सीधै सामग्रीमा जाने

के बाइबलको शिक्षा आपसमा बाझिन्छ?

के बाइबलको शिक्षा आपसमा बाझिन्छ?

बाइबलको जवाफ

 बाइबलको शिक्षा आपसमा बाझिदैन। केही पदहरू आपसमा बाझिएजस्तो देखिए तापनि तल दिइएका सिद्धान्तहरू विचार गर्दा हामी सही निष्कर्षमा पुग्न सक्छौं:

  1.  १. प्रसङ्‌ग केलाउनुहोस्‌। प्रसङ्‌गलाई विचार गरिएन भने जुनसुकै लेख पनि बाझिएजस्तो देखिन्छ।

  2.  २. लेखकको दृष्टिकोण बुझ्नुहोस्‌। प्रत्यक्षदर्शीहरूले घटनाको विषयमा सही कुरा बताए पनि सबैले एउटै शब्द प्रयोग गर्छन्‌ या एउटै विवरण उल्लेख गर्छन्‌ भन्‍ने छैन।

  3.  ३. ऐतिहासिक तथ्य र प्रचलनलाई मनमा राख्नुहोस्‌।

  4.  ४. लाक्षणिक या शाब्दिक कुन अर्थमा शब्दको प्रयोग गरिएको छ, बुझ्नुहोस्‌।

  5.  ५. कुनै व्यक्‍तिले कुनै काम आफैले नगरे पनि उसलाई त्यसको श्रेय दिइन सक्छ भन्‍ने कुरा मनमा राख्नुहोस्‌। a

  6.  ६. सही अनुवाद छान्‍नुहोस्‌।

  7.  ७. बाइबलमा लेखिएका कुराहरूलाई मानिसहरूको गलत धार्मिक विचारधारा वा सिद्धान्तसित नजोड्‌नुहोस्‌।

 बाझिनेजस्तो देखिने बाइबल शिक्षालाई तल दिइएका सिद्धान्तहरूले कसरी स्पष्ट पार्छ, केही उदाहरण विचार गरौं:

सिद्धान्त १: प्रसङ्‌ग

  सातौं दिनमा परमेश्‍वरले विश्राम लिनुभयो भने उहाँले काम गरिरहनुभएको छ भन्‍न कसरी मिल्छ? उत्पत्तिको विवरणमा परमेश्‍वरले ‘सातौं दिनमा आफूले गरेका सबै कामबाट विश्राम लिनुभयो’ भनेर लेखिएको छ। प्रसङ्‌गलाई केलाउँदा उहाँले पृथ्वी र त्यसमा भएका सबै कुरा बनाउने कामबाट विश्राम लिनुभएको हो भनेर बुझ्न सक्छौं। (उत्पत्ति २:२-४) परमेश्‍वरले “अहिलेसम्म काम गर्दै हुनुहुन्छ” भनेर येशूले भन्‍नुहुँदा उत्पत्तिको विवरणसित बाझिने कुरा गरिरहनुभएको थिएन। किनकि परमेश्‍वरले गर्नुहुने अन्य कामबारे उहाँले बताइरहनुभएको थियो। (यूहन्‍ना ५:१७) यसमा बाइबल लेख्न प्रेरणा दिने, मानिसहरूलाई डोऱ्‍याउने र हेरविचार गर्ने काम समावेश छ।—भजन २०:६; १०५:५; २ पत्रुस १:२१.

