सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

किशोरावस्थाको छोराछोरीले तपाईंको धर्मप्रति शङ्‌का व्यक्‍त गरेमा के गर्ने?

किशोरावस्थाको छोराछोरीले तपाईंको धर्मप्रति शङ्‌का व्यक्‍त गरेमा के गर्ने?

परिवार आनन्दमय बनाउने तरिकाहरू

किशोरावस्थाको छोराछोरीले तपाईंको धर्मप्रति शङ्‌का व्यक्‍त गरेमा के गर्ने?

छोराछोरी ठूलो हुँदै जाँदा अक्सर आमाबाबुले मान्दै आएको धर्म नै मान्‍ने गर्छन्‌। (२ तिमोथी ३:१४) तर कोही-कोहीले भने त्यसो नगर्ने निर्णय गर्छन्‌। किशोरावस्थामा पुगेको छोरा वा छोरीले तपाईंको धर्मप्रति शङ्‌का व्यक्‍त गरेमा तपाईं के गर्न सक्नुहुन्छ? यहोवाका साक्षीहरू यस्तो परिस्थितिको कसरी सामना गर्छन्‌ भनेर यस लेखमा छलफल गरिनेछ।

“मलाई मेरो आमाबाबुको धर्म चाहिंदैन। उहाँहरूले मानेकै धर्म मान्‍नुपर्छ भन्‍ने के छ?” —कृती, १८ वर्ष। a

आफूले मान्दै आएको धर्मले परमेश्‍वरबारे साँचो कुरा सिकाउँछ भनेर तपाईंलाई कुनै शङ्‌का छैन। बाइबलको शिक्षाअनुसार चल्नु नै जीवन बिताउने सबैभन्दा राम्रो तरिका हो भनेर तपाईंलाई पक्का विश्‍वास छ। त्यसैले आफूले सिकेका कुराहरू छोराछोरीलाई सिकाउन चाहनुहुन्छ। (व्यवस्था ६:६, ७) तर हुर्कंदै जाँदा आफ्नो छोरा वा छोरीले परमेश्‍वरका कुराहरूमा चासो दिन छोडेमा के गर्ने? सानो छँदा त तपाईंले सिकाएको धर्म उसले खुसीसाथ मान्थ्यो होला तर अहिले आएर शङ्‌का व्यक्‍त गर्न थाल्यो भने नि?—गलाती ५:७.

त्यसो भयो भने ख्रीष्टियन आमाबाबुको भूमिका आफूले राम्रोसँग पूरा गर्न सकिनँ भनेर नसोच्नुहोस्‌। त्यसो हुनुको पछाडि अरू कारण पनि हुन सक्छ। तीमध्ये केही हामी छलफल गर्नेछौं। तर एउटा कुरा भने स्पष्ट छ: तपाईंले मान्दै आएको धर्मलाई छोराछोरीले गम्भीरतापूर्वक लिनेछन्‌ या त्यसदेखि अझ पर भाग्नेछन्‌, त्यो तपाईंले देखाउने प्रतिक्रियामा भर पर्छ। छोराछोरीले चासो नदेखाउँदा झर्कोफर्को गर्नुभयो भने तपाईंको हार हुने कुरा निश्‍चित छ।—कलस्सी ३:२१.

प्रेषित पावलले दिएको यो सल्लाह पालन गर्नु निकै बुद्धिमानी हुनेछ: ‘प्रभुको दासले झगडा गर्नुहुँदैन, बरु ऊ यस्तो मानिस हुनुपर्छ, जसले सबैसित कोमल व्यवहार गर्छ, जससित सिकाउने योग्यता छ, जसले आफूलाई काबूमा राख्छ।’ (२ तिमोथी २:२४) किशोरावस्थाको छोरा वा छोरीले तपाईंको धर्मप्रति शङ्‌का व्यक्‍त गरेमा आफूसित “सिकाउने योग्यता” छ भनेर कसरी देखाउन सक्नुहुन्छ?

