेखि यता पनि त्यसरी नै चलिरहेको छ।” (२ पत्रुस ३:३, ४) हो, अन्तको दिनको चिन्ह स्पष्ट छ तर थुप्रैले यसलाई बेवास्ता गर्छन्‌।—मत्ती २४:३८, ३९.

संसारको अन्त नजिकै छ भनेर बाइबलमा दिइएका केही प्रमाण मात्र हामीले यस लेखमा विचार गऱ्‍यौं। b के तपाईं अझ थप कुरा बुझ्न चाहनुहुन्छ? चाहनुहुन्छ भने निश्‍शुल्क गृह बाइबल अध्ययन गर्न यहोवाका साक्षीहरूसित सम्पर्क राख्नुहोस्‌। तपाईंको घरमा, तपाईंलाई पायक पर्ने ठाउँमा वा टेलिफोनमार्फत अध्ययन गर्न सकिन्छ। तपाईंले दिनुपर्ने कुरा समय मात्र हो। तपाईंले थुप्रै लाभ पाउनुहुनेछ। (w13-E 01/01)

a The Last Days Are Here Again

b थप जानकारीको लागि यहोवाका साक्षीहरूद्वारा प्रकाशित बाइबलले वास्तवमा के सिकाउँछ? किताबको अध्याय ९, “के हामी ‘आखिरी दिनमा’ बाँचिरहेका छौं?” हेर्नुहोस्‌।