सीधै सामग्रीमा जाने

येसुलाई किन परमेश्‍वरको छोरा भनिएको हो?

येसुलाई किन परमेश्‍वरको छोरा भनिएको हो?

बाइबलको जवाफ

 बाइबलमा येसुलाई “परमेश्‍वरको छोरा” भनेर थुप्रै पटक उल्लेख गरिएको छ। (युहन्‍ना १:४९) “परमेश्‍वरको छोरा” भन्‍ने अभिव्यक्‍तिले येसु लगायत अरू सबै थोकको सृष्टिकर्ता परमेश्‍वर हुनुहुन्छ भनेर बुझाउँछ। (भजन ३६:९; प्रकाश ४:११) साधारणतया मानिसहरू जसरी बुबा बन्छन्‌ त्यसरी नै परमेश्‍वर पनि बुबा बन्‍नुभयो भनेर बाइबलले सिकाउँदैन।

 बाइबलमा स्वर्गदूतहरूलाई “साँचो परमेश्‍वरका छोराहरू” भनेर बताइएको छ। (अय्युब १:६) त्यसैगरि बाइबलले प्रथम मानव आदमलाई पनि “परमेश्‍वरका छोरा” भनेर बताउँछ। (लुका ३:३८) तथापि येसु परमेश्‍वरको पहिलो सृष्टि हुनुहुन्छ। साथै यहोवा आफैले नै येसुलाई बनाउनु भएकोले बाइबलमा उहाँलाई परमेश्‍वरको एक मात्र छोरा भनेर बताइएको छ।

 के येसु पृथ्वीमा जन्मनुभन्दा अघि स्वर्गमा हुनुहुन्थ्यो?

 हो, येसु पृथ्वीमा मानिस भएर जन्मनुअघि स्वर्गमा स्वर्गदूतको रूपमा हुनुहुन्थ्यो। यसबारे येसु आफैले यसो भन्‍नुभयो, “म . . . स्वर्गबाट ओर्लेर आएको हुँ।”—युहन्‍ना ६:३८; ८:२३.

 परमेश्‍वरले येसुलाई सबैभन्दा सुरुमा सृष्टि गर्नुभयो। बाइबल यसो भन्छ:

  •   “उहाँ . . . सारा सृष्टिको पहिलो सन्तान हुनुहुन्छ।”—कलस्सी १:१५.

  •   उहाँ “परमेश्‍वरको सृष्टिको सुरुवात हुनुहुन्छ।”—प्रकाश ३:१४.

 येसुले मिकाको किताबमा गरिएको यो भविष्यवाणी पूरा गर्नुभयो “जसको सुरुवात प्राचीन कालमा, युगौँअघि भएको थियो।”—मिका ५:२; मत्ति २:४-६.

 येसु पृथ्वीमा आउनुअघि के गर्नुहुन्थ्यो?

 येसुको स्वर्गमा उच्च ओहदा थियो। प्रार्थना गर्दा येसुले त्यस ओहदाबारे उल्लेख गर्नुभयो: “हे बुबा . . . तपाईँसँगसँगै मैले जुन महिमा पाएको थिएँ, त्यही महिमाले अहिले तपाईँसँगै मलाई महिमित पार्नुहोस्‌।”—युहन्‍ना १७:५.

 येसुले सबै कुरा सृष्टि गर्न आफ्नो बुबालाई मदत गर्नुभयो। येसुले यहोवा सँगसँगै “मुख्य कारिगरको” रूपमा काम गर्नुभयो। (हितोपदेश ८:३०) येसुबारे बाइबल यसो भन्छ: “किनकि उहाँद्वारै स्वर्ग अनि पृथ्वीका अरू सबै थोक सृष्टि भए।”—कलस्सी १:१६.

 परमेश्‍वरले येसुद्वारा अरू सबै कुराहरू सृष्टि गर्नुभयो। यसमा आत्मिक प्राणी लगायत सम्पूर्ण ब्रह्‍माण्ड समावेश छ। (प्रकाश ५:११) यहोवा र येसुको सम्बन्ध रचनाकार र कारिगरको जस्तै छ भन्‍न सक्छौँ। रचनाकारले डिजाइन बनाउँछ अनि त्यही डिजाइन हेरेर कारिगरले निर्माण गर्छ। त्यसैगरि यहोवाको निर्देशनमा येसुले सृष्टिको काम गर्नुभयो।

 उहाँले वचनको रूपमा काम गर्नुभयो। पृथ्वीमा आउनु भन्दा अघि येसु “वचन” हुनुहुन्थ्यो भनेर बाइबलमा बताइएको छ। (युहन्‍ना १:१) यसको अर्थ परमेश्‍वरले आफ्नो छोरा मार्फत अरू स्वर्गदूतहरूलाई विभिन्‍न निर्देशन र जानकारी दिनुभयो।

 हुन सक्छ यहोवाले येसुलाई पृथ्वीमा भएका मानिसहरूलाई जानकारी दिनको लागि आफ्नो प्रवक्‍ताको रूपमा चलाउनुभयो। उदाहरणको लागि, यहोवाले अदनको बगैँचामा आदम र हव्वालाई निर्देशन दिनुहुँदा येसुलाई चलाउनुभयो होला। (उत्पत्ति २:१६, १७) पुरातन समयमा इस्राएलीहरूलाई उजाडस्थानमा डोऱ्‍याउने स्वर्गदूत पनि येसु नै हुनुपर्छ। उहाँले दिनुभएको निर्देशन इस्राएलीहरूले मान्‍नै पर्थ्यो।—प्रस्थान २३:२०-२३. a

a परमेश्‍वरले प्रवक्‍ताको रूपमा काम गर्न येसुलाई मात्र चलाउनु भएन। उदाहरणको लागि, परमेश्‍वरले इस्राएलीहरूलाई नियम कानुन दिन अरू स्वर्गदूतहरूलाई पनि चलाउनुभयो।—प्रेषित ७:५३; गलाती ३:१९; हिब्रू २:२, ३.