कारण बुझ्ने कोसिस गर्नुहोस्‌

छोराछोरीले त्यस्तो प्रतिक्रिया देखाउनुको पछाडि कस्तो कारण हुन सक्छ भनेर पहिला बुझ्ने कोसिस गर्नुहोस्‌। उदाहरणका लागि:

ख्रीष्टियन मण्डलीमा आफ्नो कोही साथी छैन र आफू एक्लो छु जस्तो लागेको छ कि? “साथीहरूमाझ हुन पाउँदा मलाई रमाइलो लाग्थ्यो। त्यसैले म स्कूलमा थुप्रै साथीसित नजिक भएँ तर यसले गर्दा परमेश्‍वरसित भने नजिक हुन सकिनँ। खराब सङ्‌गतले गर्दा परमेश्‍वरसित सम्बन्धित कुरामा मेरो चासो नै सेलायो र त्यसबेला गरेको थुप्रै कुराले गर्दा म अहिले पछुताइरहेकी छु।”लतिका, १९ वर्ष।

आत्मविश्‍वासको कमी भएकोले आफ्नो धर्मको पक्षमा बोल्न अप्ठेरो लागेको छ कि?स्कूलमा छँदा आफ्नो धर्मबारे साथीहरूलाई बताउन म हिचकिचाउँथें। तिनीहरूले मलाई जथाभाबी नाम दिएर जिस्काउने हुन्‌ कि भनेर मलाई डर लाग्थ्यो। तिनीहरूभन्दा फरक देखिएँ भने तिनीहरूले मलाई आफ्नो समूहमा सामेल गर्नेछैनन्‌ र म एक्लो हुनेछु भनेर मलाई चिन्ता लाग्थ्यो।”रेमन, २३ वर्ष।

ख्रीष्टियन भएर जिउनुपऱ्‍यो भने तीनथुप्रो जिम्मेवारी आइपर्नेछ भनेर चिन्ता पो लागेको छ कि? “बाइबलले प्रतिज्ञा गरेको अनन्त जीवन पाउनु भनेको सगरमाथाको चुचुरोमा पुग्नुजत्तिकै गाह्रो कुरा हो जस्तो मलाई लाग्थ्यो। मैले यहोवासित घनिष्ठ सम्बन्ध गाँस्न अहिलेसम्म कुनै कदम चालेकी छैनँ। त्यसैले त्यो लक्ष्यसम्म पुग्नु भनेको त मेरो लागि ‘आकाशको फल आँखा तरी मर्‌’ भनेझैं थियो।”—रीना, १६ वर्ष।

खुलस्त कुराकानी गर्नुहोस्‌

तपाईंको छोरा वा छोरीलाई कुन कुराले पिरोलिरहेको छ? त्यो थाह पाउने सबैभन्दा राम्रो तरिका भनेको उसलाई नै सोध्नु हो। तर सोधपुछ गर्दै जाँदा भनाभन भने नगर्नुहोस्‌। बरु याकूब १:१९ मा दिइएको यो सल्लाह पालन गर्नुहोस्‌: “हरेक मानिसले चनाखो भई सुन्‍नुपर्छ, बोल्न हतार गर्नुहुँदैन अनि झट्टै रिसाइहाल्नुहुँदैन।” झिजो नमान्‍नुहोस्‌। परिवारको सदस्यबाहेक अरू व्यक्‍तिसित जस्तै आफ्ना छोराछोरीसित कुरा गर्दा पनि ‘असाध्यै धीरजी हुनुहोस्‌ अनि शिक्षणकलाको पूर्ण सदुपयोग गर्नुहोस्‌।’—२ तिमोथी ४:२.

मानौं, तपाईंको छोरा वा छोरीलाई ख्रीष्टियन सभामा जाने कुरा सुन्‍न पनि मन लाग्दैन। त्यसोभए उसलाई कुन कुराले पिरोलिरहेको छ, पत्ता लगाउनुहोस्‌। तर धीरजी हुन नबिर्सनुहोस्‌। तल दिइएको कुराकानीमा एक जना बुबाले कसरी विचारै नपुऱ्‍याई कुरा गर्छन्‌, याद गर्नुहोस्‌।

छोरा: मलाई सभा जान मनै लाग्दैन।

बुबा: [झनक्क रिसाउँदै] के रे?

छोरा: त्यस्तो अल्छीलाग्दो ठाउँमा को जान्छ!

