सीधै सामग्रीमा जाने

येसुले कसरी मानिसहरूको उद्धार गर्नुहुन्छ?

येसुले कसरी मानिसहरूको उद्धार गर्नुहुन्छ?

बाइबलको जवाफ

 येसुले फिरौतीको बलिदानको रूपमा आफ्नो जीवन अर्पण गरेर वफादार मानिसहरूको लागि उद्धार पाउने बाटो खोलिदिनुभयो। (मत्ती २०:२८) त्यसैले बाइबलमा उहाँलाई “संसारको उद्धारक” भनिएको छ। (१ यूहन्‍ना ४:१४) उहाँबारे यसो पनि भनिएको छ: “उहाँबाहेक अरू कसैद्वारा उद्धार हुन सक्दैन, किनकि स्वर्गमुनि मानिसहरूमध्ये कसैलाई अर्को कुनै नाम दिइएको छैन, जुन नाम लिएर हामीले उद्धार पाउन सक्छौँ।”—प्रेषित ४:१२.

 येसुले उहाँमाथि विश्‍वास गर्ने “हरेक मानिसको लागि मृत्यु चाख्नुभयो।” (हिब्रू २:९; यूहन्‍ना ३:१६) त्यसपछि “परमेश्‍वरले उहाँलाई मृत्युबाट ब्यूँताउनुभयो” र उहाँ अदृश्‍य व्यक्‍तिको रूपमा स्वर्ग फर्कनुभयो। (प्रेषित ३:१५) येसु अहिले स्वर्गमा हुनुहुन्छ र “उहाँमार्फत परमेश्‍वरको नजिक आउनेहरूलाई उहाँले पूरै उद्धार गर्न सक्नुहुन्छ किनभने उनीहरूको निम्ति बिन्ती गर्न उहाँ सधैँ जीवित हुनुहुन्छ।”—हिब्रू ७:२५.

येसुले हाम्रो निम्ति बिन्ती गर्नु किन जरुरी छ?

 हामी सबै पापी छौँ। (रोमी ३:२३) पापले परमेश्‍वर र हामीबीच एउटा पर्खाल खडा गर्छ र हामीलाई मृत्युमा पुऱ्‍याउँछ। (रोमी ६:२३) तर येसुको फिरौतीको बलिदानमाथि विश्‍वास गर्नेहरूको लागि उहाँ “मदतगार” हुनुहुन्छ अर्थात्‌ उहाँले तिनीहरूको पक्षमा बोलिदिनुहुन्छ। (१ यूहन्‍ना २:१) येसुले मानिसहरूको तर्फबाट परमेश्‍वरलाई बिन्ती गर्नुहुन्छ; उहाँले परमेश्‍वरलाई तिनीहरूको प्रार्थना सुनिदिन अनि आफ्नो बलिदानको आधारमा तिनीहरूको पापको क्षमा दिन बिन्ती गर्नुहुन्छ। (मत्ती १:२१; रोमी ८:३४) येसुले चढाउनुभएका त्यस्ता बिन्तीहरू परमेश्‍वरले सुन्‍नुहुन्छ किनकि ती परमेश्‍वरको इच्छासित मेल खान्छन्‌। परमेश्‍वरले येसुमार्फत “संसारको उद्धार होस्‌ भनेर” उहाँलाई पृथ्वीमा पठाउनुभयो।—यूहन्‍ना ३:१७.

के उद्धार पाउन येसुमा विश्‍वास गरे पुग्छ?

 पुग्दैन। उद्धार पाउन येसुमा विश्‍वास गर्नुपर्छ तर त्यति गर्नु मात्र पर्याप्त छैन। (प्रेषित १६:३०, ३१) बाइबल यसो भन्छ: “जसरी सासविनाको शरीर मरेको हुन्छ, त्यसरी नै कामविनाको विश्‍वास पनि मरेको हुन्छ।” (याकूब २:२६) त्यसैले उद्धार पाउन हामीले निम्न कुराहरू गर्नुपर्छ:

  •   येसु र उहाँको बुबा यहोवाबारे सिक्नुपर्छ।—यूहन्‍ना १७:३.

  •   उहाँहरूमाथि विश्‍वास गर्नुपर्छ।—यूहन्‍ना १२:४४; १४:१.

  •   विश्‍वास गरेको देखाउन उहाँहरूको आज्ञा पालन गर्नुपर्छ। (लूका ६:४६; १ यूहन्‍ना २:१७) येसुलाई “प्रभु” भनेर पुकार्नेजति सबैले उद्धार पाउनेछैनन्‌ बरु “स्वर्गमा बस्नुहुने [उहाँको] बुबाको इच्छाअनुसार चल्नेहरू”-ले मात्र उद्धार पाउनेछन्‌ भनेर उहाँले बताउनुभयो।—मत्ती ७:२१.

  •   गाह्रो अवस्थाहरूको बाबजुद विश्‍वास प्रकट गरिरहनुपर्छ। येसुले स्पष्टसित यसो भन्‍नुभयो: “जसले अन्तसम्म सहन्छ, त्यसले उद्धार पाउनेछ।”—मत्ती २४:१३.