सिद्धान्त २ र ३: दृष्टिकोण र इतिहास

  येशूले अन्धो व्यक्‍तिलाई निको पार्नुभएको ठाउँ कुन थियो? लूकाको विवरणमा “यरिहोनजिकै पुग्नुहुँदा” येशूले एक जना अन्धोलाई निको पार्नुभयो भनिएको छ तर मत्तीको विवरणमा “यरिहोबाट निस्केर जाँदै गर्दा” उहाँले दुई जना अन्धोलाई निको पार्नुभयो भनिएको छ। (लूका १८:३५-४३; मत्ती २०:२९-३४) भिन्‍नाभिन्‍नै दृष्टिकोणबाट लेखिएको यी दुई विवरणमा एउटाले नबताएको कुरा अर्कोमा समेटिएको छ। निको भएको मानिस दुई जना थिए भनेर मत्तीले सङ्‌ख्यामा जोड दिए तर लूकाले भने येशूले जोसित कुरा गर्नुभएको थियो, त्यही व्यक्‍तिबारे मात्र उल्लेख गरे। येशूले अन्धोहरूलाई निको पार्नुभएको ठाउँचाहिं कुन थियो? येशूको समयमा यरिहो नाम गरेको सहर दुइटा थियो भनेर पुरातत्त्वविद्‌हरूले पत्ता लगाएका छन्‌। एउटा पुरानो यहूदी सहर र अर्को नयाँ रोमी सहर। पुरानो यहूदी सहर नयाँ रोमी सहरदेखि साढे एक किलोमिटर जति टाढा पर्थ्यो। येशूले त्यो चमत्कार गरेको बेला सायद उहाँ ती दुई सहरको बीचतिर हुनुहुन्थ्यो।

सिद्धान्त ४: लाक्षणिक र शाब्दिक अर्थ

  के पृथ्वी नाश हुनेछ? “पृथ्वीचाहिं सदासर्वदै रहिरहन्छ” भनेर उपदेशक १:४ ले बताउँछ। फेरि बाइबलमा “पृथ्वी र त्यसमा भएका कामहरू चाहिं स्वाहा हुनेछ” भनेर पनि बताइएको छ। त्यसोभए कुरा आपसमा बाझियो नि, होइन र? (२ पत्रुस ३:१०, पवित्र बाइबल) बाइबलमा “पृथ्वी” भन्‍ने शब्द शाब्दिक रूपमा हामी बस्ने ग्रहलाई बुझाउन र लाक्षणिक रूपमा पृथ्वीमा बस्ने मानिसहरूलाई बुझाउन प्रयोग गरिएको छ। (उत्पत्ति १:१; ११:१) “पृथ्वी” स्वाहा हुनेछ भनेर २ पत्रुस ३:१० मा बताइएको कुराले साँच्चिकै हामी बस्ने ग्रह नाश हुन्छ भन्‍न खोजेको होइन। बरु ‘भक्‍तिहीन मानिसहरूको विनाश’ हुन्छ भन्‍न खोजेको हो।—२ पत्रुस ३:७.

सिद्धान्त ५: श्रेय

  अफिसरको बिन्ती कफर्नहुममा येशूसमक्ष कसले पुऱ्‍यायो? मत्ती ८:५, ६ को विवरणमा सैनिक अफिसर आफै आए भनेर बताइएको छ। तर लूका ७:३ को विवरणमा चाहिं ती अफिसरले यहूदीहरूका धर्म-गुरुहरूमार्फत येशूलाई बिन्ती गरेको कुरा उल्लेख गरिएको छ। हुन त यी विवरण आपसमा बाझिएजस्तो देखिन्छ तर यसबाट येशूसमक्ष बिन्ती गर्न अफिसर आफै अग्रसर भए तर तिनले आफ्नो प्रतिनिधिको रूपमा यहूदी धर्म-गुरुहरूलाई पठाए भन्‍ने कुरा स्पष्ट हुन्छ।