बुबा: ए! भनेपछि परमेश्‍वर पनि अल्छीलाग्दो हुनुहुन्छ हैन त? तेरो मनमा त्यस्तो कुविचार कसरी आयो हँ? अरू कुरा मलाई थाह छैन, यो घरमा बस्न मन छ भने खुरुक्क हिंड्‌!

आमाबाबुले आफ्ना छोराछोरीलाई परमेश्‍वरबारे सिकाउनुपर्छ र छोराछोरी पनि आमाबाबुप्रति आज्ञाकारी हुनुपर्छ भनेर उहाँले बताउनुभएको छ। (एफिसी ६:१) तर छोराछोरी केवल तपाईंको पुच्छर लागेको अनि मन नलागी नलागी सभा धाएको तपाईं चाहनुहुन्‍न होला। तिनीहरू यहोवाप्रतिको प्रेमले उत्प्रेरित भएको अनि सभा जानुपर्छ भन्‍ने कुरा आफैले महसुस गरेको तपाईं चाहनुहुन्छ।

छोराछोरीमा नकारात्मक मनोवृत्ति विकास हुनुको कारण के हो भनेर बुझ्ने कोसिस गर्नुभयो भने तिनीहरूलाई परमेश्‍वरबारे सिकाउने सन्दर्भमा तपाईं निकै हदसम्म सफल हुन सक्नुहुन्छ। माथि दिइएको कुराकानी कसरी अझ प्रभावकारी ढङ्‌गमा गर्न सकिन्थ्यो, विचार गर्नुहोस्‌।

छोरा: मलाई सभा जान मनै लाग्दैन।

बुबा: [शान्तपूर्वक] तिमीलाई त्यस्तो लाग्नुको कारण के हो, भन त।

छोरा: त्यस्तो अल्छीलाग्दो ठाउँमा को जान्छ!

बुबा: हो, त्यसरी घण्टौंसम्म एकै ठाउँमा बस्न सजिलो त कहाँ छ र। तर तिमीलाई अल्छी लाग्नुको कारण त्यही मात्र हो कि अरू पनि छ?

छोरा: खै, थाह छैन। सभा जानुभन्दा त अन्त कतै जानु नै बेस जस्तो लाग्छ।

बुबा: तिम्रो साथीहरूलाई पनि त्यस्तै लाग्छ?

छोरा: एउटा साथी भए पो! एउटा भा’को मिल्ने साथी पनि बसाइँ सरिहाल्यो। सबै जना रमाइलोसित बसिरा’ हुन्छन्‌, म मात्र एक्लै धुमधुम्ती बस्नुपर्छ!

माथिको कुराकानीले देखाएअनुसार समस्याको मुख्य कारण एक्लोपन थियो। बुबाले समस्याको जड पत्ता लगाउनुका साथै छोराको भरोसा पनि जित्न सके र फेरि कुनै समस्या पर्दा खुलस्त कुरा गर्ने बाटो पनि खोल्न सके।—“धीरजी हुनुहोस्‌!” भन्‍ने पेटी हेर्नुहोस्‌।

परमेश्‍वरसित नजिक हुन बाधा पुऱ्‍याइरहेका कुराहरूलाई पन्छाउँदै अघि बढ्‌दा आफ्नो आत्मसम्मान बढ्‌छ र विश्‍वास बलियो हुन्छ भन्‍ने कुरा थुप्रै जवानले महसुस गरेका छन्‌। माथि उल्लेख गरिएका जवान भाइ रेमनलाई विचार गर्नुहोस्‌। आफू यहोवाको साक्षी हुँ भनेर स्कूलमा अरूलाई बताउने कुरा सोच्दा मात्रै पनि तिनलाई एकदमै डर लाग्थ्यो। तर आफ्नो धर्मबारे अरूलाई बताउनु भनेको आफूले सोचेजस्तो एकदमै डरलाग्दो कुरा होइन रहेछ भनेर तिनले पछि अनुभव गरे। साथीहरूले गिज्याए भने पनि डराउनुपर्ने कुनै कारण रहेनछ भनेर तिनले महसुस गरे। तिनी भन्छन्‌:

“एक दिन स्कूलको एक जना केटाले मेरो धर्मको कारण मलाई गिज्याउन थाल्यो। म एकदमै नर्भस भएँ र कक्षाका सबै साथीहरूले पनि उसले मलाई गिज्याएको सुनिरहेका रहेछन्‌। त्यसपछि मैले उल्टै उसलाई प्रश्‍न गरेर उसको धर्मबारे सोध्न थालें। कस्तो अचम्म! ऊ त मभन्दा पनि नर्भस भयो! मलाई के लाग्यो भने थुप्रै जवान धर्ममा आस्था त राख्छन्‌ तर आफूले मानेको कुरा आफैले बुझेका हुँदैनन्‌। कम से कम म आफूले मानेको धर्मबारे अरूलाई मजाले बताउन त सक्छु। त्यसकारण धार्मिक आस्थाबारे कुरा गर्दा म डराउनुपर्ने कुनै कारण रहेनछ, बरु डराउनु पर्ने त मेरा साथीहरू पो हुन्‌!”

यसो गरे कसो होला? यहोवाको साक्षी हुने कुरा तपाईंको छोरा वा छोरीलाई कस्तो लाग्छ? यसबारे सोधेर तिनको मनको कुरा पत्ता लगाउनुहोस्‌। आफू यहोवाको साक्षी बन्दा के-कस्ता लाभहरू हुन्छन्‌ र कस्ता त्यागहरू गर्नुपर्ने हुन्छ? यसबारे तिनलाई आफ्नो विचार बताउन लगाउनुहोस्‌। तिनको विचारमा लाभहरू धेरै छन्‌ कि त्यागहरू? यदि लाभहरू धेरै छन्‌ भने ती के-के हुन्‌? (मर्कूस १०:२९, ३०) तपाईंको छोरा वा छोरीलाई एउटा कागजको पाना दिनुहोस्‌ र त्यसको बायाँपट्टि त्यागहरू र दायाँपट्टि लाभहरू लेख्न लगाउनुहोस्‌। आफूले लेखेको कुराले तिनलाई आफ्नो समस्या पत्ता लगाएर त्यसको समाधान गर्न मदत गर्न सक्छ।

आफ्ना छोराछोरीको “सोचविचार गर्ने क्षमता”-लाई बुझ्ने

आमाबाबु र विशेषज्ञहरूले के याद गरेका छन्‌ भने, साना केटाकेटीले र किशोर-किशोरीले सोच्ने तरिकाबीच आकाश जमिनको फरक हुन्छ। (१ कोरिन्थी १३:११) साना केटाकेटीले कुनै कुरालाई ‘हुन्छ र हुँदैन’-को आधारमा मात्र बुझ्ने गर्छन्‌। तर किशोर-किशोरीहरूले चाहिं कुनै पनि कुरालाई कारणसहित बुझ्ने कोसिस गर्छन्‌। उदाहरणको लागि, परमेश्‍वरले सबै कुरा सृष्टि गर्नुभयो भनेर एउटा सानो बच्चालाई बुझाउन सजिलो हुन्छ। (उत्पत्ति १:१) तर किशोरावस्थामा पुगिसकेकाहरूको मनमा भने विभिन्‍न प्रश्‍न उठ्‌न सक्छ। जस्तै: ‘परमेश्‍वर हुनुहुन्छ भन्‍ने के प्रमाण छ? मायालु परमेश्‍वरले किन दुःखकष्ट हुन दिनुहुन्छ? परमेश्‍वरको कुनै सुरुवात वा अन्त्य छैन भनेर म कसरी पक्का हुन सक्छु?’—भजन ९०:२.

छोराछोरीले यस्ता प्रश्‍नहरू सोध्दा तिनीहरू परमेश्‍वरबाट धेरै टाढ  भएछन्‌ जस्तो तपाईंलाई लाग्ला। तर वास्तविकता के हो भने, यसले तिनीहरूलाई परमेश्‍वरसित अझ नजिक हुन मदत गरिरहेको हुन सक्छ। मनमा प्रश्‍न नै उठेको छैन भने कुनै ख्रीष्टियन कसरी परमेश्‍वरसित अझ नजिक हुन सक्छ र?—प्रेषित १७:२, ३.