सिद्धान्त ६: सही अनुवाद

  के हामी सबै पाप गर्छौं? पहिलो मानिस आदमले गर्दा हामी सबै जन्मजातै पापी भएका छौं भनेर बाइबलले सिकाउँछ। (रोमी ५:१२) तर कुनै-कुनै बाइबल अनुवादमा भने असल व्यक्‍तिले “पाप गर्दैन” भनेर अनुवाद गरिएकोले कुरा आपसमा बाझिएजस्तो देखिन्छ। (१ यूहन्‍ना ३:६, पवित्र बाइबल) पहिलो यूहन्‍ना ३:६ मा प्रयोग गरिएको ‘पाप गर्ने’ भन्‍ने ग्रीक क्रियापदलाई मूल भाषामा वर्तमान कालमा लेखिएको छ। यसले सामान्यतया काम भइरहेको अवस्थालाई बुझाउँछ। जन्मजात पाएको पाप र जानाजानी परमेश्‍वरको स्तर उल्लङ्‌घन गरिरहनुबीच भिन्‍नता छ। किनकि जन्मजात पाएको पापलाई हामी चाहेर पनि हटाउन सक्दैनौं। बाझिएजस्तो देखिने यो कुरालाई स्पष्ट बुझाउन कुनै-कुनै अनुवादमा “पाप गरिरहँदैन” भन्‍ने सही अभिव्यक्‍तिको प्रयोग गरिएको छ।–नयाँ संसार अनुवाद, नयाँ संशोधित संस्करण।

सिद्धान्त ७: मानिसहरूको विचारधारामा होइन, बाइबलमा ध्यान दिने

  येशू ख्रीष्ट परमेश्‍वर बराबर हुनुहुन्छ वा परमेश्‍वरमुनि? येशूले यसो भन्‍नुभयो: “म र बुबा एक हौं। उहाँले यसो पनि भन्‍नुभयो: “मभन्दा बुबा महान्‌ हुनुहुन्छ।” (यूहन्‍ना १०:३०; १४:२८) त्यसोभए कुरा आपसमा बाझियो नि, होइन र? यहाँ बताइएको कुरालाई सही तरिकामा बुझ्न यी पदहरूले त्रिएकको शिक्षालाई समर्थन गर्छ भन्‍ने मानिसहरूको विचारधारामा नभई बाइबलले के सिकाउँछ भन्‍ने कुरामा ध्यान दिनुपर्छ। बाइबलले यहोवा येशूको बुबा मात्र नभई उहाँको परमेश्‍वर पनि हुनुहुन्छ र येशूले यहोवाको उपासना गर्नुहुन्छ भनेर बताएको छ। (मत्ती ४:१०; मर्कूस १५:३४; यूहन्‍ना १७:३; २०:१७; २ कोरिन्थी १:३) त्यसैले येशू ख्रीष्ट परमेश्‍वर बराबर हुनुहुन्‍न भन्‍ने कुरा स्पष्ट छ।

 येशूले “म र बुबा एक हौं” भन्‍नुभएको प्रसङ्‌गले यहोवा परमेश्‍वरको उद्देश्‍य र येशूको उद्देश्‍य एउटै हो भनेर बुझाउँछ। पछि येशूले यसो भन्‍नुभयो: “म बुबासित एकतामा छु र बुबा मसित एकतामा हुनुहुन्छ।” (यूहन्‍ना १०:३८) येशूले आफ्नो र बुबाको उद्देश्‍य एउटै हो भन्‍ने कुरा आफ्ना चेलाहरूलाई पनि बताउनुभयो अनि तिनीहरूका लागि यसरी प्रार्थना गर्नुभयो: “हामी एक भएजस्तै तिनीहरू पनि एक होऊन्‌ भनेर मैले तिनीहरूलाई तपाईंले मलाई दिनुभएको महिमा दिएको छु। म तिनीहरूसित एकतामा छु अनि तपाईं मसित एकतामा हुनुहुन्छ।”—यूहन्‍ना १७:२२, २३.

a उदाहरणको लागि, इनसाइक्लोपीडिया ब्रिटानिका-को ताजमहलबारे बताइएको एउटा लेखमा यसो भनिएको छ: “यसको निर्माण मुगल सम्राट्‌ शाह जहाँनले गरेका हुन्‌।” तर ताजमहल तिनी आफैले निर्माण गरेका होइनन्‌ किनकि त्यस लेखमा यसो पनि भनिएको छ, “निर्माण परियोजना सम्पन्‍न गर्न २० हजारभन्दा धेरै मजदुरहरूले काम गरेका थिए।”