साथै, यस्ता प्रश्‍नहरू सोध्नुको मतलब तपाईंका छोराछोरीले आफ्नो “सोचविचार गर्ने क्षमता” प्रयोग गर्न सिकिरहेका छन्‌। (रोमी १२:१, २) फलस्वरूप तिनले ख्रीष्टियन विश्‍वासको “चौडाइ, लम्बाइ, उचाइ र गहिराइ” बुझ्न सक्छन्‌, जुन सानो बच्चाले बुझ्न असम्भव छ। (एफिसी ३:१८) आफूले विश्‍वास गरेका कुराहरू कारणसहित बुझ्न छोराछोरीलाई मदत गर्ने बेला अहिल्यै हो। यसो गरेमा तिनीहरूको विश्‍वासको जग बलियो हुनेछ।—हितोपदेश १४:१५; प्रेषित १७:११.

यसो गरे कसो होला? बाइबलका आधारभूत विषयहरूमा आफ्ना छोराछोरीसित कुरा गर्नुहोस्‌। त्यस्ता विषयहरू धेरै पहिला सुनेकोले तपाईंले वा तपाईंका छोराछोरीले अहिले त्यति ध्यान नदिएको हुन सक्छ। तल दिइएजस्ता प्रश्‍नहरू उसलाई गहिरिएर सोच्न लगाउनुहोस्‌: ‘परमेश्‍वरको अस्तित्व छ भनेर किन विश्‍वास गर्छु? परमेश्‍वरले मेरो चिन्ता गर्नुहुन्छ भनेर पक्का हुन सक्ने कस्ता प्रमाणहरू मैले आफ्नो वरिपरि देखेको छु? परमेश्‍वरको आज्ञा पालन गर्दा मेरै भलाइ हुन्छ जस्तो मलाई किन लाग्छ?’ छोराछोरीमाथि आफ्नै विचारचाहिं नथोपर्नुहोस्‌। बरु उसलाई आफ्नो विश्‍वास बलियो बनाउन मदत गर्नुहोस्‌। यसो गरेमा आफूले अँगालेको धर्मप्रति उसको भरोसा बढ्‌नेछ।

“विश्‍वस्त पारिएका कुराहरू”

बाइबलमा जवान मानिस तिमोथीबारे बताइएको छ जसलाई “शैशवकालदेखि” पवित्र लेखोटहरू थाह थियो। तैपनि प्रेषित पावलले तिमोथीलाई यस्तो आग्रह गरे: “आफूले सिकेका र तिमीलाई विश्‍वस्त पारिएका कुराहरूमा लागिरह।” (२ तिमोथी ३:१४, १५) किशोरावस्थामा पुगेको तपाईंको छोरा वा छोरीले पनि बाइबलले तोकेको स्तरबारे तिमोथीले जस्तै सानैदेखि सिकेको हुन सक्छ। अब भने उसलाई आफूले सिकेका कुराहरूमा विश्‍वस्त हुन मदत गर्नुपर्छ।

युवा जनहरूका प्रश्‍न तथा त्यसका उपयोगी जवाफ, (अङ्‌ग्रेजी) खण्ड १ मा यस्तो लेखिएको छ: “किशोरावस्थामा पुगेको छोरा वा छोरी आफूसित बसुन्जेल उसलाई परमेश्‍वरसित सम्बन्धित गतिविधिमा भाग लिन लगाउनु तपाईंको अधिकार हो। तर तपाईं उसको मनमा परमेश्‍वरप्रतिको प्रेम ठप्प बसाल्न चाहनुहुन्छ, ऊ केवल तपाईंको पुच्छर लागेको चाहनुहुन्‍न।” यस लक्ष्यलाई मनमा राख्नुभयो भने आफ्नो छोरा वा छोरीलाई “विश्‍वासमा दह्रो” बनाउन सक्नुहुनेछ र यो केवल तपाईंको विश्‍वास होइन, उसैको विश्‍वास हुनेछ। b१ पत्रुस ५:९. (w12-E 02/01)

[फुटनोटहरू]

a यस लेखमा नामहरू परिवर्तन गरिएका छन्‌।

b थप जानकारीको लागि, जून १ २००९ को प्रहरीधरहरा-को पृष्ठ १०-१२ र युवा जनहरूका प्रश्‍न तथा त्यसका उपयोगी जवाफ, (अङ्‌ग्रेजी) खण्ड १, पृष्ठ ३१५-३१८ हेर्नुहोस्‌।

आफैलाई सोध्नुहोस्‌ . . .

▪ मैले मान्दै आएको धर्मप्रति छोरा वा छोरीले शङ्‌का व्यक्‍त गर्दा म कस्तो प्रतिक्रिया देखाउँछु?

▪ त्यस्तो बेला उपयुक्‍त प्रतिक्रिया देखाउन यस लेखमा दिइएका सुझावहरू म कसरी प्रयोग गर्न सक्छु?

[पृष्ठ २३-मा भएको पेटी]

के आमाबाबुले छक्याएका हुन्‌?

झूट: यहोवाका साक्षीहरू आफ्ना छोराछोरीलाई छक्याएर वा जबरजस्ती आफ्नो धर्म मान्‍न लगाउँछन्‌।

सत्य: बाइबलको आज्ञाअनुसार यहोवाका साक्षीहरू आफ्ना छोराछोरीको मनमा परमेश्‍वरप्रतिको प्रेम विकास गर्न मदत गर्छन्‌। (एफिसी ६:४) तर छोराछोरी हुर्किसकेपछि उपासना गर्ने सन्दर्भमा तिनीहरू आफैले निर्णय गर्नेछन्‌ भनेर आमाबाबुले बुझेका छन्‌।—रोमी १४:१२; गलाती ६:५.

[पृष्ठ २४-मा भएको पेटी/चित्र]

धीरजी हुनुहोस्‌!

किशोरावस्थामा पुगेका छोराछोरीसित कुरा गर्दा तपाईंले निकै धैर्य गर्नुपर्ने हुनसक्छ। तर त्यसो गर्दा नतिजा राम्रो हुनेछ—तपाईंप्रति तिनीहरूको भरोसा बढ्‌नेछ। एउटी जवान केटी आफ्नो अनुभव यसरी बताउँछिन्‌: “एक चोटि, ड्याडीसँग कुरा गर्ने क्रममा मैले आफ्नो सोसियल नेटवर्क पेजको विषयमा उहाँलाई बताएँ। त्यति मात्र होइन, मेरो ब्वाईफ्रेन्ड छ र म घर छोडेर जान्छु पनि भनें। तर उहाँले निकै शान्त भएर कुरा गर्नुभयो! छोरीले कुनै केटालाई किस गरेको र दिनरात एसएमएस पठाएको कुरा सुन्दा पनि गाली नगरी छोरीको कुरा सुनेर बस्ने ड्याडी अरू कहाँ पाइएला र? ड्याडीसँग कुनै पनि कुरा लुकाउँ जस्तो लाग्दैन। उहाँ मलाई साँच्चै मदत गर्न चाहनुहुन्छ।”

[पृष्ठ २५-मा भएको पेटी]

मार्गनिर्देशन दिने अभिभावकको महत्त्व

कहिलेकाहीं परिवारको सदस्यबाहेक अन्य व्यक्‍तिले प्रोत्साहन दिंदा किशोरावस्थाका छोराछोरीलाई निकै मदत पुग्छ। तपाईंको छोरा वा छोरीमा राम्रो प्रभाव पार्न सक्ने कोही व्यक्‍ति छन्‌ कि? आफ्नो छोरा वा छोरीसित समय बिताउन त्यस व्यक्‍तिलाई आग्रह गर्नुभए कसो होला? यसको मतलब तपाईं आफ्नो जिम्मेवारीबाट पन्छिनुभएको होइन। तैपनि तिमोथीको उदाहरण विचार गर्ने हो भने तिनले प्रेषित पावलसित सङ्‌गत गरेर निकै लाभ उठाए र पावलले पनि तिमोथीबाट धेरै मदत पाए।—फिलिप्पी २:२०, २२. c

[फुटनोट]

c यहोवाका साक्षीहरूद्वारा प्रकाशित युवा जनहरूका प्रश्‍न तथा त्यसका उपयोगी जवाफ, (अङ्‌ग्रेजी) खण्ड १, २०११ संस्करण, पृष्ठ ३१८ मा भएको जानकारी।